― Advertisement ―

मार्गोको गट मनी ट्रबल्स समीक्षा – एप्पल टिभीको नयाँ कमेडी श्रृंखला लत र आश्चर्यजनक रूपमा हार्दिक छ।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
HomeLatest newsएमालेमा ओलीको पुन: अनुमोदन – KhabarHost

एमालेमा ओलीको पुन: अनुमोदन – KhabarHost



३ पुस, काठमाडौं । जेनजी आन्दोलनबाट सत्ता बहिर्गमनमा परेपछि  नेतृत्वको औचित्यतामाथि पार्टीभित्रैबाट प्रश्न खेपिरहेका केपी शर्मा ओली ११ औं महाधिवेशनबाट अध्यक्षमा पुनर्अनुमोदित भएर फर्केका छन् ।

२०७१ सालबाट एमालेको नेतृत्वमा प्रवेश गरेका ओली महाधिवेशनबाट तेस्रोपटक अध्यक्षमा निर्वाचित भए  । राजनीतिक यात्राका आफ्नै समकालीन नेता ईश्वर पोखरेल भन्दा करिब तेब्बर बढी मतसहित ल्याए ।  कुल २२२७ मत मध्ये १६६३ मत ओलीले प्राप्त गर्दा पोखरेलले जम्मा ५६४ मत मात्र ल्याए ।

एमालेका बहुमत महाधिवेशन प्रतिनिधिहरूले ओलीलाई लोकतान्त्रिक तरिकाबाट चयन गरी नेतृत्वमा वैधानिक रुपमा अनुमोदन गरेका छन् । यसले उनको पार्टी सत्ताभित्रको पकडलाई पुनर्पुष्टि गरेको छ ।

महाधिवेशनको परिणामले ओलीलाई पार्टी सत्तामा अब पाँच वर्ष बस्ने वैधानिकता दिएको छ । जेनजी आन्दोलनपछि उनको नेतृत्वमा प्रश्न उठेकैले निर्धारित समयभन्दा एक वर्षअघि नै एमालेले ११ औं  महाधिवेशनबाट नेतृत्व चयन गर्ने निर्णय गरेको थियो ।

चार वर्षअघि चितवनमा भएको दशौं महाधिवेशनमा एमालेको आन्तरिक लोकतन्त्रको अभ्यासमा ओलीले नियन्त्रण गरेको भन्दै प्रश्न उठेको थियो । उनले त्यसबेला महाधिवेशनको हलमा पहिले एउटा आफ्नो सूची पेश गरेका थिए । सर्वसम्मतिको नाममा उनले त्यस्तो गर्दा एमालेभित्र प्रतिस्पर्धाको वातावरणमा अंकुश लागेको थियो ।

यसपटक ओलीले उनले विगतझैँ संगठनात्मक हस्तक्षेप र दबाबको मार्ग रोजेनन्, बरु खुला प्रतिस्पर्धालाई स्वीकार गरे । ओलीले आफ्नो समूह त खडा गरे तर त्यो समूहलाई गत महाधिवेशन जस्तो आफैंले घोषणा गरेर होइन प्रतिस्पर्धाबाटै ल्याउने बाटो अनुसरण गरे । यसकारण नेतृत्व चयनका सवालमा एमालेले यसअघि गुमाएको लोकतान्त्रिक लय यसपालि फर्कियो

जेन–जी आन्दोलनबाट सत्ता बहिर्गमन भएपछि एमालेभित्र नेतृत्व, शैली र  पार्टीको भावीदिशाबारे गम्भीर प्रश्न उठेका थिए । ती प्रश्नहरूलाई बेवास्ता गरेर नेतृत्वमा टिकिरहन ओलीका लागि सहज थिएन ।

त्यसैले यो महाधिवेशन उनका लागि आफ्नै औचित्य प्रमाणित गर्ने र नेतृत्वमाथिको वैधानिकताको संकट टार्ने अवसर बनेको छ । ओलीका लागि यो केवल चुनाव जित्ने लडाइँ मात्र थिएन, आफ्नै राजनीतिक औचित्य सावित गर्ने अन्तिम मौका पनि थियो ।

‘सत्ता बाहिरिएपछि उनीमाथि उठेका अझै नेतृत्वका लागि उपयुक्त छन् कि छैनन् ?’, ‘पार्टीलाई नयाँ पुस्तातर्फ लैजान सक्ने सामर्थ्य छ कि छैन ?’ भन्ने प्रश्नको जवाफ प्रतिनिधिहरूले मतपेटिकामार्फत दिएका छन् । अब ओली नेतृत्वमा रहिरहनु केवल उनको इच्छाको विषय मात्र भएन, पार्टीको औपचारिक निर्णय समेत बनेको छ ।

प्रतिनिधिहरूले पुन: उनलाई नै रोजेपछि अब एमालेमा ‘नेतृत्व परिवर्तन हुनैपर्छ’ भन्ने तर्क पार्टीबाहिर  मात्र  सीमित भएको छ । लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नेतृत्वलाई अस्वीकार गर्ने  र प्रश्न उठाउने आधार पनि अब  कसैसँग बाँकी रहेन ।

नेतृत्वको विकल्पको एजेण्डा बोक्ने ईश्वर पोखरेल  प्रतिस्पर्धामा उत्रिएका थिए । तर प्रतिनिधिहरूको मत जित्न सकेनन् ।  यसले एउटा स्पष्ट सन्देश दिएको छ, नेतृत्व रुपान्तरण हुने वा नहुने भन्ने  निर्णय बाहिरबाट होइन, पार्टीभित्रकै लोकतान्त्रिक प्रक्रियाबाट तय हुन्छ ।

लोकतन्त्रको मूल मर्म हो—बहुमत जसको पक्षमा हुन्छ, नेतृत्व उसैले गर्छ ।  एमालेले अपनाएको जनताको बहुदलीय जनवादको सिद्धान्तले पनि पार्टी सत्ता होस् वा राजकीय सत्ता दुवैमा बहुमतको विधिलाई प्रधान ठान्छ । त्यसैले एमालेको महाधिवेशनले नै ओलीलाई रोजेपछि अब त्यो निर्णयमाथि अरुले प्रश्न उठाउने अवस्था अन्त्य भएको छ ।

पार्टीभित्रै रुपान्तरणको बहस गर्ने र ओलीको विकल्प तयार हुनुपर्छ भन्ने नेताहरू नै प्रतिस्पर्धामा उत्रिँदा  केही प्रतिनिधिहरुले  उनीहरूलाई साथ पनि दिए । तर बहुमत प्रतिनिधिहरुको विश्वास चाहिँ ओलीले  जिते ।

यस परिणामले ओलीको पार्टीभित्रको पकड अझै बलियो रहेको तथ्यलाई स्थापित गरेको छ । संगठन, कार्यकर्ता र नेतृत्व तहमा उनी अझै पनि निर्णायक प्रभाव राख्ने नेताका रूपमा कामयै रहेका छन् ।

अध्यक्षमा ओली र पदाधिकारी तहमा उनको बर्चस्व स्थापित हुनुले एमालेको कार्यकारी संरचनामा तत्काल ठूलो परिवर्तन देखिएको छैन । यसले सतही रूपमा हेर्दा सबै उस्तै छ भन्ने पनि देखिन्छ ।

तर महाधिवेशनपछिको राजनीतिक अवस्था सरल छैन । सत्ता बाहिर बसेको एमालेले अब संगठन सुदृढीकरण, जनविश्वास पुन:आर्जन र वैचारिक स्पष्टताको गम्भीर परीक्षा दिनुपर्नेछ । जसका लागि आउँदो  प्रतिनिधि सभाको आम निर्वाचन एमालेका लागि परीक्षण गर्ने थलो हुनेछ ।

यी सबै काम केवल ओलीको बलियो नियन्त्रणबाट होइन, सामूहिक नेतृत्व र आन्तरिक लोकतन्त्रको उन्नत अभ्यासबाट मात्र सम्भव हुन्छ ।

ओलीले अब जित्ने मात्र होइन, सबैलाई समेट्ने नेता बन्न सक्ने कि नसक्ने भन्ने परीक्षा पनि दिनुपर्नेछ । महाधिवेशन अघि नै आफू सर्वसम्मत हुनका लागि उनले अरु प्रतिस्पर्धी नै कोही तयार नहुन् भन्ने चाहना राखे । चुनाव उठे पनि भीम रावलको हालत हुन्छ भन्दै ओली समूहले मनोवैज्ञानिक त्रास खडा समेत गर्‍यो । तर यसका बाबजुद चुनावी प्रतिस्पर्धामा ईश्वर पोखरेल सहभागी भए ।

अब चुनाव ओलीले जिते पनि पार्टीभित्र रहेको फरक समूहलाई समावेश नगरी एमालेलाई राष्ट्रिय राजनीतिमा पुन: बलियो हैसियत बनाउन कठिन छ । त्यसैले नेतृत्वमा पुन: फर्केपछि आफ्नो दम्भलाई अझै उकास्छन् कि सन्तुलित राख्छन् भन्ने हेर्नुपर्नेछ ।

महाधिवेशनले ओलीलाई पार्टीभित्र शक्तिशाली बनाएको छ । तर  विगतका उनका दुई कार्यकालले देखाइसकेको छ, अत्यधिक शक्ति केन्द्रीकरणले अन्तत: पार्टीलाई नै कमजोर बनाउँछ । त्यही शक्ति केन्द्रीकरण र सामूहिक आवाज नसुन्ने शैलीका कारण तीनैपटक उनको सत्ता बहिर्गमन भएको इतिहास छ ।

महाधिवेशनले अब ओलीलाई अनुमोदन गरेपछि राम्रो भए पनि त्यसको लाभ एमालेले नै भोग्नेछ र नराम्रो भए पनि त्यसको मूल्य एमालेले नै चुकाउनेछ । नेतृत्व चयन पार्टीकै प्रतिनिधिहरूले गरेका हुन्, त्यसैले यसको परिणामको स्वामित्व पनि अब पार्टीकै हुन्छ ।

कस्तो छ ओलीको विगत ?

केपी ओलीले पछिल्लो एक दशकमा चारपटक प्रधानमन्त्री बनेर करिब ६ वर्ष शासन सत्ता चलाए । अनि दुई कार्यकाल एमाले अध्यक्ष बनेर पार्टीको सत्ता पनि हाँके ।

२०२३ सालबाट मार्क्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेपछि राजनीतिमा होमिएका पुराना नेता भए पनि ओली लामो समय पार्टीभित्र विपक्षी कित्तामा रहे । झन्डै १५ वर्ष माधव नेपाल र २०६५ पछि पाँच वर्ष झलनाथ खनाल नेतृत्वमा रहँदा उनी पार्टीभित्र विपक्षी नेता जस्ता थिए । त्यसैले महत्वपूर्ण राजनीतिक घटनाक्रममा नेपाल र खनालको पछिपछि केपी ओली हुन्थे ।

तत्कालीन संस्थापनका कार्यशैलीमाथि तिखो आलोचना गर्दै पार्टीभित्र आफ्नो अलग पहिचान कायम गरेका ओली २०७० सालको चुनावपछि बनेको एमालेको संसदीय दलको नेताबाट मुख्य नेतृत्वदायी पदमा उक्लिए । पार्टीभित्रको समीकरणमा निर्णायक मानिएका नेता वामदेव गौतमले साथ दिएपछि ओलीको जित सहज भयो । संसदीय दलको नेता बनेपछि पार्टीको शक्ति ओलीतर्फ सोझियो । त्यही बलमा उनी २०७१ सालको असारमा भएको एमालेको नवौं महाधिवेशनबाट पार्टीको अध्यक्ष बने ।

पार्टीभित्र बहुपदीय संरचना कायम गर्नुपर्ने, संगठनभित्र सामूहिक नेतृत्व प्रणाली भित्राउनुपर्ने र त्यसको आधारमा पार्टी चलाउनुपर्ने अवधारणा केपी शर्मा ओलीले सातौं महाधिवेशनमै अघि सारेका थिए ।  उक्त महाधिवेशनले उनको प्रस्ताव अघि नबढाए पनि पार्टीको आठौं महाधिवेशनले त्यो प्रस्ताव स्वीकार्‍यो ।

नवौंसम्म आइपुग्दा ओली आफैं अध्यक्ष बने । तर जब उनी पार्टीको नेतृत्वमा आए त्यसपछि उनले पार्टीभित्र अत्यधिक शक्ति केन्द्रित गरेको आरोप लागेको थियो । उनको कार्यशैली माथि नै प्रश्न उठाउनेहहरु माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावलदेखि घनश्याम भूसालसम्मले पार्टी विभाजन गरेर हिँडे ।

२०७४ सालको चुनावमा माओवादीसँग भएको वाम गठबन्धनले बहुमत ल्याएपछि ओलीले २०७५ सालमा पार्टी एकता नै गरेर नेकपा बनाएका थिए । दुईजना अध्यक्ष हुने प्रणाली ल्याए । तर उक्त एकता दुई वर्षमै भत्कियो ।

नेकपा र एमाले पार्टी विभाजनका पछाडि अनेक कारणहरू छन् तर एउटा मुख्य  चाहिँ अध्यक्ष ओलीको कार्यशैली पनि थियो ।

२०७७ सालमा संसद् विघटनका दुई श्रृंखला पार गरेपछि सत्ताबाट बहिर्गमित भएका ओली २०७८ सालको दशौं महाधिवेशनबाट पुन: अध्यक्षमा दोहोरिएका थिए ।

एमालेलाई सामूहिक नेतृत्वमा चलाउने अवधारणा ओलीले ल्याए पनि पछिल्लो दुई कार्यकाल एमालेमा करिब ओली एकल रुपमा हाबी भएका थिए ।

उनका कार्यशैलीमाथि एकथरीले प्रश्न उठाए पनि यो १० वर्षको अवधिमा ओलीले आफ्नो एउटा यस्तो समूह निर्माण गरे जो ओलीका कुनै पनि निर्णयहरुमाथि अन्ध समर्थन गर्छ । यो अहिलेको महाधिवेशनको परिणामले पनि देखाएको छ ।

राष्ट्रवादी छवि

२०७२ मा संविधान जारी भएपछि कांग्रेसले तत्कालीन गठबन्धन छोड्यो । संविधान जारी गर्दाको सहमति भंग गरेर कांग्रेस नै संसदमा प्रधानमन्त्रीको प्रतिस्पर्धामा आउने भएपछि उनले माओवादी लगायतका दल मिलाएर आफैं प्रधानमन्त्री बने । यो कार्यकालमा उनी नौ महिना प्रधानमन्त्री भए ।

जेनजी आन्दोलनबाट सत्ता बहिर्गमन भएका ओली अहिले त्यो आन्दोलन षड्यन्त्र र शक्ति केन्द्रहरूको योजना अन्तर्गत भएको थियो भन्ने एजेण्डा बोकेर पुन: पार्टी सत्तामा फर्किएका छन् ।

यो कालखण्डमा संविधान जारी गरेका कारण भारतले नाकाबन्दी लगाएको थियो । उक्त नाकाबन्दीको उनले डटेर सामान गरेका थिए । भारतसँगको परनिर्भरता तोड्नका लागि उनले चीनसँग पारवहन सन्धि गरेका थिए ।

भारतले हस्तक्षेपलाई चुनौती दिने ओलीको उक्त कदमलाई धेरै राष्ट्रवादीहरुले प्रशंसा नै गरेका थिए/छन् ।  तर उनीमाथि दुई ठूला छिमेकीबीच राख्नुपर्ने सन्तुलित सम्बन्धलाई उनले बिगारेको आरोप पनि लाग्यो । तर उनी पछि राष्ट्रवादी एजेण्डाका कारण झन् शक्तिशाली बने ।

दोस्रो र तेस्रो प्रधानमन्त्रित्व कार्यकालमा भने उनले भारतले मिचेको नेपालको भूमि लिम्पियाधुरा, कालपानी र लिपुलेकलाई नेपालको नक्सामा समेट्ने निर्णय गरे । राष्ट्रवादी मुद्दाहरुमा ओलीले लिएको अडानलाई केही प्रशंसा गर्छन् । केही यही घटनाका कारण छिमेकीसँगको सम्बन्ध बिग्रेको भनेर ओलीलाई आरोप पनि छ ।

विवादित कार्यकाल

२०७४ सालको चुनावमा वामगठबन्धन बहुमत ल्याएपछि ओली दोस्रोपटक शक्तिशाली प्रधानमन्त्रीको रुपमा शासनसत्ता फर्किएका थिए । उनले माओवादीसँग पार्टी एकता गरेर आफ्नै पार्टी सत्ताको शक्ति पनि बढाए । तर उनले दुईपटक संसद् विघटन गरे । अदालतले संसद् ब्यूँताइदियो ।

तेस्रो कार्यकालमा सत्ताबाट बाहिरिए पनि २०७९ को चुनाव एमालेका लागि धेरै प्रतिकूल भएन । ७८ सिटसहित दोस्रो दलको रुपमा एमाले प्रतिनिधि सभामा उदायो ।

ओलीले चुनाव लगत्तै प्रचण्डलाई आफ्नो साथमा लिएर सुरुमा सत्तामा एमालेलाई प्रवेश गराए । पछि तत्कालीन माओवादीसँगको गठबन्धन तोडेर प्रतिनिधि सभाको ठूलो दल कांग्रेससँग मिलेर चौथोपटक ओली प्रधानमन्त्रीको रुपमा सत्तामा फर्किए ।

तर पछिल्लो १४ महिने कार्यकाल ओलीको विगतको कार्यकालभन्दा पनि विवादित बन्यो । शासकीय अव्यवस्था चुलिँदै गए । त्यसकै कारण गत भदौ २३ र २४ गते जेनजी युवाहरूले शासकीय अव्यवस्थाविरुद्ध विद्रोह गरे । नेपालको इतिहासमै नभएको घटना भयो । नेताका घर आगजनी भए । राष्ट्रिय धरोहरहरुमा आगजनी भयो ।

त्यत्ति मात्र होइन, प्रधानमन्त्रीकै रुपमा ओलीलाई बालुवाटाबाटै सेनाले भगाएर सुरक्षित स्थानमा लैजानुपर्‍यो ।

जेनजी आन्दोलनबाट सत्ता बहिर्गमन भएका ओली अहिले त्यो आन्दोलन षड्यन्त्र र शक्ति केन्द्रहरूको योजना अन्तर्गत भएको थियो भन्ने एजेण्डा बोकेर पुन: पार्टी सत्तामा फर्किएका छन् ।





Read More