― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsएमालेको आन्तरिक प्रतिगमन, चुनाव छाडेर आन्दोलन – KhabarHost

एमालेको आन्तरिक प्रतिगमन, चुनाव छाडेर आन्दोलन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेले संसद पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ तर फागुन २१ को आम निर्वाचन बहिस्कार गर्ने घोषणा भने गरेको छैन।
  • एमालेले कात्तिक २२ गते ६ हजार ७४३ वटै वडामा जनभेला, कात्तिक २५ गते ७५३ पालिकामा प्रदर्शन र कात्तिक २९ गते ७७ जिल्लामा जनसभा गर्ने तयारी गरेको छ।
  • एमालेको निर्वाचन बहिस्कार नीति र संसद पुनःस्थापनाको मागले पार्टीभित्र नैतिक प्रश्न र आन्तरिक विवादहरू उत्पन्न भएका छन्।

२० कात्तिक, काठमाडौं । मुलुक विस्तारै निर्वाचनमय हुन थालेको छ । फागुन २१ मा हुने आम निर्वाचनलाई केन्द्रित गरेर पुराना पार्टीमा ध्रुवीकरण शुरु भएको छ । जेनजी लक्षित नयाँ पार्टीहरू जन्मने क्रम पनि शुरु भएको छ । कांग्रेसभित्र चुनावअघि महाधिवेशन गर्ने कि पछि भन्ने बहस चलिरहेको छ । सरकारले पनि चुनावको वातावरण तयार पार्न विभिन्न पक्षसँग छलफल चलाइरहेको छ ।

निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने लगायतका गृहकार्य तीब्र पारेको छ । तर, सिंगो देश निर्वाचनतर्फ केन्द्रित हुँदै गर्दा नेकपा एमालेले भने उल्टो यात्रा तय गरेको छ– प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनमा जाने ।

संसद पुनःस्थापनाको माग लिएर सडकमा जाने निर्णय गरेको एमालेले फागुन २१ को आम निर्वाचन बहिस्कार नै गर्ने घोषणा भने गरेको छैन । तथापि, राष्ट्रको सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रित हुँदा संसद् पुनःस्थापनाका लागि आन्दोलनमा जाने निर्णय गरेको एमालेले फागुन २१ को निर्वाचनमा भाग लिन्छ या लिँदैन ? यो प्रश्न भने अनुत्तरित नै छ ।

अहिले चुनावको विरोध गरेर केही महिनापछि भाग लिन जाँदा एमाले नेताहरूलाई नैतिक अप्ठ्यारो पर्न सक्छ । चुनाव बहिस्कारको कार्यनीति अपनाउँदा राजनीतिको मूल प्रवाहबाट बाहिरिने जोखिम बढ्ने छ ।

एमालेले संसद पुनःस्थापनाको माग गर्दै आगामी मंसिर ६ गते काठमाडौंमा जनसभाको तयारी गरेको छ । एमाले नेता प्रदीप ज्ञवालीले सचिवालयको बैठकपछि मिडियालाई दिएको जानकारीअनुसार कात्तिक २२ गते देशभरिका ६ हजार ७४३ वटै वडाहरूमा जनभेला गर्ने तयारी छ ।

त्यसैगरी, कात्तिक २५ गते ७५३ वटै पालिकामा प्रदर्शन गर्ने एमाले नेता ज्ञवालीले बताएका छन् । कात्तिक २९ गते ७७ वटै जिल्लामा जनसभा गर्ने एमालेको तयारी छ ।

लोकतन्त्र र संविधानको रक्षार्थ प्रतिनिधिसभाको पुनःस्थापनाका लागि जनपरिचालन गर्न लागिएको एमाले नेताहरूको तर्क छ । तर, एमालेको यो कार्यनीति देशको विद्यमान राजनीतिक स्थिति भन्दा उल्टो दिशातिर मोडिएको देख्न सकिन्छ ।

एमाले नेतृत्वमाथि ५ नैतिक प्रश्न

सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गर्ने र आम निर्वाचनमा जानुको साटो संसद पुनःस्थापनाका लागि आन्दोलनमा जाने एमालेको कार्यनीतिले मूलतः पाँचवटा नैतिक प्रश्नहरू उब्जाएको छ ।

पहिलो – संसद बाहिरबाट प्रधानमन्त्री चयन गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको स्वीकार गरेका छन् । यो स्थितिमा संसद बाहिरबाट प्रधानमन्त्री चयन भएको भन्दै विरोध जनाउन ओलीलाई नैतिकताले दिँदैन ।

साथै, पूर्वप्रधानन्यायाधीशलाई संविधानको धारा १३२ ले प्रधानमन्त्री बन्न दिँदैन भन्ने तर्कमा पनि ओली आफैंले ‘धारा ७६ मा उपधारा ८ थपेर सुशीलालाई नै प्रधानमन्त्री बनाउन सकिन्थ्यो’ भनिसकेका छन् । विगतमा बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएकोमा पनि ओलीले सैद्धान्तिक असहमति जनाएका थिएनन् । यस अर्थमा सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक करार गर्ने नैतिक धरातल केपी ओलीसँग देखिँदैन ।

चुनावमा नआई आन्दोलनको बाटो समाइरहँदा त्यो आन्दोलन सफल नहुन सक्छ। बीचमा पुगेर चुनावी कार्यनीतितर्फ फर्कँदा ‘एमालेले आन्दोलन छाडेर चिसै पानीले नुहायो’ भन्ने आरोप लाग्न सक्छ।

दोस्रो – संसद विघटन गरेर ताजा जनादेशमा जान सकिने सिद्धान्त केपी ओलीको आफ्नै हो । यही मान्यताका आधारमा ओलीले विगतमा दुई–दुईचोटि संसद विघटन गरेका थिए । सर्वोच्च अदालतले दुबैचोटि संसद पुनः स्थापना गरे पनि ओलीले अहिलेसम्म अदालतको निर्णय भन्दा आफ्नै निर्णयलाई सही बताउँदै आएका छन् ।

आफूले संसद विघटन गर्दा ठीक हुने, अरुले गर्दा किन बेठीक ? यसमा पनि ओलीले संसद पुनःस्थापनाको माग गर्नु उनकै विगतको मान्यताको विपरीत देखिन्छ । संसद पुनस्थापनाको माग गर्ने नैतिक धरातल ओलीले विगतमै गुमाइसकेका छन् । यहाँनेर, अर्को पनि स्मरणीय पक्ष के छ भने अहिले संसद विघटन जेनजी आन्दोलनको जगमा भएको हो, विगतमा ओलीले गरेको विघटनजस्तो यो गैरसंवैधानिक  कदम मात्र होइन ।

तेस्रो – नेकपा एमालेले आम निर्वाचनमा जानुको साटो संसद पुनःस्थापनाको माग गर्नुका पछाडि वस्तुगत परिस्थितिको ठोस विश्लेषणमा भन्दा पनि सत्ताच्युत हुनुपर्दाको केपी शर्मा ओलीको आवेगले काम गरेको छ । संसद पुनस्थापनाका लागि आन्दोलनमा जाने एमालेको निर्णयमा ओलीको हठ र दम्भले काम गरेको छ ।

एक अर्थमा भन्ने हो भने एमाले पार्टी केपी शर्मा ओलीको घमण्डको शिकार बन्न पुगेको छ र यही कारणले उल्टो बाटो समाउन बाध्य भएको छ । अब एमाले सुल्टो बाटोमा हिँड्ने हो भने तत्कालै संसद पुनःस्थापनाको आन्दोलन स्थगन गरेर आम निर्वाचनको बाटोमा फर्कन जरुरी देखिन्छ ।

चौथो – अहिले संसद पुनःस्थापनाको मागलाई लिएर जनपरिचालन गर्ने अनि विस्तारै चुनावमा होमिने एमाले नेताहरूले सोचेका हुन सक्छन् । तर, कार्यकर्ता र जनतामा एउटा कार्यनीति लिएर गइसकेपछि चुनाव उपयोगको बाटोमा फर्कँदा एमालेलाई फाइदा हैन, घाटा लाग्न सक्छ ।

बीचमा पुगेर चुनावी कार्यनीतितर्फ फर्कँदा ‘एमालेले आन्दोलन छाडेर चिसै पानीले नुहायो’ भन्ने आरोप लाग्न सक्छ । चुनावमा नआई आन्दोलनको बाटो समाइरहँदा त्यो आन्दोलन सफल नहुन सक्छ । ०५६ सालमा सशस्त्र माओवादीले अवरोध गर्दासमेत देशमा आम निर्वाचन सम्पन्न भएको नजीर छ ।

पाँचौं – एमालेले चुनाव बहिस्कारको नीति लियो भने चुनावमा भाग लिन चाहने एमालेका नेताहरू टिकटका लागि अन्य दलमा जान वा स्वतन्त्र उम्मेदवारका रूपमा भए पनि मैदानमा जान सक्छन् । किनभने, चुनाव एउटा यस्तो राष्ट्रिय उत्सव हो, त्यसले सबैलाई मैदानमा उतार्छ । देश चुनावमय भएका बेला लोकतान्त्रिक भन्ने दलले आफूलाई डिलमा राख्न सक्दैन ।

उल्लेखित पाँचवटा चुनौती र नैतिक अप्ठ्यारोको सामना गर्ने हो भने एमाले नेताहरूले आम निर्वाचनको पक्षमा चाँडै आफूलाई उभ्याउन र पार्टीको कार्यनीति सच्याउन जरुरी देखिन्छ । यसका लागि अहिले गर्न लागिएको जनपरिचालनलाई चुनाव लक्षित बनाउनु उपयुक्त हुने देखिन्छ ।

एमाले चुनावमा आएन भने …

के नेकपा एमालेको अनुपस्थितिमा आम निर्वाचन हुन सक्ला ? यो एउटा गम्भीर प्रश्न हो । एउटा राष्ट्रिय पार्टीले चुनाव बहिस्कार गर्नु लोकतन्त्रका लागि सुखद विषय होइन ।

हुन त सुशीला कार्की नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय मान्यता नपाएको अवस्था हुन्थ्यो भने एमालेको कार्यनीति कार्यान्वयनमा आउन पनि सक्थ्यो । तर, अहिले त्यस्तो परिस्थिति छैन । एमालेले कार्की सरकारलाई असंवैधानिक भने पनि अन्तरिम सरकारको वैधतामाथि छिमेकी देश र अन्तराष्ट्रिय समुदायले बैधताको प्रश्न उठाएका छैनन् ।

भारतले शुरुमै प्रधानमन्त्री कार्कीलाई बधाई दिइसकेको छ । अन्य देशका राजदूतहरूले पनि प्रधानमन्त्री कार्कीलाई भेटेर बधाई दिएका छन् । यसरी सरकारको बैधतामाथि कतैबाट पनि चुनौती नआएको अवस्थामा एमाले एक्लैले बैधतामाथि प्रश्न उठाएको अवस्था छ ।

देशभित्रका प्रायः सबै राजनीतिक पार्टीले सरकारको बैधतामाथि प्रश्न नउठाइकन चुनावमा भाग लिने सहमति जनाएका छन् । यो स्थितिमा एमाले एक्लै हिँडेर कहाँ पुग्ला ? यो प्रश्न स्वयं एमाले नेताहरूतिर सोझिएको अवस्था छ । भोलि अन्तराष्ट्रिय समुदायले चुनावलाई पनि वैधता दिने सम्भावना छ ।

एकीकृत समाजवादी पार्टीले माओवादीसँग एकता गर्दैगर्दा झलनाथ खनाल एमालेतिर आउनै लागेका थिए । तर, ओलीले विगतको गल्ती सच्याएर व्यक्तिगतरूपमा आउन आग्रह गरेपछि धेरै नेताहरू एमालेमा फर्कन सकेनन् । भीम रावल, घनश्याम भुसाल र अब त विद्यादेवी भण्डारीसमेत ओलीबाट झन् झन् टाढिँदै गएका छन् ।

पार्टीभित्रका अन्य नेताहरूले बेलैमा हस्तक्षेप गर्न सकेनन् भने एमालेको अधोगतिलाई कसैले रोक्न सक्ने देखिँदैन ।

संकटका बेला आफ्नो पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्नेमा ओलीको उल्टो कार्यनीति र एकलकाँटे व्यवहारका कारण एमालेभित्र आन्तरिक संकट अझ चुलिँदै गएको छ ।

पछिल्लो समय एमाले अध्यक्ष ओलीले महेश बस्नेतलगायतको टिमसँग उठबस बढाएका छन् । उनको यो व्यवहारबाट ओली समूहकै अन्य नेताहरू चिढिएका छन् र पार्टीमा थप अन्तरविरोध मौलाएको छ । अब चुनावमा पनि नजाने र पार्टीभित्र अन्तरविरोध समेत थप चर्किँदै जाने हो भने नेकपा एमालेका लागि आगामी दिनहरू अझै जटिल हुने देखिन्छ ।

एघारौं महाधिवेशनको आश

एमालेको सचिवालय वा केन्द्रीय कमिटीमा केपी शर्मा ओलीकै बहुमत र दबदवा छ । यही कारणले गर्दा सचिवालय र केन्द्रीय कमिटीले आम निर्वाचनमा जाने कार्यनीति पारित गर्न सकेन । अब एमालेले मंसिर २७, २८ र २९ गते काठमाडौंमा एघारौं महाधिवेशन गर्न लागेको छ । उक्त महाधिवेशनमा देशैभरिबाट एमालेका २ हजारभन्दा बढी अगुवा नेता कार्यकर्ताहरू भेला हुनेछन् ।

नेकपा एमाले अहिले पनि एउटा बलियो राष्ट्रिय शक्ति हो । ओली सरकारको गलत कार्यले गर्दा पार्टीमाथि चौतर्फी वैचारिक आक्रमण भइरहेका बेला जेनजी आन्दोलनलाई ‘प्रतिगामी कदम’ भन्ने र चुनावको विरोध गर्ने ओलीको गलत कार्यदिशाले एमालेलाई थप कमजोर बनाउने लैजाने निश्चित छ । त्यसैले पार्टीभित्रका अन्य नेताहरूले बेलैमा हस्तक्षेप गर्न सकेनन् भने एमालेको अधोगतिलाई कसैले रोक्न सक्ने देखिँदैन ।

पार्टी अध्यक्ष ओलीले लिएको गलत कार्यनीतिलाई सच्याउनका लागि एमालेको महाधिवेशन सबैभन्दा उपयुक्त मञ्च हो । गल्ती सच्याउने एउटै ठाउँ एघारौं महाधिवेशन हो ।

के अब नेकपा एमालेले एघारौं महाधिवेशनबाट आफ्नो ‘उल्टो कार्यनीति’ सच्याउला ? फागुन २१ गते ‘सुखानी शहीद दिवस’कै दिन हुन लागेको आम निर्वाचनमा एमाले सहभागी होला ? झिनो आशा अझै बाँकी छ ।





Read More