― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsउखुको मूल्य हालसम्मकै उच्च पाउँदा पनि किन असन्तुष्ट छन् किसान ? 

उखुको मूल्य हालसम्मकै उच्च पाउँदा पनि किन असन्तुष्ट छन् किसान ? 


राष्ट्रिय

समाचार.

  • सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ र थप ७० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ।
  • गत आव कटौती भएको प्रतिक्विन्टल ३५ रुपैयाँ अनुदान किसानले अझै पाएको छैन र तत्काल भुक्तानीको माग गरिरहेका छन्।
  • उखु खेतीको लागत बढ्दा पनि किसानले उचित मूल्य नपाउँदा उत्पादन घट्दै गएको र किसान आन्दोलन जारी रहेको छ।

२६ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा उखु किसानले हालसम्मकै उच्च उखुको समर्थन मूल्य पाएका छन् ।

२२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले चालु आवका लागि उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ तोकेको छ  । यो मूल्य चिनी उद्योगहरूले किसानलाई  सिधै भुक्तानी गर्नेछन् ।

यस अतिरिक्त सरकारले आर्थिक वर्षको अन्त्यमा उखु किसानलाई प्रतिक्विन्टल थप ७० रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय पनि गरेको छ  । यसरी किसानले समर्थन मूल्य र सरकारी अनुदान दुवै मिलाएर कुल प्रतिक्विन्टल ६ सय ९० रुपैयाँ प्राप्त गर्नेछन् ।

उखुको मूल्य हालसम्मकै उच्च पाउँदा पनि उखु किसान सन्तुष्ट भने छैनन् । हुन त गत वर्ष पनि उखु किसानलाई सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ नै अनुदान दिने निर्णय गरेको थियो ।

तर, पछि आर्थिक अभाव देखाउँदै किसानलाई आधा अनुदान कटौती गरेर ३५ रुपैयाँ मात्रै दिइएको थियो । सोही कारण उखु किसान यो समर्थन मूल्य ठिकै लागे पनि सन्तुष्ट हुन भने नसकेको बताउँछन् ।

सरकारले अनुदान रकम कटौती गरेर आधा मात्रै उपलब्ध गराएपछि उनीहरूले आन्दोलन गरे । किसानको आन्दोलनपछि सरकारले त्यही बेला प्रतिक्विन्टल ३५ रुपैयाँका दरमा किसानले पाउने करिब ७६ करोड रुपैयाँ किसानको खातामा पठायो  ।

किसान भने कटौती भएको ३५ रुपैयाँ पनि किसानले पाउनुपर्ने माग राख्दै कहिले कृषि तथा पशुपन्छी विकासमन्त्री त कहिले प्रधानमन्त्री सुशीला कार्कीकहाँ धाइरहे ।

बारम्बार माग र दबाबपछि सरकारले गत वर्ष कटौती भएको उखुको अनुदान अझै पनि दिने भनेर आश्वासन दिइरहेको किसानको भनाइ  छ ।

किसानले २९ मंसिरसम्म उखुको समर्थन मूल्य तोक्न र कटौती भएको ३५ रुपैयाँ अनुदान भुक्तानी गर्न सरकारसँग समय माग गरेको बताएका थिए । सोही अवधिभित्र उखुको समर्थन मूल्य र अनुदान रकम तोकिएपछि गत वर्ष कटौती भएको रकम पनि भुक्तानी हुन्छ भन्ने आश किसानमा अझै रहेको बताउँछन् उखु उत्पादक महासंघ अध्यक्ष श्यामबाबु राय ।

गत आव कटौती भएको प्रतिक्विन्टल ३५ रुपैयाँ भुक्तानी नभएकोमा भने महासंघको गम्भीर असन्तुष्टि रहेको र उक्त रकम तत्काल उपलब्ध गराउनुपर्ने माग यथावत रहेको उनी बताउँछन् ।

किसानहरूको मुख्य असन्तुष्टि गत आव प्रतिक्विन्टलमा कटौती भएको ३५ रुपैयाँ भुक्तानीमा रहेको उनको भनाइ छ । उक्त रकम हालसम्म किसानले नपाएको भन्दै उनले आक्रोश पोखे ।

‘गत सालको कटौती भएको ३५ रुपैयाँ सरकारले दिन्छु नै भनेर आश्वासन दिइरहेको छ,’ अध्यक्ष रायले भने, ‘त्यो ३५ रुपैयाँ अविलम्ब हामीलाई भुक्तानी गरियोस् भन्ने हाम्रो माग हो ।’

गत आव २०८१/८२ को बजेटमा उखु खेती प्रवर्द्धनका लागि किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । त्यो रकम ७० रुपैयाँ प्रतिक्विन्टलका दरले अनुदान उपलब्ध गराउनकै लागि विनियोजन भएको थियो ।

तर, कृषि मन्त्रालयले २२ असारमा प्रतिक्विन्टल ३५ रुपैयाँका दरले मात्रै अनुदान उपलब्ध गराउने गरी निर्णय गर्‍यो, जसलाई मन्त्रिपरिषद्ले पनि पारित गर्‍यो ।

तर, अध्यक्ष राय भने गत वर्षको कुल २ अर्ब २५ करोड रुपैयाँ बजेटमध्ये करिब ७६ करोड मात्रै भुक्तानी भएको र बाँकी रकम पनि किसानकै अधिकार भएकोे दाबी गर्छन् ।

गत वर्ष कटैती भएको ३५ रुपैयाँको माग भने कुनै पनि हालतमा नछाड्ने र त्यसलाई निरन्तर उठाइरहने उनको भनाइ छ ।

मंसिर दोस्रो सातादेखि उखु ‘क्रसिङ सिजन’ सुरु हुन्छ । किसानका बारीमा क्रसिङका लागि उखु तयार भइसके पनि उखुको न्यूनतम समर्थन मूल्य तोक्न ढिलाइ हुँदा उखु मिल सञ्चालन हुन सकेनन् । यद्यपि, मिलहरूले १ पुसदेखि चलाउने तयारी थालेका छन् ।

किसान यतिबेला खुट्टी उखु (दोस्रो वर्षको बाली) छिटो काटेर अन्य बाली समयमै लगाउने चटारोमा छन् र त्यसका लागि चिनी उद्योगहरू तत्काल सञ्चालन हुनुपर्ने माग गरिरहेका छन् ।

किसानहरू खुट्टी उखु काटेर पुसको तेस्रो साताभित्रै अर्को बाली लगाइ सक्ने समयको दबाबमा छन् । यदि त्यो समय अर्को बाली लगाउन नसके असारसम्म कुर्नुपर्ने बाध्यता हुने किसानको भनाइ छ ।

उखु किसान जताततैबाट पीडित

नेपाल उखु उत्पादक महासंघ सहसंयोजक राजकुमार उप्रेती उखु किसान सरकारले तोक्ने न्यूनतम समर्थन मूल्य, सरकारी अनुदान र उद्योगीहरूको व्यवहारबाट पीडित भइरहेको बताउँछन् ।

उद्योगीहरूले किसानलाई कम मूल्य दिने र चिनी महँगोमा बेचेर दोहोरो फाइदा लिइरहेको आरोप उनको छ । ‘चालु आवका लागि सरकारले तोकेको मूल्य उच्च भए पनि यसको फाइदा किसानले पाएनन्, उद्योगीले नै पाउने भए,’ उप्रेतीले थपे ।

उप्रेतीले भारतमा किसानलाई सिधा अनुदान नदिए पनि उखुको मूल्य नेपालभन्दा बढी रहेको बताए । भारतमा मल, बीउ र बीउजस्ता कृषि सामग्रीमा अनुदान दिइए पनि उद्योगीले किसानलाई दिने उखुको मूल्य प्रतिक्विन्टल ६ सय ५० देखि ७ सय रुपैयाँसम्म रहेको उनले बताए ।

उखु खेतीमा बढ्दो लागत

सहसंयोजक उप्रेतीले उखु खेतीको लागत अत्यधिक बढेको बताए । एक बिघामा उखु खेती गर्न करिब २ लाख रुपैयाँ खर्च लाग्ने गरेको उनको भनाइ छ । यो लागतमा रोपाइँ, गोडमेल, मलजल, काट्ने, बेच्ने र ढुवानीसम्मका सबै खर्च समावेश हुन्छन् ।

‘उखु खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर प्रतिक्विन्टल ७ सय ५० रुपैयाँ पाउनुपर्छ भन्ने माग हाम्रो थियो,’ उनले भने, ‘तर, सरकारले मूल्य र अनुदान गरी ६ सय ९० रुपैयाँ मात्रै निर्धारण गरिदियो ।’

बढ्दो लागत, उचित मूल्य नपाउनु र समयमै भुक्तानी नहुँदा किसानहरू उखु खेतीबाट विस्थापित भइरहेको उनले बताए । विशेषगरी सर्लाही, रौतहट र महोत्तरी जस्ता प्रमुख उखु उत्पादन हुने क्षेत्रमा उखु उत्पादनमा भारी गिरावट आएको छ ।

उखु खेतीको इतिहास र किसान आन्दोलन

उप्रेतीका अनुसार उखु किसानले २०४८ सालदेखि नै विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । सुरुवाती दिनमा अत्यधिक उखु उत्पादन हुँदा र चिनी कारखाना कम हुँदा कारखानाहरूले सबै उखु खरिद गर्न नसक्ने भएपछि किसानले उखु खेतमै जलाउनुपर्ने अवस्था आएको थियो । त्यतिबेला उद्योगीले २५ प्रतिशत खरिद गर्ने र बाँकी ७५ प्रतिशत किसानले आफैं व्यवस्थापन गर्थे ।

त्यतिबेला पनि उखु खेर जाने भएपछि किसानले आन्दोलन गरे । आन्दोलनपछि ७५ प्रतिशत उद्योगीले खरिद गर्ने र २५ प्रतिशतमात्र किसान आफैंले व्यवस्थापन गर्ने सहमति भएको उनी बताउँछन् ।

पछि सरकारी स्वामित्वका वीरगञ्ज चिनी कारखाना र लुम्बिनी चिनी कारखाना बन्द भएपछि निजी उद्योगीले मनपरी मूल्य निर्धारण गर्न थाले । यसले गर्दा उचित मूल्य, समयमै भुक्तानी र सरकारी अनुदान निरन्तरताको माग गर्दै आन्दोलन भई नै रहे ।

विगतमा उखु बेच्न उद्योगीबाट ‘पुर्जी’ पाउन पनि बिचौलियालाई घिउ र पैसा खुवाउनुपर्ने अवस्था रहेको र पुर्जीसमेत कालोबजारीमा बिक्री हुने गरेको अनुभव उनले सुनाए । तर, अहिलेको अवस्था फरक छ । विगतमा उखु धेरै भएर उद्योगीले नकिन्ने समस्या थियो भने अहिले उखु नै कम भएर उद्योगीलाई पुग्दैन ।

सर्लाहीमा हाल इन्दुशंकर सुगर मिल, अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल गरी तीनवटा चिनी उद्योग छन् । पहिले सर्लाहीमा उखु उत्पादन धेरै हुँदा त्यहाँका उद्योगलाई धेरै भएर रौतहट, महोत्तरी जस्ता जिल्लामा पनि उखु बेच्न लैजानुपर्थ्यो ।

तर, अहिले उखु उत्पादन यति धेरै घटेको छ कि यी तीन वटै उद्योगलाई सर्लाहीको उखुले नपुगेर अन्य जिल्लाबाट ल्याउनुपर्ने अवस्था छ । उप्रेतीका अनुसार अहिले उद्योगहरूले पहिलाभन्दा करिब आधामात्र उखु पेल्ने गरेका छन् ।

९ वर्षमा ५३६ बाट ६९० रुपैयाँ पुग्यो उखुको समर्थन मूल्य

सरकारले निर्धारण गरेको उखुको न्यूनतम समर्थन मूल्यमा विगत ९ वर्षको तथ्यांक केलाउँदा वृद्धि हुँदै गएको देखिन्छ । आव २०७४/७५ मा प्रतिक्विन्टल ५३६.५६ रुपैयाँ रहेको उखुको मूल्य चालु आव आइपुग्दा हालसम्मकै उच्च ६ सय ९० रुपैयाँ कायम भएको छ ।

सरकारी तथ्यांक अनुसार विगतका केही वर्ष मूल्य स्थिर रहे पनि पछिल्ला वर्षहरूमा भने मूल्यमा उतारचढाव र वृद्धि दुवै देखिएको छ ।

आव २०७४/७५ देखि २०७६/७७ सम्म उखुको समर्थन मूल्यमा कुनै परिवर्तन भएको थिएन । यी तीन वर्षमा किसानले सरकारी अनुदान सहित प्रतिक्विन्टल ५३६.५६ रुपैयाँ मात्रै पाउने गरेका थिए । आव २०७७/७८ मा भने सामान्य वृद्धि भई ५४४.३३ रुपैयाँ पुगेको थियो ।

त्यस्तै २०७८/७९ बाट उखुको मूल्यमा तीव्र वृद्धि हुन थाल्यो । उक्त वर्ष ५ सय ९० रुपैयाँ पुगेको मूल्य २०७९/८० मा ६ सय १० र  २०८०/८१ मा ६ सय ३५ रुपैयाँ पुगेको थियो ।

तर, २०८१/८२ मा भने अघिल्लो वर्षको तुलनामा मूल्य घटेको देखिन्छ । अघिल्लो वर्ष ६ सय ३५ रुपैयाँ पाएका किसानले गत वर्ष प्रतिक्विन्टल ६ सय २० मात्रै पाएका थिए । सरकारी अनुदानमा भएको कटौतीका कारण मूल्यमा यो गिरावट आएको हो ।

गत वर्ष मूल्य घटेर मारमा परेका किसानका लागि चालु आवको मूल्यले केही राहत दिएको छ । सरकारले यस वर्ष अनुदान सहित ६ सय ९० रुपैयाँ समर्थन मूल्य तोकेको छ, जुन गत वर्षको तुलनामा ७० रुपैयाँ र ९ वर्षअघिको तुलनामा १ सय ५३.४४ रुपैयाँ बढी हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More