― Advertisement ―

ProtoArc XK01 TP फोल्ड गर्न मिल्ने किबोर्ड र टचप्याड कम्बोमा बचत गर्नुहोस्

ट्याब्लेट वा फोनबाट काम गर्न सजिलो हुन सक्छ, तपाईंले लामो वा महत्त्वपूर्ण कुरा टाइप गर्न आवश्यक नभएसम्म। यो व्यापार समस्या समाधान गर्नु हो...
HomeLatest newsआईजीपी खापुङका चुनौतिपूर्ण ६९ दिनका अनुत्तरित प्रश्न

आईजीपी खापुङका चुनौतिपूर्ण ६९ दिनका अनुत्तरित प्रश्न



२५ कात्तिक, काठमाडौं । ‘अहिलेसम्मको मेरो सम्पत्ति भनेकै ‘पब्लिक अडिट’ हो । छोटो अवधिमा केही गर्न नसके पनि यसलाई कायमै राखेर बिदा हुन्छु ।’

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त हुनु केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा चन्द्रकुवेर खापुङले अनलाइनखबरसँग भनेका थिए ।

जम्माजम्मी २ महिना ९ दिन (६९ दिन) का लागि आईजीपी बनेका खापुङले यो छोटो अवधिमा आफूले सोचेअनुसार नै काम गरे ? वा साँच्चै बिर्सन लायक काम गरे ?

खापुङले आफ्नो छोटो अवधिलाई जसरी समीक्षा गरे पनि प्रहरीको इतिहासमा उनको कार्यकालमा संगठनले अपुरणीय क्षति बेहोर्‍यो । भौतिक, मानवीय र मनोवैज्ञानिक क्षतिको हिसाब गर्ने हो भने यो समय १० वर्षे सशस्त्र संघर्षभन्दा कम नरहेको प्रहरीहरूको बुझाइ छ ।

खापुङको कार्यकाल खादामाला लगाउँदै सकिनेदेखि दशैं-तिहार सुरक्षा केन्द्रित मात्रै हुने बुझाइ धेरैको थियो । तर परिस्थिति यस्तो बन्यो, यो समयमा प्रहरीका लागि सबै विपत्ति एकै पटक आइपर्‍यो । १९ भदौमा आईजीपीको जिम्मेवारी सम्हालेका खापुङले बधाई थाप्दाथाप्दै २३ भदौको जेनजी आन्दोलन सुरु भयो ।

सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध, भ्रष्टाचारको अन्त्य र सुशासन लगायत माग राखेर सुरु भएको जेनजी आन्दोलनले खापुङको ‘पुलिसिङ’को नाडी छाम्यो । शान्तिपूर्ण आन्दोलन हुने भनिएको पहिलो दिनमै प्रहरीका ब्यारिकेड तोडिए ।

निषेधित क्षेत्र जोगाउन प्रहरी पूर्णतः असफल रह्यो । संसद् भवनका प्रहरीका सेन्ट्री पोस्टमा आन्दोलनकारी पुगेर सेल्फी हाने । संसद् भवन आन्दोलनकारीको निशानामा पर्‍यो ।

संसद् भवन छिर्नबाट रोक्न असफल प्रहरीले गोली चलायो । प्रहरीको गोली लागेर प्रदर्शनकारी भकाभक सडकमा ढले । पूर्वसूचना संकलनमा प्रहरी चुक्यो, भिड नियन्त्रण पूर्ण रूपमा असफल भयो । प्रदर्शनमा उत्रिएका निहत्था विद्यार्थीको ज्यान गयो ।

निषेधित क्षेत्र अगाडि नै प्रहरीले प्रदर्शनकारीलाई रोक्न सकेको भए यति ठूलो मानवीय क्षति हुने थिएन । यसमा असफल भएको जस/अपजस स्वाभाविक रूपमा नेतृत्वको हिसाबले खापुङमाथि जाने नै भयो ।

पहिलो दिनको घटनाबाट झस्केको प्रहरी भोलिपल्ट २४ भदौमा निरीह देखियो । कार्यालय छाडेर भाग्नुपर्ने अवस्था आयो । ज्यान जोखाउन हात उठाएर आत्मसमर्पण गर्नुपर्नेदेखि बर्दी फुकालेर प्रहरी भाग्नुपर्‍यो ।

देशभरका प्रहरी कार्यालय तोडफोड र आगजनी भए । ३ प्रहरी मारिए । २३ र २४ गतेको घटनामा प्रहरी पूर्णतः असफल देखियो । पूर्वसूचनादेखि आन्दोलनको रणनीति बनाउनै प्रहरी असफल रह्यो । जेनजी घटना प्रहरी इतिहासमा बिर्सन लायक बन्यो ।

अबको केही दिनमा आईजीपी खापुङ प्रहरी सेवाबाट बिदा भए पनि २३ र २४ भदौको घटनाले उनलाई प्रश्न गरिरहनेछ- हतियार सुम्पेर प्रहरी भाग्ने अवस्था किन आयो ?, आन्दोलन नियन्त्रणमा प्रहरी कहाँ चुक्यो ?

सुरक्षामा चुक भएको विषय आईजीपी खापुङले सार्वजनिक रूपमा स्वीकारेका छन् । प्रहरीले गोली चलाउनुपर्ने अवस्थाका बारेमा भने त्यतिबेलाको परिस्थितिको उपज भनेर सञ्चारमाध्यममा अभिव्यक्ति दिइसकेका छन् ।

यो अभिव्यक्ति पनि विरोधाभास बन्यो । जेनजी समूह लगायतले त्यतिबेलाको सरकारको नेतृत्वलाई जोगाउने गरी अभिव्यक्ति दिएको रूपमा बुझे । अर्का एकथरीले भने खापुङले सत्य बोलेको भन्दै प्रचार गर्नेसम्मको काम भयो ।

प्रहरी संगठन तथा फिल्डमा खटिएका प्रहरी कर्मचारीका लागि उनले अडान राखेको भन्दै संगठनभित्र राम्रै चर्चा पायो । सँगै घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगलाई असहयोग गरेको आरोप खापुङले खेपे ।

०००

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा भने प्रहरी सम्हालिएर काम गर्‍यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी पर्‍यो । उनीहरूलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग गर्दै मृतकको परिवारले परिवारमा जाहेरी दिए ।

यसविरुद्ध एमालेकै भ्रातृ संगठन युवा संघको तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहदेखि हामी नेपालीका संस्थापक सुदन गुरुङविरुद्ध काउन्टर जाहेरी पर्‍यो ।

ओली, लेखकलाई तत्कालै पक्राउ गरेर कारबाही गर्नुपर्ने दबाब प्रहरीमा आयो । दुवैतर्फको काउन्टर जाहेरीले स्थिति फेरि मुठभेडको अवस्थामा पुगेको भान भयो ।

तर, यो परिस्थितीलाई भने प्रहरीले सुझबुझपूर्ण तरिकाले किनारा लगायो । तत्कालै पक्राउ गरिहाल्दा मुद्दाको ग्राभिटी र निम्तिन सक्ने मुठभेडबारे विश्लेषण गरेर प्रहरीले दुवै जाहेरीलाई तामेलीमा राख्न सरकारी वकिल कार्यालयमा पठायो । सरकारी प्रहरीको रायअनुसार जाहेरी तामेलीमा राखेपछि अर्को सुरक्षा जोखिम तत्काललाई टरेको थियो ।

घटनाबारे जाँचबुझ आयोगले जाँच गरिरहेकाले अहिले नै प्रहरीले कारबाही गरिहाल्नु हुन्न भन्ने अडान खापुङको थियो । यो अडानले मुठभेड टरेको प्रहरीभित्र चर्चा हुने गर्छ ।

यता, जेनजी समूहले भने प्रहरीको यही रणनीतिलाई लिएर आलोचना गरेका छन् ।

०००

जेनजी आन्दोलनमा प्रहरीले आफ्ना कार्यालय, हातहतियार जोगाउन सकेन । यति मात्रै होइन, महत्वपूर्ण सरकारी संरचना पनि जले । सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार, जिल्ला अदालत तोडफोड र आगजनी भए ।

व्यक्तिका निजी सम्पत्तिदेखि, नेताका घर निशानामा परे । आन्दोलनको क्रममा बैंक लुट्नेसम्मका कामहरू भए । तर सबै थोक गुमाएर कमजोर बनेको प्रहरीले कसरी काम गर्ला भन्ने शंका थियो ।

तैपनि, स्रोत-साधनविहीन प्रहरीले जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्नेहरूलाई धमाधम पक्राउ गर्‍यो ।

बैंक लुट्नेदेखि प्रहरीको हत्या गर्ने, आगजनी र तोडफोड गर्ने, प्रहरीका हतियार लुट्ने, व्यक्तिका घरहरू लुट्ने समातिए ।

अहिले उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । केही पुर्पक्षका लागि कारागार चलान भएका छन् । केही भने धरौटीमा रिहा भएका छन् । यसले एउटा सकारात्मक सन्देश दिएको छ ।

०००

खापुङको कार्यकालमा प्रहरी संगठनले सम्झने एउटा राम्रो कामको सूचीमा किरियापुत्री भवन पर्छ । आईजीपीको जिम्मेवारी सम्हालेपछि पहिलो निर्णयका रूपमा उनले प्रहरीका बहालवाला र अवकाशप्राप्त प्रहरी कर्मचारीहरूका लागि किरियापुत्री भवन बनाउने घोषणा गरे ।

कार्यभार सम्हालेसँगै बसेको नीति निर्माण समिति (पीसीसी) को बैठकले यो निर्णय गर्‍यो । प्रहरी कल्याण कोषको कल्याणकारी कार्यक्रमअन्तर्गत किरियापुत्री भवनका शिलान्याससमेत खापुङले गरिसकेका छन् ।

जेनजी घटनामा सुरक्षा चुकबारे औसत काम गरेका खापुङ जति विवादरहित २९ वर्ष १० महिनामा थिए, त्यति बिवादरहित यो ६९ दिनमा बन्न सकेनन् । लो प्रोफाइलमा बसेर विवादरहित तरिकाले काम गर्ने खापुङ उत्तरार्धमा भने चर्चा र विवादको गोलचक्करमा परे । राम्रो गर्न नसके पनि नराम्रो नगर्ने बताउने कार्यकालको अन्त्यतिर सुरक्षा समन्वयको अगुवाईमा चुके ।

जेनजी आन्दोलनमा केही सुरक्षा चुक भएको बताए पनि त्यसपछिको घटनामा भने प्रहरीले उत्कृष्ट ढंगले काम गरिरहेको दाबी गर्छन् ।

उत्तरार्धमा जेनजी आन्दोलनको चक्रमा विवाद तानिएका खापुङ ३० वर्षे कार्यकाल सकेर यही कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाश जाँदैछन् ।





Read More