― Advertisement ―

‘तपाईको डाटा सार्वजनिक छ’: ह्याकरले 6.8 बिलियन इमेलहरू अनलाइन लीक गरेपछि पीडितहरूलाई चेतावनी दिन्छ

ह्याकर Adkka72424 करोडको अद्वितीय इमेल ठेगाना। साइबरन्युजले करिब ३ अर्ब प्रयोगयोग्य इमेलहरू प्रमाणित गरेको छ, सङ्ग्रहको साइज १५०GBबृहत् चुहावटले अनुकूलित सामाजिक इन्जिनियरिङ आक्रमणहरू मार्फत...
HomeLatest newsअमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्दा राष्ट्रसंघ मुकदर्शक

अमेरिकाले भेनेजुएलामाथि आक्रमण गर्दा राष्ट्रसंघ मुकदर्शक



२० पुस, काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसले भेनेजुएलामाथिको अमेरिकी आक्रमणपछि क्षेत्रीयस्तरमा गम्भीर र चिन्ताजनक असर पर्ने उल्लेख गरेका छन् । यो घटनाले ‘खतरनाक नजीर स्थापित’ गर्न सक्ने उनको निष्कर्ष छ ।

महासचिव गुटेरेसले सबै पक्षबाट संयुक्त राष्ट्रसंघको बडापत्रसहित अन्तर्राष्ट्रिय कानूनको पूर्ण सम्मान हुनुपर्ने भनिएको छ । तर कूटनीतिक क्षेत्रका जानकारहरू संयुक्त राष्ट्रसंघ आफैंले आफ्नो बडापत्र पालना गर्न नसकेको बताउँछन् ।

दोस्रो विश्व युद्ध अन्त्य लगत्तै गठन भएको राष्ट्रसंघको प्रमुख उद्देश्य हो- अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्नु । र, यसको आधारभूत सिद्धान्तले भन्छ– सबै सदस्य राष्ट्रहरू सार्वभौमसत्ता सम्पन्न र समान हुने कुराको प्रत्याभूत गर्दछ ।

तर गत शनिबार अमेरिकाले ‘अपरेशन एब्सोल्युट रिजल्ट’ को नाममा एउटा सार्वभौम देशमा आक्रमण गरेर राष्ट्रपति निकोलस मादुरो लगायतलाई पक्राउ गर्दा राष्ट्रसंघले प्रभावकारी भूमिका खेल्न सकेन ।

जबकी भेनेजुएला प्रकरण बारे राष्ट्रसंघ बेखबर थिएन । यही विषयमा उसले अक्टोबर र डिसेम्बरमा बैठक गरिसकेको थियो । अमेरिकी जासुसहरूले केही महिनादेखि नै राष्ट्रपति मदुरोको हरेक गतिविधिको सुक्ष्म निगरानी गरिरहेको एजेन्सीहरूले जनाएका छन् ।

अमेरिकाले राजधानी काराकासमा आक्रमण गरेकै दिन राष्ट्रसंघका लागि भेनेजुएलाको स्थायी नियोगले संयुक्त राष्ट्र सुरक्षा परिषद्का अध्यक्षलाई राष्ट्रसंघको बडापत्र अनुसार आपतकालीन बैठक बोलाउन अनुरोध गरेको थियो । अमेरिका भित्रै पनि अमेरिकी कारवाहीको विरोध भएको देखिन्छ । अमेरिकी वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले यो आक्रमणले अमेरिका र विश्वलाई सुरक्षित नबनाउने उल्लेख गरेका छन् ।

बर्नी स्यान्डर्सले भनेका छन्, ‘यसमा कुनै भ्रम नराखौंः यो चरम साम्राज्यवाद हो । यसले ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपका ती काला अध्यायहरूको सम्झना गराउँछ, जसले एउटा भयानक विरासत छोडेको छ । लोकतान्त्रिक विश्वले यसको निन्दा गर्नुपर्छ र गर्नेछ ।’

पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा राष्ट्रसंघले पछिल्लो समय आफ्नो उद्धेश्य र मान्यता अनुरुप भूमिका निर्वाह गर्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘यूएनको चार्टरलाई मान्यता दिएर प्रगतिको बाटोमा लागेका देशमा पनि यस्ता अप्रिय घट्ना घटिरहेका छन् । यस्तो तरल र चिन्ताजनक अवस्थामा युएनले प्रभावकारी भूमिका खेल्न सक्नु पर्दछ ।’

प्रथम विश्वयुद्धपछि स्थापना भएको ‘लिग अफ नेसन्स्’ दोस्रो विश्वयुद्ध रोक्न असफल भयो । त्यसपछि नै यसको सान्दर्भिकता हराउँदै गयो । दोस्रो विश्वयुद्धको विजयी देशहरूले अन्तर्राष्ट्रिय विवाद शान्तिपूर्ण ढंगले समाधान गर्न सकियोस् भनेर राष्ट्रसंघ स्थापना गरे ।

शान्ति सुरक्षा सुरक्षा परिषद्, सामाजिक आर्थिक परिषद् र मानव अधिकार परिषद्लाई राष्ट्रसंघको प्रमुख पिलरको रुपमा हेरिन्छ । तर यि तीन वटै पिलरमा राष्ट्रसंघले प्रभावकारी भूमिका खेल्न नसकेको जानकारहरू बताउँछन् । पूर्वपरराष्ट्र मन्त्री थापा भन्छन्, ‘राष्ट्रसंघ धेरै ठाउँमा विचलित भएको देखिन्छ । लोकतन्त्रिक प्रक्रियामा मात्र होइन मानवअधिकारको मामिलामा पनि ऊ चुक्दै गएको छनक पाइन्छ ।’

राष्ट्रसंघमा स्थायी प्रतिनिधि रहिसकेका एक जना कूटनीतज्ञ आणविक हतियारको प्रयोग बढ्दै गएको अवस्थामा राष्ट्रसंघको भूमिका झन् महत्त्वपूर्ण हुनुपर्नेमा कमजोर बन्दै गएको बताउँछन् ।

देशहरू द्वन्द्व उन्मुख भइरहँदा सरकार–सरकार मिलेर बनेको संस्थाले प्रभावकारी भूमिका खेल्नुपर्नेमा ठीक उल्टो भइरहेको उनको बुझाइ छ । नाम उल्लेख गर्न नचाहने ती पूर्व स्थायी प्रतिनिधि भन्छन्, ‘संयुक्त राष्ट्रसंघ जे उद्धेश्यका लागि गठन भएको हो त्यसमा असफल हुँदै गएको देखिन्छ ।’

भौगोलिक र सैन्य शक्तिको हिसाबले साना देशहरूका लागि बहुपक्षीय कूटनीतक थलोका बढी महत्त्व हुन्छ । तुलनात्मक रुपमा कम प्रभावशाली सार्वभौम राष्ट्रहरूले ठूला राष्ट्रको हस्तक्षेप भोग्न नपरोस् भनेर राष्ट्रसंघलाई आड भरोसाको रुपमा लिएको तर उसको भूमिका देखिन छाडेको जानकारहरू बताउँछन् । उनीहरूका अनुसार भेनेजुएला प्रकरणले राष्ट्रसंघ बलियाकै पक्षमा उभिन्छ भन्ने पुनःपुष्टि गर्‍यो ।

इजरायलले गाजामा गरेको हमलाहोस् वा रुस–युक्रेन प्रकरणमा पनि राष्ट्रसंघको भूमिका प्रभावकारी देखिएन । विश्लेषक इन्द्र अधिकारी विश्व दुई ध्रुवमा बाँधिएका बेला लोकतान्त्रिक भएकाले रुसभन्दा अमेरिका ठीक भन्नेहरूलाई पनि भेनेजुएलामा राष्ट्रसंघको भूमिकाले निराश बनाएको बताउँछिन् । ‘लोकतान्त्रिक हुँ भन्ने देशले लोकतन्त्रको सबै मूल्यमान्यतामा मान्नै पर्दछ,’ उनी भन्छिन् ।

एउटा सार्वभौम राष्ट्रको अखण्डतामाथि प्रहार हुँदा पनि राष्ट्रसंघले आफ्नै बडापत्र अनुसार काम गर्न नसकेको कूटनीतिज्ञहरू बताउँछन् । जबकी अन्तर्राष्ट्रिय विवादलाई सैन्य कारबाहीमा पुग्नु अघि नै डोमिनो प्रभाव नहुने गरी समाधान गर्नुपर्ने मञ्च हो, राष्ट्रसंघ । निशस्त्रीकरण, सामूहिक सुरक्षा र संवादमार्फत युद्ध हुन नदिने जस्ता भूमिकामा यो फितलो बन्दै गएको जानकारहरू बताउँछन् ।

आफ्नो निर्णय कार्यान्वयन नगर्ने वा नमान्नेलाई के कारवाही गर्ने भन्नेमा राष्ट्रसंघ आफैं स्पष्ट नभएको अधिकारीको विश्लेषण छ । उनी भन्छिन्, ‘युएनको निर्णय नैतिक बन्धन जस्तो मात्र भएको छ, त्यसकारण संयुक्त राष्ट्रसंघको संरचनालाई लिएरै प्रशस्त बहस गर्नुपर्ने बेला आएको छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More