― Advertisement ―

27 सुन्दर बेज-प्रेरित गृह कार्यालयले तपाईंको शान्त, तटस्थ कार्यस्थान सिर्जना गर्न खोज्छ

शैम्पेन बेजदेखि स्टोन ओटसम्म, यो कार्यालयको फर्निचर, डेस्क र अत्यावश्यक सामानहरू बनाउनका लागि आवश्यक छ। थप पढ्नुहोस्
Homeमनोरन्जन: सेतोपाटी सिनेमा :: KhabarHost : सेतोपाटी सिनेमा :: KhabarHost

: सेतोपाटी सिनेमा :: KhabarHost : सेतोपाटी सिनेमा :: KhabarHost


Tata box 1
Tata box 1

गुड फ्राइडे सिनेमा

शिवमणि आफ्ना किशोर छोरा चिन्तामणिसँग अँध्यारोमा जंगलभित्र एकदमै सतर्क भएर हिँडिरहेका छन्। आफूहरू हिँडेको पैतालाको डोब नदेखियोस् भनेर उनी छोरालाई पोखरीको बीच भागबाट हिँडाउँछन्।

बुबा खानेकुरा भएको झोला र छोरा बम भएको झोला पानीबाट जोगाउन सचेत हुँदै हिँड्छन्। जसै पानी बाहिर निस्किन्छन्, शिवमणि छोरालाई उल्टो पाइला हिँड्न भन्छन्।

यसैबीच प्रहरीको साइरन बजेको सुनिन्छ। 

वेत्रीमारण निर्देशित ‘असुरन’ फिल्मको यो पहिलो दृश्यले दुई कुरा देखाउँछ।

पहिलो उनीहरू ठूलै संकटमा छन्। दोस्रो, शिवमणि छोराको सुरक्षाप्रति असाध्यै सजग छन्।

Laxmi bank
Laxmi bank

दोस्रो दृश्यमा शिवमणिकी श्रीमती पार्वती, सानी छोरी र जेठान पनि लुक्दै बच्दै कतै गइरहेको देखिन्छ। यी दुई दृश्यले फिल्मका मुख्य पात्र शिवमणि र उनको पूरा परिवार संकटमा छ भन्ने जानकारी दिन्छ। सँगै, दर्शकलाई संकटको कारण थाहा पाउन उत्सुक पनि बनाउँछ।

शिवमणिको परिवार उनीहरूका गाउँको जमिनदार नरसिंहको परिवारबाट बच्न भागेका हुन्।

उनीहरू भाग्नुपर्ने कारण यस्तो छ–

शिवमणि सामान्य किसान हुन्, नरसिंह सामन्ती जमिनदार। उनीहरूको गाउँमा गरिब र धनी बस्ने इलाका नै फरक छ।

नरसिंहका भाइ वेंकेटश सहरका व्यापारीहरूसँग मिलेर गाउँमा सिमेन्ट फ्याक्ट्री खोल्न चाहन्छन्।

फ्याक्ट्री खोल्न जग्गा चाहिन्छ। यस्तो अवस्थामा धनीहरूले आँखा लगाउने भनको सोझा किसानहरूको जग्गामाथि नै हो।

उनीहरूले शिवमणिको जग्गामा आँखा लगाउँछन्। शिवमणि द्वन्द्व चाहँदैनन्। उनी जग्गा बेचेर शान्तिसँग बस्न चाहन्छन्। तर उनका ठूला छोरा गुरूमणि आफ्नो परिवारको जग्गा छोड्ने पक्षमा हुँदैनन्।

गुरूमणिमा अन्यायको विपक्षमा लड्नुपर्छ भन्ने चेत र आँट पनि छ। उनकी आमा पनि गुरूमणिजस्तै छिन्। आफ्नो जमिनमा जमिनदार र व्यापारीको आँखा गढेको उनलाई फिटिक्कै मन पर्दैन।

घटनाक्रम यसरी बढ्छ कि शिवमणिको चाहना विपरीत उनको परिवार र नरसिंह परिवारबीच द्वन्द्व चर्किन्छ।

दुईतर्फी झगडा चर्किँदै जाँदा नरसिंहका मान्छेले गुरूमणिको विभत्सपूर्ण हत्या गर्छन्। शिवमणिको परिवारले गुरूमणिको टाउको बिनाको लास मात्र देख्न पाउँछन्।

किशोर चिन्तामणि दाइको हत्या हुनुअघि नरसिंह पक्षकै कारण आफ्नो प्यारो कुकुर गुमाउनुपरेको शोकमा हुन्छन्। दाइको मृत्युपछि उनको शोक कयौं गुणा बढ्छ।

यसको बदला लिन चिन्तामणिले आफ्नो परिवारलाई सुइँको नदिई नरसिंहको हत्या गर्छन्। उनले जमिनदारलाई मारेर दाइको हत्याको बदला त लिन्छन्, तर यसपछि आइपर्ने संकटबारे अबोध हुन्छन्।

शिवमणिलाई भने त्यो भयावह संकटको पूर्वानुमान हुन्छ। किनकी कथित तल्लो जात वा दलित भनिने सामान्य किसानले सामन्तीहरूबाट दुःख पाउने कुरा उनीहरूको गाउँमा नयाँ थिएन।

ठूला र साना जात अनि वर्गका नाममा हुने पुस्तौंदेखिको दमन र प्रतिरोधका घटना उनले देखेका हुन्छन्। आफै पनि धेरै भोगेका हुन्छन्।

त्यसैले उनी झगडा गर्नुको साटो झुकेर समाधान खोज्ने प्रयास गरिरहेका थिए। तर आफूले नचाहँदा नचाहँदै पनि उनको ठूलो छोरा मारिन्छन्। स्कुल पढ्ने सानो छोराले दाइको मृत्युको बदला लिन जमिनदारको ज्यान लिएपछि उनको परिवार नै बिस्थापित हुनुपर्छ।

प्रहरी र गुन्डाहरूबाट जोगिन जंगल पसेका शिवमणिले के यो संकटबाट आफ्नो परिवारको रक्षा गर्न सक्लान्? 

यसको जबाफ नै असुरनको मूल कथा हो।

असुरन बदलाको कथा हो जसमा शोषक र शोषितबीचको द्वन्द्व केन्द्रमा छ। तर फिल्म शिवमणिको परिवार र जमिनदार पक्षबीचको द्वन्द्वमा मात्र केन्द्रित छैन।

कथा फराकिलो दायरामा स्थापित गर्न जमिनदार र किसानबीचको संघर्षलाई जातीय र वर्गीय विभेदको मुद्दासँग गाँसिएको छ। यद्दपि असुरन जातीय वा वर्गीय मुद्दामा बहस गराउने गम्भीर फिल्म भने होइन। यो भरमार एक्सन दृश्यले भरिएको व्यावसायिक फिल्म हो। यसमा भारतीय समाजको यथार्थ थ्रिलर शैलीमा देखाइएको छ।

धेरै दक्षिण भारतीय फिल्मजस्तै हिरोले गुन्डासँग साहसिक रूपमा लडेको दृश्यलाई तन्काइएको छ। तैपनि फिल्म यथार्थबाट धेरै टाढा भाग्दैन।

फिल्मको सुरूतिरै गुरूमणिले शिवमणिलाई भन्छन्, ‘हक सजिलै मागेर पाइँदैन बुबा, त्यो छिनेर लिनुपर्छ।’ 

फिल्मले यस्तै आफ्नो हक माग्ने साहसका कारण समस्यामा परेका परिवारको कथा भन्छ।

‘जमिन त जसले पनि खोस्न सक्छ। पैसा जसले पनि लुट्न सक्छ। तर तिमीले पढे, लेख्यौ भने कसैले केही खोस्न सक्दैन,’ अन्तमा शिवमणि सानो छोरा चिन्तामणिलाई भन्छन्, ‘यदि अन्यायमाथि विजय पाउनु छ भने पढ, पढेर शक्तिशाली मान्छे बन। तर आफ्नो शक्तिको दुरूपयोग नगर।’

यो संवादले पनि आफ्नै माटोबाट लखेटिएका समुदायको पीडा बोल्छ।

फिल्मको कथा वर्तमान र अतीतका घटनाक्रम जोड्दै बुनिएको छ। कथाको महत्वपूर्ण हिस्सामा शिवमणिको अतीत देखाइएको छ जसले उनीहरूको परिवार र गाउँको विगत जोड्छ।

फरक समयको कथा देखाउने क्रममा अभिनेता धनुषलाई दुई फरक हुलियामा देख्न पाइन्छ।

बलिउडमा समेत चर्चित दक्षिण भारतीय अभिनेता धनुषले युवा र वयस्क दुवै भूमिकामा सशक्त अभिनय गरेका छन्। धनुषलाई फिल्ममा एकातिर शान्त र अर्कोतिर असाध्यै आक्रोशित चरित्रका रूपमा देखाइएको छ।

दुवै अवस्थामा उनले आफ्नो छाप पनि छाडेका छन्। तमिल भाषामा बनेको असुरन सन् २०१९ मा सार्वजनिक भएको फिल्म हो। यसले दुई दर्जन हाराहारी अवार्ड जितेको छ।

धनुषले तमिल भाषातर्फ उत्कृष्ट अभिनेताका रूपमा नेसनल फिल्म अवार्ड जितेका थिए। असुरनले तमिल भाषाको उत्कृष्ट फिचर फिल्मको नेसनल अवार्ड पाएको थियो। त्यस्तै असुरन ७८ औं गोल्डेन ग्लोब्स अवार्डमा समेत स्क्रिनिङ हुने फिल्म हो जुन अवसर थोरै भारतीय फिल्मले मात्र पाएका छन्।

फिल्ममा शिवमणिकी पत्नीको भूमिकामा अभिनेत्री मन्जु वारियर, ठूलो छोराको भूमिकामा तीजय अरूनासलम, सानो छोराको भूमिकामा केन करूनसले अभिनय गरेका छन्।

फिल्मको कथा लेखक पूमणिको तमिल उपन्यास ‘वेक्काई’ मा आधारित छ।  

 

 

 

 

 





Read More