― Advertisement ―

UK ड्राइभिङ सिद्धान्त परीक्षण बैठक कोठामा जान सक्छ किनकि DVSA ले बढ्दो ब्याकलग संकट र ढिलाइको बीचमा रिमोट परीक्षाहरू अन्वेषण गर्दछ।

रिमोट परीक्षणले लामो समयको प्रतीक्षालाई कम गर्न सक्छ। ब्याकलग दबाबले परम्परागत परीक्षण विधिहरूको पुनर्विचार गर्न बाध्य पारिरहेको छएआई प्रोक्टोरिङले निष्पक्षता र निरीक्षणको बारेमा नयाँ...
HomeLatest news‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’

‘सासै फेर्न नसकेर ढलें, होसमा आउँदा देब्रे हात काटिएको रहेछ’



भदौ २४ को जेनजी आन्दोलनका कारण घर आगलागी हुँदा रविलक्ष्मी चित्रकार गम्भीर घाइते भइन् । संक्रमण फैलिंदै जाँदा उनको देब्रे हात काट्नुपर्‍यो । कीर्तिपुर अस्पतालमा उपचार गरिरहँदा निमोनिया समेत भयो । त्यसपछि उनलाई थप उपचारका लागि भारतको एपोलो अस्पताल लगियो । लामो समयको उपचारपछि अहिले चित्रकार नेपाल फर्किएकी छिन् । तर यताउति गर्न पनि कसैको सहारा चाहिन्छ । २४ भदौमा उनले भोगेको कहालीलाग्दो क्षण र नेपालको समग्र स्वास्थ्य प्रणालीसँग सम्बन्धित भएर चित्रकारसँग अनलाइनखबरकर्मी सन्त गाहा मगरपुष्पराज चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :

अहिले यहाँको स्वास्थ्य अवस्था कस्तो छ ?

विस्तारै सुधार हुँदैछ । निको भइसकेको छैन ।

पहिला र अहिलेको दैनिकीमा के-के फरक परेको छ ?

धेरै फरक परेको छ । बिरामी हुनुभन्दा पहिले बिहानै उठ्थें, सक्रिय हुन्थें, घरको सबै काम आफैं गर्थें। अब त अरूको सहयोग विना केही गर्न सक्दिनँ । उठ्न पनि कसैको सहारा चाहिन्छ । बिहानको सबै काम गर्न साथी नै चाहिन्छ ।

पहिले अरूलाई सेवा गर्थेँ, अब अरूको सेवा लिनुपर्ने भएको छ । दुवै हात राम्रोसँग चल्दैनन्, त्यसैले प्याड वा मोबाइल अरूले चलाएर समाचार सुनाइदिन्छन् । आफैं हेर्न-पढ्न गाह्रो छ । दिनचर्या यसैगरी बितिरहेको छ ।

खानपानमा चाहिं नियमित भएको छ कि छैन ? केही कुरा खान नमिल्ने भन्ने छ ?

खानपानमा केही प्रतिबन्ध छैन । जे खाए पनि हुन्छ ।

औषधि पनि लिनुभएको छ ?

खास धेरै त छैन, तर भिटामिनहरू लिएकी छु ।

भनेपछि अहिले शारीरिक रूपमा स्वास्थ्य सुधार हुँदै गएको छ ?

सुधार त भइरहेको छ तर एकदमै गम्भीर घाउ भएकाले सुधार चाहिं ढिला भइरहेको छ ।

नेपालमा उपचार भइरहेको थियो । के कारणले तपाईंलाई दिल्लीस्थित एपोलो अस्पताल जानुपर्‍यो ?

नेपालमा त औषधि नै पाइएन । निमोनियाको औषधि नपाएर दिल्ली जाने बाध्यता भयो । यहाँ औषधि भएको भए त यति दुःख हुन्थेन होला ।

भारतको अस्पतालमा उपचार गर्दा के फरक पाउनुभयो ?

म पुगेको अस्पतालमा धेरै डिपार्टमेन्ट छन् । डिपार्टमेन्टबीच कोअर्डिनेसन एकदम राम्रो छ । कोअर्डिनेसन राम्रो भएकाले जुन रोग लिएर गए पनि छिट्टै उपचार हुन्छ ।

पोलेको घाउ एउटै डिपार्टमेन्टमा उपचार गरेर मात्रै हुँदैन । त्यसमाथि मलाई उपचारको क्रममा निमोनिया पनि भयो । त्यसका लागि छुट्टै डाक्टर र औषधि चाहियो । त्यहाँ छिट्टै व्यवस्था भयो, औषधि पाइयो, निको हुँदै गयो ।

२४ भदौको घटना अहिले सम्झन सक्नुहुन्छ ? त्यतिबेला कहाँ हुनुहुन्थ्यो ?

त्यस दिन खाना खाएका थिएनौं । करिब १२ बजेको हुँदो हो । खाना खान माथिपट्टि गएकी थिएँ । एक्कासि ढुङ्गा हान्न थाले । ढुङ्गा हानेर जान्छन् होला भनेर हामी सुरक्षित ठाउँमा बसिरहेका थियौं । ढुङ्गा हान्दाहान्दै धुवाँको मुस्लो आइहाल्यो । त्यो धुवाँ एकदमै कडा थियो । अलिकति पर पनि देखिंदैनथ्यो । पोल्ने खालको थियो ।

हात नभए पनि हात भएको फिल हुनेरहेछ । एकैचोटि हात नभएको महसुस नै भएन ।

छोएको मात्रै थियो मेरो हात जलिहाल्यो । एकैछिनमा सास फेर्न नसकेर म ढलेकी रहेछु, आफूलाई थाहा भएन । धेरै घण्टापछि अरूले खोज्दाखोज्दा पनि नदेखेका रहेछन् । तल झर्नै नमिलेर भर्‍याङ सबै धुवाँले देखिंदैनथ्यो । मलाई रेस्क्यु गर्नेहरू छिमेकीको घरबाट आएका रहेछन् । पानी छम्केपछि घरमै एकछिन होस आएको थियो । त्यहाँबाट यही नजिकैको छाउनी अस्पताल लगियो ।

रविलक्ष्मीलाई उद्धार गरिएको छिमेकीको घर

घरमा त्यतिबेला अरू को-को हुनुहुन्थ्यो ?

छोरा थियो, एक जना पुलिस भाइ पनि थिए । छोरो बरन्डामा पुगेको कारण केही भएन । म बरन्डामा पुग्न नपाउँदै त्यहीं बेहोस भएछु । हावामा पुग्न सकिनँ, त्यो धुवाँ एकदमै कडा थियो, सास फेर्न नसकेर ढलिहालें ।

त्यो बेलाको पीडा अहिले महसुस गर्न सक्नुहुन्छ ?

पीडाभन्दा पनि सास फेर्नै नसक्ने अवस्था थियो । कसरी बाँच्ने भन्ने मात्रै थियो । त्यसपछि त केही थाहा भएन । धेरैपछि पानी छम्किएपछि होसमा आएँ । छिमेकीले भर्‍याङ लगाएर उद्धार गरेका रहेछन् । छाउनी अस्पतालमा पुगेपछि मलाई केही याद छैन ।

होसमा आइपुग्दा कस्तो अवस्थामा हुनुहुन्थ्यो ?

कीर्तिपुर अस्पतालको बेडमा रहेछु । घाइते भएको रहेछु भन्ने थाहा पाएँ । देब्रे हात काटिएको रहेछ केही थाहा नै भएन । छाउनी अस्पतलाबाट नै भेन्टिलेटरमा राखेर कीर्तिपुर लगिएको रहेछ । साथीहरूले पछि भनेपछि थाहा पाएँ । एम्बुलेन्समा पनि धेरै ढुंगा आएका रहेछन् । अस्पतालमा पनि आक्रमण गर्न आएका रहेछन्, साथीहरूले बचाएका रहेछन् ।

हात छैन भन्दा कस्तो महसुस हुँदोरहेछ ?

हात नभए पनि हात भएको फिल हुने रहेछ । अहिले पनि महसुस अझै हुन्छ । एकैचोटि हात नभएको महसुस नै भएन । डाक्टरहरूको कुरा सुनेर मात्र थाहा भयो- हात काटिएको रहेछ । पीडा भएर पनि होला । पीडा नहुने औषधि खुवाएर पनि होला । हात काटिएको जस्तो लागेकै थिएन । पछि-पछि मात्र बुझें ।

मानसिक र शारीरिक पीडामध्ये कुन बढी हुँदोरहेछ ?

अहिले त शारीरिक पीडा नै बढी छ । एउटा हात छैन, अर्को हात पनि राम्रोसँग चल्दैन । दैनिक काममा अरूको सहारा चाहिन्छ । यदि यो निको भएको भए फुर्ती आउँथ्यो होला, तर अहिले त अरूको भरमा बाँच्नुपर्ने अवस्था छ । शरीरका विभिन्न भागमा जलन छ । खुट्टा, पिठ्यूँ, टाउकोमा अलिअलि, तर सबैभन्दा बढी दुवै हातमा परेको थियो । पीडा २४सै घन्टा हुन्छ । बाहिरी घाउ त निको भइसके जस्तो देखिन्छ, तर भित्रसम्म गहिरो जलन भएकोले फोका उठ्ने, दुख्ने समस्या बारम्बार आउँछ । पूरै निको हुन झन्डै एक वर्ष लाग्ने डाक्टरहरूले भनेका छन् ।

विदेश जानुपर्ने भए महँगो भयो । ३० वर्ष शासन गरेर पनि स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार ल्याउन सकिएन । यो कमजोरी भइहाल्यो । कमजोरी नभएको भए यस्तो आन्दोलन हुने थिएन ।

चिन्ता गरेर केही हुन्छ र ? आखिरमा लड्नैपर्छ । पहिले पनि म यस्तै थिएँ । चिन्ता धेरै लिदिनथें । जुन घटना घटिसक्यो, त्यो फर्केर आउँदैन । चिन्ता लिएर केही काम छैन । बलियो भए भने त निको छिट्टै हुन्छ । कसरी अगाडि बढ्ने भन्ने मात्र सोच्छु ।

जीवनभरि कमाएर बनाएको घर जलेको छ । शारीरिक रूपमा यति दुःख छ । तर मानसिक रूपमा बलियो हुनुहुन्छ । यो अवस्थालाई कसरी सहज रूपमा लिन सक्नुभएको छ ?

राजनीतिक मान्छेसँग जोडिएको जीवनमा यस्ता घटना आउँदा रहेछन् । मैले सहज रूपमै लिएकी छु । भइसकेको घटनालाई चिन्तामा डुबेर फर्किंदैन । निराकरण त गर्नुपर्छ, तर चिन्ता लिएर बस्ने होइन । त्यसैले मैले त्यस्तो केही लिएकी छैन ।

कीर्तिपुर अस्पतालको उपचार र नेपालको समग्र स्वास्थ्य सेवालाई कसरी हेर्नुहुन्छ ?

कीर्तिपुर बर्न अस्पतालले आफ्नो क्षमताले भ्याएसम्म राम्रो गर्‍यो । डाक्टरहरू बाहिरबाट बोलाएर पनि उपचार गर्नुभयो । तर औषधि नै भएन । पोलेको घाउ मात्र होइन त्यसपछि इन्फेक्सनले निमोनिया भयो, मुटुको समस्या देखियो । सबै डिपार्टमेन्टको व्यवस्था गर्न गाह्रो भयो । पोलेको घाउमा मात्रै सीमित हुने रहेनछ । विभिन्न समस्या आउने रहेछन् ।

आन्दोलनका क्रममा घाइते हुनुभएकाहरूलाई के सन्देश दिनुहुन्छ ?

घाइतेहरूलाई त आत्मबल बलियो बनाएर बाँच्ने सोच राख्नुपर्छ । उहाँहरू किन घाइते हुनुभयो ? किन आन्दोलनमा निस्किनुभएको हो ? उनीहरूको भावना पवित्र थियो ।

देशलाई राम्रो बनाउने, सुशासनको माग गर्ने । तर पवित्र भावना पछाडि कसको षड्यन्त्र थियो, कसले उनीहरूलाई अगाडि सारेर २४ घण्टाको घटना घटाउन खोज्यो, त्यो हेर्नुपर्छ । अबोध भाइबहिनीहरूलाई प्रयोग गरेर यस्तो दर्दनाक अवस्था निम्त्याउनेहरूमाथि कारबाही हुनुपर्छ । घाइतेहरूले आत्मबल बलियो बनाएर बाँच्नुपर्छ ।

सकेसम्म सरकारले ध्यान दिनुपर्छ । उनीहरू जानेर वा नजानेर आइपुगेका हुन्, तर देशलाई राम्रो बनाउने भावनाले आएका हुन् । त्यसको पछाडि २४ घण्टामा घटना घटाउने गरी अबोध भाइबहिनीहरूलाई अगाडि सारिएको थियो ।

तपाईंको विश्लेषणमा आन्दोलन के थियो ?

आन्दोलन गर्न नहुने भन्ने होइन । तर यो नियोजित रूपमा २४ घण्टामा घटना घटाउनका लागि गरिएको रहेछ । आन्दोलन त गर्नुपर्छ । सुशासनका लागि आवाज उठाउनुपर्छ, प्रशासनका लागि आवाज उठाउनुपर्छ । उनीहरूले उठाएको आवाजमा हाम्रो पनि साथ छ । तर आवाज उठाउँदैमा हटिहाल्ने पनि होइन । त्यसका लागि लामो प्रक्रियामा जानुपर्छ । उनीहरूको भावनाको प्रयोग अरूले गर्‍यो । त्यो गर्नेहरूले पनि बुझ्नुपर्छ । उनीहरूले उठाएको आवाज राम्रो लाग्छ, तर यो आजको भोलि हुने कुरा होइन । यसका लागि लामो प्रक्रिया चाहिन्छ । पहिला उनीहरूले कसरी हटाउने भनेर बुझ्नुपर्छ । आवाज उठाएर मात्र हट्ने होइन । यसका लागि लामो संघर्ष गर्नुपर्छ ।

नेताको परिवार र नातागोतालाई बढी प्रिभिलेज छ भन्ने आरोपले मानिसहरूलाई आक्रोशित बनाएको देखियो । अहिले पनि चुनाव घोषणा भएको बेलामा समानुपातिकमा नेताका नातागोता परे भनेर कुरा उठेको छ । यो समस्या कसरी समाधान गर्न सकिन्छ ?

नातागोताको कुरा राम्रो होइन । उनीहरूको योगदानको रूपमा छान्नुपर्छ । पार्टीले निर्णय गर्नुपर्छ । कसैको व्यक्तिगत इच्छाले कसैलाई माथि उठाउनु राम्रो होइन ।

२४ गते धेरै घर जले । चार-पाँच सय घर जल्दा पनि कतैबाट सान्त्वना कम आयो । सर्वोच्च, सिंहदरबार जलेकोमा दुःख लाग्छ भन्ने, तर नेताको घर जलेकोमा मानिसहरू खुसी जस्तो भए, दुःख नमाने जस्तो गरे । तपाईंलाई यस्तो अनुभूति भयो कि भएन?

नेताले गर्नुपर्ने काम नगरेका पनि हुन् । उनीहरूले भ्रष्टाचारलाई वास्ता नगरेका हुन् । नातावादमा प्रश्रय दिएका पनि छन् । केही नेताको कमजोरीलाई हाइलाइट गरियो । सबै नेताले त्यस्तै गर्छन् भन्ने ठानेका होलान् । नेताहरू कमजोर छैनन् भन्न सकिँदैन ।

समाजमा भ्रष्टाचार कहिले निर्मूल भएन । नातावाद पनि त्यस्तै हो । तर सबै त्यस्तै हुन्छ भन्ने होइन । नेताहरूको कमजोरीले पनि यस्तो घटना घटाउन सजिलो भयो । जुन शक्तिले घटायो, उसको खोट खोज्नुपर्छ । सुशासनको घटना घटाउन मलजल जस्तो भयो । नेताहरूको कमजोरीले नै उनीहरूलाई मलजल दियो र घटना घटायो । यसमा नेताहरूको भौतिक सम्पत्ति नष्ट भयो । कतिपयको घर जलाइयो, नगरपालिका, गाउँपालिकादेखि सर्वोच्च अदालत जले । यो ठिक होइन । यो एक दिनको कार्यक्रम होइन, लामो समयका योजनाअन्तर्गत आएको हो ।

कसको घर कहाँ छ भनेर कसरी थाहा हुन्छ ? सबै घरमा एकैचोटि आक्रमण हुनु भनेको बिना योजना हुँदैन । काठमाडौंमा मात्र होइन, देशभरि भयो ।

यसको पछाडि कुन शक्ति लुकेको छ ? त्यो शक्तिले देशलाई फाइदा गर्छ कि गर्दैन ? जनताले बुझ्ने बेला आएको छ ।

पछिल्लो ३० वर्षमा शासन सत्तामा बसेका नेताहरूले राम्रो डेलिभरी गरेको भए, यस्तो घटना हुँदैनथ्यो जस्तो लाग्छ ? उदाहरणका लागि, तपाईं घाइते हुनुभएको बेला यहीँ उपचार गर्ने अवस्था बन्न सक्थ्यो कि ?

लाग्छ । राम्रो अस्पताल पनि खोल्न सकेनन्। ३० वर्ष भइसक्यो। जनताले उपचारका लागि विदेश जान महँगो हुन्छ । पोलेको घाउको उपचार धेरै महँगो हुन्छ । ३० वर्ष शासन गरेर पनि स्वास्थ्य क्षेत्रमा आवश्यक सुधार ल्याउन सकिएन । यो कमजोरी भइहाल्यो । यस्तो आन्दोलनको पछाडि लुकेकाहरूले कहाँबाट फाइदा लिन्छन् ? हाम्रो देशमा दुई ठूला देश छन्, उनीहरूका लागि यो दुःख दिनेका लागि पनि हाम्रो देश चाहियो । हामीले बुझ्नुपर्छ ।

तपाईंको उपचारमा धेरै खर्च भयो होला । सरकारले सहयोग गरेको छ कि?

सबै साथीहरूबाट सहयोग भएको छ । सरकारले केही भनेको छैन, सोधेको पनि छैन ।

तपाईंले आग्रह गर्नुभएको छैन ? उनीहरूबाट सोधपुछ भएको छैन ?

भएको छैन । सबै साथीहरूको सरसहयोगमा भएको छ ।

सरकारले उपचार गर्नुपर्थ्यो भन्ने लाग्दैन ?

साथीहरूको भर हो, केही सोच्दिनँ । यो सरकार कसको प्रभावमा बनेको भन्ने सबैले बुझेको कुरा हो । जेनजीको नाममा बाहिरी शक्तिहरूले प्रयोग गरेर उनीहरूको इच्छाअनुसार बनाएको भएर हामीले किन सोच्नु ? सोच्ने भए त घर किन जलाउन दिएको ? यो घर विशेष केमिकल ल्याएर जलाएको हो । त्यस्तो धुवाँ मैले कहिले देखेकै थिइनँ । हिटलरको ग्यास चेम्बरमा बाल्ने ग्यास जस्तो लाग्छ ।

घरको याद आउँछ कि आउँदैन ? त्यहाँका सबै भौतिक कुरा नष्ट भए । कुन कुराले बढी याद दिलाउँछ?

याद त आउँछ । अस्पतालको शैय्यामा हुँदा पनि सम्झनाहरू आए । पुस्तकहरू नजलेको भए हुन्थ्यो । किताबहरू कलेक्सन गर्न गाह्रो हुन्छ । धेरै पुस्तक कलेक्सन थियो । फेरि पाउन मुस्किल हुन्छ । बढी चिन्ता किताबहरूमा भयो । झलनाथ खनाल (श्रीमान्) पनि पुस्तक लेखिराख्नुभएको थियो । तर प्रकाशित भएको थिएन । पाण्डुलिपिहरू जले । त्यसमा धेरै चिन्ता भयो ।

भइसकेको क्षति चिन्तामा डुबेर फर्किंदैन । निराकरण त गर्नुपर्छ, तर चिन्ता लिएर बस्ने होइन ।

घाइते भएपछि श्रीमान्‌सँग कति दिनपछि सम्पर्क भयो ?

तीन-चार दिनपछि भेट भयो । उहाँहरूको मोबाइल बन्द थियो । एक किसिमको धेराभित्र हुनुहुन्थ्यो । सेनाको सुरक्षा थियो ।

व्यक्तिगत रूपमा मिहिनेत गरेर शिक्षणमा पेसामा हुनुहुन्थ्यो । जीवन अगाडि बढिरहेको बेला यत्रो चोट पर्दा राजनीतिक परिवारमा नजोडिएको भए हुन्थ्यो भन्ने लागेन ?

पहिला म पनि राजनीतिमा थिएँ । पछि घर चलाउनुपर्‍यो । दुवै जना राजनीतिमा लाग्दा खर्च चलाउन समस्या भयो । अनि मैले छोडेँ । राजनीति सचेत मान्छेले गरेन भने कसले गर्छ ? हाम्रो देश अगाडि बढ्न राजनीति बिना सकिँदैन ।

आन्दोलनमा ७६ जनाको ज्यान गयो, ठूलो भौतिक क्षति भयो । २ हजार ५०० भन्दा बढी घाइते भए । अबको निकास कस्तो हुनुपर्छ ?

सबैभन्दा पहिला त सही ढङ्गको सरकार आउनुपर्छ । राजनीति स्पष्ट हुनुपर्छ । राज्यको प्रमुख अङ्ग भनेको सुरक्षा व्यवस्था हो । जनतालाई सुरक्षा दिने हो । तर हामीले त्यो सुरक्षा नै पाएनौं । गएको सरकार सुरक्षा व्यवस्थामा धेरै कमजोरी भयो । जनताले आफ्नो काम गरेर खाइरहेका छन्, तर राज्य किन चाहियो भन्दा सुरक्षा दिनका लागि चाहियो । त्यो सुरक्षा नै सकिएपछि जनताले राज्यलाई कसरी विश्वास गर्छन् ?

कराडौं लगाएर नगरपालिका भवन बनाइयो । पैसा खर्च गरेर, मिहिनेत गरेर बनाइयो । तर एकैचोटी जलाइदियो । नोक्सान कति भयो ? पैसाले मात्र बन्ने होइन, विकास गरेर मात्र हुँदैन । आफूले बनाएको विकासलाई रक्षा गर्न सुरक्षा चाहिन्छ । सुरक्षा नै प्रमुख अङ्ग हो । गएको सरकार त्यसमा धेरै कमजोर भयो । अब बन्ने सरकारले यो कमजोरीबाट मुक्त हुनुपर्छ ।

अब बन्ने सरकारले पहिला सुरक्षा ल्याउनुपर्छ । देशभित्र र देशबाहिरबाट आउने खतरा कस्तो छ, त्यो बुझ्नुपर्छ । विदेशबाट धेरै खतरा आइरहेको छ, त्यसलाई हेर्नुपर्छ । तर गएको सरकारले त्यो चिन्तै गरेन । प्रधानमन्त्रीज्यू पनि भाग्नुपर्ने अवस्था आयो । उहाँले यो अवस्था आउँछ भनेर सोच्नैुभएन । संसद्‌मा बहुमत छ भनेर सत्ता टिक्ने होइन नि । जनताको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ ।

तपाईंसँग जलनको पीडाको अनुभव छ । नेपालमा जलन उपचारको अवस्था कस्तो पाउनुभयो ? सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ?

नेपालमा जलनको लागि छुट्टै विशेष अस्पताल चाहिन्छ । जलनको उपचार एउटै डिपार्टमेन्टले मात्रै सम्भव हुँदैन । जल्दा शरीरको मुटुमा समस्या आउँछ । कहिले प्रेसर हाइ हुन्छ, कहिले लो हुन्छ ।

यस्तो अवस्थामा तुरुन्तै अन्य विशेषज्ञ डाक्टर र सुविधा चाहिन्छ । बर्न अस्पतालमा कार्डियोलोजी, नेफ्रोलोजी लगायतका डिपार्टमेन्ट नजिकै हुनुपर्छ वा कम्तीमा अन्य अस्पतालसँग राम्रो कोअर्डिनेसन हुनुपर्छ ।

आईसीयूबाट वार्डको बसाइमा एक्कासि रक्तचाप उच्च भयो । फेरि तुरुन्तै आईसीयूमा लगियो । यस्तो कहिले के हुन्छ थाहा नै हुँदैन । समयमा उपचार नपाउँदा धेरैले ज्यान गुमाइरहेका छन् । सरकारले आफ्नो क्षमताअनुसार भए पनि विशेष बर्न अस्पताल बनाउनुपर्छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

देशको अवस्था सुधार्नुपर्छ । यस्तो घटना फेरि दोहोरिनु हुँदैन । आन्दोलनको निहुँमा जे भयो, त्यसको पछाडि के छ ? कसले उक्सायो भनेर गम्भीरतापूर्वक हेर्नुपर्छ । राजनीतिक दलहरूले जनताभन्दा टाढा बसेर एकलौटी निर्णय गर्नु हुँदैन । जनताको कुरा सुन्नुपर्छ । सबै मिलेर देशको हितमा सोच्नुपर्छ, राम्रो काम गर्नुपर्छ । यही नै मेरो सन्देश हो ।

भिडियो/तस्वीर : शंकर गिरी/अनलाइनखबर

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More