― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
HomeLatest news‘विमान अपहरणको मुद्दा हेर्दा जागिर गयो’ – KhabarHost

‘विमान अपहरणको मुद्दा हेर्दा जागिर गयो’ – KhabarHost



पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको ९५ वर्षको उमेरमा मंगलबार निधन भयो । मालपोत कार्यालय स्थापना गर्न डोल्पा पुगेका श्रेष्ठ विभिन्न जिम्मेवारीपछि न्यायाधीश अनि सरकारी वकिल समेत भए । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका पिता समेत रहेका श्रेष्ठले ३ वर्षअघि प्रकाशित गरेको ‘जीवन र न्याय’ नामक संस्मरण संग्रहमा ‘प्रजातन्त्रको प्रतिशोध’ शीर्षकको आलेखमा यो संस्मरण प्रकाशित छ ।)

न्यायाधिवक्ताको कार्यालयमा रहँदा एक दिन क्षेत्रीय अदालतको बहसमा गएको थिएँ । क्षेत्रीय अदालतमा भर्खर इजलास बस्ने सुरसार भएको थियो । बाहिरबाट अन्धाधुन्ध जुलुस आइपुग्यो । क्षेत्रीय अदालत अगाडि विश्वज्योति सिनेमाहलभित्र रहेको सम्पत्ति सबै ल्याई जलाउन थालियो ।

बाटोमा ल्याएर जलाउन लाग्दा आगोको मुस्लो उठ्यो । त्यसले बजार नै नष्ट गराउँछ कि भन्ने डरत्रास उत्पत्ति भयो । त्यसबेला श्री ५ को सरकारको कुनै पनि संरक्षण हुने उपाय हुन सकेन । सम्पूर्ण देशवासी त्राहित्राहि भई भयावह स्थितिमा बस्नुपर्‍यो ।

जुलुस यति ठूलो भयो कि त्यसले काठमाडौं जिल्लाको सारा शहर ढाकेर नारायणहिटी दरबारसमेत घेरेको थियो । दरबार अगाडिको शालिक पनि तोडफोड हुन लाग्यो । केही मात्रामा तोडफोड भइरहेको थियो ।

बीचमा राजदरबारबाट गोलीको आवाज आयो । एक जना आन्दोलनकारीको गोली लागेर मृत्यु भयो । यसरी पूरा शहरभरि जुलुस–नारा लागेर जथाभावी विद्रोह शुरु भएपछि केही मिलिटरीहरूबाट फायरिङ शुरू भयो । त्यसपछि केही प्रहरीहरू पनि आन्दोलन नियन्त्रण गर्नपट्टि लागे । साँझ पर्ने अवस्था भएकाले केही जुलुस साम्य हुँदै गयो । बाटो खुलेपछि बल्लतल्ल अफिस पुगेको थिएँ म ।

सरुवा भएको एक वर्षपछि मलाई विशेष प्रहरी विभागमा हाजिर हुन पठाइएको थियो । त्यहाँ पुरानो साथी श्यामसुन्दर गुभाजू पनि हुनुहुन्थ्यो । साथै उपसचिव नवराज श्रेष्ठ पनि हुनुभएकाले साथीहरूसँग बसेर गफ–सल्लाहमा दिन बिताउन केही दिन रमाइलो भएको थियो । त्यसबखतको हाकिम जीतबहादुर मानन्धर हुनुहुन्थ्यो ।

महान्यायाधिवक्ताको कार्यालयमा रहँदा विराटनगरमा भएको हवाइजहाज अपहरणको केस मैले नै तहकिकात गरेको थिएँ । यो केस खोजेर ल्याऊ भनेर मलाई खटाइएको थियो । १२ वर्षपछिसम्म केसको फैसला नभएर अलमलिएर बसेको रहेछ ।

०४६ सालको आन्दोलनपछि बहुदलको सरकार आयो । मुद्दा कहाँ छ भनेर खोजी गर्ने सिलसिलामा एक दिन विशेष अदालतमा लागूऔषधसम्बन्धी मुद्दाको प्रसंग उठेको थियो । एक जना भण्डारी थरका न्यायाधीशले त्यो मुद्दा विशेष अदालतमा नै भएको जानकारी दिए ।

मैले त्यहाँबाट फाइल झिकाएँ । राजनीतिक प्रकृतिको भएकाले क्याबिनेटले त्यो मुद्दा फिर्ता लिने निर्णय गरेछ । महान्यायाधिवक्ताको कार्यालयको रायसमेत राखेर मुद्दा क्याबिनेटमा पठाइएछ । त्यसपछि, मुद्दा खारेज भएको थियो ।

विशेष प्रहरीबाट विशेष अदालतमा दायर भएको मुद्दाहरू बहस पैरवी गर्नु मेरो जिम्मेवारी थियो । साथै, भ्रष्टाचारमा दायर भएका मुद्दाहरूको मिसिल पूरा जिम्मा लिएर अभियोगपत्र समेत तयार गर्नुपर्थ्यो । बयान, बहसपत्र आदिमा पनि समावेश हुनुपर्ने हुँदा कामको चर्को भार हुन्थ्यो । तर, एक जना एसिस्टेन्ट वकील र अन्य ३–४ जना नासु फाँटवालाहरू सहितको स्टाफ भएकाले काम गर्न त्यति असजिलो भने थिएन ।

भ्रष्टाचार मुद्दाहरूमा प्राय: प्रमाण पुग्न नसक्ने र पक्षको मोलाहिजामा कर्मचारी र अदालतसमेत पर्ने भएकाले तटस्थ न्याय हुन सकेको थिएन । त्यसभन्दा पनि भ्रष्टाचारको जड खोजी हुन पनि सकेको देखिएको थिएन । किनभने विशेष प्रहरी विभाग नै भ्रष्टाचारको अखडा हुन गएको थियो ।

धनगढीको एउटा राइस आयल मिलको सञ्चालकले तीन करोड ऋण लिएको रहेछ । धितो तीन करोड बराबरकै छ कि छैन भनेर जाँच गर्न नेपाल बैंकले काठमाडौंबाट छड्के जाँच टोली पठाएको रहेछ । छड्के जाँच टोलीले कागजमा भनेजस्तो कुनै धितो फेला पारेनछ ।

कतिसम्म भने तीन करोडको सामान भनिएको गोदाममा एक लाखको सामान पनि भेटिएन । यसरी हुँदै नभएको धितो प्रमाणित गर्ने बैंकका कर्मचारी उपर कारबाही गर्ने रायसहित विशेष प्रहरीमा सिफारिश गरेँ । तर, कसैलाई कुनै पनि कारबाही हुन सकेन । फाइल त्यसै अल्झेर बसिरह्यो । यो त एक प्रतिनिधि घटना मात्रै हो ।

बैंकहरूमा नक्कली धितो राखेर यसरी अर्बौं ऋण लिने व्यक्ति प्रशस्त छन् । तर कारवाही सबैलाई हुँदैन । किनभने सबैले मिलिजुली काम चलाइरहेका छन् र बाँडीचुँडी खाइरहेका छन् ।

भ्रष्टाचार मुद्दाको सफलता पाँच प्रतिशत पनि थिएन । हलो अड्काउने गोरु पड्काउने भनेजस्तै मुद्दा भ्रष्टाचार गरेको भनेर दायर गर्ने तर प्रमाणचाहिँ लोप गराउनले प्रक्रियाले गर्दा वास्तविक काम भएको देखिँदैनथ्यो ।

एक पटक विशेष प्रहरी विभागबाट नवलपरासी र बागलुङको निरीक्षण गर्न खटिएर जानुपर्‍यो । मैले कतै पनि नियम कानून अनुरूप सच्चरित्रसाथ काम भएको पाइनँ । पुराना मिसिलहरू हेरेँ, धेरैचोटि विभिन्न व्यक्तिले फाइल लगेर अनुसन्धान गरेको तर त्यसलाई अधुरै छाडेको देखेँ ।

यसरी एउटै काम धेरै पटकसम्म धेरै व्यक्तिबाट अनुसन्धान हुँदा पनि सबै अचकल्टो नै रहनुमा कर्मचारीको नियत प्रस्ट झल्कन्छ । यसले गर्दा भ्रष्टाचारीहरूलाई प्रशस्त फाइदा पुग्न गएको थियो ।

विशेष प्रहरीका कर्मचारी प्राय:जसो एयरपोर्ट भन्सारमा काजमा जान निकै उत्सुक हुँदा रहेछन् । किनभने, एयरपोर्ट धेरै नै भ्रष्टाचार हुने अखडा थियो । एयरपोर्ट जाने कर्मचारीलाई भ्रष्टाचार गरेको अपराध फेला पारेको बखत दोहोरो लाभ थियो ।

एकातिर अभियुक्तविरुद्ध मुद्दा नचलाएर प्रशस्त रकम लिने अवसर उनीहरूलाई थियो । अर्कोतिर, मुद्दै चलाएको बखत पनि त्यसबापत कमिशन पाउने व्यवस्था भएकाले एयरपोर्ट भन्सारका कर्मचारीको दुवै हातमा लड्डु भनेजस्तो भएको थियो । त्यसैले त्यहाँ जान उनीहरू तँछाडमछाड गर्दथे ।

यसरी भ्रष्टाचार निवारण निमित्त खडा भएका अफिस नै पूर्ण रूपले भ्रष्टाचारमा संलग्न थियो ।

विशेष प्रहरी विभागमा छँदा निजामती किताबखानाबाट ६० वर्षे अवधि पूरा भएको भन्दै मलाई अवकाशपत्र थमाइयो । तर, मेरो अवकाश मिति पुग्न त अझै एक वर्ष बाँकी थियो । मैले त्यो पत्र गलत भएको भन्दै प्रमाणसहितको उजुरी दिएँ । सामान्य प्रशासन मन्त्रालयबाट छानबिन भयो । मलाई दिइएको पुर्जी गलत भएको खुल्न आयो र मेरो ०४८ साल माघसम्मका लागि एकवर्षे म्याद थप भयो ।

जनआन्दोलनपछि ०४७ सालमा नयाँ संविधान आयो र चुनाव भएपछि नेपाली कांग्रेसको सरकार गठन भयो । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । कोइराला सरकारले आफूलाई रीस उठेकाहरूमाथि भटाभट प्रतिशोध साध्न थाल्यो ।

विमान अपहरण काण्डका अभियुक्त गिरिजाप्रसाद लगायतका विरुद्ध मुद्दा चलाएबापत मुद्दा हेर्ने तत्कालीन रजिष्ट्रार, न्यायाधीश ऋद्धिमानन्द बज्राचार्य र मुद्दा चलाउने म समेतलाई २०४८ भदौमा अवकाश पुर्जी दिइयो । विनाकारण नोकरीबाट अवकाश दिने सरकारको निर्णयविरुद्ध म सर्वोच्च अदालत पुगेँ ।

सर्वोच्चले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्‍यो । तर सरकारले मलाई हटाउनाको कुनै पनि कारण पेश गर्न सकेन । केवल स्वैच्छिक अवकाश दिएको भन्ने जवाफ दियो । मुद्दाको सुनुवाइ हुँदाहुँदै म ६० वर्ष कटेँ । अब उमेरहदबाटै अवकाश भइसकेको भन्ने आधारमा सर्वोच्चमा मुद्दा खारेज भयो । त्यसपछि मेरो जागीर सदाका लागि अन्त भयो ।

कर्मचारीहरूले तत्काल प्रचलित कानून र व्यवस्था अन्तर्गत कामगर्ने हुन्छ, गर्नुपर्ने पनि हुन्छ ।  त्यसबखतको व्यवस्था अनुसार विमान अपहरण गर्ने काम अपराध नै थियो । त्यतिखेरको कानूनी व्यवस्था अनुसार अपराध अनुसन्धान गर्नु र मुद्दा चलाउनु स्वाभाविक हुन्थ्यो । बरु, नचलाउनु गैरकानूनी हुन जान्थ्यो ।

अपहरणको कार्य अहिले हेर्दा साहसिक र प्रजातान्त्रिक आन्दोलनको हिस्सा देखिन्छ होला । तर, त्यतिखेरको व्यवस्थामा यसो गर्ने छुट थिएन न त अहिलेकै व्यवस्थामा यसो गर्ने छुट छ । मानिलिऊँ, अहिलेको गणतान्त्रिक सरकारविरुद्ध कसैले क्रान्ति थाल्यो अनि विमान अपहरण गर्‍यो रे । विद्यमान कानूनले अपहरण गर्नेलाई उन्मुक्ति दिन्छ ? सरकार मुद्दा नचलाई बस्न सक्छ ?

कुनै सरकारी वकीलले अनुसन्धान नगर्न र मामिलालाई अदालतमा नलैजान सक्छ ? किमार्थ सक्दैन । मैले पनि सक्दिनथेँ । मानिलिऊँ, यो व्यवस्थाविरुद्धको क्रान्ति सफल भयो र अर्को व्यवस्था आयो । अब अहिले विमान अपहरणको कृत्यविरुद्ध अनुसन्धान गर्ने र मुद्दा चलाउनेलाई दण्डित गर्न मिल्छ ? त्यसो गर्न विधिशास्त्रले दिन्छ ? कुनै समयको कानून बमोजिम कर्तव्य पालनालाई पछि विकसित घटनाक्रमले आरोपित, लाञ्छित र दण्डित गर्न मिल्छ ?

प्रजातन्त्र पुन:स्थापनापछि विधिशास्त्रले नमिल्ने, सामान्य सुझबुझले गर्न नदिने र कुनै तर्कले ढाक्न नसक्ने काम हुन पुगेको देख्दा उदेक लागेको थियो । प्रजातन्त्र भनेर संविधानमा लेख्दैमा र क्रान्तिमा सामेल हुँदैमा मानिसमा स्वत: विवेक आउँछ भन्ने अपेक्षा गर्न नै मूर्खता रहेछ ।

गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा सरकार गठन भएपछि ठूलो संख्यामा राजनैतिक आधारमा विभिन्न तहका कर्मचारीहरूलाई सेवाबाट अवकाश दिइएको थियो । तर पछि, अवकाश प्राप्त कर्मचारीहरूले सर्वोच्च अदालतमा अवकाशविरुद्ध रिट निवेदन दिँदा अदालतले प्राय: पुनर्बहाली गर्दा राहतको सास फेर्न पाएका थिए ।

दुर्भाग्य के भने, गलत नियतले वा बदलाको भावनाले कर्मचारीलाई अवकाश दिनेविरुद्ध दण्ड दिने प्रणाली अझै छैन ।

नोकरीबाट अवकाश भएपछि दिनहरू फुर्सदिला बनेँ र म घर व्यवहारमा लागेँ । बागलुङमा केही घडेरी जग्गाहरू थिए जो सरकारी आवासका निमित्त अधिकरणमा पर्न गएको थियो । अधिकरण हुने बेलामा म जागीरे भएकाले जग्गा नापजाँच गराउन फुर्सद मिलेको थिएन ।

अवकाशपछि मिलेको फुर्सदलाई सदुपयोग गर्न म जग्गा नापी हेर्न पुगेँ । सरकारी आवासलाई आठ आना र बाँकी आठै आना मलाई घडेरीका लागि छाडिदिने सहमति भएको थियो । तर अधिकरण समितिले निर्णय गरेभन्दा तीन आना जमीन बढी लिइएको रहेछ । मैले त्यो फिर्ता गराउन निकै नै पापड बेल्नुपर्‍यो ।





Read More