राष्ट्रिय
समाचार.
- संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गरी राष्ट्रपति निकोलस मदुरोलाई गिरफ्तार गरेको छ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ व्यवस्था नभएसम्म आफैंले नेतृत्व गर्ने धम्की दिएका छन्।
- ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपले राजनीतिक अस्थिरता र आर्थिक नाकाबन्दी बढाएको छ।
पहिला कविता पढ्नुहोस्, लेख पढ्दै गरौंला ।
हुन त मेरो देशको राष्ट्रपति
फिलहाल कर्णेल फिडेल साञ्चेज एरनान्डेज छन् ।
तर, निकारागुआका राष्ट्रपति जनरल सोमोजा पनि
मेरो देशका राष्ट्रपति हुन् ।
अनि, पारागुआका राष्ट्रपति जनरल स्ट्रेसनर पनि
केही हदसम्म मेरो देशका राष्ट्रपति हुन्,
तर
होन्डुरसका राष्ट्रपति जनरल औरेलियानो लोपेज केही कम
र हाइटीका राष्ट्रपति मोंसिए दुभालियर भन्दा केही बढी ।
अनि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति
मेरो देशको राष्ट्रपति भन्दा बढी नै
मेरो देशको राष्ट्रपति हुन् ।
त्यो मान्छे भन्दा पनि बढी, जसको नाम, जस्तो कि मैले भनें,
कर्णेल फिडेल साञ्चेज ऐरनान्डेज हो ।
– रोखे दाल्तोन (ओ.ए.एस. : अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स)
एल सल्भाडोरका कवि दाल्तोनले उहिल्यै, जनरल सोमोजा या दुभालियरहरूले अमेरिकी आडभरोसामा दक्षिण अमेरिकाका एलिटहरूको शासन चलाइरहेको बेला लेखेको कविता अहिले ५० वर्षभन्दा पनि पछि उत्तिकै अर्थपूर्ण देखिन्छ (अमेरिकी राष्ट्रपति मेरो देशको राष्ट्रपतिभन्दा बढी नै मेरो देशको राष्ट्रपति हो)। शुक्रबार रातिका घटनाहरू पछि भेनेजुएला र समग्र ल्याटिन अमेरिकामा जे जस्ता प्रतिक्रियाहरू आएका छन् र अमेरिकी शासकहरू जे भन्दैछन्, त्यसले कविताको मर्मलाई थप पुष्टि गर्छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले भने- अमेरिकाले ‘सुरक्षित, उपयुक्त र विवेकपूर्ण रूपमा नयाँ व्यवस्था स्थापित नभएसम्म’ भेनेजुएलालाई आफैंले नेतृत्व गर्नेछ । अमेरिकी कम्पनीहरूले भेनेजुएलाको (तेल कुवाहरूको) भत्के-बिग्रेको पूर्वाधार तन्दुरुस्त बनाउने छन् र तेल उत्पादन गरेर देश (अमेरिका) का लागि पैसा थुपार्नेछन् ।
अनि कार्यवाहक भेनेजुएलाली राष्ट्रपति रोड्रिगेजलाई पनि ट्रम्पले धम्की दिइसके, ‘चुपचाप हामीले भनेको मान्, नत्र मदुरोको भन्दा ठूलो दुर्गति बेहोर्लिस् !’
अमेरिकी सेनाका सुप्रिम कमान्डरको यो भनाइ केहीबेर अगाडि मात्रै एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई उनीहरूको आवासमै प्रवेश गरेर गिरफ्तार गरी हत्कडी र आँखामा पट्टी सहित न्युयोर्कको जेलमा पुर्याएपछि आएको हो ।
त्यसको केही समयपछि नै विदेशमन्त्री मार्को रुबियोले भने, ‘अमेरिकाले भेनेजुएला विरुद्ध युद्ध गरेको होइन, खालि लागूऔषध तस्करहरू विरुद्ध कारबाही गरेको हो ।’
उता ट्रम्प उही बेला भन्दैथिए, ‘मदुरोको ठूलो नार्को कारखाना छ, उसले लागूऔषध र फेन्टानिल अमेरिका पठाएर आतङ्ककारी काम गरेको छ ।’
माथिका अभिव्यक्तिहरू आउनु अगाडि अमेरिकी सेना र सीआईएको संयुक्त कारबाहीमा भेनेजुएलाको राजधानीमा रहेका सैन्य अखडाहरू, विमानस्थल र सुरक्षा केन्द्रहरू ध्वस्त पारिएको थियो । आधा घण्टाको कारबाहीमा दर्जनौं भेनेजुएलावासीहरू मारिएका थिए । राष्ट्रपतिको आवासगृहमा घुसेर उनलाई अपहरण गरिएको थियो ।
अमेरिकीहरूले सद्दाम हुसेन, कर्णेल गद्दाफीलाई नभएका फत्तुर लगाएर घरमै घुसेर मारेका थिए । पनामाका राष्ट्रपति नोरिएगालाई पक्रेर अमेरिका लगेर मुद्दा चलाएका थिए । सीआईएको प्रत्यक्ष संलग्नतामा चिलीका समाजवादी राष्ट्रपति साल्भाडोर अलेन्डेलाई आवासमै गोलीले भुटिएको थियो । समग्र ल्याटिन अमेरिकाका कैयौं देशमा अरू हत्या र राज्य विप्लव त कति गरे गरे ! भेनेजुएला र मदुरोमाथिको यो हमला त्यसको निकृष्ट कडी हो ।
भेनेजुएलामाथिको हस्तक्षेपका विपक्षमा बोलेपछि नै ट्रम्पले मेक्सिको र क्युबामाथि आक्रमणको धम्की दिएका छन् । काराकासमाथिको आक्रमण र मदुरोको अपहरणको एउटै कारण हो- भेनेजुएलाले अमेरिकी आधिपत्य स्वीकार नगर्नु, फरक विचारधाराका आधारमा शासन सञ्चालन गर्नु र अमेरिकी धम्कीसामु नझुक्नु । यसका केही इतिहासदेखिका सन्दर्भहरू छन् ।
इराकको मास डिस्ट्रक्सन र भेनेजुएलाको ड्रग
चार घण्टासम्म यातना दिएपछि
अपाचे र अरू दुई जना पुलिसहरूले
कैदीलाई होसमा ल्याउन
उसमाथि बाल्टीका बाल्टी पानी खन्याउँदै भनेः
‘कर्णेलले तँलाई सुनाइदिनु भनेर
हामीलाई आदेश दिएको छ कि
तँलाई आफ्नो ज्यान बचाउन एउटा मौका दिन सकिन्छ ।
यदि तैंले
हामीमध्ये कसको आँखा सिसाको छ भन्न सकिस् भने
तँ यातनाबाट बच्नेछस् ।’
ध्यानपूर्वक ती प्रहरीहरूलाई हेरेपछि
कैदीले एक जनातिर इशारा गर्दै भन्यो– ‘उसको, उसको दाहिने आँखा सिसाको हो ।’
अक्कबक्क परेका पुलिसहरूले भने, ‘तँ बचिस् ।
तर तैंले कसरी यो ठम्याइस् ?
जब कि तेरा सबै साथीहरूले ठम्याउन सकेनन्
किनकि यी आँखा अमेरिकी हुन्,
त्यसैले सर्वोत्कृष्ट हुन् ।’
‘बहुत सजिलो छ’ कैदीले भन्यो
उसलाई महसुस हुँदै थियो कि
ऊ फेरि बेहोस हुनेवाला छ,
‘एउटै आँखा त थियो,
मतिर हेर्ने बेलामा
जसमा घृणा थिएन ।’
बेशक, उनीहरूले उसलाई यातना दिन जारी राखे ।
(यथार्थ, रोखे दाल्तोन, एल सल्भाडोर)
ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेपको लामो कहानी छ । संयुक्त राज्य अमेरिका जहिलेदेखि आफू स्वतन्त्र भयो, तहिलेदेखि उसले छरछिमेकमा आँखा गाड्यो । पहिले, सन् १८४८ मा मेक्सिकोबाट टेक्सास, न्यु मेक्सिको, क्यालिफोर्निया, उताह लगायतका क्षेत्रहरू कब्जा गर्यो ।
स्पेनी र पोर्चुगाली उपनिवेशलाई विस्थापित गर्दै जब ल्याटिन अमेरिकी देशहरू स्वतन्त्र हुन थाले, अनि संयुक्त राज्य अमेरिकाले पहिले आर्थिक उपनिवेश विस्तार गर्यो । अमेरिकी कम्पनीहरूले केरा, कफी र उखु खेतीमा बिस्तारै बेलायतीहरू र स्पेनी मूलका ल्याटिनो एलिटहरूलाई विस्थापित गर्दै कब्जा जमाए । पाठकहरूमध्ये धेरैले मार्खेजको ‘एक सय वर्षको एकान्तवास’मा केरा खेती मजदुरका कथा पढ्नुभएकै छ । अथवा एडुवार्डो ग्यालियानोको ‘ओपन भेन्स अफ ल्याटिन अमेरिका’ ।
बिस्तारै उसले स्थानीय पूँजीपति र सैन्य अधिकृतहरूलाई आफ्नो पक्षमा मिलाउने, सैन्य विप्लवबाट सत्ता कब्जा गराउने र दक्षिणपन्थी सैन्य तानाशाही सत्ताहरू चलाउने अभियान चलायो (यसबारे दक्षिणपन्थी झुकाव भएका नोबेल पुरस्कार विजेता पेरुभियाली लेखक मारियो भार्गास लोसाले होन्डुरसका तानाशाहको अमेरिकी कनेक्सनलाई विषय बनाएर लेखेको उपन्यास छ— ‘दि फिएस्ट अफ गोट’) । आफूलाई मन परेन भने निर्वाचित सरकारलाई विस्थापित गर्ने, आफ्ना दलालहरूलाई सत्तामा राख्ने र आर्थिक उपनिवेश अभ्यास गर्दै स्थानीय कच्चा पदार्थमा कब्जा जमाउने नीति लियो ।
कुनै शासक मन परेन भने नाकाबन्दी लगाइदिने, आर्थिक रूपले कमजोर बनाउने, आन्तरिक अशान्ति सिर्जना गर्ने, विपक्षीहरूलाई उक्साउने, भएका चुनावको वैधानिकतामाथि प्रश्न उठाइदिने र अलगथलग गर्ने । नाकाबन्दी लगाएर अभाव सिर्जना गराउने र सरकारको बदनाम गराउन आफ्नो शक्तिशाली प्रचार संयन्त्र परिचालन गर्ने (पढ्नुभयो नि, काराकासमाथि सैन्य हमलाको केही घण्टा पहिले वासिङ्टन पोस्ट र न्युयोर्क टाइम्सले थाहा पाएका थिए, तर तिनले सरकारी अधिकारीहरूको सल्लाहमा समाचार ‘ब्रेक’ गरेनन् र आक्रमणलाई सहयोग गरे) ।
स्थापनाकालदेखि क्युबा त्यही व्यहोरिरहेको छ । चाभेजले त्यही व्यहोरे, अलेन्डेले त्यही व्यहोरेका थिए । ब्राजिलका लुला र दिल्मा रुसेफ, निकारागुआका ड्यानियल ओर्टेगा, अर्जेन्टिनी किर्चनर, मेक्सिकोका ओब्राडोर र क्लाउडिया सेइनबोउमले त्यही व्यहोरिरहेका छन् ।
चरम आर्थिक असमानता, खास जाति विशेषको स्रोतमाथिको नियन्त्रण, उपनिवेशवादी हस्तक्षेप र आर्थिक दोहनले ल्याटिन अमेरिकी देशहरूमा तीव्र वर्ग विभाजन, असमानता र बेरोजगारी बढाउँदै लग्यो । यसका विरुद्ध जहिले-जहिले आन्दोलनहरू भए, सैन्य विप्लवहरू भए या वामपन्थीहरू निर्वाचित भएर आए, तहिले-तहिले तत्काल अमेरिकी हस्तक्षेप भइरह्यो । ब्राजिलमा लुला निर्वाचित भएपछि बोल्सोनारोको पक्षमा ट्रम्पले प्रयोग गरेको धम्कीको भाषा, मिलेइलाई चुनाव नजिताए आर्थिक नाकाबन्दी घोषणा गर्ने धम्की, अमेरिकाले ल्याटिन अमेरिकी देशहरूलाई आफ्नो ‘करेसाबारी’ ठानेर गर्ने मनपरीका उदाहरण हुन् ।
मदुरोको अपहरण र उनीमाथि लगाइएका मुद्दा त्यही सिलसिलाको पछिल्लो कडी मात्र हो । उनीमाथि जे आरोप लगाइएको छ, त्यो इराक युद्धका बेला सद्दाम हुसेनसँग ‘आम विनाशका हतियार’ छन् भनेर एकोहोरो रूपमा विश्वमा प्रचार गराइएपछि गरिएको आक्रमण जस्तै हो, जुन कहिल्यै प्रमाणित भएन । अहिलेको आरोप पनि प्रमाणित हुने छैन । र प्रमाणहरू चाहिए सीआईएको ‘ल्याब’बाट उत्पादन गरिने छन् ।
मदुरो ठिक थिए कि थिएनन्? सन् १९९८ मा सैन्य विप्लवबाट नेतृत्वमा आएर पछि लगातार निर्वाचन जित्दै आएका चाभेजले अमेरिकी कम्पनीहरूलाई भेनेजुएलाको तेल प्रशोधन र व्यापारमाथिको एकाधिकारमा प्रतिबन्ध लगाउँदै राष्ट्रियकरण गरेपछि नै अमेरिका भेनेजुएलामा हस्तक्षेप गर्न चाहन्थ्यो । अहिले भेनेजुएलामा गरिबी बढेको छ भने पनि त्यसको कारण अमेरिकाले तेल व्यापारमा लगाएको प्रतिबन्ध नै हो ।
उसले भेनेजुएलामाथि मात्र प्रतिबन्ध लगाएको छैन बरु उससँग व्यापार गर्नेहरूमाथि पनि, भेनेजुएलाको वित्तीय प्रणालीमाथि पनि रोकावट गरेको छ । विपक्षलाई उकासेर हल्लाबोल गरेको छ । हालै एक जना विपक्षी नेतृलाई नर्वेले दिएको नोबेल शान्ति पुरस्कार पनि त्यही मनोवैज्ञानिक युद्धकै एउटा ‘आइटम’ मात्र हो ।
अहिले राष्ट्रपतिमा ट्रम्प कार्यरत रहे पनि सीआईएले भेनेजुएलामाथि आक्रमण गर्ने यो योजना उनी दोस्रो पटक निर्वाचित हुनु तीन महिना पहिले नै थालेको थियो । अर्थात्, अमेरिकामा को राष्ट्रपति निर्वाचित हुन्छ भन्ने कुरासँग यो आक्रमणको खासै सम्बन्ध छैन । जोसुकै आए पनि लागू गर्ने आधारभूत नीति साम्राज्यवादी नै हो । अरू देशमाथि नियन्त्रण, स्रोतमाथिको दोहन, पूँजी लगानीका लागि अनुकूल वातावरण र मुनाफा तथा धनमाथि कब्जा अमेरिकी नीति यही हो ।
यहाँनिर अर्को बुझ्नुपर्ने विषय छ । चाभेज र उनका उत्तराधिकारीका रूपमा आएका मदुरो दुवैले भेनेजुएलाको प्राकृतिक स्रोतबाट हुने आम्दानी मुख्यतः गरिबहरूले पनि पाउने गरी वितरण गर्ने बन्दोबस्त मिलाएका थिए । समुदायलाई बलियो बनाइएको थियो । शिक्षा, स्वास्थ्य सेवा र स्थानीय शासन सञ्चालनमा गरिब र मजदुर वर्गको पहुँच बढाइएको थियो ।
समाज बढी समतामूलक र संस्थाहरू समावेशी बनाउँदै लगिएको थियो । यसबाट परम्परागत सम्भ्रान्त वर्ग र ठूला व्यापारीहरू चिढिएका थिए । उपल्लो मध्यम वर्ग यस्तो समानताको पक्षमा थिएन । मार्क्सेली अवधारणामा भन्नुपर्दा यो सरासर वर्ग सङ्घर्षकै, वर्गीय दृष्टिकोणकै अभिव्यक्ति थियो ।
सरकारलाई समर्थन र विरोध गर्नेको यो वर्गीय आधार प्रस्ट खुलेको थियो । जसले मदुरोलाई तानाशाह भन्दै थिए, तिनीहरू मूलतः दलाल पूँजीपति वर्ग र उपल्लो मध्यम वर्गका मानिसहरू थिए । जातीय रूपमा गोराहरू, परम्परादेखि शक्ति र सम्पत्तिमा नियन्त्रण भएकाहरू- जसलाई चाभेजको बोलिभारियन नीतिहरू मन परेका थिएनन् ।
मदुरोलाई समर्थन गर्नेहरू कामदार र मध्यम तथा न्यून आय भएका वर्गका मानिसहरू थिए । चाभेज र मदुरोले निर्वाचनकै माध्यमबाट, लोकतान्त्रिक अभ्यास गरेर सरकारमा गए र मुख्य निर्णयहरू जनमत सङ्ग्रहकै माध्यमबाट गरेर शासन चलाए । हुकुमले शासन कहिल्यै चलाएनन् ।
अमेरिकाले नमानेको लोकतन्त्र र त्यसको अभ्यास जतिसुकै राम्रो भए पनि साम्राज्यवादका पिछलग्गुहरूलाई स्वीकार्य हुँदैन । अमेरिकालाई मन परेपछि साउदी अरबमा लोकतन्त्र चाहिंदैन, उसलाई मन नपरेपछि चुनावै भए पनि इरानमा लोकतन्त्र हुँदैन । गाजामा इजरायलले मान्छे मार्न पाउँछ, किनभने अमेरिकालाई त्यो मन पर्छ ।
गरिब र ‘पेरीफेरी’का देशको शोषणमा टिकेको पूँजीवादी दुनियाँको ‘पहिलो विश्व’ मदुरोको विपक्षमा जानु स्वाभाविक थियो, जसको नेतृत्व अमेरिकाले गर्थ्यो । अहिले जे गरियो, त्यो गरिबहरूको पक्षमा रहेको सरकार भष्म पार्न विश्व पूँजीवादले रचेको सनातन षड्यन्त्रकै हिस्सा थियो ।
प्रस्टै छ, युद्ध जारी रहनेछ ।
“एउटै आँखा त थियो, मतिर हेर्ने बेलामा
जसमा घृणा थिएन ।”
अर्थात् अमेरिकी आँखा सिसाका छन् जसमा कुनै संवेदना हुँदैन । बुझिराख्नुहोस् ।
जङ्गली कानुनको थालनी
भेनेजुएलामाथिको नाङ्गो हस्तक्षेप पछि विश्वमा दुई खाले विचारहरू आएका छन् । एउटा पक्षले यसको विरोध गरेको छ । यसलाई दोस्रो विश्वयुद्धपछि स्थापित विश्वलाई ‘गभर्न’ गर्ने र सबैले स्वीकार गरेका नियमहरू मिचिएकोले अब त्यो बन्धन चुँडिएको अर्थमा लिइएको छ ।
यसरी विरोध गर्नेमा स्पेन, ब्राजिल, चीन, मलेसिया, मेक्सिको, क्युबा र रूस लगायत छन् । शक्ति हुनेले जे गरे पनि हुन्छ भन्ने मूल्य स्थापित हुनु भनेको विश्वभर आक्रमण, युद्ध र क्षेत्रीय विभाजनको नयाँ सिलसिला सुरु हुनु हो, जुन १९४५ यताका वर्षहरूमा तुलनात्मक रूपमा रोकिएको थियो ।
दोस्रो पक्ष छ, जसले अमेरिकाले जे गरेको छ त्यो ठिक छ, भेनेजुएलाबाट तानाशाही शासनको अन्त्य भयो भन्ने भाष्य सिर्जना गर्न लागेको छ ।
यसमा प्रस्टसँग दुई विचारधारात्मक धार देखिन्छन् । पहिलोले न्यायको कुरा गरेको छ- साना ठूला सबै देश सार्वभौमसत्ता सम्पन्न हुन्छन्, आफ्नो देशमा कस्तो व्यवस्था लागू गर्ने, कसलाई शासक छान्ने, कस्तो आर्थिक नीति र वैदेशिक नीति लिने भन्ने विषय उक्त देशको आन्तरिक विषय हो भन्ने मान्छन् ।
तर अर्कोथरी छन्, जो यसरी कुनै सानो र कमजोर राष्ट्रमाथि हस्तक्षेप गरेर शक्तिशालीहरूले जस्तो चाहन्छन् त्यस्तै हुने अवस्थाको समर्थन गर्छन् । जस्तो कि अर्जेन्टिनाका मिलेइ र इजरायलका नेतान्याहुले अमेरिकी हस्तक्षेपको समर्थन गरे ।
यो विचारधाराहरूको लडाइँ हो ।
अमेरिकी राष्ट्रपति निर्वाचित भएपछि ट्रम्पले धम्की दिए- ग्रिनल्यान्ड अमेरिकालाई चाहिन्छ, उसलाई गाभिनेछ । फेरि यो कुराले बल पाउँदै छ । र अमेरिका ताइवानलाई चाहिं हतियार पठाउँछ र चीनले ताइवान एकीकरणको प्रयास गरे हस्तक्षेप गर्ने धम्की दिन्छ ।
यो विश्व सम्बन्धहरूमा आउँदै गरेको परिवर्तन र साना तथा कमजोर राष्ट्रहरूले व्यहोर्नुपर्ने जोखिमको पूर्वसन्देश हो । नेपालले यसको विरोध गर्नुपर्थ्यो । सरकारले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
हामी सानो र कमजोर देश मात्र होइनौं, ठूला छिमेकीका आँगनमा पनि छौं । हामीले विश्वभर कमजोर देशहरूको पक्षमा बोलेनौं भने हामीलाई पर्दा साथ दिने कोही पाइने छैन । नेपालका कम्युनिस्ट तथा वामपन्थी दल र व्यक्तिहरूले विरोध गरेर आफ्नो धर्म निर्वाह गरेका छन् ।
यो आवाज बलियोसँग उठ्नुपर्छ । यसमा कांग्रेस र रास्वपा जस्ता दलले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्छ । यहाँ ‘बुढी मरेको’ भन्दा पनि ‘काल पल्केको’मा सतर्क हुनु जरूरी छ ।
सबै साना-ठूला देश समान छन् । सबैले निर्भयतापूर्वक आफ्नो देशको शासन व्यवस्था र शासक रोज्न पाउनुपर्छ । अमेरिका फेरि जङ्गली कानुन लागू गराउन तम्सेको छ । त्यसलाई खबरदारी गर्नैपर्छ ।
अनि संयुक्त राज्य अमेरिकाका राष्ट्रपति
मेरो देशको राष्ट्रपतिभन्दा बढी नै
मेरो देशको राष्ट्रपति हुनु अस्वीकार्य छ ।
त्यस्तो कदापि हुन दिइने छैन ।
जस्तोसुकै होस्,
मलाई मेरै देशको राष्ट्रपति
सबैभन्दा माथि भएको अवस्था चाहिन्छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

