― Advertisement ―

कसरी भौतिक एआई प्रभावकारी रूपमा तैनात गर्ने

आजको धेरै जसो उद्यम AI अझै पनि क्लाउड डाटासेन्टरको सीमा भित्र काम गर्दछ।यसले विश्लेषण वा निजीकरण जस्ता डिजिटल कार्यहरू राम्ररी ह्यान्डल गर्छ, तर टेल...
HomeLatest newsलुम्बिनी लायन्सको च्याम्पियन यात्रा – KhabarHost

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – KhabarHost


पहिलो सिजन पूछारमा रहेको लुम्बिनीले दोस्रो सिजन ‘रोलरकोस्टर जर्नी’ तय गर्दै च्याम्पियन सम्मको यात्रा तय गर्‍यो ।

राष्ट्रिय

समाचार.

  • लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग २०७९ को फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको छ।
  • कप्तान रोहित पौडेलले फाइनलमा ह्याट्रिक विकेट लिएर लुम्बिनीको बलिङलाई मजबुत बनाएका थिए र उनले उत्कृष्ट नेपाली खेलाडी र बेस्ट ब्याटरको पुरस्कार जितेका छन्।
  • लुम्बिनीले लिग चरणमा चौथो स्थान हासिल गरी प्लेअफमा प्रवेश गरी लगातार खेल जित्दै उपाधि जितेको थियो भने सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेता रह्यो।

२७ मंसिर, काठमाडौं । २७ दिन, ३२ खेल र लुम्बिनी लायन्स नयाँ च्याम्पियन ।

लिगको सुरुवात देखि फाइनलसम्म उतारचढावपूर्ण यात्रापछि लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को नयाँ च्याम्पियन बनाएर सम्पन्न भएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा फ्लडलाइटमूनि पहिलो पटक भएको एनपीएलमा फाइनल खेल डे-नाइट भएको थियो । फाइनलमा लुम्बिनीले साविक उपविजेता समेत रहेको सुदूरपश्चिममाथि ६ विकेटको एकपक्षिय जित निकाल्दै उपाधि जितेको हो ।

सुदूरपश्चिमलाई ८५ रनमै अलआउट गरेको लुम्बिनीले ८६ रनको लक्ष्य ९ ओभर खेल्दै पूरा गर्‍यो । यस क्रममा लुम्बिनीले ४ विकेट गुमाएको थियो ।

लिग चरणमा चौथो भएको लुम्बिनीले एनपीएलको च्याम्पियन बन्ने क्रममा सबैभन्दा धेरै १० खेल खेल्यो अनि त्यसमा सुदूरपश्चिमसँगै समान ७ खेलमा जित हात पार्‍यो । लुम्बिनी च्याम्पियन टिम बन्यो । सुदूरपश्चिम फेरि लगातार दोस्रो पटक उपविजेतामै सीमित भयो ।

लुम्बिनीलाई च्याम्पियन बनाएपछि कप्तान रोहित पौडेलले सपना पूरा भएको जस्तै बताए ।

‘ड्रि कम ट्रयु जस्तो अनुभव भइराछ । जुन अवस्थामा हामी थियौं ४ गेम पछि १ जित र ३ हार थियो । त्यहाँबाट यहाँसम्म पुग्न भनेको ठूलो अचिभमेन्ट जस्तो लाग्छ र एनपीएल जित्नु लुम्बिनी लायन्सको लागि ठूलो उपलब्धि हो र टिमवर्कको नतिजा हो’ रोहितले पोष्ट म्याच कन्फेरेन्समा भने ।

अन्तिम देखि च्याम्पियनसम्मको यात्रा

पहिलो सिजन लुम्बिनी लायन्स अन्तिम स्थानमा रहेको थियो । रोहित पौडेलको कप्तानीको लुम्बिनीले लिग चरणमा जम्मा १ खेल मात्र जित्दै २ अंक जोडेको थियो । पहिलो सिजन पूछारमा रहेको लुम्बिनीले दोस्रो सिजन ‘रोलरकोस्टर जर्नी’ तय गर्दै च्याम्पियन सम्मको यात्रा तय गर्‍यो ।

यस क्रममा लुम्बिनीले पहिलो खेलमै चितवन राइनोजलाई पराजित गर्दै सानदार सुरुवात गरेको थियो । तर त्यसपछि लगातार तीन खेलमा पराजित हुँदा लुम्बिनी लिग चरणबाटै बाहिरिने खतरामा पुगेको थियो । कर्णाली याक्सविरुद्ध एकपक्षीय हारपछि लुम्बिनीले सुदूरपश्चिम र काठमान्डु गोर्खाज विरुद्धको खेल गुमाएको थियो । लगातार तीन खेल हार्दा खराब लयमा देखिएको लुम्बिनीका लागि लयमा फर्कनु नै चुनौतीपूर्ण थियो ।

तर पोखरा एभेन्जर्सलाई हराएर दोस्रो जित हात पारेपछि लुम्बिनीले फेरि जितको लय लियो । त्यसपछि भने लुम्बिनीले च्याम्पियन बन्दासम्म खेलेका कुनै पनि खेल गुमाएन । लुम्बिनीले यस्तो गज्जबको पुनरागमन गर्‍यो कि त्यसपछि खेलेका सबै ६ खेल जित्यो । यस क्रममा लुम्बिनीले लिगमा पोखरा एभेन्जर्स, विराटनगर किंग्स र साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर लिग चरणमा चौथो भएर प्लेअफमा छनोट भयो ।

सुदूरपश्चिम रोएल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सपछि प्लेअफमा छनोट हुने लुम्बिनी चौथो टोली बनेको थियो । लिगमा चौथो भएर प्लेअफ पुगेको लुम्बिनीका लागि फाइनलसम्म पुग्दै उपाधि जित्नु सामान्य कुरा थिएन । त्यसमा पनि लुम्बिनीले प्लेअफमा सबैभन्दा धेरै ३ खेल खेल्नुपर्‍यो । लिगमा शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर जितेर सिधै फाइनल पुगेको सुदूरपश्चिम भन्दा लुम्बिनीले धेरै खेल खेल्नुपर्ने र लगातार खेल्नुपरेको थियो ।

तर पहिलो सिजनमा फाइनल पुगेर पनि उपाधि फेभरेट भएर पराजित भएको सुदूरपश्चिमसामु दोस्रो सिजन फाइनल पुगेर उपाधि जित्ने एक खालको दबाब थियो ।

लुम्बिनी भने पहिलो पटक फाइनल पुगेकोले सुदूरपश्चिम जस्तो दबाब थिएन। उनीहरुलाई हार्नु केही थिएन र फाइनलमा अन्डरडग टिम जस्तो थियो । त्यसैले पनि लुम्बिनीले प्लेअफमा बिना दबाब खेल्दै तीन टिमलाई लगातार पराजित गरेर च्याम्पियन बन्यो ।

फाइनलमा लुम्बिनीको जबरजस्त बलिङ

यस पटक लुम्बिनीको ब्याटिङ भन्दा बलिङ गज्जबले चल्यो । अझ पछिल्ला खेलहरुमा त लुम्बिनीको बलिङ कन्सिस्टेन्सी गज्जबको थियो । विपक्षीलाई स्कोरमा रोक्दा होस या आफ्नो स्कोर डिफेण्ड गर्दै विपक्षीलाई अलआउट गर्न लुम्बिनीका बलरहरुले गज्जबको प्रदर्शन गरे ।

प्लेअफको तीन खेलमा त लुम्बिनीले विपक्षी टिमका ब्याटरहरुलाई खुलेर खेल्न समेत दिएनन् । तीनै खेलमा लुम्बिनीले विपक्षीलाई अलआउट गरेको छ ।

एलिमिनेटरमा काठमान्डुलाई लुम्बिनीले १११ रनमा अलआउट गरेको थियो ।  त्यसपछि लुम्बिनीले क्वालिफायर टु मा बलियो ब्याटिङ लाइनअप भएको विराटनगरलाई ९४ रनमै अलआउट गरिदियो । यस खेलमा लुम्बिनीले १३४ रन स्कोर डिफेण्ड गरेको थियो ।

फाइनलमा पनि लुम्बिनीको उत्कृष्ट बलिङले निरन्तरता पायो । कप्तान रोहित पौडेलको ह्याट्रिक विकेट अनि रुबेन ट्रम्पलम्यान र शेर मल्लको घातक बलिङमा सुदूरपश्चिम ८५ रनमै अलआउट भयो । ट्रम्पलम्यान र शेर मिलेर सुदूरशको टप अर्डर ध्वस्त पारिसकेका थिए ।

सुदूरपश्चिमजस्तो टिमलाई ८५ रनमा रोक्न सोचेभन्दा राम्रो बलिङ भएको रोहितले बताए । रोहितले पार्ट टाइम बलिङ गर्दै विकेट लिइरहेका थिए । फाइनलमा भने उनले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गर्दा सुदूरको ब्याटिङ लाइन धरासयी नै बन्यो । जसको नतिजा सुदूरपश्चिम ५ बल अघि नै ८५ रनमा अलआउट भयो ।

‘एक्जुकेट त्यो भन्दा बढी राम्रो भाको हो । सुदूरपश्चिम ८५ रनमा अलआउट गर्छौं भन्ने थिएन । १४०-१५० मा रोक्यौं भने सहज हुन्छ भन्ने थियो । तर जुन हिसावले शेर र रुबेनले बलिङ गर्‍यो । मैले पनि गरेँ । आज सबै कुरा राम्रो भयो जस्तो लाग्छ’ रोहितले भने ।

यस्तै ह्याट्रिक लिने कुरा आफूले सपनामा पनि सोच्न नसकेको र दबाबले गर्दा विपक्षीको विकेट गएको हुन सक्ने रोहितले बताए । ‘सोचेको थिएन ह्याट्रिक हुन्छ भनेर । ड्रिममा पनि सोच्न सक्दिन ह्याट्रिक हुन्छ भनेर । आज मेरो दिन राम्रो छ जस्तो लाग्यो,’ रोहितले हाँसोसहित भने, ‘टुर्नामेन्ट राम्रो भयो । विदेशी खेलाडीले राम्रो खेले । रुबेन, जेजेले राम्रो गर्‍यो । डिकवेलाले राम्रो गरिराछ । शेर अभिशेष तिलक सबैले राम्रो खेले । जोरा अनि दिलिप दाई । सबैले राम्रो खेले ।’

सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको संयुक्त रुपमा चौथो कम स्कोर हो भने एनपीएल फाइनलको कम योगफल हो ।

सुदूरपश्चिमका मुख्य प्रशिक्षक जगत टमाटाले पनि आझ आफूहरुको दिन नभएको बताए । ‘आज हामीले राम्रो खेल्न सकेनौँ । हामरो ब्याड डे थियो । विपक्षी टिमले राम्रो खेल्यो । बलरहरुले राम्रो गरे ।’ टमाटाले पोष्ट म्याच कन्फेरेन्समा भने । ‘हामीले १४०-१५० को लक्ष्य बनाएर आएका थियौं तर त्यो पूरा भएन ।’

रोहितले ११औं ओभरको अन्तिम तीन बलमा सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरी, दिपक बोहरा र  पुनित मेहरालाई लगातार आउट गर्दै ह्याट्रिक विकेट लिएका थिए ।

उनले ४ ओभर स्पेलमा जम्मा १२ रन खर्चिए । रुबेन ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र खर्चेर ३ विकेट लिए । यस्तै शेर मल्ले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए ।

सुदूरपश्चिमका लागि ओपनिङ गरेका इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । उनले एक छेउबाट विकेट जाँदा अर्को छेउ सम्हाल्दै इनिङ्स बिल्ड गरेका थिए । चौथो विकेटका लागि कप्तान दीपेन्द्रसँग इशानले गरेको २५ रनको साझेदारी नै सबैभन्दा ठूलो साझेदारी बन्यो । इशानबाहेक कप्तान दीपेन्द्रले १३ तथा हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जोडे । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

८६ रनको सामान्य लक्ष्य पछ्याउँदै लुम्बिनीका ओपनर दिनेश अधिकारीले विष्फोटक ब्याटिङ नै गरे । पहिलो ओभरमै सुदूरका कप्तान दीपेन्द्र सिंह ऐरीलाई दिनेशले ४ छक्का प्रहार गरेपछि लुम्बिनीले २७ रन जोडेको थियो । त्यसबाटै लुम्बिनी जित नजिक पुगेको थियो ।

दिनेशले १३ बल मात्र खेल्दै १ चौका र ५ छक्का मदतमा ४२ रन बनाए । दिनेशले पहिलो विकेटका लागि डार्शी सर्टसँग ४ ओभरमै ५८ रनको साझेदारी गरेर जितको आधार तयार गरिसकेका थिए ।

तर सुदूरका हेमन्त धामीले पाँचौ ओभरमा डार्सी शर्ट र दिनेश दुवैलाई आउट गरेपछि लुम्बिनीले केही मिहिनेत गर्नुपरेको थियो । शर्टले १४ बलमा १३ रन बनाए ।

रोहितले निरोशन डिकवेलालाई वान डाउनमा पठाएर आफू चौथो नम्बरमा ब्याटिङ गरे । रोहितले १२ बलमा २ चौका र १ छक्कासिहत १६ रन जोडे । गेम फिनिस गर्ने धुनमा रोहित अविनाश बोहराको बलमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट भए । त्यसपछि आएका सन्दिप जोरा खाता नखोली आउट भए । डिकवेलाले १२ बलमा अवजित ११ रन जोडे । दिलिप नाथले एक बल खेल्दै विजयी रन जोडे ।

लुम्बिनीले खेलेको १० खेलको नतिजा

 

चितवन राइनोज विरुद्ध ६ विकेटले विजयी

कर्णाली याक्स विरुद्ध ९ विकेटले पराजित

काठमान्डु गोर्खाज विरुद्ध २२ रनले पराजित

सुदूरपश्चिम रोएल्स विरुद्ध ७ विकेटले पराजित

पोखरा एभेन्जर्स विरुद्ध ३ विकेटले विजयी

विराटनगर किंग्स विरुद्ध ५ विकेटले विजयी

जनकपुर बोल्ट्स विरुद्ध ४ विकेटले विजयी

एलिमिनेटर

काठमान्ड् गोर्खाज विरुद्ध ४ विकेटले विजयी

क्वालिफायर २

विराटनगर किंग्स विरुद्ध ४० रनले विजयी

फाइनल

सुदूरपश्चिम रोएल्स विरुद्ध ६ विकेटले विजयी

रोहितलाई कारदेखि बाइकसम्म पुरस्कार

च्याम्पियन लुम्बिनी टिमले व्यक्तिगत पुरस्कारमा पनि वर्चस्व जमायो । प्रतियोगिता सर्वोत्कृष्ट नेपाली देखि विदेशी खेलाडीसम्मको अवार्ड लुम्बिनीका खेलाडीले पाए ।

त्यसका कप्तान रोहित नै अघि रहे । ब्याटिङमा २७६ रन बनाउनुका साथै बलिङमा १० विकेट पनि लिएका रोहित उत्कृष्ट नेपाली खेलाडी बन्दे जेइको जे फाइभ कार जित्न सफल भए । यस्तै उनी बेस्ट ब्याटर समेत घोषित भए । उनले पल्सर मोटरबाइक पुरस्कार पनि जिते ।

रोहित सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा रहँदै नेपाली खेलाडी मध्ये धेरै रन बनाउने खेलाडीको सूचीमा अघि रहे ।

रोहितले कार र बाइक पाएपछि आफ्नो बुबा आमा परिवारलाई कारमा राखेर घुमाएका थिए । आफ्नो लागि आज सपना पूरा भएको क्षण भएको उनले सुनाए । ‘च्याम्पियन भयौँ । कार र बाइक पनि पाएँ । परिवारलाई साथ राखेर घुमाएँ । यो खुशीको क्षण थियो’ उनले भने ।

यसैगरी लुम्बिनीका नामिबियन बलर रुबेन ट्रम्पलम्यान प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ लाखको चेक पाए । फाइनलमा पनि उनी ‘प्लेअर अफ दि म्याच’ घोषित भएका थिए । उनले लुम्बिनीका लागि १० खेल खेल्दा १५ विकेट लिए । उनी सर्वाधिक विकेट लिनेमा चौथो स्थानमा थिए भने ब्याटिङमा ६५ रन बनाए ।

यस्तै लुम्बिनीकै शेर मल्ल इमर्जिङ प्लेअर घोषित हुँदै पल्सर मोटरबाइक प्राप्त गरे । उनले विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिमका अविनाश बोहरासँगै संयुक्त रुपमा सर्वाधिक १७ विकेट लिएका थिए ।

सन्दीप बेस्ट बलर घोषित हुँदै पल्सर मोटरबाइक जित्न सफल भए । अविनाश बोहराले भने इनर्जेटिक प्लेअर घोषित हुँदै नगद २ लाखको चेक पाए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More