― Advertisement ―

HomeLatest newsरेमिट्यान्स र निर्यात सुध्रिँदा उक्सिएको अर्थतन्त्र

रेमिट्यान्स र निर्यात सुध्रिँदा उक्सिएको अर्थतन्त्र


राष्ट्रिय

समाचार.

  • नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष असोजसम्म वार्षिक उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत र कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड देखाएको छ।
  • असोजसम्म रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले बढेको र निर्यात ८९.६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
  • पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले अर्थतन्त्रमा गतिविधि नभएको अवस्थामा सूचकमा सुधार हुनु सकारात्मक नभएको बताए।

३० कात्तिक, काठमाडौं । अर्थतन्त्रका आन्तरिक पक्ष सक्रिय नभएको अवस्थामा पनि आधिकांश सूचकमा उच्च सुधार देखिएको छ ।

रेमिट्यान्स आप्रवाहमा आएको उच्च सुधारसँगै निर्यात बढेपछि अर्थतन्त्रका सूचक सबल देखिएका हुन् ।

नेपाल राष्ट्र बैंकले न्यून मूल्यवृद्धि, शोधनान्तर अवस्था, विदेशी विनिमय सञ्चिति, निर्यात लगायत सूचकमा उच्च सुधार आएको देखाएको छ ।

तर, अर्थतन्त्रमा गतिविधि नभई सूचकहरूमा उच्च सुधार आउनु भनेको सकारात्मक नभएको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।

‘केन्द्रीय बैंकको तथ्यांक आधार मान्दा अर्थतन्त्र अत्यन्त खराब स्थितिमा छ भन्ने देखाउँछ,’ थापाले भने, ‘आर्थिक समृद्धि भइराखेको समयमा मूल्यमा चाप हुन्छ, मूल्यवृद्धि हुन्छ, ब्याजदर माथि जान्छ, विदेशी मुद्रा चापमा पर्छ, ब्यालेन्स अफ पेमेन्ट्स पनि दबाबमा आएको हुन्छ ।’

थापाका अनुसार मुलुक आर्थिक मन्दीको चपेटामा परेको अवस्थामा मूल्यको दबाब हुँदैन, चाप हुँदैन, सर्वसाधारणको क्रयशक्ति हुँदैन, समग्र माग हुँदैन, मूल्य त घट्ने नै भयो ।

रेमिटयान्सबाट आएको विदेशी मुद्राको समेत प्रयोग नगरी राखिएको विदेशी विनिमय सञ्चितिलाई सकारात्मक मान्न नमिल्ने थापाको भनाइ छ ।

‘नेपालीले विदेशमा कमाएर पठाएको पैसा घट्नुको सट्टा बढ्ने भयो,’ उनले भने, ‘किनभने, अर्थतन्त्रले राम्रो गरेको छैन, त्यसको सदुपयोग हुन सकिरहेको छैन, अर्थतन्त्र अत्यन्त खराब मोडमा छ, आर्थिक गतिविधि शून्यप्राय: छन् ।’

अर्थतन्त्रमा सुधार आउन उत्पादन बढ्नुपर्छ भने व्यापार घाटा नभई अर्थतन्त्रका सूचक अहिलेको अवस्थामा हुन्थ्यो भने सकारात्मक भन्न सकिने उनको बुझाइ छ ।

‘नेपालजस्तो अत्यन्त लो इन्कम (न्यून आय) भएको, कुनै विकास नभएको देशमा विदेशी विनिमय सञ्चिति बढ्नु भनेको के हो ?,’ उनले प्रश्न गरे ।

जुन देशमा व्यापार घाटा उच्च छ, त्यो देशमा विदेशी विनिमय सञ्चिति बढ्नु भनेको सकारात्मक संकेत नभएको उनी बताउँछन् । घरेलु अर्थतन्त्रको नेट रिजल्ट भनेको उत्पादन हो, नेट रिजल्ट भनेको रोजगारीको अवस्था हो, त्यसमा सुधार नभई विदेशी विनिमय सञ्चिति मात्र हेरेर नहुने उनको भनाइ छ ।

‘बिजनेस साइकलका कुरा गर्दा उत्पादन, रोजगारीको अवस्था नै हो,’ उनले भने, ‘मूल्यमा चाप पर्नु भनेको राम्रो पनि हो, समग्र माग बढ्न भने सर्वसाधारणको क्रयशक्तिमा समेत सुधार आउँछ, यसले अर्थतन्त्र आफ्नो गतिमा अघि बढिरहेको छ भन्ने हुन्छ ।’

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष असोजसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत छ । कुल विदेशी विनिमय सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड छ । अमेरिकी डलरमा उक्त सञ्चिति २१ अर्ब २१ करोड पुगेको छ । यस्तो सञ्चिति १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।

चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड बचतमा छ । चालु आव असोजसम्म रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ३५.४ प्रतिशत र अमेरिकी डलरमा २९.२ प्रतिशतले बढेको छ । असोजको रेमिट्यान्स आप्रवाह २ खर्ब १ अर्ब २२ करोड छ ।

असोजसम्म निर्यात ८९.६ प्रतिशत र आयात १९.८ प्रतिशतले बढेको छ । यस अवधिमा नेपाल सरकारको खर्च ३ खर्ब ६४ अर्ब ५९ करोड र राजस्व परिचालन २ खर्ब ४९ अर्ब ५ करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ३.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.२ प्रतिशतले बढेको केन्द्रीय बैंकको दाबी छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा वृद्धिदर ७.३ प्रतिशतले बढेको छ ।

वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.५० प्रतिशत छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More