― Advertisement ―

कसरी भौतिक एआई प्रभावकारी रूपमा तैनात गर्ने

आजको धेरै जसो उद्यम AI अझै पनि क्लाउड डाटासेन्टरको सीमा भित्र काम गर्दछ।यसले विश्लेषण वा निजीकरण जस्ता डिजिटल कार्यहरू राम्ररी ह्यान्डल गर्छ, तर टेल...
HomeLatest newsरुपैयाँ कमजोर हुँदा सार्वजनिक ऋणमा ७७ अर्ब थप भार – KhabarHost

रुपैयाँ कमजोर हुँदा सार्वजनिक ऋणमा ७७ अर्ब थप भार – KhabarHost


राष्ट्रिय

समाचार.

  • चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा अमेरिकी डलरको मूल्य वृद्धिले नेपाली रुपैयाँमा ७७ अर्ब ६६ करोड ८५ लाख बराबर सार्वजनिक ऋणमा अतिरिक्त भार परेको छ।
  • सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ, जसमा ५ महिनामा १ खर्ब ७५ अर्ब १२ करोड रुपैयाँ ऋण परिचालन भएको छ।
  • उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सार्वजनिक ऋणको सही सदुपयोग नगरे देश ऋणको जालोमा पर्ने सम्भावना बढ्ने र साँवा–ब्याज भुक्तानीले शिक्षा, स्वास्थ्य बजेटमा असर पर्ने बताएको छ।

८ पुस, काठमाडौं । अमेरिकी डलरको दाँजोमा नेपाली रुपैयाँ कमजोर हुँदा नेपालको सार्वजनिक ऋणमा ७७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ बराबर थप भार परेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना मंसिरसम्म कुल सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड पुगेको छ । जसमा ७७ अर्ब ६६ करोड रुपैयाँ थप भार नेपाली मुद्रा कमजोर बन्दा पर्न गएको हो ।

नेपालले वाह्य ऋणको साँवा भुक्तानी अमेरिकी डलरमा गर्नुपर्ने हुन्छ । सोहीकारण डलर बलियो हुँदा नेपालको कुल सार्वजनिक ऋणमा अतिरिक्त भार थपिन्छ । कार्यालयका अनुसार गत महिनाको तुलनामा डलरमा भएको विनिमय वृद्धिले नेपाली मुद्रामा तिर्न बाँकी ऋण दायित्व थप बढ्न गएको हो । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक डलर बराबर नेपाली रुपैयाँ १४३.७५ छ ।

मंसिर मसान्तसम्म सरकारले तिर्न बाँकी ऋणमध्ये वाह्य ऋण १४ खर्ब ८६ अर्ब ९० करोड बराबर छ । जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा २४.३६ प्रतिशत हो । आन्तरिक ऋण १३ खर्ब १ अर्ब रुपैयाँ छ ।

पछिल्लो पाँच महिनामा सरकारले १ खर्ब ७५ अर्ब १२ करोड बराबर सार्वजनिक ऋण लिएको छ । यस अवधिमा १ खर्ब ३८ अर्ब ३० करोड बराबर भुक्तानी समेत गरेको छ । तर, विनिमय दरमा आएको उतारचढावले ७७ अर्ब ६६ करोडको अतिरिक्त भार मुलुकमाथि परेको देखिन्छ ।

असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण पाँच महिनामा बढेर २८ खर्ब नजिक पुगेको हो । पाँच महिनामा सार्वजनिक ऋणको खुद वृद्धि १ खर्ब १४ अर्ब ४८ करोड छ ।

सार्वजनिक ऋणमा वैदेशिक ऋणको भार ५३.३२ प्रतिशत र आन्तरिक ऋणको भार ४६.६८ प्रतिशत बराबर छ । सरकारले अहिले लक्ष्य अनुसार राजस्व उठाउन सकेको छैन । सोहीकारण सार्वजनिक खर्च व्यवस्थापन गर्न सरकारले ऋणमा भर पर्नुपरेको छ ।

यस वर्ष ६ खर्ब ऋण उठाउने लक्ष्य

सरकारले चालु आर्थिक वर्ष ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण उठाउने लक्ष्य राखेको छ । जसमा आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब र वाह्य ऋण २ खर्ब ३३ अर्ब उठाउने लक्ष्य छ । परिचालन भने पाँच महिनामा लक्ष्यको २९.४० प्रतिशत भएको छ । १ खर्ब ७५ अर्ब १२ करोड ऋण उठाइएको छ । यस अवधिमा आन्तरिक ऋण १ खर्ब ४७ अर्ब ६६ करोड रुपैयाँ उठाइएको छ । वाह्य ऋण २७ अर्ब ४५ करोड परिचालन भएको छ । लक्ष्यको आधारमा मंसिरसम्मको प्राप्ति आन्तरिक ऋण ४०.७९ प्रतिशत र वाह्य ऋण ११.७५ प्रतिशत उठेको छ ।

ऋणको साँवा-ब्याज भुक्तानीमा १ खर्ब ६७ अर्ब खर्च

तथ्यांक अनुसार मंसिर मसान्तसम्म सार्वजनिक ऋण तिर्न सरकारले ४ खर्ब ११ अर्ब १ करोड बजेट विनियोजन गरेको छ । जसमध्ये मंसिर मसान्तसम्म १ खर्ब ६७ अर्ब १ करोड भुक्तानी गरिएको छ । यो लक्ष्यको ४०.६४ प्रतिशत हो । मंसिरसम्म आन्तरिक ऋणको साँवा भुक्तानी १ खर्ब १४ अर्ब र ब्याज भुक्तानी २३ अर्ब ४२ करोड बराबर भएको छ । वाह्य ऋणको साँवा भुक्तानी २४ अर्ब ४ करोड र ब्याज ५ अर्ब २८ करोड खर्च भएको तथ्यांक छ । यस अवधिमा जम्मा साँवा खर्च १ खर्ब ३८ अर्ब र ब्याज खर्च २८ अर्ब ७० करोड बराबर भएको तथ्यांक छ ।

कुन महिना कति ऋण प्राप्ति ?

सरकारले पाँच महिनामा उठाएको सार्वजनिक ऋणमध्ये सबैभन्दा धेरै साउनमा उठाएको छ । साउनमा ४४ अर्ब ६६ करोड उठाइएको छ । भदौमा ३६ अर्ब १८ करोड, असोजमा २३ अर्ब ४१ करोड सार्वजनिक ऋण उठाइएको छ । यसैगरी कात्तिकमा ३८ अर्ब ३६ करोड र मंसिरमा ३२ अर्ब ४८ करोड ऋण उठाइएको छ ।

यस्तो छ सार्वजनिक ऋण बढोत्तरी प्रवृत्ति

नेपालजस्ता मुलुकमा सार्वजनिक ऋण लिनु आवश्यक रहे पनि यसको सही सदुपयोगमा विज्ञले जोड दिँदै आएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा २०७३/७४ देखि २०८०/८१ बीचमा सार्वजनिक ऋण वृद्धिदर औसत १९ प्रतिशत थियो ।

यस अवधिमा आन्तरिक ऋण वृद्धिदर २२.९ प्रतिशतले भएको छ । वाह्य ऋण वृद्धिदर औसत १६.२ प्रतिशत छ । २०७६/७७ को एक वर्षमा मात्र ऋण ३६.७ प्रतिशत बढेको थियो ।

आव २०७३/७४ मा सार्वजनिक ऋण जीडीपीको २२.७ प्रतिशत रहेकोमा २०८१/८२ सम्म ४३.७१ प्रतिशत पुगेको छ । २०७२/७३ मा ६ खर्ब २३ अर्बमात्र रहेको सार्वजनिक ऋण पछिल्लो एक दशकमा चार गुणाले वृद्धि भएको देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण, संघीयता कार्यान्वयन र कोभिड–१९ को समयमा बढेको स्वास्थ्य खर्चका कारण सार्वजनिक ऋण ह्वात्तै बढेको देखिन्छ ।

अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन अनुसार सार्वजनिक ऋणको संरचना मात्रा बढे अनुसार जीडीपी र राजस्व परिचालन बढ्न नसक्दा साँवा–ब्याज भुक्तानीको अनुपात बढ्दै गएको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘सार्वजनिक ऋणको सही सदुपयोग नगर्ने हो भने र प्रतिफल नहुने हो भने देश ऋणको जालोमा पर्ने सम्भावना बढ्दै जाने छ ।’

प्रतिवेदन अनुसार साँवा–ब्याज भुक्तानी दायित्व बढ्दै जाँदा शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता सरकारले गर्नुपर्ने अत्यावश्यक कामका लागि बजेट अभाव हुने गरेको छ ।

सोहीकारण सरकारी निकाय र विज्ञले ऋण परिचालन पूँजी निर्माण हुने क्षेत्रमा गर्न सुझाव दिइरहेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समेत यसमा चिन्ता जनाएको छ ।

आयोगले चालु आव २०८२/८३ का लागि सरकारलाई गरेको सिफारिसमा भनेको छ, ‘चालु र प्रशासनिक खर्चमा कडाइसाथ निषेध गर्नुपर्छ ।’

आयोगले आयोजनाको लागत लाभ विश्लेषण, खुद वर्तमान मूल्य र आन्तरिक प्रतिफल दर विश्लेषण गरी प्रचलिन पूँजी लागतभन्दा वित्तीय आन्तरिक प्रतिफल दर बढी भएका नाफामूलक आयोजना र आर्थिक आन्तरिक प्रतिफल दर बढी भएका सामाजिक क्षेत्रमा मात्र आन्तरिक ऋण उपयोग गर्न भनेको छ ।

आयोगले उत्पादन वृद्धि, आय वृद्धि, पूर्वाधार विकास र पूँजी निर्माण हुने खालका पूर्वतयारी सम्पन्न भएका आयोजना/परियोजनामा मात्र आन्तरिक ऋण परिचालन गर्न भनेको छ ।

प्रदेश र स्थानीय सरकारले आन्तरिक ऋण उठाउने हो भने यसलाई बजेटको स्रोतका रूपमा राख्नुपर्ने समेत आयोगको सुझाव छ । सरकारले बजेट तर्जुमा गर्दा आयोजना/कार्यक्रमको स्रोतगत विवरण खण्डमा अनिवार्य आन्तरिक ऋण राख्नुपर्ने समेत आयोगको सुझावमा उल्लेख छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More