― Advertisement ―

यो मिस-टुमिस कुपन कोडले तपाईंलाई ग्यालेक्सी S26 अल्ट्रा यसको सबैभन्दा कम मूल्यमा प्राप्त गर्न सक्छ – $ 950 सम्म छुट

यदि तपाईंले Samsung Galaxy S26 Ultra को लागि उपयुक्त दिन हो, त्यसोभए आज तपाईंको सौभाग्यपूर्ण दिन पर्खन सक्छ। Samsung मा, आधिकारिक खुद्रा बिक्रेताले हाल...
HomeLatest newsराष्ट्रिय सभामा आए १८ नयाँ सांसद – KhabarHost

राष्ट्रिय सभामा आए १८ नयाँ सांसद – KhabarHost



११ माघ, काठमाडौं । राष्ट्रिय सभा सदस्यमा १८ जना नयाँ अनुहार आएका छन् । जसमा नयाँ र अनुभवी तथा युवा अनुहार समेत छन् । समावेशी अनुहार त छँदैछ ।

आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन भएको हो । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले तालमेल गरेका थिए । नेपाली कम्युनिस्ट पार्टी एक्लै चुनावी मैदानमा थियो । निर्वाचनबाट तालमेलमा उम्मेदवारी दिएकाहरू नै विजयी भएका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख एवं पदाधिकारी मतदाता हुन्छन् । सात वटै प्रदेशमा ५५० प्रदेश सभा सदस्य छन् । ७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी स्थानीय तहका पदाधिकारीतर्फ मात्रै एक हजार ५०६ मतदाता रहन्छन् । नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु हुनेछ ।

आइतबारको निर्वाचनबाट विजयी भएका राष्ट्रिय सभा सदस्यहरूमा यसअघि नै प्रतिनिधिसभामा काम गरिसकेका व्यक्तिहरू समेत छन् । विल्कुल नयाँ अनुहार पनि चुनिएर आएका छन् ।

तल्लो सदनमा चार अनुहार माथि उक्लिए

राष्ट्रिय सभा सदस्यमा निर्वाचित महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाही प्रतिनिधिसभा सदस्य भएर काम गरिसकेका अनुहार हुन् ।

मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित ८३ वर्षीय महन्थ ठाकुर विघटित प्रतिनिधिसभा सदस्य थिए । पटक–प्रतिनिधिसभा सदस्य भएर काम गरेका उनी राजनीतिको उत्तरार्धतिर राष्ट्रिय सभा सदस्य भएका हुन् ।

ठाकुर २०४८ सालमै कांग्रेसबाट सर्लाही क्षेत्र नम्बर ५ बाट चुनाव जितेर संसदीय राजनीतिमा प्रवेश गरेका थिए । त्यसबेला उनी उपसभामुख बने । २०५१ को मध्यावधि निर्वाचनमा सर्लाहीबाटै चुनाव जिते । २०६४ को निर्वाचनमा पराजित भए । तर उनी मन्त्रिपरिषद्‍बाट मनोनीत भएर सांसद बने । २०७० को चुनावमा फेरि पराजित भए । २०७४ र २०७९ मा महोत्तरी ३ बाट निर्वाचित भए ।

यसपटक प्रतिनिधिसभा सदस्य छाडेर राष्ट्रिय सभा सदस्य भएका हुन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित रामकुमारी झाँक्री पनि प्रतिनिधिसभाकी पूर्व सदस्य हुन् ।

२०७४ मा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन् । २०७९ को प्रतिनिधिसभा सदस्यको चुनावमा हार बेहोरेकी थिइन् । यसपटक राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् ।

२०३५ साल जेठ १० गते गुल्मीमा जन्मिएकी झँक्री अनेरास्ववियुको राजनीतिबाट उदाएकी नेतृत्व हुन् ।

यसैगरी, कर्णाली प्रदेशबाट निर्वाचित ललितजंग शाही संविधान सभामा रहेर काम गरेका नेता हुन् । २०१२ साल कात्तिक १५ गते जन्मिएका शाही जुम्लाको चन्दननाथ नगरपालिका-५, खलंगा निवासी हुन् ।

बिपीको विचारबाट प्रभावित भएर राजनीतिमा लागेको बताउने शाही ७० वर्ष पुगे ।

२०६४ को पहिलो संविधान सभा चुनावमा आफ्नै पार्टीका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएका थिए । शाही पराजित भए । तर, पार्टी छाडेनन् । २०७० को दोस्रो संविधान सभा चुनावमा जुम्लाबाट निर्वाचित भए र नेपालको संविधान २०७२ निर्माणमा भूमिका खेले । २०७९ को चुनावमा प्रदेश सभामा चुनाव लडे, जितेनन् ।

यसपटक उनी राष्ट्रिय सभा सदस्य भएका छन् । राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित भएपछि शाहीले संविधान लिक बाहिर गएको र त्यसलाई ट्र्याकमा ल्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

निर्विरोध भए सुनिल

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्विरोध निर्वाचित सुनीलबहादुर थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् ।

६६ वर्षीय थापासँग यसअघि नै संघीय सांसद र संघीय मन्त्री भएर काम गरेको अनुभव छ ।

२०७० सालमा धनकुटा क्षेत्र नम्बर-२ बाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए । त्यसबेला उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट चुनाव जितेका हुन् ।

२०७४ साल जेठमा शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा सुनिल बहादुर थापा वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए ।

प्रतिनिधिसभा सदस्यको पछिल्ला दुई निर्वाचन भने थापाका लागि सुःखद रहेन । धनकुटाबाटै २०७४ को प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवार थिए । एमालेका राजेन्द्रकुमार राईसँग पराजित भए । त्यसपछि थापाले २०७७ मा राप्रपा परित्याग गरे र कांग्रेसमा गए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । कांग्रेसबाट २०७९ को प्रतिनिधिसभा सदस्यमा धनकुटामै उम्मेदवार बने । फेरि एमालेका राजेन्द्रकुमार राईले हराइदिए ।

२०७९ चैतदेखि २०८२ चैतसम्म राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख राजनीतिक सल्लाहकारका रूपमा काम गरे । सक्रिय संसदीय राजनीतिमै रहने हुटहुटीले थापालाई राष्ट्रिय सभा सदस्य बनाएको छ । राष्ट्रिय सभामा भने सजिलै सांसद् भए ।

गत पुस २३ गते मनोनयन दर्ताको समय थियो । मुख्य प्रतिस्पर्धी मानिएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हेमराज घिमिरे समयमै निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन सकेनन् । त्यसपछि थापा निर्विरोध निर्वाचित भए ।

२०१६ साल वैशाख १ गते धनकुटाको पाख्रिबास मुगामा जन्मिएका थापाले लामो समय संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशमा रहेर काम गरे ।

शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोगको सुडानमा कार्यरत रहेका बेला राजीनामा दिएर राजनीतिमा सक्रिय भएका हुन् । राजनीतिमा सक्रिय भएपछि हार र जित दुवै अनुभव संगाल्दै अगाडि बढिरहेका छन् ।

मेचे समूदायबाट संसद्‌मा रोशनी

कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यका निर्वाचित अर्की सांसद हुन्–रोशनी मेचे । उनी सीमान्तकृत मेचे समुदायकी हुन् ।

मेचे समुदायको विकासका लागि कसरी योगदान दिन सकिन्छ भनेर घोत्लिरहेकी रोशनी आइतबारको निर्वाचनमा विजयी हुँदै राष्ट्रिय सभा सदस्य बन्न सफल भएकी छन् । रोशनीसँग नेपाल कम्युनिस्ट पार्टीबाट नमिता न्यौपाने प्रतिस्पर्धी थिइन् । न्यौपाने दोस्रो भइन् ।

चुनावी परिणामसँगै अब रोशनी मेचेलाई सीमान्तकृत समुदायको विषयमा के कस्तो संघीय नीति बनाउने हो त्यसको अगुवाई गर्ने ढोका खुला भएको छ ।

झापाको मेचीनगर, बिर्तामोड, हल्दिबारी र कचनकबल लगायत क्षेत्रमा बसोबास गर्ने मेचे समुदायले सरकारबाट मासिरक चार हजार सामाजिक सुरक्षा भत्ता पनि पाउँछन् ।

यो समूदायका लागि रोशनीको यात्रा गौरवको विषय बनेको छ । यसअघि २०७४ मा एमालेबाटै मेचे समुदायकी कुमारी मेचे प्रतिनिधिसभा सदस्य थिइन् ।

नवनिर्वाचित रोशनीसँग तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा बसेर काम गरेको अनुभव छ । झापा मेचीनगर १२ की रोशनी एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघमार्फत राजनीतिमा सक्रिय भएकी नेतृ हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् । कानुनमा स्नातक गरेकी छन् ।

समाज र कानुन पढ्दै समाज व्यवस्था र कानुनी शासनका केस्रा–केस्रा केलाइरहेकी रोशनीले अब ६ वर्षसम्म संघीय संसद्मा सीमान्तकृत र अल्पसंख्यक समुदायको आवाज उठाउने छिन् ।

मधेशबाट धमेन्द्र, रन्जित र रेखा

मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा लोसपाका महन्थ ठाकुर बाहेक तीन जना निर्वाचित भएका छन् । ती हुन्– नेपलाी कांग्रेसका धमेन्द्र पासवान र रन्जित कर्ण तथा नेकपा एमाले एमालेका रेखा झा ।

धमेन्द्र पासवान दलित अधिकारकर्मी हुन् । नेपाली कांग्रेसमा आवद्ध भएर राजनीतिमा सक्रिय पासवान समाजमा व्याप्त विभेद, अन्याय र बहिष्करणविरुद्ध आवाज उठाउँदै आएका नेता हुन् ।

५४ वर्षीय पासवान स्थानीय स्तरमा सरल जीवनशैली, अनुशासित र जनमुखी नेताका रुपमा चिनिन्छन् ।

रौतहट निवासी पासवानले राजनीति शास्त्रमा स्नातकसम्म अध्ययन गरेका छन् । उनीसँग बिभिन्न गैर सरकारी संस्थामा रहेर काम गरेको अनुभव पनि छ ।

दलित संघको महासचिवसम्म भएर पनि काम गरेका छन् । राष्ट्रिय सभामा रहँदा दलित समुदायको आर्थिक, समाजिक बिकासको लागी काम गर्ने उनको प्रतिबद्धता छ ।

अर्का नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रन्जित कर्ण नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व केन्द्रीय अध्यक्ष हुन् ।

राजविराज घर भएर उनी विद्यार्थीकालदेखि नै कांग्रेसमा सक्रिय नेता हुन् । उनी मधेश प्रदेशबाट अल्पसंख्यक कोटाबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् ।

मधेश प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी रेखा झा निर्वाचित भएकी छन् ।

समावेशी प्रतिनिधित्व, युवाको आवाज

नवनिर्वाचित सांसद् सोम पोर्तेल राष्ट्रिय सभामा युवाहरूको मुद्दा उठाउने बताउँछन् ।

उनी दलित कलस्टर अन्तर्गत कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले दलित समुदायका विषय त उठाउने नै भए । आफूलाई पार्टीले युवाको मुद्दा उठाउन उठाएको पनि उनले सुनाए ।

पोर्तेलका नजरमा पहिले राष्ट्रिय सभालाई ज्येष्ठहरू, अनुभवी र पुराना मान्छेलाई सम्मान गर्ने थलोको रूपमा लिइन्थ्यो ।

उम्मेदवारी दर्ता गरकै दिन उनले भनेका थिए, ‘अब राष्ट्रिय सभामा युवाहरू पनि जानुपर्छ र युवाको भूमिका प्रभावकारी हुनुपर्छ भन्रे हिसाबले पार्टीले मलाई अघि सारेको हो ।’

पार्टीको वडा कमिटीबाटै राजनीतिक यात्रा सुरु गरेका पोर्तेलले गाउँ र जिल्ला हुँदै प्रदेश सदस्य सम्मको जिम्मेवारी सम्हालेर राष्ट्रिय सभामा पुगेका हुन् ।

२०३५ साल फागुनमा जन्मिएका पोर्तेलसँग स्थानीय सरकार र विकास निर्माणको अनुभव पनि छ । उनले २०७४ देखि २०७९ सम्म झापा जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरेका थिए ।

बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेम दंगाल निर्वाचित भएका छ्न । दंगाल एमालेका केन्द्रीय सदस्य हुन् ।

डा. दंगाल गोकर्णेश्वर-५ काठमाडौँ निवासी हुन् । अनेरास्ववियुका विभिन्न जिम्मेवारीमा रही काम गरेका उनी एमालेका विभिन्न कमिटीहरूमा क्रियाशील रहँदै आएका नेता हुन् ।

अखिल नेपाल किसान महासंघको अध्यक्ष भएर काम गरे । दक्षिण एसियाली किसान महासंघ, एसियाली किसान मञ्चको नेतृत्व गरे । दंगालका खाद्य सम्प्रभुता, नवउदारवाद र सार्वभौम राज्यका विकल्प, जलवायु परिवर्तन र दिगो विकास, नेपाली किसान आन्दोलन बारे विभिन्न किताबहरू प्रकाशित छन् ।

२०२८ सालमा जन्मिएकी कांग्रेसकी देवकोटा २०४४ सालदेखि राजनीतिमा छिन् । नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिक जीवनको सुरुवात गरेकी उनी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य भएकी थिइन् ।

किसानका हकहितका लागि संघर्षरत उनी मौरीपालक किसान महासंघका उपाध्यक्ष पनि हुन् । देशभरका मौरीपालक तथा किसानका समस्या, चुनौती र सम्भावनासँग नजिकबाट परिचित रहेका देवकोटाले राष्ट्रिय सभाको यात्रा तय गरेकी हुन् ।

पढाउँदा पढाउँदै सांसद् भए जगत

गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी र सम्झना देवकोटा निर्वाचित भएका छन् ।

जगत त्रिभुवन विश्वविद्यालय व्यवस्थापन विभागमा अध्यापनरत थिए । कांग्रेस समर्थित प्रजातान्त्रिक प्राध्यापक संघमा २०७३ सालदेखि अध्यक्ष रहेका उनै जगतलाई कांग्रेसले राष्ट्रिय सभा बनाएको हो ।

जगत तनहुँ शुक्लागण्डकी–७ खैरेनीटार निवासी हुन् । कांग्रेस पृष्ठभूमिका भएपनि उनी पार्टीको जिम्मेवारीमा भने थिएनन् ।

एमालेकी देवकोटा तीन वटा चुनावको हारपछि राष्ट्रिय सभा सदस्य बन्न सकेकी छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गोरखा नगरपालिकाबाट उपमेयरमा उम्मेदवार थिइन् । तर, पराजित भइन् । २०७९ को निर्वाचनमा सोही नगरपालिकामा देवकोटा मेयरको उम्मेदवार भइन् । चुनाव जितिनन् । एमालेले २०८० माघमा भएको राष्ट्रिय सभाको निर्वाचनमा देवकोटालाइ उम्मेदवार बनायो, तर जितिनन् । यसपटक भने देवकोटाको संसद् छिर्ने धोको पुरा भएको छ ।

सम्झना गोरखा नगरपालिका–३ नारेश्वरकी स्थायी बासिन्दा हुन् । उनी २०४० सालदेखिदेखि कम्युनिस्ट आन्दोलनमा छिन् ।

लुम्बिनी प्रदेशबाट कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी गुल्मीका र जंगली दाङका पुराना नेता हुन् ।

कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाहीसँगै एमालेकी मिना रखाल निर्वाचित भएकी छन् ।

दैलेखकी रखाल २०७४ मा समानुपातिकतर्फबाट कर्णाली प्रदेशसभा सदस्य थिइन् । पार्टीमा एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । यसपछि राष्ट्रिय सभा सदस्य भएकी हुन् ।

सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेका लीला भण्डारी निर्वाचित भएका छन् । खाती नेपाल बार एसोसिएसनका पूर्वमहासचिव र पूर्वमहान्यायाधिवक्ता हुन् । भण्डारी माओवादी पृष्ठभूमिबाट आएकी नेता हुन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More