― Advertisement ―

$200 बचत गर्नुहोस् र Samsung Galaxy S26 Ultra यसको पूर्व अर्डर मूल्यमा Amazon मा सीमित समयको लागि पाउनुहोस्

यदि तपाई Samsung Galaxy S26 यसको उत्कृष्ट अवधिमा, तपाईं उत्कृष्ट मूल्यमा वा अल्ट्रा फिर्ता हुनुहुन्थ्यो। अहिले, तपाईं Samsung Galaxy S26 Ultra Amazon मा $1,299,...
Homeमनोरन्जन: राजकुमार बानियाँ :: KhabarHost : राजकुमार बानियाँ :: KhabarHost

: राजकुमार बानियाँ :: KhabarHost : राजकुमार बानियाँ :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

असारको मैझारो हुने बेला मलाई कैलाश मानसरोवर यात्राको सुअवसर मिलेको थियो। तर विभिन्न तानाबानाले यात्राको साइत जुरेन, अझ भनौं ‘कैलाशपतिको कृपा’ मिलेन।

केही महिनाअघि त्यताको यात्रा गरेका मेरा अनन्य मित्र राजेन्द्रमान डंगोलको जादुई बखान सुनेर म त्यतातर्फ नजानिँदो गरी तानिएछु। राजेन्द्रमान र विमल नहर्कीले त्यसको पहल गरिदिए पनि त्यस पावनभूमिमा पुग्न सफल भइनँ।

मनको अन्तरकुन्तरमा खेद रहेकै बखत राजेन्द्रमानको नवीनतम नियात्रा पुस्तक ‘कैलाश कोरा’ पढ्दा मलाई सँगसँगै सहयात्रा गरिरहेको सुखानुभूति भयो। वास्तवमा कैलाश मानसरोवर सपना मात्र होइन, यथार्थ रहेछ।

मानव सभ्यताको जननी नै यात्रा हो। आदिम मानव लगातार घुमिरहन्थे सिकार, सुहाउँदो जलवायु र सुरक्षाका निम्ति। ती तमाम यात्रा नै नयाँ भूगोलको खोज, स्रोतको उपयोग, भाषा–संस्कृतिको विकास र सभ्यताको रचनागर्भ बन्न पुगे।

मानव जातिले यात्रा मात्र गरेनन्, वस्तु र विचार पनि सँगसँगै लगे। धर्म, भाषा, संगीत, कला, प्रविधि, खानपान आदि यात्राकै माध्यमबाट फैलिए।

तीर्थयात्रा हरेक सभ्यतामा छ। यो केवल स्थलगत यात्रा होइन, आत्मा र चेतनाको परिष्करण पनि हो। यस्तो यात्राले मानिसलाई सम्बन्ध, नैतिकता र अस्तित्वबोधतर्फ डोर्‍याउँछ। यस्ता यात्रा श्रद्धा, परम्परा र सामाजिक एकताका साधन हुन्।

मानव इतिहासका सबै खाले पुनर्जागरणकाल यात्राले नै सम्भव बनाए। वैज्ञानिक, दार्शनिक, खोजकर्ता, लेखक आदि सबैले नयाँ ठाउँ देखेपछि नै पुराना सोचहरूलाई चुनौती दिन सके।

Laxmi bank
Laxmi bank

फाह्यान, ह्वेन्साङ, मार्को पोलो, इब्न बतूता इत्यादि महापुरुषको यात्राले विश्वबोध फराकिलो बन्यो। बुद्ध, मुहम्मद, जिसस आदि धार्मिक नायकले शारीरिक र आध्यात्मिक यात्रा गरे।

मानिसको जिज्ञासा, अस्थिरता, खोजी प्रवृत्ति, अभियानभाव यात्रासँगै प्रत्यक्ष जोडिए। समय क्रममा यात्रा नगर्ने मानव, नयाँ देख्न नसक्ने मानव रूढीवादी र सीमित सोच भएको प्राणी बन्न पुगे।

आजको ‘लक्जरी’ वा ‘एड्भेन्चर’ यात्राले पर्यटनलाई उपभोग्य वस्तु त बनाएजस्तो देखिए पनि यात्रालाई अन्तर्दृष्टि, समझदारी र अन्तरसंवादको माध्यम बनाउने संकल्प पनि अटुट चलिरहेकै छ।

सभ्यता जहाँ बसेको छ, त्यहाँ यात्रा पुगेको छ। सभ्यता जहाँ अगाडि बढेको छ, त्यहाँ यात्रा स्रोत बनेको छ। यात्रा मानव सभ्यताको उत्पत्ति, प्रेरणा, सञ्चार एवम् चेतनाको खाडल पार गर्ने सेतु हो।

‘कैलाश कोरा’ मा राजेन्द्रमानले तिब्बती भूमिमा गरेको ११ दिने यात्रालाई एक धार्मिक अनुष्ठानका रूपमा मात्र होइन, सभ्यताको प्रतिविम्बका रूपमा समेत प्रस्तुत गरेका छन्।

लोकजाहेर छ – कैलाश मानसरोवरमा हिन्दू, बौद्ध, जैन र बोन धर्मका आस्था, विश्वास र मान्यता एकआपसमा मिसिएका छन्। यसले के देखाउँछ भने मानव सभ्यताहरू पृथक थिएनन्, ती यात्राकै माध्यमबाट एकअर्कामा समेटिएका थिए। ती स्थलहरू कुनै एकल जातिको नभई साझा सभ्यताको सम्पदा हुन्।

कैलाश मानसरोवरलाई हिन्दू धर्मले भगवान शिवको निवास मान्छ, बौद्ध धर्मले भगवान बुद्धले ध्यान गरेको पवित्र स्थल। जैन धर्मले पहिलो तीर्थंकर ऋषभदेवले त्यहीँ मोक्ष प्राप्त गरेको विश्वास गर्छ। बोन धर्मले आध्यात्मिक शक्ति केन्द्र मान्छ

हिन्दू र बुद्ध धर्मावलम्बी पिरामिड आकारको पर्वत कैलाश परिक्रमा घडीको सुईको दिशा (दक्षिणावर्त) मा गर्छन्, बोनमार्गी त्यसको विपरीत दिशा (वामावर्त) मा।

कैलाशलाई ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली नदीको उद्गम मानिएको छ। कैलाश चुलीको वरिपरि बादलको घेरा कहिल्यै हट्दैन। त्यसै कारण कैलाशमा परालौकिक शक्ति वा ‘एलियन’ सभ्यता सक्रिय रहेको मान्नेहरू पनि नभएका होइनन्।

कतिपय के पनि विश्वास गर्छन् भने कैलाश क्षेत्रमा केही घण्टा बिताउँदा तल फर्केर हेर्दा महिनौं बितिसकेको हुन्छ। साधु–सन्तहरू त्यहाँ पुग्नुलाई ‘आध्यात्मिक पुनर्जन्म’ का रूपमा लिन्छन्। भनिन्छ; तिब्बती लामा, सिद्ध योगी वा संन्यासीहरू कैलाश गएर कहिल्यै फर्किएनन्।

समुद्र सतहदेखि चार हजार ५९० मिटर उचाइमा अवस्थित मानसरोवरको दिव्य चमकबारे पनि लेखकहरूले चर्चा गर्दै आएका छन्। पूर्णिमा रातमा मानसरोवर ताल नीलो र प्रकाशमान देखिन्छ, औंसीमा राक्षस ताल चम्किन्छ।

मानसरोवर ताल शान्त, चिसो र पारदर्शी छ; राक्षस ताल हावाहुरीयुक्त, चिसो र अशान्त।

उसो त तिब्बतको पश्चिमी भूभागमा अवस्थित कैलाश मानसरोवर यात्रा सहज छैन। त्यसमाथि चीन सरकारको सुरक्षा निगरानी कडा छ। यति हुँदाहुँदै पनि तीर्थयात्रुहरूको संकल्प र साहसले त्यसलाई अनदेखा गरिदिएको छ।

‘कैलाश कोरा’ मा राजेन्द्रमान एक्ला थिएनन्, उनीसँगै भारतीय तीर्थारू समूह नै यात्रारत थियो। स्वयं राजेन्द्रमानले चिनियाँ अध्यागमनमा चिसो व्यवहार झेलेका छन्। उनको अमेरिकी भिसाको कारण त्यसो भएको हो वा अन्य कारणले, त्यो भने पुस्तकमा खुलेको छैन।

सन् १९८१ को भारत–चीन वार्तापछि मात्र भारतीय तीर्थयात्रीलाई कैलाश मानसरोवर तीर्थयात्रा खुलेको हो। सन् १९६२ को भारत–चीन युद्धपछि लामो समयसम्म त्यो प्रतिबन्धित रहस्यभूमिका रूपमा रह्यो।

कैलाश मानसरोवर जान चाहने विदेशीलाई विशेष परमिट र चिनियाँ सरकारको अनुमति चाहिन्छ। चिनियाँ गाइड, पूर्वनिर्धारित रूट र समूहमा यात्रा अनिवार्य हुन्छ। व्यक्तिगत रूपमा स्वतन्त्र घुमफिर गर्न पाउने छुट छैन।

कैलाश मानसरोवर प्रवेश खुला हुनुमा देङ स्याओपिङको ‘खुलापन र सुधार’ नीति (सन् १९७८) को अतुलनीय देन छ। उनकै नरम नीतिकै कारण धार्मिक र सांस्कृतिक महत्त्वका स्थलमा सीमित अन्तर्राष्ट्रिय पर्यटकहरूले यात्रा अनुमति पाउन थालेका हुन्।

नेपालबाट सन् १९९२ मा व्यावसायिक रूपमा कैलाश मानसरोवर यात्रा आयोजना हुन थालेपछि थुप्रै नेपाली पर्यटन व्यवसायी पनि लाभान्वित छन्।

नियात्राकार राजेन्द्रमानले ‘कैलाश कोरा’ लाई धार्मिक गन्तव्यभन्दा पनि आत्मचिन्तनको केन्द्र बनाएका छन्। हिन्दू, बौद्ध, जैन र बोन दर्शनसँग जोडिएको कैलाशको बहुल अर्थ अभिव्यञ्जना गरेका छन्।

उनले लेखेका छन् – कैलाश पुग्नु नै अन्तिम सत्य होइन; त्यसको वरिपरि घुम्नु, घुमिरहँदा आफूभित्रको अन्धकारको परिक्रमा गर्नु नै कोरा हो।’

जसरी कैलाश कोरा गरेर तीर्थयात्री आफूभित्रको अन्धकार उज्यालोमा फर्काउन खोज्छ, त्यसरी नै राजेन्द्रमानले पनि आफ्नो लेखनीमार्फत हामीलाई आफूभित्र फर्कने बाटो देखाउन खोजेका छन्।

‘कैलाश कोरा’ नेपाल हुँदै कैलाश मानसरोवर यात्राको कोरा गाइडबुक होइन, बरू अध्यात्मामृतको उज्यालो बाँड्ने कृति हो। यसमा आध्यात्मिक चिन्तन निकै गहिरो छ। सुरूमा यात्राको तयारी, त्यसपछि शारीरिक र मानसिक परीक्षाका उतारचढाव, अनि अन्त्यतिर आएर एक किसिमको शान्त, स्थिर भाव।

जसरी मानसरोवरको पानीमा आकाश प्रतिविम्बित हुन्छ त्यसरी नै राजेन्द्रमानको मनोभूमिमा कैलाशको दर्शन प्रतिविम्बित छ।

उनले कैलाशको हिमाली हावामा आत्माको आवाज सुनेका छन्, मानसरोवरको पानीमा मनको स्वच्छता देखेका छन् र ती सबलाई शब्दमा बाँधेर अक्षरको तीर्थ बनाएका छन्।

यो नियात्राकृति पढेपछि पाठक स्वयं अन्तर्मनको यात्रामा निस्किन सक्छ। अझ भन्ने हो भने ‘कैलाश कोरा’ यात्राको कथा हो, आत्माको संवाद हो र सभ्यताको ऐना पनि।

एघार दिनको कैलाश यात्रालाई उनले ११ वटा सटीक अध्यायमा बाँडेका छन्। सबै अध्याय उत्तिकै सुस्वादु छन्।

राजेन्द्रमानले यहाँ आस्था, विश्वास र श्रद्धाको यात्रा गरेका छन्। त्योभन्दा पनि अझ अगाडि बढेर उनले यसलाई ‘दिव्ययात्रा’ भनेका छन्। यसको साहित्यिक अर्थ बृहत् छ।

जसरी कुनै समयको दिव्ययात्राले सिद्धार्थलाई बुद्ध बनाइदियो, त्यसरी नै नियात्राकारलाई कैलाश यात्राले आत्म–अन्वेषण, आत्मबोध वा आत्मसाक्षात्कारको मार्गप्रशस्त गरिदियो। यो बिल्कुलै ज्ञान, बोध र आत्म–प्रकाशको यात्रा हो।

उनी लेख्छन्– हावा गुनगुनाइरहन्छ, बादल नाचिरहन्छ तर म हिँडिरहन्छु, आफैलाई भेट्न उचाइमा।

दिव्य यात्रा कुनै भौतिक गन्तव्यमा पुग्नुभन्दा बढी सत्य, शान्ति वा ज्ञान प्राप्त गर्नुमा केन्द्रित हुन्छ। मानिसको आत्मा वा चेतनाको विकासतर्फ अग्रसर हुन्छ। सामान्य भौतिक यात्राभन्दा गहिरो र सूक्ष्म अनुभवको यात्रा हुन्छ। व्यक्तिको जीवन दृष्टिकोण, सोच र अनुभवहरूमा ठूलो रूपान्तरण ल्याउन खोज्छ।

कैलाश मानसरोवर यात्रा वृत्तान्त समेटिएका धार्मिक र आध्यात्मिक पुस्तकहरूभन्दा ‘कैलाश कोरा’ अलग छ। यसमा यात्रा, धर्म, दर्शन, अध्यात्म र मानव जीवनका गूढ अर्थहरू छन्।

तात्तातो यात्रा लेखन गरेका हुनाले ‘कैलाश कोरा’ मा केही कुरा छुट्नु अस्वाभाविक होइन। त्यसो भए पनि उनले यसमा संग्रह गरेका सूचना र ज्ञानको भण्डार लोभलाग्दो छ। उनले यसमा अरू पुस्तकका अंश पुनरावृत्ति गर्नुभन्दा आफ्नै सूचना, संवाद र अनुभूति पस्केका छन्। 

डेढ दशकदेखि कैलाश यात्राका पथप्रदर्शक रहेका सरोजप्रसाद नेपाल पुस्तकमा मुख्य स्रोतव्यक्ति भएका छन्। शिवपुरीको दिव्यशक्तिमा उनको अपूर्व विश्वास छ।

सरोजका धर्म, संस्कृति, परम्परा र आध्यात्मिक अनुभूतिलाई राजेन्द्रमानले हुबहु वर्णन गरेका छन्। उनी बरोबर अदृश्य शक्ति र रहस्यको कुरा गर्छन्। कैलाशमा शिवका नन्दीभृंगीहरू हिँडिरहेको कुरा गर्छन्। यो हाम्रो जीवन परिवर्तन गर्ने यात्रा हो र कैलाशपतिको कृपाबिना यहाँ कोही पनि आइपुग्न सक्दैन भन्छन्।

‘कैलाश कोरा’ मार्गमा पर्ने उच्च हिमाली भूभाग ‘डोल्मा ला’ (५,६३० मिटर) को कठिन उकालो पार गर्नुलाई नियात्राकारले रोमाञ्चक प्राप्तिको रूपमा लिएका छन्।

तिब्बती बौद्ध धर्मअनुसार ‘डोल्मा’ करूणाकी देवी आर्यतारा हुन् भने ‘ला’ को अर्थ पास वा भञ्ज्याङ हो। धार्मिक हिसाबले यो पवित्रभूमि हो। उकालिँदै जाँदा नियात्राकारलाई हावाले मन्त्र जपेजस्तो अनुभूति भएको छ।

‘डोल्मा ला’ मा एउटा पैतालाको छाप छ। त्यसमा हिन्दूले देवी पार्वतीको भन्छन्, बौद्धमार्गीले आर्यताराको। गाइड सरोजको भनाइमा डोल्मा ला पार गर्नु देवी पार्वती वा तारा देवीको कृपा प्राप्त गर्नु हो।

राजेन्द्रमान भाषालाई विम्बात्मक र भव्य बनाउँछन्। उनको भाषा सहज, ललित, प्रवाहपूर्ण र संवादात्मक छ। अत्यन्त सटीक र चित्रात्मक भाषामा लेख्छन्। उनी स्थान विशेषका लोकभाषा, चालचलन, खानपान, पहिरन, बोलीचाली आदिलाई विशेष महत्त्व दिन्छन्। त्यसले पाठकलाई भावनात्मक रूपमा एकाकार गरिदिन्छ।

अझ भनौं, उनी शब्दमा यात्रा भर्ने कलामा निपुण नियात्राकार हुन्। नियात्रामा उनी जीवन–अनुभव, सांस्कृतिक गहिराइ र भाषिक सौन्दर्यको संयोजन गर्छन्। पाइतालाका छाप मात्र होइन, विचारका सन्देश पनि दिन्छन्।

खासमा राजेन्द्रमानले साहित्य र पर्यटन आपसमा निरन्तर जोडिरहेका छन्। उनको डिएनएमै यात्रा छ। यसअघि फुटकर यात्राहरूको ‘यात्राका पाइला’, ‘पैतालामा हिउँ, आँखामा हिमाल’ र ‘बादलडाँडा’ गरी तीन वटा गहकिला नियात्रा संग्रह निकालेका उनले कैलाश यात्राका कौतुकमय दृश्य र अन्तरंग अनुभूति सिंगो साक्ष्य कृतिका रूपमा पस्केका छन्।

राजेन्द्रमानको यात्रा–दृष्टिकोण स्पष्ट छ– ‘यात्रा भनेको केवल गन्तव्यमा पुग्नु होइन; यात्रा भनेको मान्छे हुनु हो, खुला हुनु हो, परिवर्तनस्वरूप बाँच्नु हो।

उनले महायोगी मिलारेपाको ‘यात्रा नै साधनाको मार्ग हो, शिखरमा पुग्नेले मात्र साँचो शान्ति र ज्ञान पाउन सक्छ’ भन्ने उद्गारलाई जीवन–सूत्र बनाएका छन्।

संरचनात्मक हिसाबले कृति ‘कैलाश कोरा’ वृत्तात्मक छ। अझ विशेष कुरा त नियात्राकारसँग पाठकसँग गहिरो संवाद गर्न खोज्ने भाषिक संवेदनशीलता छ। रङ, स्वाद, ध्वनि, गन्ध र स्पर्श गरी पाँचै इन्द्रिय समेट्ने भाषा छ। ताकि पाठकलाई त्यहाँ आफै पुगेजस्तो लागोस्।

‘प्रत्येक पाइला एउटा सिंगो कथा। प्रत्येक उकालो अर्को रोमाञ्चक अध्याय। प्रत्येक श्वास एक चुनौती। प्रत्येक पल एक आत्मसंघर्ष। हिउँका प्रत्येक ढिक्का एक मौन साक्षी। बतासको प्रत्येक झोक्का एक दिव्य स्पर्श।’

नियात्राको पहिलो काम पाठकलाई नयाँनयाँ सूचना दिनु हो अनि यात्रानुभूति बाँड्नु पनि। पुस्तकमा राजेन्द्रमानले सक्दो सूचना दिएका छन्। प्रचलित लोककथा र मिथकहरू संकलन गरेका छन्।

यसमा विकिपिडिया पढेजस्तो लम्बेतान शुष्क विवरण छैन। त्यस्तो अवस्थामा पाठक रमाउँदैन, सुसूचित मात्र हुन पाउँछ। पाठकलाई कम जानकारी दिएर भौगोलिक वा सांस्कृतिक पृष्ठभूमिबाट परै राखेको पनि छैन।

यात्रा साहित्यमा सदैव ‘आउट अफ बक्स’ सोच्ने राजेन्द्रमानको नियात्रामा दृश्य, अनुभव वा भाव गाँसिएको छ। उनी नापजाँचका साथ मरमसला हाल्न सिपालु छन्। उनको उद्देश्य पाठकलाई स्थानसँग जोड्नु हो, थकाउनु होइन। सूचनालाई अनुभव र भावनासँग सन्तुलित रूपमा मिसाएर प्रस्तुत गर्नु नै राम्रो नियात्राको सदगुण हो। त्यो ‘कैलाश कोरा’ मा प्रासांगिक छ।

मझौला आकारको पुस्तक ‘कैलाश कोरा’ मा कैलाश मानसरोवर यात्राका अतिरिक्त कुरा पनि छन्। यसको आवरण नेपथ्यका गायक अमृत गुरूङको फोटोग्राफीले सजिएको छ। कैलाश मानसरोवर यात्रा गर्ने विभिन्न मार्गको नक्सा पनि छ। उनी चित्रकारले क्यानभासमा रङ हाले जसरी शब्दको बुट्टा भर्छन्। ती शब्दमार्फत एकैछिनमा दृश्य जीवित हुन्छ।

नियात्राको सीमा खोतल्ने हो भने कतैकतै काव्यिक फूलबुट्टा अलिक बढी नै लाग्छ। शिल्पगत सजावट वा शाब्दिक झिलिमिली साहित्यकै समस्या हुन सक्छ वा हुन नहुन सक्छ, त्यो कसरी र कति प्रयोग हुन्छ भन्नेमै निर्भर गर्छ।

कलाबाजीले भाषामा सौन्दर्य थप्छ, भावना उजागर गर्छ, पाठकको रूचि बढाउँछ र दृश्यलाई चित्रात्मक बनाउँछ। अत्यधिक शैलीगत सजावटले विषयको सादगी र सत्यता हराउन सक्छ। कैलाश मानसरोवरको जस्तो प्राकृतिक अनुभव पनि कृत्रिम जस्तो लाग्न सक्छ। तसर्थ नियात्रामा बुट्टा होइन तर अति बुट्टा समस्या हो।

नेपाली साहित्यमा नियात्रा भन्नु निबन्ध र यात्रावृत्तान्तको दोभान हो। यात्राका क्रममा देखिएका भौगोलिक, सांस्कृतिक र मानवीय पक्षको आत्मीय प्रस्तुति गर्नु नियात्राको विधागत विशेषता बन्दै आएको छ।

राजेन्द्रमानका नियात्रा यात्राको काम चलाउ टिपोट नभएर आत्मचेतना र अनुभूतिजन्य हुन्छन्। उनी यात्राका थकान, बाटोका कठिनाइ र भेटिएका पात्रका कुरा समेटेर स्थानीयता र सांस्कृतिक चेत प्रबल भएका नियात्रा लेख्छन्।

उनी पात्रलाई केवल दृश्यको अंश होइन, जीवनको प्रतिनिधिका रूपमा चित्रण गरिदिन्छन्। तसर्थ उनको नियात्रा धार अलग छ। उनी हरेक नियात्रामा नित्य नवीनता दिन उत्सुक देखिन्छन्। नियात्रालाई आत्मानुभूतिले लछप्पै भिजाएर सूक्तिमय अभिव्यक्ति दिने उनको शैली वास्तवमै अद्वितीय छ।

नियात्रा लेखनको रफ्तार बढिरहँदा यसलाई जीवन्त र जनप्रिय बनाउनु एकदमै चुनौतीपूर्ण देखिएको छ। अबको नियात्रा औसत यात्रा विवरणमा सीमित नहोस्। डिजिटल यात्रालाई पनि उसले समेटोस्। युद्ध, विपत्ति, जलवायु परिवर्तन, मानवीय सम्बन्ध, भाषिक विविधता, सांस्कृतिक पहिचान आदि यसको मेनुमा रहून्।

नियात्रा केवल पढ्ने होइन, हेर्ने र महसुस गर्ने सामग्री पनि होस्। इतिहास, भूगोल, समाजशास्त्र, दर्शन, मनोविज्ञान र पर्यावरणशास्त्र आदि अन्तरविषयक नियात्राले यसको गहिराइ बढोस्। आत्मसंवाद र सामाजिक प्रश्नमार्फत रचनाको बौद्धिक उचाइ बढोस्। चित्र, ध्वनि, भिडिओ वा क्युआर कोड जोडेर मल्टिमिडिया नियात्रा तयार होस्। ताकि त्यो नयाँ पाठकका निम्ति सुन्दर उपहार होओस्।

राजेन्द्रमानीय नियात्रामा हामी यात्रा सँगसँगै जीवन पनि पढिरहेका हुन्छौं। उनको लेखनमा सूक्ष्म जीवनबोध छ। अझ भन्ने हो भने उनले नियात्रालाई बाटोबाट निकालेर मनको मानचित्रमा पुर्‍याएका छन्। हास्य र व्यंग्य, भाव र दर्शन, शब्द र मौनता; कुल मिलाएर उनी विस्मयकारी नियात्रा संसार बनाउँछन्।

राजेन्द्रमानका लागि यात्राको अर्थ केवल स्थान परिवर्तन होइन, आफूलाई खोज्ने बहाना हो।

‘कैलाश कोरा’ पनि भौतिक मार्ग होइन, मनको आरोह–अवरोह हो, जहाँ प्रत्येक मोडमा पाठकले आफूलाई भेट्ने सम्भावना हुन्छ। 

kailash-kora-book-1762449735.jpg

 

 

 

 

 

 





Read More