― Advertisement ―

आइतबार, अप्रिल १२ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #770)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ टाइमजोन जुन रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका हुन्छन् भने...
HomeLatest news‘रवि दाइलाई कानुनी समस्या रहे प्रधानमन्त्रीमा सार्ने त बालेन नै हो’

‘रवि दाइलाई कानुनी समस्या रहे प्रधानमन्त्रीमा सार्ने त बालेन नै हो’


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वैकल्पिक दुई शक्ति मिल्ने सहमति भएको छ।
  • रास्वपा केन्द्रीय सदस्य असिम शाहले रवि र बालेनबीच पाँच घण्टा लामो संवाद गराएर भेटवार्ता मिलाएका थिए।
  • दुवै पक्षले भेटघाटलाई आइस ब्रेक भनेका छन् र शीघ्र अर्को वार्ता गरी सहकार्यको टुंगो लगाउने तयारीमा छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सोमबार राति भएको भेटवार्ताले राजनीति तरंगित भएको छ । भेटमा वैकल्पिक दुई शक्ति मिलेर जानेमा दुवै पक्ष सहमत भएका छन् ।

रवि र बालेनलाई भेटको तारतम्य मिलाउने कार्यमा सक्रिय भएका थिए, रास्वपा केन्द्रीय सदस्य असिम शाह । बालेन काठमाडौंको मेयर हुनु अघिदेखि नै सहकार्य गर्दै आएका असिमले नै भेटको चाँजोपाँचो मिलाएका थिए ।

सोमबार पाँच घण्टा बढी उनै असिमको कार्यालयमा रवि र बालेनले संवाद गरेका थिए । रवि र बालेन मिलाउन सक्रियता लिएका असिमसँग हिजोको भेटबारे अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीः

तपाईंको समन्वयमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच लामो संवाद भयो । यो आधार कसरी बन्यो ?

तपाईंसँग केही दिनअघि कुरा हुँदा पनि एउटा संकेत दिएकै थिएँ । भेटको बारेमा धेरै कुरा बाहिर आइसकेको पनि छ । हिजोको भेटलाई अलि अगाडि फर्केर हेर्नुपर्छ । दुई पात्र आसिफ शाह र बालेन शाहको विगतदेखिको सम्बन्ध नियाल्नुपर्ने हुन्छ ।

दाइ आसिफ र म चलचित्र क्षेत्रमा काम गरिरहेको थियौं । कलाकारितामा रुचि भएकोले बालेन र मेरो दाइ आसिफको सम्बन्ध धेरै नजिक भएको हो । बालेनजीलाई रेकर्डिङ स्टुडियोमा भेट भइराख्थ्यो । कुमार बेनसँग फिल्म क्षेत्रकै काममा नजिक भएका थियौं । फिल्म र गीतमा एक आपसमा सरसल्लाह गर्थ्यौं ।

काठमाडौंको मेयरमा बालेन उम्मेदवार भएपछि हामीले फुल सपोर्ट गर्‍यौं । उहाँले जित्नुभयो । हाम्रो सहयोगले पनि काम गर्‍यो । रवि दाइ पनि मेयरमा उठ्ने कि भन्ने सोचमा हुनुहुन्थ्यो । तर उठ्नु भएन ।

उहाँले २०७९ असारमा पार्टी खोल्नुभयो । मलाई पहिले राजनीतिमा जाने इच्छा थिएन । बालेन शाहलाई मेयरमा हामीले गरेको सहयोग रवि दाइले नियालिरहनुभएको रहेछ । तिमीहरू मलाई चाहिन्छ भन्ने पनि रवि दाइलाई भयो होला ।

रवि दाइले पहिले मेरा दाइ आसिफसँग कुरा गर्नुभयो । राजनीतिमा आउन उहाँले आग्रह गरेपछि दाइले आफूलाई राजनीतिमा रुचि छैन भन्नुभयो । राजनीतिप्रति रुचि भाइलाई छ भनेर मेरो नाम लिनुभयो । बालेन र कुमार बेनसँग सल्लाह गरेर नै म राजनीतिमा आएको हो । उहाँहरूसँग बीचमा कुराकानी भइरहेको थियो ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले अवस्था पहिलेको जस्तो रहेन । मैले सांसद पदबाट राजीनामा घोषणा गरें । रवि दाइले पनि अपिल जारी गर्नुभयो । रास्वपाका सबै सांसदले राजीनामा गर्नुभयो ।

पार्टीले वैकल्पिक शक्तिहरूसँग संवाद गर्न समिति पनि गठन गरेको थियो । कुलमान, कुमार बेन लगायतसँग छलफल भएका समाचारहरू आइरहेकै थिए । कुमार बेनसँग कुरा भएको विषय लिक हुन थाल्यो । समाचार आउन थाले । हामी मिल्ने हो भने संवादका कुरामा गोपनीयता अपनाउनुपर्छ भन्ने लाग्यो । रास्वपाका नेताहरू र कुमार बेनको भेटबारे अनलाइनखबरमा समाचार आइरहेको थियो ।

रास्वपा र बालेन मिलाउनका लागि म सक्रिय भएँ । बालेनसँग कुरा गर्न हामीलाई समस्या थिएन । रवि दाइसँग पनि नियमित कुरा भइराखेको थियो । रवि दाइलाई रेगुलर अपडेट गरिरहेका थियौं । मिडियामा कहीँ कतै ल्याएनौं । दुई जनाको भेटलाई अलि अघि र बेग्लै तरिकाले गराउने योजना पनि बनाएका थियौं ।

रवि दाइ अदालत जाने बेला भेट गराउने कि भन्ने पनि थियो । फोनबाट नै कुरा गराउने कि भन्ने पनि भयो । त्यो पनि भएन । त्यही बेला बालेनका बुबाको निधन भयो । भेट झन् सर्ने अवस्था बन्यो । अदालतले कस्तो आदेश देला भन्ने पनि भयो ।

रवि दाइलाई रिहा गर्न अदालतले आदेश दिएपछि सहज अवस्था भयो । भेट्ने टुंगो लाग्यो । भेटका लागि उपयुक्त स्थानबारे कुरा भए । रवि दाइ र बालेन दुवैलाई आउन मेरो कार्यालय सहज भयो । राडारमा नपरेको ठाउँ पनि भयो । चुनावको लागि मिल्ने होइन, एउटा जेनेरेसनका लागि मिल्ने कुरा हो । दुई जना एकका लागि अर्को सहज नभए त अघि बढ्न सकिन्न नि । एक अर्कामा विश्वासको वातावारण बनाउन पहिले त भेट हुनुपर्छ नि ।

रवि दाइ गृहमन्त्री हुँदा एकपटक बालेनको भेट भएको थियो । त्यतिबेला गृहमन्त्री रवि र काठमाडौंका मेयर बालेनका रूपमा भेट भएको थियो । हिजोको भेट व्यक्ति-व्यक्तिको पनि हो । रविप्रति बालेनको बुझाइ र बालेनप्रति रविको बुझाइ कस्तो छ भन्ने त व्यक्तिगत रूपमा भेटघाट भएपछि थाहा हुन्छ नि । उहाँहरूले दुवैलाई एक अर्काप्रति मान्छे नै फरक रहेछ भन्ने भयो । पहिले नै भेट गर्नुपर्ने मान्छे रहेछौं भन्नुभयो ।

सहकार्य गरेर कसरी अघि बढ्ने भन्ने बारेमा के-के कुरा भए ? मोटा–मोटी केही तय पक्कै भएको होला नि ?

मिलेर जाने र वैकल्पिक शक्ति एक ठाउँमा आउने कुरा नै हो । बीचमा उहाँहरू दुई जना मात्रै पनि कुरा गर्नुभएको हो । उहाँहरू दुई जनाले गरेको कुरा हामीलाई भन्ने कुरा भएन । प्रधानमन्त्री बालेनलाई बनाउने कुरा न्युजमा आएका छन् । पार्टी सभापति रवि दाइलाई कानुनी समस्या रहे प्रधानमन्त्रीमा सार्ने त बालेन नै हो नि ।

नयाँ शक्तिहरू मिल्दै गर्दा कुलमान घिसिङलाई जोड्ने पनि पक्कै कुरा भयो होला ?

हिजोको भेटमा कुलमानको विषय प्रवेश नै गराइएको छैन । रवि-बालेन मिलेपछि बाँकी सबै आफैं मिल्दै आइहाल्नुहुन्छ नि । कुलमानलाई भेट गराउने मेरो च्याप्टरको कुरा पनि होइन । कुलमानसँग पनि रवि दाइको कुरा होला । मैले जिम्मेवारी बोध गरेर भेटका लागि सक्रियता लिएको हुँ । आइस ब्रेक भएको छ । अब भेटिराख्नका लागि बाटो खुला भएको छ । मैले कथाको सुखद सुरुवात देखेको कारण नै त्यही हो ।

दुई शक्ति मिलेको औपचारिक घोषणा हुन कति समय लाग्ला ?

आइसब्रेक भएको छ । भेटिराखौं भन्नेमा दुवै जना हुनुहुन्छ । मिलेर जानुपर्छ भन्नेमा सहमत हुनुहुन्छ । प्रधानमन्त्रीको कुरा पनि आएको छ । एक अर्कासँग सहज महसुस गरेपछि जसरी जाँदा पनि भयो भन्ने कुरा हो । शीघ्र अर्को वार्ता होस् । छिटो टुंगोमा पुगोस् भन्ने त हो हामीलाई । अब एउटा आधार बनिसक्यो ।

आइस ब्रेक गराउने जिम्मा मेरो थियो । त्यो भयो । अब त जुनबेला कुरा गरे पनि भयो । एकचोटी भेटाइदिने काम मेरो थियो । तपाईंले सोचेको बालेन र तपाईंले सोचेको रवि यस्तो होइन है भनेर एक ठाउँमा राखेर कुरा गराउने काम त भयो नि ।





Read More