― Advertisement ―

नो-लग भन्दा बाहिर: टोरले जफत-प्रूफ सर्भरहरूमा हेर्छ जुन तपाईंको डाटा बिर्सन्छ

टोरविहीन अवस्थाको साथ RAM प्रयोग गर्दै छ। यो कदमको उद्देश्य नोड अपरेटरहरूलाई हार्डवेयर जफतहरूबाट जोगाउनु होटोरको पूर्वाधारको कारणले डिस्कलेस नोडहरू निर्माण गर्न प्राविधिक रूपमा...
HomeLatest newsरविको बयान लिइयो, ओली र लेखकको कहिले ? – KhabarHost

रविको बयान लिइयो, ओली र लेखकको कहिले ? – KhabarHost



२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानविन गर्न गठित आयोगले कारागारमा रहेका रास्वपा नेता रवि लामिछानेसँग बिहीबार बयान लिएको छ । तर, आयोगले आन्दोलनका बेला सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसँग भने अहिलेसम्म सोधपुछ गरेको छैन ।

गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको मुख्य काम भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको दमनको छानविन गर्नु हो । साथै, उक्त समयमा भएको विध्वंशको समेत छानविन गरेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश आयोगको रहेको छ ।

यसै क्रममा नख्खु कारागारमा भएको तोडफोड, जेल ब्रेक र रविलाई रिहाइ गर्ने पत्रका विषयमा सोधपुछ गर्न आयोगले बिहीबार लामिछानेलाई कारागारबाट सिंहदरबारमा झिकाएर बयान लिएको हो । ‘रविलाई रिहाई गर्ने’ पत्रमा ‘गृहसचिवको आदेशअनुसार निर्णय भएको’ उल्लेख थियो । यो पत्र सक्कली ठहरिएमा रविको रिहाई प्रकरणमा गृहसचिव समेत अनुसन्धानमा तानिन सक्ने देखिन्छ ।

हेर्नुहोस् नख्खु कारागारको पत्र

आयोगमाथि प्रश्न : ओलीलाई कहिले बोलाउने ?

सरकारद्वारा गठित जाँचबुझ आयोगलाई नमान्ने र आफू बयान दिनसमेत नजाने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक चुनौती दिइसकेका छन् । उनले गौरीबहादुर कार्कीको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन् ।

उता जेनजी आन्दोलनकारीहरुले भने भदौ २३ को गोलीकाण्डबारे केपी ओली र रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिनुपर्ने माग राख्दै आएका छन् । यस्तो अवस्थामा कारागारमा रहेका रवि लामिछानेलाई बोलाएर बयान लिएको जाँचबुझ आयोगले अहिलेसम्म ओलीलाई बयानमा बोलाएको छैन ।

जाँचबुझ आयोगले बयानका लागि बोलाएको अवस्थामा पूर्वप्रधानमन्त्री ओली बयान दिन आउलान् कि नआउलान् ? यो हेर्न बाँकी छ । तर, रविको बयान लिइसकेपछि अब ओली र रमेश लेखकको पनि बयान लिइनुपर्ने बहस सामाजिक सञ्जालमा शुरु भएको छ, जसले आयोगमाथि दबाव पर्न गएको छ ।

एकातिर आयोगले भदौ २३ र २४ को घटनाको जाँचबुझ गरिरहेको छ, अर्कातिर प्रहरीले हालसम्म ३७२ जनालाई पक्राउ गरेर १४१ वटा मुद्दा चलाइसकेको छ ।

यसै सन्दर्भमा कारगारमा रहेका रवि लामिछानेको बयान लिएको आयोगले २३ गतेको गोलीकाण्डबारे अहिलेसम्म केपी ओली र रमेश लेखकसँग बयान लिन सकेको छैन । रविलाई बयान लिने तर ओलीको नलिने हो भने ‘चयनमुखी न्याय’ को आशंका जन्मन सक्छ ।

यसैबीच, जाँचबुझ आयोगले नेपाल प्रहरीका आइजीपी चन्द्रकुबेर खापुङलाई भने २३ गतेको गोलीकाण्डबारे स्पष्टीकरण सोधेको छ ।





Read More