― Advertisement ―

अमेरिकी सुरक्षा एजेन्सी अझै पनि प्रतिबन्धको बावजुद मिथोस प्रयोग गर्दै – पेन्टागनको ‘आपूर्ति श्रृंखला जोखिम’ पदनामको बावजुद सरकारले नयाँ सुरक्षा उपकरण प्रयोग गर्दै

NSA ले कथित रूपमा पेनथ्रोसको प्रयोग गरेर एनएसए pictagons कम्पनीले प्रि-थ्रोभ्यु प्रयोग गरिरहेको छ। एक आपूर्ति-श्रृंखला जोखिमMythos, परियोजना Glasswing को अंश, शून्य दिनहरू पत्ता...
HomeLatest newsमध्यरातसम्म चिया बेचिरहेका यी बालक, ‘अंकल मलाई भाइरल नबनाउनू ल’

मध्यरातसम्म चिया बेचिरहेका यी बालक, ‘अंकल मलाई भाइरल नबनाउनू ल’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • पाटन कृष्ण मन्दिर परिसरमा १० वर्षका पावेल चेपाङ राति चिया बेचेर परिवारको आर्थिक सहयोग गरिरहेका छन्।
  • पावेलको आमा मुटु रोगी भएकाले उनी सात वर्षदेखि चिया बेच्न निस्किएका हुन्।
  • पावेलको भाइ अपहरणमा परे पनि प्रहरीले उद्धार गरेको र पावेलले भाइलाई भाइरल नगर्न आग्रह गरेका छन्।

रातको १० बज्नै लागेको हुँदो हो । पाटन कृष्ण मन्दिर परिसरको वायुमण्डल चिसिँदै गर्दा तात्तातो चिया बेच्न फुर्तिसाथ दौडिरहेका थिए एक बालक ।

पछाडि झोला बोकेका, हातमा प्लास्टिकको गिलास र थर्मस उचालेका । छड्के तिलहरी लगाए जसरी पैसा राख्ने सानो ब्याग भिरेका । यी कान्छो व्यापारी आफ्नै संसाधनले युक्त थिए ।

मन्दिरको आडमा प्रेमलाप गरिरहेका मायालु जोडी, चुरोटको सर्को तान्दै गफिरहेका दौंतरी, साँझमा टहल्न निस्केका रमिते, टिकटक बनाउन पोज दिइरहेका नवजवान । उनी कसैलाई छाड्दैनले । टुप्लुक्क अघिल्तिर पुग्थे । मायालु स्वरमा यसो भन्दै, ‘चिया खाइदिनुस् न । एक कप नि विक्री भएको छैन ।’

थोरै चलाखी, थोरै जिद्दी र धेरै अबोधपन । उनको चिया बेच्ने आफ्नै काइदा थियो । एक कप चिया बापत २५ रुपैयाँ लिन्थे । कसैले उसलाई बढी पैसा दिन्थे । तर, मरिगए लिए पो ?

आफ्नो हिस्साको पैसाभन्दा बढी लिन तयार हुँदैनथे । बरू कतिलाई सित्तैमा पनि चिया दिइरहेका हुन्थे । यसरी, ‘पैसा मात्र ठूलो कुरा होइन । पछि भएको बेला दिनू ।’ लाग्थ्यो, समय र परिस्थितिले उनलाई उमेरभन्दा बढी परिपक्क बनाइदियो ।

खासमा त उनी त्यहाँ सुकुमेल, मरिच मिसाइएको चियाभन्दा बढी माया बेचिरहेका थिए । सबैलाई माया दिन्थे र वापसमा माया नै पाउँथे ।

मनले खाएको ग्राहकसँग उनी लपक्कै टाँस्सिएर गफ दिन्थे । त्यहाँ चिया बेच्दा कसले हेप्यो, कसले गाली गर्‍यो, कस्तो व्यवहार गर्‍यो, बेलिबिस्तार लगाउँथे । अनि वीर मुद्रामा यसो पनि भन्थे, ‘ठिक छ, म कुनैदिन ठूलो हुन्छु नि । पैसा कमाउँछु नि । त्यसपछि…।’

कुनै ग्राहकसँग उनी छिल्लिएर बस्थे । आमाले थाहा नपाउनेगरी पैसा लुकाएर के-के किने ? कोसँग सुटुक्कै खेल्न जाने योजना छ, हाँसीखुसी खुलाउथे । अनि रसिक मुद्रामा यसो पनि भन्थे, ‘अब ठूलो भएपछि बाइक किन्छु । अगाडि गर्लफ्रेन्ड राख्छु, पछाडि आमालाई राख्छु । अनि घुमाउन लैजान्छु ।’

कुनै ग्राहकसँग उनी मनको बह पोख्थे । कुन परिबन्धले उनी त्यहाँ आइपुगे, कति चिया बेचे, त्यो पैसाले कसरी घरखर्च टारे, कसरी बिरामी आमाको ख्याल गरे, कसरी घरबेटीले हप्काएर डेरा छाड्न भने ? सबै रामकहानी सुनाउँथे । अनि करुण मुद्रामा यसो पनि भन्थे, ‘गरिब भएपछि सबैले हेप्छ । सानो देखेर होला नि ।’

तर मनपेट खोलेर यसरी बस्ने फुर्सद उनलाई कहाँ थियो र ? गफको सुरताल छाडेर झसंग हुन्थे । ‘ला ममीले मार्छ’ भन्दै जुरुक्कै उठेर दौडिहाल्थे । अनि भीडमा मिसिएर कुनै घुमन्तेलाई पछ्याउँथे, ‘चिया खाइदिनु न प्लिज…प्लिज ।’

यी साना घुमन्ते व्यापारीको नाम हो, पावेल चेपाङ । उमेर १० वर्ष ।

हाँस्दै खेल्दै राति अबेरसम्म चिया बेच्ने उनको दुःखका छुटै महाभारत रहेछ । कुन बाध्यताले उनलाई चिया बेच्न पठायो, घरखर्चले कसरी पिरोलेको छ, एक्ली आमाको दुःख–बिरामले कसरी वेचैन बनाएको छ, डेरा भाडा र स्कुलको शुल्क तिर्न नसक्दा कस्तो सास्ती खेप्नुपरेको छ ?

उनको उमेरको अंक र जिम्मेवारीको आयतन बीच ठूलो अन्तर थियो । पारिवारिक बोझ बोकेर उनी राति–राति चिया बेच्न निस्कने रहेछन् ।

‘बिहान चार बजे उठ्छु हैन । त्यसपछि होमवर्क गर्छु । खाना खएर स्कुल जान्छु । स्कुलबाट आएर फेरि होमवर्क गर्छु । अनि चिया बेच्न आउँछु’ उनले एकै किस्तामा आफ्नो दैनिकी सुनाए, ‘रातभर चिया बेच्छु । छिटै चिया सकियो भने घर जान्छु र भाइसँग खेल्छु । चिया विक्री भएन भने राति एघार बजेसम्म बस्छु अनि घर जान्छु । भात खाएर सुत्छु ।’

पहिले त आमाले नै चिया बेचेर जेनतेन गुजारा चलाउँथिन् । श्रीमानले छाडेर गएपछि दुई काखे बच्चा हुर्काउने बोझ उनैमाथि थियो । तर, राति–राति चिया बेच्न निस्कँदा उनको छाती असाध्यै दुख्न थाल्यो । खोक्दा मुखमा रगत देखियो । अस्पतालमा जाँच गराएपछि थाहा भो, मुटुमा समस्या छ ।

चिसोमा निस्किएर काम गरौं छाती दुखेर खपिनसक्नु हुने, घरमै बसौं, दुई लालाबाला भोकभोकै मर्ने डर । आमाको दुःख देखेपछि पावेल चिया बेच्न निस्किए । त्यसबेला उनको उमेर कति नै थियो, जम्माजम्मी ७ वर्षको ।

दुईवटा थर्मस बोके । एउटामा दूध चिया, अर्कोमा कालो चिया । बटुवाहरू पछ्याउँदै हिँडे, ‘चिया खाइदिनु न’ भन्दै ।
त्यसपछि उनले कहिल्यै विश्राम पाएनन् । साँझ आमाले पकाइदिएको दुई थर्मस चिया बोक्यो । पाटन कृष्ण मन्दिर परिसरमा घुम्न आएकाहरूलाई पछ्यायो । चिया बेच्यो । अनि घरमा लगेर आमालाई बुझायो ।

चिया कसले खाइदिन्छन्, कति गिलास विक्री हुन्छ, कति पैसा जम्मा हुन्छ ? कोठाबाट निस्कँदै गर्दा यसको कुनै टुंगो हुँदैन । तर, हरेक रात घर फर्कँदा पैसा ल्याइएन भने खान–बस्नै कठिन हुन थाल्छ । त्यसैले त झरी होस् वा चिसो ठिही । कोठाबाट निस्कनै पर्छ । मान्छेलाई पछ्याउनै पर्छ । चिया बेच्नै पर्छ ।

‘चिया बेचेन भने के खानु ? भाइ, ममी र म भोकै हुन्छौं’ यसो भनिरहँदा पावेल उदास भन्दा पनि जिम्म्मेवार देखिन्छन् । यस्तो लाग्छ, उनी नै घरमुली हुन् । ‘खानुपर्‍यो, पढ्नुपर्‍यो, कोठा भाडा दिनुपर्‍यो’ पावेल भन्छन्, ‘अंकल, भाडा तिर्न सकेन भनेर हामीलाई डेराबाट निकालेको नि ।’

यी बालकलाई दुःख र अभावले सानो हुने छुट दिएको छैन । परिबन्धले उसको बाल्यकाल खोसिदिएको छ । ऊ सानै छ, तर उसको जिम्मेवारी सानो छैन । पाटन कृष्ण मन्दिरको सेरोफेरोमा उनको साँझ गुज्रिन्छ । त्यहाँभन्दा परको संसार देखेका छैनन् ।
काठमाडौंको कुन ठाउँ जान मन लाग्छ ? हाम्रो प्रश्नमा उनी अलमलिन्छन् र केही सोचेर जवाफ दिन्छन्, ‘कलंकी । मलाई कलंकी जान मन लाग्छ ।’

के खान मनलाग्छ ? यसको जवाफ भने उसले सोच्नुपर्दैन । हतारमै भन्छन्, ‘चाउमिन ।’

खेल्न चाहिँ ? उनी यो प्रश्नमा उति अभ्यस्त छैनन् । त्यसैले धेरैबेर सोचेपछि भन्छन्, ‘घरमै खेल्छु, भाइसँग ।’

‘केही दिनअघि मात्र खेल्दाखेल्दै भाइ हराए । सोधीखोजी गर्दा कतै फेला परेन । सीसीटीभीमा हेरेपछि अपहरणमा परेको थाहा भयो । २४ घण्टा नबित्दै प्रहरीले अपहरणकारीबाट भाइको उद्धार गरिदियो ।’ यही कथा सुनाएपछि पावेलले हामीलाई भन्यो, ‘त्यसपछि भाइ त भाइरल भयो । अंकल, मलाई चाहिँ भाइरल नगर्नू है ।’





Read More