― Advertisement ―

HomeLatest newsभारतमा नेपालको वार्षिक बजेटभन्दा पनि धेरै लगानी गर्दै माइक्रोसफ्ट

भारतमा नेपालको वार्षिक बजेटभन्दा पनि धेरै लगानी गर्दै माइक्रोसफ्ट


राष्ट्रिय

समाचार.

  • माइक्रोसफ्टले भारतमा क्लाउड र एआई पूर्वाधारमा १७ दशमलब ५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ।
  • माइक्रोसफ्टका सीईओ सत्या नडेलाले भारतको एआई फर्स्ट फ्युचर अवधारणालाई समर्थन गर्न ठूलो लगानी गर्ने बताए।
  • प्रधानमन्त्री नरेन्द्र मोदीले माइक्रोसफ्टको लगानीलाई स्वागत गर्दै भारतलाई एआईमा विश्व आशावादी देखिएको उल्लेख गर्नुभयो।

२३ मंसिर, काठमाडौं । विश्वविख्यात कम्प्युटर सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टले भारतमा ठूलो लगानीको घोषणा गरेको छ ।

माइक्रोसफ्टले भारतमा क्लाउड र आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) को पूर्वाधार निर्माणमा १७ दशमलब ५ अर्ब अमेरिकी डलर (करिब २५ खर्ब २२ अर्ब १० करोड नेपाली रुपैयाँ) लगानी गर्ने घोषणा गरेको हो ।

यो रकम नेपालको वार्षिक बजेट भन्दा पनि धेरै हो । नेपाल सरकारले चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको थियो । नेपालको कूल बजेटभन्दा झण्डै ७ खर्ब बढी लगानी माइक्रोसफ्टले भारतमा गर्न लागेको छ ।

माइक्रोसफ्टका सीईओ सत्या नडेलाले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा पोस्ट गर्दै लगानी गर्न लागेको जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘भारतको महत्वाकांक्षालाई समर्थन दिनका लागि माइक्रोसफ्ट १७ दशमलब ५ अर्ब अमेरिकी डलर लगानी गर्न प्रतिबद्ध छ, एशियामा यो नै हाम्रो सबभन्दा ठूलो लगानी हो, भारतको ‘एआई फर्स्ट फ्युचर’ अवधारणमा अघि बढ्न आवश्यक पूर्वाधार, सिप र क्षमता बनाउन मद्दत मिलोस् भन्ने हाम्रो चाहना हो ।’

मंगलबार नडेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा भेटवार्ता गरेका थिए । सो भेटपछि उनले भारतमा एआईको सन्दर्भमा कुराकानी गर्ने अवसर दिएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिएका थिए ।

नडेलाको उक्त भनाइमा प्रतिक्रिया दिँदै मोदीले भनेका छन्, ‘जब एआईको कुरा आउँछ भने भारतलाई लिएर विश्व आशावादी देखिन्छ, सत्या नडेलासँग किनै राम्रो कुराकानी भयो, माइक्रोसफ्टले एशियामा नै सबभन्दा ठूलो लगानी भारतमा गर्न लागेको देखेर खुशी लागेको छ ।’

सीईओ नडेला र प्रधानमन्त्री मोदीको भेटपछि सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा माइक्रोसफ्टले भारतमा गर्न लागेको १७.५ अर्ब अमेरिकी डलरको लगानी पहिले नै प्रतिबद्धता गरिएको ३ अर्ब डलरको योजनाकै निरन्तरता भएको जनाएको छ ।

 

माइक्रोसफ्टका अनुसार सो रकम आगामी दुई वर्षभित्र बेंगलुरुमा क्लाउड तथा एआई पूर्वाधार विकास, कौशल विकास कार्यक्रम, र नयाँ डाटा सेन्टर निर्माणमा खर्च हुनेछ ।

लगानीको योजनाले माइक्रोसफ्टलाई भारतमा बलियो उपस्थिति स्थापित गर्ने कम्पनीको दाबी छ ।

‘भारत अहिले आफ्नो एआई यात्राको निर्णायक मोडमा उभिएको छ… व्यापक प्रभाव सिर्जना गर्ने लक्ष्यका साथ अग्रणी बन्ने संकल्प लिएको छ । प्रविधि समावेशी विकास र आर्थिक रूपान्तरणको माध्यम बन्दै गएको बेला भारत एआईका लागि अग्रपङ्क्तिमा उभिएको छ । यही पृष्ठभूमिमा… आज हामी एसियामा हाम्रो सबैभन्दा ठूलो लगानी १७.५ अर्ब अमेरिकी डलर लगानी घोषणा गर्दैछौँ,’ माइक्रोसफ्टको विज्ञप्तिमा छ ।

यसअघि, गत अक्टोबरमा गुगलका प्रमुख सुण्डर पिचाईले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी आन्ध्र प्रदेशको विशाखापट्टनममा एआई हब स्थापना गर्ने योजनाबारे जानकारी दिएका थिए ।

यो गुगलको भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी हो । गुगलले अडानी समूहसँग सहकार्य गर्दै त्यहाँ डेटा सेन्टर तथा एआई बेस निर्माण गर्दैछ र पाँच वर्षमा १५ अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

अमेजनले पनि भारतमा डेटा सेन्टर निर्माणका लागि अर्बौं डलर लगानी गरिसकेको छ । गत अक्टोबरमै प्रधानमन्त्री मोदीले क्वालकमका प्रमुख क्रिस्टियानो आर आमोनसँग भारतको एआई, नवप्रवर्तन र सिप विकासका क्षेत्रमा भइरहेको प्रगतिबारे छलफल गरेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More