― Advertisement ―

HomeLatest newsप्राइमरीमा जितेर पनि समानुपातिकमा नपरेका विजय भन्छन्– नाम काट्दा सल्लाह पनि भएन

प्राइमरीमा जितेर पनि समानुपातिकमा नपरेका विजय भन्छन्– नाम काट्दा सल्लाह पनि भएन



वैकल्पिक शक्तिको केन्द्र मानिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक बन्दसूची यतिबेला विवादित छ । उम्मेदवार छान्न प्राइमरी इलेक्सन गराएको रास्वपाले त्यसबाट निर्वाचित भएकालाई पाखा लगाएर सेलीब्रेटीहरुलाई स्थान दिएको आरोप छ । पुराना दलमा झैँ एलीटकै कब्जामा समानुपातिक सूची पर्‍यो भन्दै प्रश्न उठिरहेका छन् ।

यसबाटै पीडित पात्र हुन्, विजय जैरु । उनी रास्वपाको प्राइमरी इलेक्सनमा दलित क्लस्टरमा १३ हजार १४३ मत ल्याएर शीर्ष स्थानमा निर्वाचित भए । तर, समानुपातिकको बन्दसूची हेर्दा उनको नाम कतै देखिँदैन । यो कसरी भयो ? प्राइमरी इलेक्सनबाटै निर्वाचित भएकाहरू पाखा लाग्ने स्थिति रास्वपामा किन बन्यो ? यसबारे लिस्टबाट बाहिरिएका निर्वाचितहरू के भन्छन् ? यिनै विषयमा रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका विजय जैरुसँग अनलाइनखबरका कौशल काफ्लेले कुराकानी गरेका छन् ।

तपाईंले प्राइमरी इलेक्सनमा दलित क्लस्टरमा सबैभन्दा धेरै, १३ हजारभन्दा बढी मत ल्याउनुभयो । सबैभन्दा पहिलो हुनुभयो । तर अहिले सार्वजनिक भएको बन्द सूचीमा तपाईंको नाम त कतै छैन नि !

रास्वपाले परम्परागत राजनीतिक दलहरूको शैलीभन्दा फरक अभ्यास गर्न खोजेको पक्कै हो । प्राइमरी इलेक्सन पार्टी भित्रका सदस्यहरूको मात्र भएको थियो । तर, पछि अन्य वैकल्पिक शक्ति र नयाँ उदयमान नेताहरूसँग पार्टी एकता गर्नुपर्ने अवस्था आयो । एकताका क्रममा अन्य समूहका मान्छेहरूलाई पनि समेट्नुपर्ने बाध्यता भयो । यसबारे हिजो पार्टी सभापति रवि लामिछानेले पनि बोल्नुभएको छ । उहाँले बन्द सूची बुझाउने अन्तिम दिन भएको र एकताको काम पनि सँगै गर्नुपर्ने भएकाले हतारमा केही प्राविधिक त्रुटीहरू भएको स्वीकार गर्नुभएको छ । उहाँले ती त्रुटीहरूलाई सच्याउन पहल गरिने आश्वासन दिनुभएको छ ।

तर, तपाईं त आफ्नो क्लस्टरमा शीर्ष स्थानमा हुनुहुन्थ्यो ।अन्य वैकल्पिक शक्ति थपिएर नाम नै हटाउनुपर्दा तलकाहरूको हटाउन सकिन्थ्यो होला। यसरी त आन्तरिक चुनावको के मतलब भयो र ?

मेरो क्लस्टरमा मसँगै प्रतिस्पर्धागर्ने अन्य साथीहरू पनि हुनुहुन्थ्यो । जस्तै – ८ हजार मत ल्याउने प्रकाश चन्द्र परियार र ११ हजार मत ल्याउने डा. रूपक घिमिरे । डा. रूपक घिमिरे सातौँ नम्बरमा हुनुहुन्थ्यो । तर अहिलेको सूचीमा उहाँ एक नम्बरमा आउनुभएको छ । उहाँ कसरी एक नम्बरमा पर्नुभयो भन्ने मलाई थाहा छैन, किनभने बन्द सूची तयार पार्दा शीर्ष नेतृत्वले मसँग कुनै सल्लाह गरेको थिएन । मेरो नाम काटिँदै छ भन्ने जानकारी पनि मलाई दिइएको थिएन।

पार्टीको आन्तरिक चुनावमा राम्रो मत ल्याएको तपाईंले जब अन्तिम सूचीमा आफ्नो नाम देख्नुभएन, कस्तो महसुस भयो ? मन दुखेन ?

मैले यसलाई सकारात्मक रूपमा लिने प्रयास गरेको छु । पार्टी एकताको क्रममा नेतृत्व हतारमा भएको हुन सक्छ र त्यही कारणले समस्या आएको होला । हामी विधिको शासन मान्ने र फरक राजनीतिक संस्कार बोकेर जन्मेको पार्टी हौँ । नेतृत्वले यो त्रुटी सच्याउने आश्वासन दिएको छ । केही आशा अझै जीवित छ ।

रास्वपाले नेपाली राजनीतिमा नै पहिलो पटक गरेको यो ‘प्राइमरी इलेक्सन’ खासमा के हो ? यसले कसरी नेतृत्व छान्छ ? आम पाठकलाई बुझाइदिनुस् न ।

प्राइमरी इलेक्सनको मतलाई मात्र अन्तिम मानिँदैन । यसको भार ५० प्रतिशत मात्र हुन्छ । बाँकी ५० प्रतिशतका लागि राजनीतिक सामिप्य ९एयष्तिष्अब िएचयहष्mष्तथ०, लिडरसिप एकेडेमीको अंक, समावेशिताको आधार र पार्टी सचिवालयको निर्णयलाई मापदण्ड बनाइएको थियो । प्राइमरी भोटिङको मत सार्वजनिक गरिए पनि अरू मापदण्डको अंक अहिलेसम्म सार्वजनिक गरिएको छैन । त्यसैले पनि फेरी भनेँ, अहिले हतारमा बन्द सूची बुझाउनुपर्ने र एकताको प्रक्रिया टुङ्ग्याउनुपर्ने भएकाले यो अलमल भएको हो।

तपाईंहरुको प्राइमरी चुनावमा भोट हाल्ने अधिकार कुन तहको कार्याकर्तालाई हुन्छ ?

देश र विदेशमा रहेका रास्वपाका सम्पूर्ण सक्रिय सदस्यहरूले पार्टीको ‘घन्टी एप’ मार्फत मतदान गर्न पाउँछन् । यसमा क्लस्टर अनुसार निश्चित मापदण्ड तोकिएको हुन्छ र सोही अनुसार सदस्यहरूले आफूलाई मन पर्ने उम्मेदवार छनोट गर्छन् ।

उम्मेदवार बन्नका लागि चाहिँ कस्ता योग्यताहरू चाहिन्छन् ?

यसका लागि कडा नियमहरू छन् । देशद्रोह नगरेको, फौजदारी वा क्रिमिनल मुद्दा नलागेको हुनुपर्छ । यदि कुनै मुद्दामा सफाइ पाएको हो भने पनि ३ महिना पुगिसकेको हुनुपर्छ । त्यस्तै, बलात्कारको मुद्दा नलागेको र विदेशी नागरिकता त्यागेको कम्तिमा ३ महिना पुगेको नेपाली नागरिक हुनुपर्ने अनिवार्य व्यवस्था छ।

समानुपातिक उम्मेदवार बन्न ५० हजार रुपैयाँ बुझाउनुपर्ने नियम पनि छ हैन ? यो त खास पैसा नहुने, समाजको पिँधमा रहेकाहरुलाई अगाडि सार्न ल्याइएको संरचना हो भन्दै आलोचना भयो । यसबारे चाहिँ के भन्नुहुन्छ ?

पार्टी सञ्चालनका लागि स्रोत त चाहिन्छ । रास्वपाले अरू पार्टी जस्तो ठूला व्यवसायी वा अज्ञात स्रोतबाट चन्दा लिँदैन, त्यसैले यो प्रक्रिया पारदर्शी छ । सामान्यतया सांसद बन्न चाहने व्यक्तिको ५० हजार तिर्न सक्ने हैसियत हुन्छ भन्ने अनुमान हो । तर, यदि कोही आर्थिक रूपमा साच्चै विपन्न छ भने उसले वडा कार्यालयबाट सिफारिस लिएर आएमा शुल्क मिनाहा हुने व्यवस्था पनि गरिएको थियो। यसपटक पनि धेरैले यो सुविधा लिएका छन् ।

अर्कोतर्फ, समानुपातिक सूचिमा नाम राख्दा तपाईंको सभापतिले ५० प्रतिशत मत र बाँकी ५० प्रतिशत योगदानलाई हेरिन्छ भन्नुभयो। मतमा त योग्य हुनुभयो । पार्टीभित्रको भूमिकामा योगदान नपुर्याएको भन्ने बुझायो नि । के तपाईंको पार्टीमा योगदान पुगेको थिएन त ?

म पार्टी स्थापनाको पहिलो दिन, २०७९ असार ७ गतेदेखि नै संलग्न छु । मैले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नगरसभापति भएर संगठन निर्माणको काम सुरु गरेँ । सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रमा पार्टीको संगठन विस्तार र उत्कृष्ट नतिजा ल्याउन मेरो अहम भूमिका छ । त्यसैले योगदान पुगेन भन्ने कुरा म स्वीकार गर्दिनँ।

सुदूरपश्चिम र कर्णालीसहितका दलित समुदायले तपाईंलाई विश्वास गरेर भोट दिएका थिए। अब तपाईंको नामै नभएपछि उनीहरूले रास्वपालाई किन विश्वास गर्ने ?

सुदूरपश्चिममा दलितको जनसंख्या ९.१४ प्रतिशत छ । यदि पार्टीले यस्ता पछाडि पारिएका र उत्पीडित समुदायको नेतृत्वलाई उचित स्थान दिएन भने भोलि जनतासँग भोट माग्ने आधार हुँदैन । हाम्रो पार्टी‘समतामूलक समावेशिता’को सिद्धान्तमा चल्छ । नेतृत्वले यो कुरा पक्कै बुझ्नुहुनेछ र त्रुटी सच्याउनुहुनेछ भन्ने मेरो विश्वास छ । बालेन शाह र कुलमान घिसिङ जस्ता शक्तिहरूसँगको एकताको कुरा मिलाउँदा समय कम भएर यो समस्या आएको हो भनेर अब जनतालाई पनि बुझाउनुपर्छ ।

यदि सूची सच्चिएन भने तपाईं के गर्नुहुन्छ ? के पार्टी छोड्नुहुन्छ ?

म कतै विचलित हुन्नँ । म रास्वपाभित्रै रहेर काम गर्छु । यदि समानुपातिकमा परिनँ भने पनि म प्रत्यक्ष निर्वाचनमा लड्न सक्छु । विधिको शासन मान्नेहरूका लागि पद नै सबै थोक होइन, तर न्याय हुनुपर्छ भन्ने मेरो अडान हो।

सुसंस्कृत राजनीतिको अपेक्षा गरेर नै तपाईं नयाँ दलमा सुरुवातदेखि नै आबद्ध भएर लाग्नुभयो । तपाईंले पुराना दलले अपनाइरहेको शैली राजनीति हैन भनेर बारबार भन्नुहुन्छ । खासमा राजनीति के रहेछ ?

राजनीति भनेको राष्ट्र सञ्चालन गर्ने र समाज बनाउने नीति हो । म पेशाले स्वास्थ्यकर्मी हुँ र विगत ८–९ वर्ष स्वास्थ्य क्षेत्रमै काम गरेँ । कोरोना कालपछि सामाजिक कार्यमा सक्रिय भएँ । देशका विकट गाउँहरूमा शिक्षा र स्वास्थ्यको अवस्था निकै दयनीय छ। मानिसहरू अहिले पनि तुइन तरेर विद्यालय जानुपर्ने बाध्यतामा छन् । यी आधारभूत समस्या समाधान गर्न र दबिएका आवाजहरूलाई संसदमा पु‍र्‍याउन म राजनीतिमा आएको हुँ। मेरो लागि राजनीति यही हो ।

अन्त्यमा, पहिल्यै गाँसमा ढुंगा चखाएको रास्वपालाई नागरिकले किन पत्याउने ? अरुभन्दा रास्वपा कसरी फरक छ ?

हामी देशको प्रशासनिक संरचनामा सुधार ल्याउन चाहन्छौँ । अहिले नेपालमा पानीजहाज छैन तर पानीजहाजको कार्यालय र कर्मचारी छन् । रेल छैन तर रेल विभागमा मान्छेहरू तलब खाएर बसेका छन् । यस्ता काम नलाग्ने र खर्चिला संरचनाहरू हामी हटाउँछौँ । हाम्रो पार्टीले विज्ञहरूको टोलीमार्फत देशको मुहार फेर्ने ‘ब्लुप्रिन्ट’ तयार पारिरहेको छ।

रास्वपा अन्य पुराना दलहरूभन्दा फरक छ । सानातिना त्रुटिहरू भए पनि हामी त्यसलाई सच्याएर अघि बढ्छौँ । रास्वपाले लक्षित र उत्पीडित वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राख्नेछ । हामी भ्रष्टाचारमुक्त देश र सुशासनको ग्यारेन्टी गर्छौँ । सुदूरपश्चिम र कर्णालीका जनतालाई न्याय दिलाउन म सधैँ लडिरहनेछु।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More