― Advertisement ―

बेस्ट बाईले फादर्स डेको लागि Fitbit यन्त्रहरू घटाउँदै छ — $79.95 मा सुरु हुने मेरो 5 मनपर्ने सम्झौताहरू किन्नुहोस्

बुबाको दिन ठीक एक हप्ता टाढा छ, र यदि तपाईं अझै पनि बुबाको लागि उत्तम उपहार खोज्दै हुनुहुन्छ भने, एक Fitbit ट्र्याकर एक उत्कृष्ट...
HomeLatest newsपोखरा विमानस्थल निर्माण अनियमितामा बहुदलीय संलग्नता

पोखरा विमानस्थल निर्माण अनियमितामा बहुदलीय संलग्नता



२१ मंसिर, काठमाडौं । प्रशासनिक नेतृत्व र कर्मचारीहरूलाई मात्र बढ्ता निशाना बनाउने गरेको आरोप खेप्दै आएको अख्तियारले पोखरा विमानस्थल निर्माणमा भएको ८ अर्ब भन्दा बढीको अनियमितामा ठूलो संख्यामा उच्च राजनीतिक नेतृत्वमाथि पनि भ्रष्टाचारको मुद्दा लगाएको छ ।

भ्रष्टाचारको मुद्दा लागेकाहरूमा वर्षौंदेखि सत्ताको हालीमुहाली गरिरहेका कांग्रेस एमाले र तत्कालीन माओवादीबाट मन्त्री बनेकाहरु छन् । अख्तियारले एउटै भ्रष्टाचार मुद्दामा यति धेरै पूर्वमन्त्री र सचिवहरुविरुद्ध मुद्दा चलाएको यो विरलै घटना हो ।

कांग्रेसबाट पटक-पटक अर्थमन्त्री बनेका डा. रामशरण महतमाथि मुद्दा लागेको छ । उनी छ पटक मन्त्री बनेका थिए । भ्रष्टाचारको मुद्दा खेप्ने भीम आचार्य र दीपक अमात्य एमालेबाट मन्त्री बनेका थिए ।

त्यस्तै पोस्टबहादुर बोगटी माओवादीबाट मन्त्री बनेका थिए । भ्रष्टाचार मुद्दा लाग्ने रामप्रसाद श्रेष्ठ पनि २०७० सालको खिलराज रेग्मीको चुनावी सरकारमा माओवादीकै सिफारिसमा मन्त्री बनेका व्यक्ति हुन् ।

बोगटीको निधन भइसकेकाले उनको मुद्दा पूर्वसांसद समेत रहेकी पत्नी राममाया बोगटीमाथि लगाइएको छ । पूर्वमन्त्रीहरुमध्ये रामकुमार श्रेष्ठ यसअघि नै गैरकानूनी सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर भएका छन् । उनीमाथि पतञ्जली जग्गा प्रकरणमा पनि मुद्दा चलिरहेको छ । डा. महत बाहेक चार जना पूर्व पर्यटनमन्त्री हुन् ।

आयोगले यी पाँच पूर्वमन्त्रीहरु, ९ जना पूर्वसचिवहरू, २ चिनियाँ कम्पनीका प्रतिनिधिसहित ५५ जना र एक चिनियाँ निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पोखरा विमानस्थल निर्माणमा ८ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो ।

हालसम्म दायर भएकोमध्ये विगोका दृष्टिकोणले कर फर्स्यौट आयोगको भ्रष्टाचार मुद्दापछि यो दोस्रो ठूलो मुद्दा हो । गतवर्ष संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले पोखरा विमानस्थल निर्माणमा झण्डै १० अर्ब अनियमितता भएको भनी तयार पारेको प्रतिवेदन अख्तियारमा पठाएको थियो ।

को–को माथि मुद्दा चल्यो ?

अख्तियारले पूर्वमन्त्रीहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति तत्कालीन अध्यक्षको रुपमा जिम्मेवार ठहर्‍याएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणमा पर्यटनमन्त्री सञ्चालक समिति अध्यक्ष हुने व्यवस्था छ ।

अख्तियारले तत्कालीन पर्यटन सचिवहरु सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, अर्थसचिव सुमनप्रसाद शर्मा, कानूनसचिव भेषराज शर्मा विरुद्ध मुद्दा चलाएको छ । मुद्दा खेप्नेमध्ये पर्यटन मन्त्रालयका तत्कालीन सहसचिवहरु रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, सुरेश आचार्य छन् । उनीहरू पछि सचिव भएर अवकाश पाइसकेका छन् ।

नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिका तत्कालीन सदस्यहरु मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरीङ शेर्पा, मदन खरेल विरुद्ध पनि मुद्दा चलेको छ ।

भन्सार विभागका तत्कालीन महानिर्देशकहरु मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य, सचिव भएर अवकाश भइसकेका तत्कालीन सहसचिव मधुकुमार मरासिनी, सहसचिव लोकबहादुर खत्रीलाई पनि प्राधिकरणको सञ्चालक समितिको सदस्यको हैसियतमा काम गरेबापत भ्रष्टाचार मुद्दा चलेको छ ।

प्राधिकरणका तत्कालीन महानिर्देशकहरु त्रिरत्न मानन्धर, रतीशचन्द्र लाल सुमन, उपमहानिर्देशकहरु रोशन चित्रकार, ऋषिकेश शर्मा, सुमनकुमार श्रेष्ठ माथि पनि मुद्दा चलेको छ ।

चार दिनअघि नलिन्चोक हेलिपोर्ट निर्माणमा समेत भ्रष्टाचारको मुद्दा खेपेका प्राधिकरणका प्रबन्धक मुरारी भण्डारीमाथि पोखरा विमानस्थलको अनियमिततामा पनि मुद्दा लागेको हो ।

उपसचिवस्तरका थप २० जना कर्मचारीहरुमाथि पनि अख्तियारले मुद्दा दायर गरेको छ । नागरिक उड्डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक र अहिलेका महानिर्देशक प्रदीप अधिकारीमाथि चार दिनको फरकमा दोस्रो भ्रष्टाचारमुद्दा दायर भएको हो ।

खिलराज रेग्मीको सरकारका बेलामा पोखरा विमानस्थलको लागत अध्ययन गर्न परामर्शदाताको समूह गठन भएको थियो ।

समूहको नेतृत्व गरेका सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना, सदस्य विनोदानन्द चौधरी र डा. पुरुषोत्तम डंगोल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

डा. तिमल्सेना समावेशी आयोगको अध्यक्षबाट अवकाश भइसकेका व्यक्ति हुन् । उनी केही समय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विज्ञ समेत नियुक्त भएका थिए ।

अख्तियारले परामर्शदाता टोलीका टिम विज्ञ डा. रबिन्द्रनाथ श्रेष्ठ, परामर्शदाता टोलीका संयोजक एवं सहप्राध्यापक सूर्य ज्ञवाली, विज्ञमा नियुक्त सन्तोषकुमार श्रेष्ठमाथि पनि मुद्दा चलाएको छ ।

पोखरा विमानस्थल निर्माणको ठेकेदार चाईना सीएएमसी इञ्जिनियरिङका तत्कालीन रिजनल जनरल म्यानेजर लिउ सेङछेङ र उक्त कम्पनीका अध्यक्ष वाङ बो विरुद्ध पनि भ्रष्टाचारमुद्दा दायर भएको छ । ५५ जना व्यक्तिमाथि भ्रष्टाचारमुद्दा चलाएको अख्तियारले निर्माण कम्पनीमाथि पनि अलग्गै मुद्दा दायर गरेको छ ।

के आरोप छन् ?

पोखरा विमानस्थल निर्माणको विभिन्न प्रक्रियामा संलग्नहरुले एकमुष्ट रुपमा आठ अर्ब ३६ करोड रुपैंया भ्रष्टाचार गरेको आरोप लगाएको अख्तियारले उनीहरुमाथि एकमुष्ट रुपमा विगो मागदाबी गरेको छ ।

अख्तियारले ४० बुँदामा आरोपहरु पेश गर्दै उनीहरुमाथि बदनियतपूर्ण कामबाट भ्रष्टाचार गरेको आरोप लगाएको हो ।

अख्तियारले विशेष अदालतमा पेश गरेको आरोपपत्र अनुसार, अस्वाभाविक रुपमा बढाइएको लागतबाट नै पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको हो । पोखरा विमानस्थल निर्माणका लागि १६९ दशमलव ६९ मिलियन अमेरिकी डलर लाग्ने भनिएको थियो । त्यसमा १३ प्रतिशत भ्याट र ३ प्रतिशत कन्टिन्जेन्सी रकम पनि जोडिएको छ ।

तर लागत बढाइएपछिको सम्झौतामा २४४ दशमलव ०४ मिलियन डलर पुर्‍याइयो । अख्तियारको दावी अनुसार, त्यसरी अस्वाभाविक रुपमा ७४ दशमलव ३४ मिलियन अमेरिकी डलरले लागत बढाउँदा भ्रष्टाचार भएको हो । अख्तियारले लागत बढाइएको रकमलाई तत्कालीन विनिमयदर अर्थात ११२ रुपैयाँ ५५ पैसाका दरले हिसाब गरेर आठ अर्ब ३६ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको हो ।

चुनावी सरकारका पालामा मन्त्री बनेका रामकुमार श्रेष्ठमाथि नेपाल नागरिक उड्डयन प्राधिकरणको अध्यक्षको हैसियत दुरुपयोग गरेको आरोप छ । प्रभावग्राही नभएका टेण्डरहरु रद्द गर्नुपर्नेमा प्राधिकरणको सञ्चालक समितिबाट गलत निर्णय गरेको आरोप उनीमाथि छ ।

कानुनमा नभएको परामर्शदाता टोली गठन गरेर लागत स्टिमेट बढाउने काम गरेकोमा अख्तियारले उनीमाथि प्रश्न उठाएको हो । अख्तियारले उनीमाथि ‘कुनै आधार बिना विमानस्थल निर्माणको लागत बढाएको र अस्वभाविक मूल्य कायम गराएको’ आरोप लगाएको हो ।

अख्तियारले पूर्वमन्त्री भीमप्रसाद आचार्यलाई पोखरा विमानस्थलको ठेक्का अघि बढाउने निर्णयमाथि जिम्मेवार ठहर्‍याएको हो । शुरुवाती चरणदेखि नै गलत काम भएको थाहा पाउँदा पाउँदै अस्वाभाविक रुपमा लागत बढाइएको ठेक्का अघि बढाएर भ्रष्टाचार गरेको आरोप उनीमाथि छ ।

अख्तियारले अर्कामन्त्री दिपकचन्द्र अमात्यमाथि रद्द गर्नुपर्ने टेण्डर अघि बढाएर भ्रष्टाचार गरेको आरोप लगाएको हो । उनले लागत बढाइएको कामको पुष्टि नगरी मन्त्रीका हैसियतले अर्थ मन्त्रालयमा ऋण माग्ने काम गरेको भन्दै प्रश्न उठाएको हो । परिमार्जित लागत र डिजाइन अनुसार स्विकृति दिने फाइल मन्त्रिपरिषद्मा पेश गरेकोमा पनि उनीमाथि प्रश्न उठेको हो ।

चीनको एक्जिम बैंकसँग ऋण सहायता माग्ने भनी गरेको निर्णयमा प्रश्न उठाई अर्थमन्त्री डा. रामशरण महतमाथि मुद्दा दायर भएको देखिन्छ । शुरुदेखि नै विमानस्थल निर्माणको ठेक्कामा भ्रष्टाचार भएको थाहा हुँदाहुँदै बद्नियत राखी काम गरेको आरोप उनीमाथि छ ।

सचिवहरुमाथि पनि त्यही खालको आरोप छ । प्रभावकारी नभएको टेण्डर रद्द गर्नुपर्नेमा रद्द गर्नुपर्ने व्यवस्था भएकोमा त्यसविपरित लागत अनुमानभन्दा बढीको प्रस्ताव स्विकार गर्ने प्रस्ताव सहितको फाइल अघि बढाएको भन्दै अख्तियारले सम्बन्धित सचिवहरुमाथि मुद्दा चलाएको हो ।

पर्यटन सचिवहरु सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, अर्थसचिव सुमनप्रसाद शर्मामाथि लागत बढाउने प्रस्तावसहितको फाइल अघि बढाएकोमा प्रश्न उठाएको देखिन्छ । कानुन सचिव भेषराज शर्मामाथि पनि ३ कार्त्तिक २०७१ मा अर्थमन्त्रीको कार्यकक्षमा उपस्थित भई तत्कालीन अर्थमन्त्री डा. रामशरण महतसँगको मिलेमतोमा लागत बढाएको आरोप छ ।

भ्रष्टाचारको आरोपमा मुछिएका प्राधिकरणका इञ्जिनियरहरुमाथि डिजाइन र लागत बढाएको, अनि सञ्चालक समितिका पदाधिकारीहरुमाथि लागत बढाउने प्रस्ताव स्विकृत गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारले सबैजसो आरोपितहरुमाथि ‘मनासिव कारण बिना लागत इष्टिमेट अस्वभाविक रूपमा बढाई संशोधन गरी काम गर्ने गराउने, अस्वभाविक रूपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने काम गरेको’ समान आरोप लगाएको छ ।

अख्तियारले परामर्श टोलीका संयोजक डा. रामकृष्ण तिमल्सेना, सदस्यहरु डा.पुरुषोत्तम डंगोल र विनोदानन्द चौधरीमाथि चिनियाँ कम्पनी सीएएमसीको स्वार्थ अनुकूल हुनेगरी ठेक्काको मोडेल फेरेको र लागत बढाउन प्रतिवेदन दिएको आरोप लगाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी त्यतिबेला उपप्रबन्धकको भूमिकामा थिए । बोलपत्र मूल्यांकन समितिले टेण्डरका प्रतिस्पर्धीहरुको प्रस्ताव प्रभावग्राही नभएको भनी प्रतिवेदन दिएकोमा लागत बढाउने काम गरेको भन्दै प्रश्न उठाएको हो ।

वैशाखको प्रतिवेदन र अहिलेको मुद्दामा के फरक छ ?

गत वैशाखमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्मबावारे छानबिनपछि चारवटा शिर्षकमा अनियमितता भएको दाबी गरेको थियो । विमानस्थलको लागत बढाइएको, ठेकेदारलाई गैरकानूनी रुपमा छुट दिइएको, विमानस्थल निर्माणमा अनियमितता भएको र डाँडा काट्दा अनियमितता भएको दाबी भएपछि अख्तियार पहिलो शीर्षकमा केन्द्रित भएको हो ।

अहिले अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दा अस्वभाविक रुपमा विमानस्थलको लागत बढाइएको भन्ने शीर्षकमा मात्रै केन्द्रित छ । इञ्जिनियरिङ प्रोक्यूमेन्ट कन्स्ट्रक्सन(इपीसी) मोडेलमा ठेक्का अगाडी बढाउने गरी काम अघि बढेकोमा खिलराज सरकारको पालामा नागरिक उड्डयन प्राधिकरणबाट विज्ञ समूह गठन भएको थियो ।

त्यही समूहको सिफारिसका आधारमा विमानस्थल निर्माणको लागत १४ अर्बबाट २२ अर्ब पुर्‍याएको थियो । लेखा उपसमितिले प्राधिकरणबाट भएको त्यो निर्णयलाई ‘गलत नियत र मनसायका साथ भ्रष्टाचारबाट अभिप्रेरित काम’ भनेको थियो ।

लेखा उपसमितिले २ अर्ब २२ करोड रुपैयाँ कर गैरकानूनी रुपमा छुट भएको दाबी गरेको थियो । छिनेडाँडा काट्न ३२ करोड रुपैयाँ खर्च भएकोमा उसले प्रश्न उठाएको थियो । अख्तियारले यी दुवै विषयमा छुट्टै अनुसन्धान भइरहेको जनाएको छ । अनि परामर्शदाता नियुक्तिको विषयमा पनि अनुसन्धान चलिरहेको दाबी गरेको छ, जुन पाटोलाई लेखा उपसमितिले पनि हेरेको थिएन ।

विमानस्थल निर्माणमा गुणस्तरहीन काम भएको र अनियमितता भएको भन्ने आरोपमा अख्तियार प्रवेश गरेको छैन । लेखा उपसमितिले नाली बनाउँका माटो काट्ने क्रममा, रनवेमा पर्याप्त मात्रामा माटो नविछ्याइएको अनि उचाई पनि तोकिएअनुसार नभएको भ्रष्टाचारको आरोप लगाएको थियो ।

अख्तियार विमानस्थलको लागतमा मात्रै केन्द्रित भएकाले लेखा समितिले अनियमितता भएको भनी दाबी गरेको हिसाब र अख्तियारले पेश गरेको विगोको रकम मिल्दैन ।

लेखा समितिले आफ्नो विवरणमा करिब १० अर्ब हाराहारीमा अनियमितता भएको दाबी गरेकोमा अख्तियारले आठ अर्ब ३६ करोड रुपैयाँ विगो मागदाबी गरेको छ ।

चार दिनअघिकै भ्रष्टाचारमुद्दासँगै विशेष अदालतमा पेश भएका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई आइतबार विशेष अदालतले थुनामा पठाएको छ । सोमबारदेखि पोखरा विमानस्थलको भ्रष्टाचारमुद्दामा उनको बयान हुनेछ । उनीसँगै प्राधिकरणका अर्का पूर्व कर्मचारी मुरारी भण्डारीमाथि ५ लाख धरौटी माग भएको छ । तर पोखरा विमानस्थलको मुद्दाका कारण उनी अख्तियारको हिरासतमा रहनेछन् ।

लेखा समितिले औंल्याएका अनियमितता :





Read More