― Advertisement ―

अविश्वसनीय रूपमा हल्का Asus Zenbook A14 ले Best Buy मा $300 घटाउँछ

आवागमनको लागि अल्ट्रा-लाइट ल्यापटपको लागि, Asus Zenbook A14 हेर्न लायक छ - र यसले वास्तविक दिनभरको ब्याट्रीलाई लगभग समाप्त गरेको कारणले मात्र होइन। परीक्षणमा...
HomeLatest newsपहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन नेवानिलाई प्रधानमन्त्रीको निर्देशन

पहुँचका आधारमा भर्ती गरिएका कर्मचारी हटाउन नेवानिलाई प्रधानमन्त्रीको निर्देशन



१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन् ।

पर्यटनमन्त्रीका हैसियतमा प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई सिंहदरबारमा बोलाएर यस्तो निर्देशन दिएकी हुन् ।

‘जेनजीहरूले यत्रो रगत बगाएको केका लागि हो ? यस्तै नातावाद, कृपावाद, विभेद अन्त्यका लागि होइन ? यता यत्रो आन्दोलन भइरहेको छ,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै सचिवालयले भनेको छ, ‘उता भटाभट आफ्ना मान्छे भर्ती गरेको छ । अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न छाडिएको छैन । कतिसम्मको बेथिति हो यो ?’

कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कठोर रूपमा लाग्न पनि उनले निर्देश गरेकी छिन् ।

यस्तै अहिलेसम्म निगम सुधारका लागि बनेका प्रतिवेदनहरूसुझाव कार्यान्वयन गर्न योजनासाथ अघि बढ्नुपर्ने उनको निर्देशन छ ।

कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री कार्कीले निगमको अहिलेको अवस्था धनाढ्यको बिग्रेको घरसँग तुलना गर्दै भनिन्, ‘हेर्दाखेरि सबैथोक छ तर भित्र दर्दनाक अवस्था छ । नाफा वा घाटा केही नभएर चलेको मात्र भए पनि रोजगारी दिएको छ भनेर चित्त बुझाउन हुन्थ्यो । त्यो पनि छैन ।’

प्रधानमन्त्री कार्कीले कतैबाट आउने अनुचित र गैरकानुनी दबाब नसुन्न पनि सुझाव दिइन् ।

‘राजनीतिक मान्छेहरूले दबाब दिन्छन् । तपाईँहरू किन खुरुखुरु त्यस्तो दबाब मान्ने ? भोलि कारबाहीमा पर्ने त तपाईँहरू हो नि,’ प्रधानमन्त्री कार्कीको भनाइ थियो, ‘तपाईंहरू विधिसम्मत तरिकाले चल्ने हो भने कसैले पनि कारबाही गर्दैन । राम्रो काम गर्दा अख्तियारसँग पनि डराउनुपर्दैन। अख्तियारलाई बहाना बनाएर हात बाँधेर पनि नबस्नुहोस् ।’

निगमको आफ्नो जहाजको इन्जिन मर्मत गर्न पठाएर नल्याउने, भाडाको इन्जिन चलाएर ठूलो खर्च लेख्ने प्रवृत्तिमाथि पनि उनले प्रश्न गरिन् ।

‘यो घाटा त जनताले बेहोरेको घाटा हो नि,’ उनले भनिन्, ‘अब यो संस्था सुधार्न कठोर कदम चाल्नुपर्छ। अप्रिय निर्णय गर्न पनि तयार हुनुपर्छ ।’

निजी क्षेत्रका सेवा प्रदायकले ठूलो नाफा कमाइरहँदा निगम घाटामा जानुको कारण के हो भनेर पनि उनले प्रश्न गरिन् ।

‘सरकारले नै यति ठूलो स्रोतसाधन उपलब्ध गराएको छ । सरकारले साथ दिइरहेको छ । तैपनि, यो संस्था घाटामा जानुको कारण के हो ?’ उहाँको प्रश्न थियो, ‘बरु यो पैसाले विश्वविद्यालय, स्कुल वा अस्पताल बनाएको भए पनि हुन्थ्यो कि ?’

निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी सुधारका कदम चाल्ने प्रतिबद्धता जनाए ।

‘निगममा बोल्ड निर्णय गर्नुपर्ने आवश्यकता छ । धेरै नै अप्रिय निर्णय गर्न पनि म तयार छु। यसका लागि सरकारको साथको अपेक्षा गरेको छु ।’

प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘संस्था सुधारका लागि तपाईँहरू लाग्नुहोस्। सरकार दाहिने हातमा छ ।’

कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल लगायत अधिकारीको उपस्थिति थियो । यस्तै, निगमभित्रका भ्रष्टाचार छानबिन गरी बनाइएका प्रतिवेदनअनुसार तुरुन्त कारबाही गर्न पनि प्रधानमन्त्रीले भनेकी छिन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More