― Advertisement ―

Anker THUS चिपले पहिरन योग्य उपकरणहरूमा ठूला AI मोडेलहरू राख्न कम्प्युटिङ नियमहरू तोड्छ

Ankerनयाँ प्रयोग गर्दछ मेमोरीमा कम्प्युटरयसले तल्लो शक्ति भएका यन्त्रहरूमा ठूला AI मोडेलहरू सक्षम पार्न सक्छAnker सिलिकन व्यवसायमा प्रवेश गर्दैछ, विशेष गरी एउटा CIM (कम्प्युट...
Homeनेपालमा जेई भयावह बन्दै, संक्रमित मध्ये १९ प्रतिशतको मृत्यु

नेपालमा जेई भयावह बन्दै, संक्रमित मध्ये १९ प्रतिशतको मृत्यु


News Summary

Generated by OK AI. Editorially reviewed.

  • यसवर्ष जापानिज इन्सेफलाइटिस संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ र ४५ जिल्लामा १७२ जना संक्रमित भएका छन्।
  • ६० वर्षमाथिका १५ जनाको मृत्यु भएको छ र अधिकांश मृतकले खोप नलगाएको पाइएको छ।
  • जेई संक्रमणको नियन्त्रणका लागि खोप, लामो बाहुलाको लुगा लगाउने, सरसफाइ र लामखुट्टे धपाउने उपाय अपनाउन चिकित्सकको सुझाव छ।

३ कात्तिक, काठमाडौं । यसवर्ष जापानिज इन्सेफलाइटिस (जेई) संक्रमणबाट ३२ जनाको मृत्यु भइसकेको छ । ४५ जिल्लामा फैलिसकेको जेईले १७२ जना संक्रमित भइसकेका छन् ।

परिवार कल्याण महाशाखाले अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानिज इन्सेफलाइटिस विगत तीन वर्षयता आक्रामक रूपमा देखिएको छ ।

गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए ।

यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती छन् ।

पछिल्लो तथ्यांक अनुसार लुम्बिनीमा ११, बागमतीमा ६, गण्डकीमा ५, कोशीमा ४, मधेशमा ३, सुदुरपश्चिमा २ र कणालीमा १ जनाको ज्यान गइसकेको छ ।

६० वर्षमाथि मात्रै १५ जनाको मृत्यु

जेई संक्रमणबाट ६० वर्षभन्दा माथिकालाई असर गरेको छ । पछिल्लो तथ्यांक अनुसार यसवर्ष ६० वर्षभन्दा माथिका १५ जनाको मृत्यु भइसकेको छ ।

यस्तै २० देखि ५९ वर्षसम्म १२ जना र १९ वर्षमुनि ५ जनाको मृत्यु भएको छ ।

नेपालमा जापानिज इन्सेफलाइटिसको संक्रमण पुरानो भए पनि आधिकारिक रूपमा निगरानी गर्न सुरु गरिएको समय धेरै पछाडि हो ।

जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्युलेक्स लामखुट्टेले सार्छ । रोग सार्ने लामखुट्टे बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोग भाइरसबाट संक्रमित चराचुरुंगी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरुमा आफू संक्रमण हुन्छ र त्यसले टोक्दा मानिसमा संक्रमण सर्छ ।

डा. गौतमका अनुसार भारतको गोरखपुरमा सन् १९९० को दशकमा ठूलो प्रकोप देखिए पनि नेपालमा यस रोगको इतिहास अझै पुरानो छ ।

सन् १९७८ तिर रुपन्देहीमा संक्रमण भएको देखिन्छ । त्यतिबेला प्रमाणित गर्ने प्राविधिक सुविधा थिएन, तर लक्षणहरूका आधारमा जई नेपालमा देखिएको अनुमान लगाइएको उनले बताए ।

उनका अनुसार सन् २००३ देखि आधिकारिक परीक्षण सुरु भयो । त्यसबेला ढाडबाट पानी र रगतको नमूना मार्फत् जेईको परीक्षण गरिएको थियो ।

खोप अभियानले रोग नियन्त्रणमा रहेको भनिए पनि पछिल्लो समय मृत्युदर बढ्नुले खतराको संकेत गरेको विज्ञ बताउँछन् ।

गौतमका अनुसार जेई संक्रमण नेपालमा अन्य देशभन्दा फरक जोखिम देखिएको छ । सामान्यत: १५ वर्षमुनिका बालबालिकामा बढी देखिने जेई नेपालमा भने पछिल्लो वर्षमा ६० वर्षमाथिका मानिसमा मृत्यु र संक्रमण भएको छ ।

‘६० वर्षभन्दा माथिका व्यक्तिको मृत्यु हुनुको कारणबारे डा. गौतम भन्छन्, ‘मृत्यु हुने अधिकांशले खोप लगाएका छैनन् ।’

भाइरसमै केही प्रकारको परिवर्तन भएको हुनसक्ने उनको आशंका छ । तर त्यसबारे ठ्याक्कै निष्कर्ष भने अहिलेसम्म आइसकेको छैन ।

डा. गौतमले भने, ‘थप अध्ययन भइरहेको छ । अहिलेको प्रारम्भिक अध्ययनले अन्य रोगहरूसँगको संयोजन (जस्तै स्क्रब टाइफस) को कारणले पनि मृत्युदर बढेको अनुमान छ ।’

जापानिज इन्सेफलाइटिस डेंगु भाइरस समावेश भएको ‘फ्लेभी भाइरस’ समूहअन्तर्गत पर्छ । यो क्युलेक्स जातको लामखुट्टेले फैलाउने गर्छ । विश्व स्वास्थ्य संगठनले उल्लेख गरेअनुसार लक्षण सहितका संक्रमितहरू एसियामा झन्डै एक लाखको हाराहारीमा वर्षेनी देखिने गर्छ । यसको मृत्युदर अधिकतम ३० प्रतिशत छ ।

५० प्रतिशतलाई स्नायु प्रणालीमा दीर्घकालीन असर

त्यसैले यसलाई उच्च घातक संक्रमण मान्न सकिन्छ । उपचारपछि पनि करिब ५० प्रतिशतसम्मलाई स्नायु प्रणालीमा दीर्घकालीन असर देखिने गर्छ ।

जापानी इन्सेफलाइटिस प्राय: धान खेती हुने ठाउँ, स्थिर पानी जम्ने क्षेत्र, सुँगुर र हाँस पालन हुने स्थानमा बढी देखिन्छ ।

डा. गौमतमका अनुसार धानखेतमा पानी जम्मा हुने भएकाले लामखुट्टे प्रजनन गर्न सजिलो हुन्छ । त्यस्तै, सुँगुर र हाँसलाई संक्रमित लामखुट्टले टोक्दा भाइरसलाई हजारौं गुणा बढाउँछन् ।

संक्रमित लामखुट्टेले सुँगुर वा हाँसलाई टोक्दा भाइरस ती जनावरभित्र तीव्र रूपमा बढ्छ । त्यही भाइरस अर्को लामखुट्टेमा सरेपछि फेरि मानिसलाई पनि संक्रमण सार्छ ।

अधिकांशमा संक्रमितमा लक्षण सामान्य वा देखिँदै देखिँदैन । तर २५० संक्रमितमध्ये एकजनामा भने लक्षणले कडा रूप (स्नायु प्रणालीमा जटिल समस्या आउने) लिने गर्छ ।

जेई भाइरस उच्च घातक मात्र होइन, यदि उपचार गरेर बचाउन सकियो भने पनि यीमध्ये झन्डै ५० प्रतिशतमा जीवनभर नसासँग सम्बन्धित अपांगता पनि गराउने विज्ञ बताउँछन् ।

कम्पन आइरहने, सुन्ने शक्ति वा दृष्टि गुम्ने, बोल्ने क्षमता अनि स्मृतिमा ह्रास हुने, बोलाइरइस्पिच कमजोर हुने, हातखुट्टा लुला हुने जस्ता समस्या देखिन सक्छ ।

संक्रमण भएको चारदेखि १४ दिनसम्ममा यसको लक्षण देखिन सुरु हुन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी कडा (अररो) हुनु, अन्योलमा देखिनु, मांसपेसी कडा हुनु, अचेत हुनु र उपचारमा विलम्ब भए मृत्यु समेत हुन्छ ।

डा. अभियान गौतम।

जेई संक्रमण हुँदा विशेषगरी औषधि वा एन्टिभाइरल औषधि भने हुँदैन । उपचार लक्षण वा जटिलतामा आधारित हुने गर्छ ।

जस्तै ज्वरो आएमा त्यसको उपचार, कम्पन छुटिरहेको भए सम्बन्धित उपचार, टाउको दुखिरहेको भए त्यसलाई कम गर्ने उपचार हुन्छ ।

यस्तोमा शरीरको प्रतिरोधात्मक क्षमता बलियो हुनेहरूमा लाक्षणिक उपचारपछि बिस्तारै ठीक हुन्छन् । तर जसको प्रतिरोधात्मक क्षमता कम छ । एचआईभी संक्रमित, मधुमेह जस्ता रोग र प्रतिरक्षा प्रणाली कमजोर भएका मानिस बढी जोखिममा हुन्छन् । प्रतिरोध क्षमताले लड्न सक्ने र समयमै उपचार पाइएन भने ज्यानै जाने जोखिम समेत रहन्छ ।

मनसुनको समयमा जेई संक्रमणको जोखिम बढी हुने गर्छ । वर्षायाममा बढी आद्रता र बाढीका कारण सरसफाइमा कमी आउँदा लामखुट्टेको वृद्धि हुन्छ । जसले संक्रमणको जोखिम बढाउँछ । ‘साउन, भदौ, असोजमा महिना जेइ को संक्रमणदर उच्च हुन्छ । जाडो महिनामा बिस्तारै संक्रमणका केस घट्दै जान्छन्,’ उनले भने ।

जेईको नियन्त्रणको प्रमुख उपाय भनेको खोप नै हो । शिशुलाई जन्मेको १२ महिनामा यो खोप दिइन्छ ।

विज्ञका अनुसार जापानी इन्सेफ्लाइटिस बच्नका लागि लामो बाहुलाको लुगा लगाउने, घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिमको प्रयोग गर्ने, पानी जम्न दिनुहुँदैन । साथै पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्न चिकित्सक सुझाव दिन्छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More