― Advertisement ―

सावधान, ह्याकरहरूले मालवेयर वितरण गर्न, पैसा र डाटा चोरी गर्न एप्पल खाता सूचनाहरूको दुरुपयोग गर्दैछन्

Scammers'ph डोमेनमा कलब्याक प्रयोग गरी ईमेल पठाउनुहोस् सन्देशहरूप्रविधिले नक्कली खरिद अलर्टहरू इम्बेड गर्न Apple ID सिर्जना क्षेत्रहरू प्रयोग गर्छपीडितहरू कलिङ स्क्यामरहरू, जसले त्यसपछि संवेदनशील...
HomeLatest news‘दुई मौसमी प्रणालीको असरले यो साताभर वर्षाको सम्भावना, फेरि जोखिममा इलाम’

‘दुई मौसमी प्रणालीको असरले यो साताभर वर्षाको सम्भावना, फेरि जोखिममा इलाम’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बंगालको खाडी र अरब सागरमा बनेका दुई न्यूनचापीय प्रणालीको प्रभावले मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा हुने सम्भावना छ।
  • अरब सागरको प्रणालीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिम भागमा मंगलबारदेखि बुधबारसम्म वर्षा गराउनेछ भने बंगालको प्रणालीले विहीबारदेखि शनिबारसम्म मधेश र कोशी प्रदेशमा वर्षा गराउनेछ।
  • यी प्रणालीले पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षा हुने र पहिरो जोखिम बढ्ने सम्भावना छ भने हिमाली क्षेत्रमा हिमपात हुनेछ र प्रदूषणमा कमी आउनेछ।

१० कात्तिक, काठमाडौं । बंगालको खाडी र अरब सागरमा बनेका दुईवटा न्यूनचापीय प्रणालीको प्रभावले मंगलबारदेखि शुक्रबारसम्म नेपालमा वर्षा हुने सम्भावना छ । यसले गत असोजमा पहिरोले क्षतविक्षत भएको कोशी प्रदेशका इलाम लगायतका जिल्लामा बढी असर पर्न सक्ने र धान बालीमा पनि क्षति पुर्‍याउन सक्ने आशंका छ ।

तर यी मौसमी प्रणालीका सकारात्मक पक्षहरू पनि छन् । ‘यसले आगामी दिनहरूमा हिमाली भेगमा हिमपात हुनेछ र पोहोरजस्तो काला हिमाल देख्नुपर्ने छैन,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल भन्छन्, ‘यो प्रणालीले खेतिपातिमा सहयोग पुग्ने र प्रदूषणको मात्रा पनि केही हदसम्म घटाउने छ ।’

यसै सन्दर्भमा मौसमविद सिग्देलसँग बिनोद घिमिरेले गरेको कुराकानीः

नेपालमा पनि असर पर्ने भनिएको मौसमी प्रणाली कस्तो खालको हो ?

अहिले नेपाललाई मुख्यतया दुईवटा मौसमी प्रणालीले प्रभाव पार्दैछन् । एउटा बंगालको खाडीमा विकसित भइरहेको छ, जसलाई ‘मोन्था साइक्लोन’ नाम दिइएको छ । त्यो अहिले भारतको ओडिसा–विशाखापट्नम वरिपरि करिब–करिब तटीय क्षेत्रमा आउन लागेको छ । अर्को प्रणाली अरब सागरमा विकसित भएर भारतको गुजरात साइडतिर प्रवेश गर्न लागेको छ । यी दुवै प्रणालीको असरले यो हप्ता मौसम अलि अनस्टेबल हुने देखिन्छ ।

यसको असर कहिलेदेखि सुरु हुन्छ ? कहाँ–कहाँ कस्तो असर पर्छ ?

विशेष गरी अरब सागरबाट आउने प्रणालीले मंगलबारबाट नै नेपालमा असर पर्ने देखिन्छ । यो प्रणालीले विशेषगरी नेपालको पश्चिमी भूभागहरूमा वर्षा गराउने छ । अझ स्पष्ट रूपमा भन्दा सुदूरपश्चिमलाई केन्द्रित भएर लुम्बिनी प्रदेशको पश्चिम भागसम्म प्रभाव देखिने सम्भावना छ । यसको प्रभाव मंगलबार र बुधबारसम्म हुने देखिन्छ ।

त्यसपछि विहीबारबाट फेरि बे अफ बंगालको प्रणालीले असर गर्छ । यो नर्थवेष्ट मुभ गर्ने अनुमान छ । यसको प्रभाव विहीबार बेलुकाबाट शनिबारसम्म हुने देखिन्छ । यसले नेपालको मध्य भागदेखि पूर्वतिर असर गर्ने देखिन्छ । मुख्य गरी मधेश प्रदेश र कोशी प्रदेशमा सक्रिय रूपमा वर्षा गराउँछ ।

त्यसको केही अंश काठमाडौं उपत्यकासहित बागमती प्रदेशका जिल्लाहरूमा पनि देखिनसक्छ । तर यसको फोकस पूर्वी मधेश र कोशी प्रदेशमा हुन्छ ।

यसरी अरब सागर र बे अफ बंगालका दुई प्रणालीले यो साताभरी नै मौसम प्रतिकूल हुने देखिन्छ ।

यी प्रणाली कति शक्तिशाली छन् ?

यसलाई अझै नजिकबाट अनुगमन आवश्यक छ । किनभने यो बल्ल भारतको तटीय क्षेत्रमा आउँदैछ । भारत प्रवेश गरेपछि त्यसको शक्ति कस्तो हुन्छ, कुन दिशामा, कति गतिमा अघि बढ्छ त्यो हेरेर मात्र नेपालमा पर्न सक्ने आंकलनबारे थप भन्न सकिन्छ । आज बिहानसम्मको स्थिति हेर्दा नेपालमा मध्यमदेखि भारी वर्षासम्मको आंकलन गर्न सकिन्छ ।

यसको असरले मध्यमदेखि भारी वर्षा हुने र बाढी–पहिरोको जोखिम बढाउन सक्ने सम्भावना छ । तर स्पष्ट के भन्न सकिन्छ भने पश्चिम नेपालको तुलनामा पूर्वी नेपालमा वर्षाको तीव्रता बढी हुने देखिन्छ ।

गत असोजमा मात्रै इलाममा बाढी पहिरोले ठूलो क्षति पुर्‍यो । अहिले फेरि पूर्वी भूभागमै यो प्रणाली केन्द्रित हुँदा झन् जोखिम बढ्यो होइन ?

विगतमा पहिरोले जमिन कमजोर भइसकेको हुनाले मध्यम वर्षाले पनि पहिरो ल्याउन सक्ने सम्भावना रहन्छ । त्यसैले अलि बढी चनाखो हुनुपर्ने छ । सम्भावित क्षति रोक्न, सवारी आवागमन अवरुद्ध हुन नदिन विशेष तयारी अपनाउँदा राम्रो हुन्छ ।

क्षतिको न्यूनीकरणका लागि कस्तो सावधानी अपनाउनुपर्ला ?

पहिरोको जोखिम भएका क्षेत्रहरू पहिले नै पहिचान भइसकेकाले जिल्ला विपद् संयन्त्रहरू चनाखो हुनुपर्छ र विशेषगरी रातिको समयमा मानिसहरूलाई सुरक्षित स्थानमा जानका लागि सचेत गराउनुपर्छ ।

यस प्रणालीका सकारात्मक असर पनि छन् नि ?

अवश्य छ । उत्तरी क्षेत्रमा यस प्रणालीले हिमपात नै गराउनेछ । हिउँ पर्दा हिमाल सेतै टल्किने भएकाले पोहोरजस्तो काला हिमाल देखिने छैन । हिमाल सेताम्य हुँदा पर्यटकहरू आकर्षित हुनेछन् र पर्यटन क्षेत्र लाभान्वित हुनेछ ।

हिमाल हाम्रो जल प्रणालीको महत्वपूर्ण आधार भएकाले त्यसबाट हुने बहुआयामिक खालका फाइदा छन् । हिमाली र पहाडी क्षेत्रका जलस्रोतहरूलाई मद्दत पुग्नेछ । जमिनमा आद्रता कायम रहनाले यसले कृषि बालीलाई समेत फाइदा हुनेछ । अर्को महत्वपूर्ण फाइदा यसले केही हदसम्म प्रदूषण पनि घटाउने छ ।

मनसुन सकिएलगत्तै विकसित भएका यी दुई प्रणाली सामान्य हुन् कि असामान्य ?

यो समय (अक्टोबर) मा समुद्री तापक्रमको प्रभावले चक्रवातहरू आउनु असामान्य होइन, यो एक सामान्य मौसमी प्रक्रिया नै हो ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More