― Advertisement ―

‘उत्पादन र रचनात्मकता अलग साइलोमा बस्नु हुँदैन’: किन क्यानभाको एआई पुश यसको लोकतान्त्रिक डिजाइनको मूल सिद्धान्तहरू भन्दा फरक छैन

दशकौंदेखि, काम र रचनात्मकतालाई अलग-अलग मापन गरिएको छ। उत्पादकता उपकरणहरू जस्तै स्प्रेडसिट र कागजातहरू दक्षताका लागि बनाइएका थिए, जबकि रचनात्मकता अन्य ठाउँमा विशेषज्ञ...
HomeLatest newsदबाब बढाउँदै विशेष पक्षधर – KhabarHost

दबाब बढाउँदै विशेष पक्षधर – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई लिखित प्रस्ताव पेश गरी दबाब दिने निर्णय गरेका छन्।
  • विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व गरेका नेताहरूले बुधबार कार्यवाहक सभापति खड्कासँग भेट्ने र बिहीबार केन्द्रीय कार्यालयमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन्।
  • ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएको र विधान अनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको कांग्रेस नेताहरूले बताएका छन्।

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले थप दबाब बढाउने भएका छन् । विशेष महाधिवेशनका लागि थप दबाबका लागि तत्कालका लागि तीन कार्य गर्ने निर्णय गरिएको छ ।

हस्ताक्षर संकलनमा अगुवाइ गरेका नेता गुरुराज घिमिरेका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर विशेष महाधिवेशनका लागि पेश गरिएको लिखित प्रस्ताव बारे ध्यानाकर्षण गरिने भएको छ । विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियानको नेतृत्व गरेका नेताहरूले बुधबार कार्यवाहक सभापति खड्कासँग भेट्ने तय भएको छ ।

विशेष महाधिवेशनका लागि दबाब दिन बिहीबार केन्द्रीय कार्यालयमा शान्तिपूर्ण प्रदर्शन गरिने भएको छ । केन्द्रीय समितिको बैठक बस्दै गर्दा दबाब दिने उद्देश्यले विशेष महाधिवेशन पक्षधरले प्रदर्शन गर्ने भएका हुन् । नेता घिमिरे विशेष महाधिवेशन पक्षधरले अहिलेसम्म प्राज्ञिक तरिकाले माग प्रस्तुत गरेको बताउँदै अबको दबाब फरक तरिकाले हुने बताए ।

‘विशेष महाधिवेशन माग गरेर लिखित प्रस्ताव गरेको एक महिनाभन्दा बढी भइसक्यो । अहिलेसम्म केन्द्रीय समिति बैठक लम्ब्याउनेबाहेक केही भएन,’ घिमिरे भन्छन्, ‘अब हामी नियमित महाधिवेशनको कुरा सुन्नै चाहन्नौं । बहुमत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरमा नेतृत्व जति गम्भीर हुनुपर्थ्यो त्यति भएको पाइएन ।’

२८ असोजदेखि जारी केन्द्रीय समितिको बैठकमा नियमित महाधिवशेन चुनाव अघि/पछि र विशेष महाधिवेशनको मागमा केन्द्रित रहँदै आएको छ । बैठकमा सर्वसम्मतबाट निर्णय लिने अवस्था नहुँदा नसक्दा केन्द्रीय समितिको पटक–पटक स्थगित गरिँदै आएको छ । पछिल्लोपटक केन्द्रीय समितिको बैठक स्थगित गरेर बिहीबारका लागि बोलाइएको छ । नेताहरूका अनुसार स्थगित गरिएको अवधिमा पनि हालसम्म सहमतिको विन्दु पहिल्याउन शीर्ष नेताहरूले सकेका छैनन् ।

पार्टीले निर्णय लिन नसकिरहेको बेला सोमबार विशेष महाधिवेशन पक्षधरको बैठक भएको थियो । उक्त पक्षले दबाबका लागि थप कार्यक्रम ल्याउने निर्णय लिएको थियो । पार्टीलाई विशेष महाधिवेशनउन्मुख गराउनका लागि हस्ताक्षरकर्ताहरूले केन्द्रीय कार्यालयमा काउन्टडाउन सुरु गर्ने भएका छन् ।

विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको ४५ दिन पुगेसँगै केन्द्रीय कार्यालयमा काउन्टडाउन बोर्ड राखिने कांग्रेस नेता सुवास पोखरेलले जानकारी गराए । महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनका लागि प्रस्ताव गरेको मंसिर २७ गतेलाई आधार बनाएर काउन्टडाउन सुरु गरिने भएको छ ।

पार्टी संस्थापन पक्षका शीर्ष नेताहरू चुनावअघि नियमित वा विशेष महाधिवेशन गर्नै नहुने अडानमा छन् । संस्थापन पक्षका सात पूर्व पदाधिकारी महामन्त्री थापा र सहमहामन्त्री महेन्द्र यादवले राखेको नियमित महाधिवेशनको कार्यतालिकामा बहुमतका आधारमा निर्णय गर्नुपर्ने पक्षमा छन् । महामन्त्री थापाले पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गरेका थिए ।

सहमहामन्त्री यादवले चुनावपछि महाधिवशेन हुने गरी वैशाख अन्तिम साताको मिति प्रस्ताव गरेका छन् । दुई प्रस्तावलाई बहुमत र अल्पमतको आधारमा निर्णय गर्नुपर्ने पक्षमा पूर्व पदाधिकारीको समूह रहेको छ । कार्यवाहक सभापति खड्का भने सर्वसम्मतबाट निर्णय गराउन जोड गरिरहेको कांग्रेस नेताहरूले जानकारी गराएका छन् ।

विशेष महाधिवेशन गर्दा पार्टी विभाजन हुने डर समेत नेताहरूले देखाएका छन् । अर्कोतर्फ, विधान अनुसार गरिएको माग लागू हुँदा पार्टी विभाजन नहुने विशेष महाधिवेशन पक्षधर नेताहरूको धारणा छ ।

नेता सुवास पोखरेल महाधिवेशन प्रतिनिधिले विधानले दिएको अधिकार अनुसार माग गर्दा पार्टी विभाजन हुने हो भने त्यो दफा संशोधनका लागि पनि विशेष महाधिवेशन आवश्यक देख्छन् ।

पोखरेल भन्छन्,‘नियमित समयको बेलामा विधान मस्यौदा समितिको आधारमा विधान संशोधन गर्ने अवस्था हुने थियो । अहिले नियमितको समय छैन । विशेष परिस्थिति भएको हुँदा विधान संशोधन गर्नपनि विशेष महाधिवेशन नै चाहियो ।’

बहुमत महाधिवेशन पक्षले उठाएको माग सुनुवाई नहुनेगरी केन्द्रीय समितिले निर्णय गरे अस्विकार गर्ने पोखरेलले बताए । केन्द्रीय समिति भन्दा शक्तिशाली निकाय महाधिवेशनका प्रतिनिधि भएको उल्लेख गर्दै पोखरेल भन्छन्, ‘विशेष महाधिवेशन विरुद्ध हुने गरी केन्द्रीय समितिले निर्णय गरे त्यसलाई बहुमत महाधिवेशन प्रतिनिधिले उल्टाउन सक्छन् ।’

विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि लिखित माग गरेमा तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था छ । विशेष महाधिवेशनका लागि ५४ प्रतिशत महाधिवशेन प्रतिनिधिले हस्ताक्षर बुझाएका छन् ।

संस्थापन पक्षका नेताहरूले हस्ताक्षरको सनाखत गर्नुपर्ने विषय समेत उठाइरहेका छन् । विशेष महाधिवेशनको पक्षधर नेता घिमिरे भन्छन्,‘हामी जे पनि सामना गर्न तयार छौं । उहाँहरूले भनेको महाधिवेशन प्रतिनिधिको हस्ताक्षर भेरिफिकेसन गराउन पनि हामी तयार छौं ।’





Read More