― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeअन्तर्राष्ट्रियदक्षिण कोरियामा बिहीबार ट्रम्प र सी को भेट, के अन्त्य होला व्यापार...

दक्षिण कोरियामा बिहीबार ट्रम्प र सी को भेट, के अन्त्य होला व्यापार युद्ध ?


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच १३ कात्तिकमा दक्षिण कोरियाको बुसानमा भेटवार्ता हुँदैछ।
  • दुवै नेता अमेरिकी किसानका सोयाबिन खरिद, टिकटकको अमेरिकी स्वामित्व र फेन्टानिल सङ्कट समाधानमा छलफल गर्नेछन्।
  • मलेसियामा भएको उच्चस्तरीय वार्ताले व्यापार सम्झौताको ढाँचा तयार पारेको र व्यापार युद्धविरामको अवधि थप्ने सम्भावना छ।

१२ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भोलि बिहीबार दक्षिण कोरियामा भेटवार्ता हुँदैछ ।

दुई देशबीच तीव्र व्यापार युद्ध चर्किरहेका बेला शीर्ष दुई नेता दक्षिण कोरियामा भेट्न लागेका हुन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दिएको जानकारी अनुसार बिहीबार कोरियाको स्थानीय समय अनुसार बिहान ११ बजे ट्रम्प र सी बीच भेट हुनेछ । यता चिनियाँ विदेश मन्त्रालयले पनि ट्रम्प र सी बीचको भेट समय तय भएको पुष्टि गरेको छ । भेट दक्षिण कोरियाको बुसान शहरमा हुनेछ ।

चिनियाँ विदेश मन्त्रालयले दिएको जानकारी अनुसार दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हित जस्ता मुद्दामा कुराकानी हुनेछ ।

ट्रम्प र सी बीचको भेटअघि मलेसियामा दुई देशका उच्चाधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको ढाँचा तयार गरेको बताइएको थियो ।

सात दिने एशिया भ्रमणमा रहेका ट्रम्पले समकक्षी सी सँगको भेटअघि आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘खर्बौं डलर लिएर अमेरिका फर्किँदैछु । एक फलदायी यात्रा । निकै स्मार्ट, प्रतिभावान र शानदार नेताहरूसँगको भेट । भोलि चीनका राष्ट्रपति सी सँग भेट हुनेछ । हामी दुवैका लागि यो निकै सानदार भेटवार्ता हुनेछ ।’

राष्ट्रपति ट्रम्पले मंगलबार दक्षिण कोरियाका राष्ट्रपतिका तर्फबाट आयोजित भोजमा भाग लिएका थिए ।

भेटमा दक्षिण कोरियाका राष्ट्रपति लि जे म्युङ्गले राष्ट्रपति ट्रम्पलाई सुनको विशेष ताज उपहार दिए ।

ट्रम्प र सी ले दक्षिण कोरियाको ग्यांग्झूमा आजदेखि सुरु भएको एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) को शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।

ट्रम्प र सी वार्ताको एजेण्डा

ट्रम्प र सीबीच अमेरिकी किसानका सोयाबिन र कृषि उत्पादन खरिद, सन्तुलित व्यापारका विषयमा छलफल हुनेछ ।

समाचार संस्था रोयटर्सका अनुसार ट्रम्प र सीको भेटअघि चीनको सरकारी स्वामित्वको कम्पनी कोफ्कोले अमेरिकाबाट तीन खेप सोयाबिन खरिद गरेको छ । यसलाई चीनका तर्फबाट यस वर्षको अमेरिकी कृषि उपजको पहिलो खरिद भनिएको छ ।

दुवै देशबीच व्यापारिक शुल्क विवाद चलिरहेको अवस्थामा चीनले अमेरिकाबाट खरिद घटाएको कारण अमेरिकी किसानहरूलाई अरबौँ डलर बराबरको क्षति भएको बताइएको छ ।

चीनसँगको व्यापार युद्धका कारण मारमा परेका किसानहरूले सन् २०१६ र २०२० को राष्ट्रपतीय चुनावमा ट्रम्पलाई समर्थन गरेका थिए ।

कोफ्कोले डिसेम्बर–जनवरी डेलिभरीका लागि करिब १,८०,००० मेट्रिक टन सोयाबिन खरिद गरेको व्यापारिक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

यद्यपि यो महिनौंपछि गरिएको पहिलो खरिद भए पनि व्यापारीहरूले निकट भविष्यमा अमेरिकी सोयाबिनको ठूलो मात्रामा माग बढ्ने अपेक्षा भने गरेका छैनन् । किनभने चीनले हालै दक्षिण अमेरिकी मुलुकहरूबाट ठूला परिमाणमा सोयाबिन खरिद गरिसकेको छ । चिनियाँ सरकारी स्वामित्वको कम्पनी कोफ्कोले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

ट्रम्प र सी बीच टिकटकको अमेरिकी स्वामित्वका विषयमा पनि छलफल हुने बताइएको छ । अमेरिकाभित्र चल्ने टिकटकको भर्सन बिक्री गर्न ट्रम्पले चीनमाथि दबाब बढाउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पको जितमा समेत सहयोगी बनेको टिकटकलाई अमेरिकी प्रशासनले राष्ट्रिय सुरक्षाका लागि खतरा बताउँदै आएको छ । अधिकतम सेयर अमेरिकी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई दिएर अमेरिकाभित्र चल्ने टिकटकलाई आफू अनुकूल बनाउने ट्रम्पको रणनीति देखिन्छ ।

यस्तै दुई शीर्ष नेताबीच अमेरिकी फेन्टानिल सङ्कट समाधान जस्ता विषयमा पनि छलफल हुने बताइएको छ ।

फेन्टानिल वा अन्य ओपियोइड संकट भन्नाले अत्यधिक ओपियोइड औषधि र लागूपदार्थको दुरुपयोगका कारण व्यापक लत, स्वास्थ्य समस्या र मृत्युदर बढेको अवस्था हो ।

यही फेन्टानिल संकटका कारण अमेरिकाले चीनका सामानमाथि २० प्रतिशत कर लगाएको थियो ।

दुवै देशले आगामी नोभेम्बर १ देखि लागू हुने सम्भावित नयाँ १०० प्रतिशत अमेरिकी कर र चीनका निर्यात नियन्त्रणका कारण व्यापार युद्ध अझै नबढोस् भनेर सम्झौताको बिन्दु खोजिरहेका छन् ।

अमेरिका र चीनले यसअघि एकअर्काका सामानमाथि लगाइएका सयौँ प्रतिशत करहरू फिर्ता लिँदै मे महिनामा ‘व्यापार युद्धविराम’ गरेका थिए । जसको अवधि आउँदो नोभेम्बर १० मा सकिँदैछ ।

मलेसियामा भएको उच्चस्तरीय वार्तामा दुवै पक्षले व्यापार विस्तार, युद्धविरामको अवधि थप्ने, फेन्टानिल समस्या, अमेरिकी बन्दरगाह प्रवेश शुल्क, दुर्लभ खनिज, टिकटक र अन्य विषयमा छलफल गरेका थिए ।

दक्षिण कोरियामा हुने ट्रम्प–सी वार्तालाई चीनको दुर्लभ खनिज निर्यातमाथिको नियन्त्रणसँग जोडेर हेरिएको छ । चीनले दुर्लभ खनिज निर्यातमा नियन्त्रण बढाएपछि विश्व बजारमा आपूर्ति संकट सिर्जना गरेको छ ।

त्यसैको प्रतिवादमा अमेरिकी प्रशासनले चीनतर्फ हुने सफ्टवेयर निर्यात रोक्ने बताएको थियो ।

ल्यापटपदेखि जेट इन्जिनसम्ममा प्रयोग हुने अमेरिकी सफ्टवेयर रोक्ने चेतावनीपछि चीनले पनि उच्च तहको वार्ताबाटै समस्या समाधान गर्नतर्फ जोड दिएको देखिन्छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More