― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest newsतेस्रो प्रयासमा रविन्द्र मिश्र, नयाँले दिँदैछन् टक्कर

तेस्रो प्रयासमा रविन्द्र मिश्र, नयाँले दिँदैछन् टक्कर



११ माघ, काठमाडौं । काठमाडौं-१ को चुनावी मैदानमा तेस्रो पटक होमिएका छन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र । यसअघिका दुवै प्रतिनिधिसभा निर्वाचनमा मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

२०७९ को चुनावमा मिश्र कांग्रेस नेता सिंहसँग १२५ मतले पराजित भएका थिए । सिंहले ७ हजार १४३ मत ल्याउँदा मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए ।

२०७४ को आम निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका मिश्र कांग्रेसका सिंहसँगै ८१८ मतान्तरले पराजित भएका थिए । त्यतिबेला सिंह १० हजार ९३६ ल्याएर निर्वाचित हुँदा मिश्रले १०११८ मत ल्याएका थिए ।

यसपटक कांग्रेसका सिंह भने चुनावी रेसबाट बाहिरिएका छन् ।

दुई पटक पराजय भोगेका मिश्र तेस्रो प्रयासमा भने प्रतिनिधिसभा छिर्नेमा आशावादी देखिन्छन् । ‘तेस्रो प्रयासमा विजय हासिल गर्ने हो र पृथ्वीपथमा हिँडेर देशलाई बचाउन र बनाउन योगदान पुर्‍याउने हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘पृथ्वीनारायण शाहले काठमाडौंमाथि तेस्रो प्रयासमा विजय हासिल गरेका थिए ।’

काठमाडौं-१ मा मिश्रसहित ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । मुख्यतः यो क्षेत्रमा कांग्रेसका प्रवल थापा क्षेत्री, एमालेका मोहनराज रेग्मी, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारी र रास्वपाकी रञ्जु न्यौपानेको चर्चा छ ।

४८ हजार ४८९ मतदाता भएको काठमाडौं-१ मा सबै उम्मेदवारहरू आफूले जित्ने दाबी गर्छन् । अघिल्लो चुनावमा कांग्रेसले जितेको क्षेत्र भएकाले यसपटक पनि निरन्तरता पाउनेमा कांग्रेस देखिन्छ ।

कांग्रेस उम्मेदवार प्रवल थापा पार्टीका महासमिति सदस्य हुन् । ‘शिक्षा, स्वास्थ्यमा के गर्ने भन्नेदेखि, रोजगारी सिर्जनाका लागि ‘मिसन रोजगारी’ अभियान नै चलाएका छौँ । चुनावपछि गगन थापाको नेतृत्वमा सरकार बनेपछि यही अनुसारका काम गर्छौं । १० वर्षमा माध्यम आय भएको देश बनाउने हाम्रो साझा संकल्प छ,’ थापाले आफ्नो एजेन्डा सुनाए ।

एमालेका मोहनराज रेग्मी पार्टीको लेखा आयोगका सदस्य हुन् । यो क्षेत्रमा अघिल्लो चुनावमा चौथो भएको एमालेले ३ हजार ५३२ मत ल्याएको थियो । यसपटक नतिजा राम्रो आउने दाबी एमालेको छ ।

‘राजनीतिलाई शुद्ध र रुपान्तरण गर्न उम्मेदवारी दिएको हुँ । यो क्षेत्रमा वुद्धिजीवीदेखि भूमिहीनसम्म बस्नु हुन्छ । सबैको समस्या थाहा छ । नवीन सोचका साथ अगाडि बढ्ने एजेन्डा छ,’ उनले भने ।

नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार हुन् मेनुका भण्डारी । उनी नेकपा केन्द्रीय सदस्यको जिम्मेवारीमा पनि छिन् । उनले चुनावी एजेन्डा मतदाताबाट नै संकलन गरिरहेको बताएकी छिन् । ‘एजेन्डा नागरिकसँग संकलन गरिरहेका छौँ । यहाँको समस्या के छ भनेर समूह बनाएर संकलन गर्ने काम भइरहेको छ । केही दिनमा सार्वजनिक गर्छौं,’ उनले भनिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी मैदानमा छिन्, रञ्जु दर्शना । उनी अघिल्लो चुनावमा काठमाडौं-५ बाट उम्मेदवारी दिएकी थिइन् । यो क्षेत्रबाट अघिल्लो चुनावमा पुकार बमले रास्वपाबाट उम्मेदवारी दिएका थिए ।

दर्शना विवेकशील, विवेकशील साझा हुँदै यसपटक रास्वपा प्रवेश गरेकी हुन् । उनले निर्वाचन क्षेत्र पनि परिवर्तन गरेकी हुन् । क्षेत्र नम्बर ५ बाट उनी क्षेत्र नम्बर १ मा आएकी हुन् । कुनै समय एउटै पार्टीमा रहेका मिश्र र दर्शना यसपटक आमनेसामने भएका छन् । फरक–फरक पार्टीबाट मिश्र र दर्शना प्रतिस्पर्धा गर्दैछन् ।

दर्शनाले २०७४ को स्थानीय तहको चुनावमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर चर्चामा आएकी थिइन् । ‘सतीले सरापेको देश होइन । देवीले बचाएको देश बनाउने यात्रा हो । आजको सन्ततिका लागि मात्र होइन भोलिको भविष्यका लागि पनि हो,’ उनले भनेकी छिन् ।

त्यसैगरी, नेपाल मजदुर किसान पार्टीकी रमिला ज्याख्व (सुवाल), मितेरी पार्टी नेपाल राजकुमार लिम्बु, जनता समाजवादी पार्टी, नेपालका प्रकाश नायजु, प्रगतिशील लोकतान्त्रिक पार्टीका सविन सिग्देल, श्रम संस्कृति पार्टीका समिर लामा तामाङ उम्मेदवार छन् ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) धनराज शाही, उज्यालो नेपाल पार्टी मंग लाल श्रेष्ठ, राष्ट्रिय मुक्ति पार्टी नेपालका इन्द्रप्रसाद श्रेष्ठ, नेपाल जनसेवा पार्टी अर्जुनबहादुर शाही, समावेशी समाजवादी पार्टी सुरेन्द्र पाण्डे र जनादेश पार्टी नेपालका कमल सुवेदी पनि चुनावी प्रतिस्पर्धामा छन् ।

काठमाडौं-१ मा १४ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । कुशल खत्री, संगीत बम, कमल कोइराला, सुरेन्द्रप्रसाद ढकाल, शान्ति श्रेष्ठ, राजु भुजेल, सागर जोशी, असीममान सिंह बस्न्यात, बाबुराम आचार्य, रमेशप्रसाद जोशी, किरण शाह, कुमार शाही, राजकुमार बजगाईं र शम्भु पोखरेलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More