― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
Homeराष्ट्रिय समाचारतीन महिनामै लिइयो १ खर्ब सार्वजनिक ऋण, दायित्व सवा २७ खर्ब

तीन महिनामै लिइयो १ खर्ब सार्वजनिक ऋण, दायित्व सवा २७ खर्ब


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा १ खर्ब ८४ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिएको छ।
  • असोज मसान्तसम्म कुल सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ, जुन जीडीपीको ४४.६१ प्रतिशत हो।
  • सरकारले चालु आवमा ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ र असोजसम्म १६.९३ प्रतिशत मात्र उठाएको छ।

१३ कात्तिक, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३  पहिलो तीन महिनामै १ खर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण परिचालन गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार असोज मसान्तसम्म १ खर्ब ८४ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण लिइएको हो ।

यससँगै असोज मसान्तसम्म कुल सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड कायम भएको छ । असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड थियो ।

सरकारले यसबीच भुक्तानी गरेको साँवा घटाउँदा तीन महिनामा खुद ऋण दायित्व ५० अर्ब ६० करोड थप भएको छ । अहिले नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत पुगेको छ । यसमा वैदेशिक ऋण हिस्सा ५३.०४ प्रतिशत र आन्तरिक ऋण हिस्सा ४६.९१ प्रतिशत छ ।

कार्यालयका अनुसार असोजसम्म आन्तरिक ऋण १२ खर्ब ७८ अर्ब ७ करोड पुगेको छ । जुन जीडीपीको २०.९३ प्रतिशत हो । वाह्य ऋण १४ खर्ब ४६ अर्ब ५८ करोड पुगेको छ । यो जीडीपीको २३.६९ प्रतिशत हो । यस अवधिमा विनिमय दरमा आएको उतारचढावका कारण नेपालको ऋण दायित्व ४० अर्ब २६ करोडले बढेको छ ।

पहिलो त्रैमाससम्म कति पुग्यो सार्वजनिक ऋण ?

आन्तरिक ऋण : १२ खर्ब ७८ अर्ब ७ करोड

वाह्य ऋण : १४ खर्ब ४६ अर्ब ५८ करोड

कुल : २७ खर्ब २४ अर्ब ६५ करोड

यस वर्ष ६ खर्ब ऋण लिने लक्ष्य

सरकारले यस वर्ष ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण लिने लक्ष्य राखेको छ । यसमध्ये असोज मसान्तसम्म उठाइएको १ खर्ब ८४ करोड रुपैयाँ ऋण लक्ष्यको १६.९३ प्रतिशतमात्र हो ।

यस अवधिमा आन्तरिक ऋण ९० अर्ब रुपैयाँ उठाइसकिएको छ । वाह्य ऋण १० अर्ब ८४ करोड लिइएको छ । यस वर्ष आन्तरिक ऋण कुल ३ खर्ब ६२ अर्ब र वाह्य ऋण २ खर्ब ३३ अर्ब रुपैयाँ हाराहारी लिने लक्ष्य सरकारको छ ।

असोज मसान्तसम्म लिएको ऋणमध्ये आन्तरिक ऋण हिस्सा ८९.२४ प्रतिशत र वाह्य ऋण हिस्सा १०.७६ प्रतिशत छ ।

ऋणको साँवाब्याज भुक्तानीमा १ खर्ब ९ अर्ब खर्च

असोज मसान्तसम्म सरकारले सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ । कार्यालयका अनुसार उक्त अवधिमा आन्तरिक ऋणको साँवाब्याज भुक्तानीमा ९६ अर्ब ४१ करोड र वाह्य ऋणको साँवाब्याज भुक्तानीमा १३ अर्ब ४७ करोड खर्च भएको छ ।

आन्तरिक ऋणको साँवा भुक्तानीमा ८० अर्ब १५ करोड र ब्याज भुक्तानीमा १६ अर्ब २६ करोड खर्च भएको तथ्यांक छ । वाह्य ऋणको साँवा भुक्तानीमा १० अर्ब ३५ करोड र ब्याज भुक्तानीमा ३ अर्ब १२ करोड खर्च भएको छ । कुल साँवा खर्च ९० अर्ब ५० करोड र ब्याज खर्च १९ अर्ब ३८ करोड भएको कार्यालयको तथ्यांक छ ।

यस वर्ष सरकारले साँवा ब्याज भुक्तानीमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेको छ । असोजसम्मको खर्च २६.७४ प्रतिशत छ । एक वर्षमा सरकारले सार्वजनिक ऋणको साँवा भुक्तानीमा ३ खर्ब २ अर्ब खर्च गर्ने लक्ष्य राखेको छ ।

कुन महिनामा कति लिइयो ऋण ?

साउन : ४४ अर्ब ६६ करोड

भदौ : ३६ अर्ब १३ करोड

असोज : २० अर्ब ४ करोड

ऋण लिएर साधारण खर्च धान्नुपर्ने बाध्यतामा सरकार

पहिलो त्रैमासिक तथ्यांक अनुसार राज्य यतिबेला राजस्वबाट साधारण खर्चसम्म धान्न नसक्ने अवस्थामा देखिन्छ । असोज मसान्तसम्म राजस्व २ खर्ब ४९ अर्बमात्र उठेको छ । साधारण खर्च २ खर्ब ५६ अर्ब ८० करोड भएको छ । यसरी हेर्दा तलबभत्ता तथा सामाजिक सुरक्षा र अनुदान भुक्तानीको खर्च समेत राजस्वले धान्न नसक्ने अवस्था आएको छ ।

यसका लागि सरकारले ऋण काडेर जोहो गर्नुपरेको छ । यसबाहेक ऋणको साँवाब्याज भुक्तानी र विकास खर्चमा समेत पुन: ऋण नै लिनुपर्ने अवस्था आएको छ ।

नेपालजस्ता देशमा सार्वजनिक ऋण लिन आवश्यक रहे पनि यसको सही सदुपयोगमा विज्ञले जोड दिँदै आएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नेपालमा २०७३/७४ देखि २०८०/८१ बीचमा सार्वजनिक ऋणको वृद्धिदर औसत १९ प्रतिशत थियो ।

यस अवधिमा आन्तरिक ऋण वृद्धिदर २२.९ प्रतिशत भएको छ । वाह्य ऋण वृद्धिदर औसत १६.२ प्रतिशत छ । २०७६/७७ को एक वर्षमा मात्र ऋण ३६.७ प्रतिशत बढेको थियो ।

आव २०७३/७४ मा सार्वजनिक ऋण जीडीपीको २२.७ प्रतिशत रहेकोमा २०८१/८२ सम्म ४३.७१ प्रतिशत पुगेको छ । २०७२/७३ मा ६ खर्ब २३ अर्बमात्र रहेको सार्वजनिक ऋण पछिल्लो एक दशकमा चार गुणाले वृद्धि भएको देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण, संघीयता कार्यान्वयन र कोभिड–१९ को समयमा बढेको स्वास्थ्य खर्चका कारण सार्वजनिक ऋण ह्वात्तै बढेको देखिन्छ । त्यसयता आन्तरिक राजस्व अपेक्षित बढ्न नसक्दा राज्य सञ्चालनका लागि ऋणमा अधिक भर पर्नु परेको छ ।

अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन अनुसार सार्वजनिक ऋण संरचना मात्रा बढे अनुसार जीडीपी र राजस्व परिचालन बढ्न नसक्दा साँवाब्याज भुक्तानी अनुपात बढ्दै गएको हो ।

प्रतिवेदन तयार पार्न संयोजकको भूमिकामा रहेका रामेश्वर खनाल यतिबेला अर्थ मन्त्रालयको नेतृत्वमा छन् । उनी स्वयंले बनाएको प्रतिवेदनमा छ, ‘सार्वजनिक ऋणको सही सदुपयोग नगर्ने हो भने र प्रतिफल नहुने हो भने देश ऋणको जालोमा पर्ने सम्भावना बढ्दै जाने छ ।’

प्रतिवेदन अनुसार साँवाब्याज भुक्तानी दायित्व बढ्दै जाँदा शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता सरकारले गर्नुपर्ने अत्यावश्यक कामका लागि बजेट अभाव हुने गरेको छ । सोहीकारण सरकारी निकाय र विज्ञले ऋण परिचालन पूँजी निर्माण हुने क्षेत्रमा गर्न सुझाव दिइरहेका छन् ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समेत यसमा चिन्ता जनाएको छ । आयोगले चालु आव २०८२/८३ का लागि सरकारलाई गरेको सिफारिसमा भनेको छ, ‘चालु र प्रशासनिक खर्चमा कडाइसाथ निषेध गर्नुपर्छ ।’

आयोगले आयोजनाको लागत लाभ विश्लेषण, खुद वर्तमान मूल्य र आन्तरिक प्रतिफल दर विश्लेषण गरी प्रचलिन पूँजीको लागतभन्दा वित्तीय आन्तरिक प्रतिफल दर बढी भएका नाफामूलक आयोजना र आर्थिक आन्तरिक प्रतिफल दर बढी भएका सामाजिक क्षेत्रमा मात्र आन्तरिक ऋण उपयोग गर्न भनेको छ ।

आयोगले उत्पादन वृद्धि, आय वृद्धि, पूर्वाधार विकास र पूँजी निर्माण हुने खालका पूर्वतयारी सम्पन्न भएका आयोजना/परियोजनामा मात्र आन्तरिक ऋण परिचालन गर्न भनेको छ ।

प्रदेश र स्थानीय सरकारले आन्तरिक ऋण उठाउने हो भने यसलाई बजेटको स्रोतका रूपमा राख्नुपर्ने समेत आयोगको सुझाव छ । सरकारले बजेट तर्जुमा गर्दा आयोजना/कार्यक्रमको स्रोतगत विवरण खण्डमा अनिवार्य आन्तरिक ऋण राख्नुपर्ने समेत आयोगको सुझावमा उल्लेख छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More