― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeअन्तर्राष्ट्रियट्युनिसियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ४० जनाको मृत्यु

ट्युनिसियामा आप्रवासी सवार डुंगा दुर्घटना हुँदा ४० जनाको मृत्यु



काठमाडौं । ट्युनिसियामा एक डुंगा दुर्घटना हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) का अनुसार, ट्युनिसियाको सालाक्टा गाउँबाट छुटेको डुंगा केहीबेरमै पल्टिएको थियो । त्यसमा सवार ९ महिला, १९ पुरुष र पाँच वर्ष मुनिका १२ बालबालिकाको मृत्यु भएको छ । उनीहरु अफ्रिकी मुलुकका रहेको बताइएको छ ।

उत्तरी अफ्रिकामा शरणार्थी र आश्रय खोज्ने व्यक्तिहरूको अवस्था बिग्रिँदै गएकाले धेरै परिवारहरू जोखिमपूर्ण यात्रामा निस्किरहेका बेला यो दुर्घटना भएको हो ।

नजिकै रहेको एक माछा मार्ने डुङ्गाबाट सूचना प्राप्त भएपछि ३० जनालाई जिउँदै उद्धार गरिएको थियो । उद्धार भएका मानिसहरूमा क्यामरून, आइभरी कोस्ट र गिनीका नागरिकहरु छन् ।

आईओएमका अनुसार यो दुर्घटना यस वर्ष उत्तरी अफ्रिकी तटमा भएका सबैभन्दा घातक समुद्री घटनामध्ये एक हो ।

‘यो दुर्घटनाले मध्य भूमध्यसागरीय मार्गमा थप जनधनको क्षति रोक्नका लागि तत्काल समन्वित कार्यको आवश्यकता देखाएको छ,’ आईओएमले भनेको छ ।

मृत्यु र बेपत्ता हुने क्रम

आईओएमको ‘बेपत्ता आप्रवासी परियोजना’ का अनुसार, यो वर्ष मुख्य मार्गमा झण्डै एक हजार जनाको मृत्यु र बेपत्ता हुने घटना दर्ता भइसकेका छन् ।

सन् २०१४ देखि हालसम्म उत्तरी अफ्रिकाबाट युरोप पुग्ने प्रयासमा २५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ, जसलेगर्दा यो मार्गलाई विश्वकै सबैभन्दा घातक रुपमा चित्रित गरिएको छ ।

हालैको यो दुर्घटनासँगै, भूमध्यसागरीय क्षेत्रमा बेपत्ता भएका मानिसहरूको कुल संख्या ३२ हजार ८ सयभन्दा बढी पुगेको आईओएमले जनाएको छ ।

सबैभन्दा बढी प्रभावमा बालबालिका परेका छन् । आईओएमका अनुसार, केवल २०२५ सालमै ट्युनिसियाको तटमा कम्तीमा ३० जनाको मृत्यु भइसकेको छ, जबकि सन् २०२४ मा यो संख्या २२ थियो ।

युद्ध र संकटका कारण बाध्य

छिमेकी देश लिबियामा कडा नियन्त्रण र बढ्दो असुरक्षाका कारण, इटाली पुग्न चाहने व्यक्तिहरूका लागि ट्युनिसिया हाल प्रमुख प्रस्थान बिन्दु बनेको छ ।

संयुक्त राष्ट्र शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) का अनुसार, ट्युनिसियामा हाल १० हजार ६ सयभन्दा बढी दर्ता भएका शरणार्थी र आश्रय खोज्ने व्यक्ति छन्, जसमा ८६ प्रतिशत मानिस युद्ध वा हिंसाबाट प्रभावित देशबाट आएका छन् ।

तीमध्ये धेरैजना यातना, लैंगिक हिंसा वा परिवारबाट छुट्टिएको अवस्थाबाट बाँचेर आएका छन् । आवश्यक सेवाहरूमा पहुँच सीमित हुँदै जाँदा सुरक्षा जोखिम अझै बढेको छ, जसले गर्दा कतिपयले जोखिमपूर्ण समुद्री यात्राको प्रयास गरेका छन् ।

आईओएमले सुरक्षित र नियमित प्रवास मार्गहरू विस्तार गर्न आह्वान गरेको छ । उसले भनेको छ– प्रमुख प्रवास मार्ग भएका देशहरूले आपसी समन्वय मजबुत गर्नुपर्छ र मानवीय सिद्धान्तले नै उनीहरूको कार्यलाई निर्देशित गर्नुपर्छ ।





Read More