― Advertisement ―

एप्पल प्रयोगकर्ताहरूले डरलाग्दो iCloud मेटाउने इमेलहरू प्राप्त गर्दैछन्, र वास्तविक खतरा सुरु हुन्छ जब तपाइँ नक्कली अपग्रेड लिङ्क क्लिक गर्नुहुन्छ

खतरनाक रूपमा एप्पलले क्लाउडमा इमेल थिचेर नक्कली प्रेस गर्ने प्रयोगकर्ताहरू छन्। क्लिकहरूiCloud अलर्टहरूमा खराब व्याकरण धोखाधडीको स्पष्ट संकेत रहन्छनक्कली iCloud अपग्रेड लिङ्कहरू क्लिक गर्नाले...
HomeLatest newsटी-२० विश्‍वकपदेखि फिफा विश्वकप र एसियन गेम्ससम्म – KhabarHost

टी-२० विश्‍वकपदेखि फिफा विश्वकप र एसियन गेम्ससम्म – KhabarHost


सन् २०२६ मा विश्व खेलकुदमा फुटबल र क्रिकेटको विश्वकपदेखि मल्टी गेम इभेन्ट लगायत ठूला प्रतियोगिताहरू पनि आयोजना हुनेछन् ।

राष्ट्रिय

समाचार.

  • सन् २०२६ मा नेपालले आईसीसी टी-२० विश्वकप क्रिकेटमा तेस्रो पटक सहभागिता जनाउनेछ र समूह सी मा इंग्ल्याण्ड, वेष्ट इन्डिज, बंगलादेश र इटलीसँग खेल्नेछ।
  • नेपालले सन् २०२६ को सुरुमै आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर आयोजना गर्नेछ, जसमा विश्वका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।
  • २०२६ मा जापानको आइची नागोयामा आयोजना हुने २०औं एसियन गेम्समा नेपालले ३२ खेलमा ४३४ खेलाडीको सहभागिता जनाउने तयारी गरेको छ।

काठमाडौं । यतिबेला अंग्रेजी नयाँ वर्ष २०२६ लाई स्वागत गर्ने बेला भएको छ । खेलकुदमा पनि नयाँ वर्षमा के-कस्ता प्रतियोगिता आयोजना होला भन्ने कौतुहलता सबैलाई छ ।

सन् २०२६ मा विश्व खेलकुदमा फुटबल र क्रिकेटको विश्वकपदेखि मल्टी गेम इभेन्ट लगायत ठूला प्रतियोगिताहरू पनि आयोजना हुनेछन् ।

यस्तै एसियामा एसियाको ओलम्पिक मानिने २०औं एसियन गेम्स पनि यही वर्ष आयोजना हुँदैछ । कमनवेल्थ गेम्स जस्ता मल्टी गेम इभेन्ट पनि यसै वर्ष छ ।

हरेक चार वर्षमा आयोजना हुने फिफा विश्वकप फुटबल र दुई वर्षमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट जस्ता ठूला इभेन्टहरू सहित वार्षिक रुपमा आयोजना हुने अन्य खेलका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताले निरन्तरता पाउनेछन् ।

नेपाली खेलकुदका लागि पनि सन् २०२६ महत्वपूर्ण वर्ष बन्नेछ ।

फिफा विश्वकप खेल्न नसकेपनि नेपालले क्रिकेटको टी-२० विश्वकप भने यही वर्ष खेल्दैछ । नेपालले तेस्रो पटक टी२० विश्वकप खेल्न लागेको हो । यस्तै एसियन गेम्सका पनि नेपालबाट विभिन्न खेलले सहभागिता जनाउने र पदक जित्ने लक्ष्य राखेको छ ।

क्रिकेट विश्वकप खेल्ने नेपालले वर्ष २०२६ मा फुटबलमा भने साफ च्याम्पियनसिप मात्र खेल्ने तालिका छ । २०२६ मा नेपालले सहभागिता जनाउने विश्वकप देखि ठूला खेल प्रतियोगिताहरू यस प्रकार छन् ।

आईसीसी टी-२० विश्वकप

आईसीसी टी-२० विश्वकपको दशौं संस्करण भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म आयोजना हुँदैछ । जसमा नेपालसहित कूल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । टी-२० विश्वकपमा एसोसिएट राष्ट्रहरूले पनि टेष्ट राष्ट्रहरूसँग खेल्ने पाउने भएकोले साना राष्ट्र र नेपाल जस्ता उदाउँदै गरेको राष्ट्रको लागि पनि महत्वपूर्ण हुनेछ ।

नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले सन् २०१४ मा बंगलादेशमा टी२० विश्वकप खेल्दै विश्वकपमा डेब्यु गरेको थियो । यस्तै गत वर्ष नेपालले अमेरिका र वेष्ट यन्डिजमा भएको टी२० विश्वकप खेलेको थियो ।

विश्वकपमा नेपाल समूह सी मा छ । जहाँ नेपालले तीन टेष्ट राष्ट्र इंग्ल्याण्ड, वेष्ट इन्डिज र बंगलादेशसँगै पहिलो पटक टी२० विश्वकपमा छनोट भएको इटलीसँग समूह चरणमा खेल्नेछ । इंगल्याण्ड र वेष्ट इन्डिज पूर्व विजेता समेत हो । वेष्ट इन्डिज र बंगलादेशसँग नेपालले यसअघि नै टी२० अन्तर्राष्ट्रिय खेल खेलेपनि इंग्ल्याण्ड र र इटलीसँग भने नेपालको पहिलो भेट हुनेछ ।

नेपालले पहिलो खेल नै इंग्ल्याण्डसँग फेब्रुअरी ८ मा खेल्नेछ भने इटलीसँग फेब्रुअरी १२ मा दोस्रो खेल खेल्नेछ । यस्तै वेष्ट इन्डिजसँग फेब्रुअरी १५ र बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले सबै खेल मुम्बईस्थित वान्खडे स्टेडियममा खेल्नेछ ।

टी-२० विश्वकपमा कूल २० राष्ट्र सहभागी छन् र चार समूहमा (५-५ टिम) विभाजन गरिएको छ । समूह चरणको खेलपछि हरेक समूहबाट २-२ टिम सुपर एट चरणमा प्रवेश गर्नेछन् ।

महिला टी२० विश्वकप ग्लोबल क्वालिफायर

वर्ष २०२६ को सुरुमै नेपालले महत्वपूर्ण प्रतियोगिता नै आयोजना गर्दैछ त्यो हो आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर ।

नेपाली महिला क्रिकेटको इतिहासमा यो अहिलेसम्मकै ठुलो प्रतियोगिता हुनेछ । नेपालले आयोजना गर्न लागेको पनि यो ठूलो क्रिकेट प्रतियोगिता हो । यसअघि नेपालमा पुरुष टी-२० विश्वकपको एसिया क्षेत्रिय छनोट आयोजना भएको थियो । तर कुनै पनि विश्वकपको लागि ग्लोबल क्वालिफायर नै आयोजना हुन लागेको यो पहिलो पटक हो ।

सन् २०२६ मै इंग्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी-२० विश्वकपमा छनोट हुने माध्यम पनि यही महिला टी-२० ग्लोबल क्वालिफायर नै हो । जहाँ नेपालसहित विश्वका १० राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालको महिला टिमले एसिया क्षेत्र छनोटको शीर्ष दुईमा रहँदै पहिलो पटक ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो ।

यस क्वालिफायरको खेलहरू कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र माथिल्लो मुलपानी क्रिकेट मैदानमा खेलाइनेछ ।

ग्लोबल क्वालिफायरमा बंगलादेश, आयरल्याण्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका समूह ए मा छन् भने आयोजक नेपालहसित नेदरल्याण्ड्स, स्कटल्याण्ड, थाइल्याण्ड र जिम्बाव्वे समूह बी मा छन् ।

नेपालले पहिलो खेल थाइल्याण्डसँग जनवरी १८ मा मुलपानीमा खेल्नेछ । त्यसपछि नेपालले जनवरी २२ मा मुलपानीमै नेदरल्याण्ड्ससँग खेल्नेछ भने जनवरी २४ मा जिम्बाव्वे र जनवरी २६ मा स्कटल्याण्डसँग टीयू स्टेडियममा खेल्नेछ ।

समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष ३-३ टोली सुपर सिक्स चरणमा पुग्नेछन् । सुपर सिक्समा हरेक टिमले अर्को समूहका तीन टिमसँग खेल्नेछ । सुपर सिक्समा शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् र आईसीसी महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

आईची नागोया एसियन गेम्स

वर्ष २०२६ मा नेपालले खेल्ने ठूलो खेल मेलाको रुपमा २०औं एसियन गेम्स रहने छ ।

 

जापानको आइची नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुने २०औं आइची नागोया एसियन गेम्समा नेपालले सहभागिता जनाउनेछ ।

एसियन गेम्समा स्वर्ण पदकसहित दोहोरो संख्यामा पदक जित्ने लक्ष्यका साथ मिसन २०२६ अन्तर्गत विभिन्न खेलका विशेष प्रशिक्षण सञ्चालन भइरहेको छ ।

पछिल्लो समय नेपालमा ओलम्पिक कमिटीको विषयमा विवाद हुँदा नेपालले कति खेलमा कति खेलाडी सहभागि गराउने भन्ने अन्योल कायमै रहँदा नेपालबाट ३२ खेल एसियन गेम्समा दर्ता भएको छ ।

सुरुमा जीवनराम श्रेष्ठ मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी र सरकारको तर्फबाट युवा तथा खेलकुद मन्त्रालयले छुट्टा छुट्टै खेलको सूची दर्ता गराएका थिए ।

तर २०औं एसियन गेम्स आयोजक कमिटीले सरकारले पठएको सूची दर्ता गरेन भने जीवनराम श्रेष्ठ नेतृत्वको कमिटीले पठाएको खेललाई दर्ता गरेको थियो ।

त्यसपछि श्रेष्ठ नेतृत्वकै कमिटीले फुटबल र तेक्वान्दो थप गर्दै ३२ खेलमा पुरुषतर्फ २३९ र महिलातर्फ १९५ खेलाडी गरी कूल ४३४ खेलाडीको नाम दर्ता गराएको छ । यही खेल र खेलाडीबाटै नेपालबाट सहभागी हुने अन्तिम टोलीको टुङ्गो लाग्नेछ ।

जेनजी आन्दोलनपछि बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बने । उनै गुप्ताको अध्यक्षतामा बनेको राखेपको १२४औं बोर्ड बैठकले पनि २०औं एसियन गेम्समा सहभागी हुने निर्णय गरेको छ । तर बैठकले कुन मोडालिटीमा खेलाडी सहभागी हुने, जीवनराम श्रेष्ठ नेतृत्वकै कमिटीले पठाएको खेल र खेलाडीको नाम सदर गर्ने/नगर्ने विषयमा कुनै निर्णय गरेको छैन ।

श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीको सोमबार सम्पन्न वार्षिक साधारण सभाले राखेपको बोर्ड बैठकले एसियन गेम्समा सहभागि हुने निर्णय गर्नु सकारात्मक भएको तर त्यसका लागि ओलम्पिक कमिटीसँगै समन्वय गर्नुपर्ने बताए ।

विन्टर ओलम्पिक / विन्टर पारालिम्पिक

विन्टर ओलम्पिक र विन्टर पारालिम्पिक पनि सन् २०२६ मै आयोजना हुँदैछ । विन्टर ओलम्पिक यस वर्ष फेब्रुअरी ६ देखि २२ सम्म इटलीको मिलान एण्ड कोर्टिना डी, एम्पेजोमा आयोजना हुँदैछ ।

जहाँ हिउँमा खेलिन्ने विभिन्न १६ खेल समावेश छन् । विश्वका ९० राष्ट्रबाट करिब ३ हजार खेलाडीले विन्टर ओलम्पिकमा भाग लिने अनुमान छ ।

नेपालबाट भने अहिलेसम्म कुन खेलमा कुन खेलाडीले भाग लिने तय भएको छैन । विन्टर ओलम्पिक खेल्नका लागि छनोट हुनुपर्ने भएकोले नेपालबाट अहिलेसम्म कुनै पनि खेलाडी छनोट भएका भने छैनन् ।

यसैगरी इटलीमै मार्च ६ देखि १५ सम्म विन्टर पारालिम्पिक पनि आयोजना हुँदैछ । जहाँ विभिन्न ६ पारा खेल समावेश हुनेछ ।

एसियन बिच गेम्स

छैटौं एसियन बिच गेम्स पनि यही वर्ष हुँदैछ । एसियन बिच गेम्स अप्रिल २२ देखि ३० सम्म चीनको सान्यामा आयोजना हुनेछ । जहाँ विभिन्न १४ खेलमा प्रतिस्पर्धा गराइनेछ ।

एसियन बिच गेम्समा ओलम्पिक काउन्सिल अफ एसियाका ४५ वटै सदस्य राष्ट्रले सहभागिता जनाउने अपेक्षा छ ।

सन् २००८ मा इन्डोनेसियाको बालीमा पहिलो संस्करण आयोजना भएको एसियन बिच गेम्सको हरेक दुई-दुई वर्षको अन्तरमा आयोजना भएको थियो । सन् २०१६ मा पाँचौ संस्करण बयोजना भएपनि भने एसियन बिच गेम्स आयोजना हुन सकेको छैन ।

कोभिड महामारीले गर्दा २०२० मा तय भएको एसियन बिच गेम्स आयोजना हुन सकेन । एक दशकको ब्रेकपछि एसियन बिच गेम्स आयोजना हुन लागेको हो ।

सान्या एसियन बिच गेम्स आयोजना गर्ने चीनको दोस्रो शहर बन्नेछ । यसअघि सन् २०१२ मा चीनको हाईयाङमा एसियन बिच गेम्स आयोजना भएको थियो ।

यसैगरी एसियन इन्डोर एण्ड मार्सल आर्ट्स गेम्स पनि सन् २००६ मै आयोजना हुँदैछ । सन् २०२१ मा थाइल्याण्डको चोनबुरीमा एसियन इन्डोर गेम्स हुने भनिएपनि कोभिड महामारीका कारण रद्द भएको थियो ।

यस पटक साउदी अरेबियामा हुने घोषणा भएपनि आधिकारिक मिति भने आइसकेको छैन ।

नेपालले एसियन बिच गेम्स र एसियन इन्डोर एण्ड मार्सल आर्ट्स गेम्स दुवैमा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

डाकार युथ ओलम्पिक्स २०२६

यस वर्ष युथ ओलम्पिक खेलकुद पनि आयोजना हुँदैछ । अफ्रिकी राष्ट्र सेनेगलमा डाकार युथ ओलम्पिक २०२६ अक्टोर ३१ देखि नोभेम्बर १३ सम्म आयोजना हुँदैछ ।

नेपाल ओलम्पिक कमिटीले डाकार युथ ओलम्पिक्समा पनि नेपालले सहभागिता जनाउने जनाएको छ ।

सन् २०१० मा सिंगापुरबाट सुरु भएको युथ ओलम्पिक गेम्सको चौथो संस्करण सेनेगलमा हुन लागेको हो । दोस्रो संस्करण चीनको नान्जिङ र तेस्रो संस्करण अर्जेन्टिनाको ब्युनस आयर्समा २०१९ मा आयोजना भएको थियो ।

चौथो संस्करण सन् २०२२ मा आयोजना हुने तय भएपनि कोभिड महामारीले गर्दा स्थगित भएको थियो ।

नेपालले खेल्ने अन्य क्रिकेट, फुटबल र भलिबल प्रतियोगिता/सिरिजहरू

सन् २०२६ मा नेपाली पुरुष टिमले टी-२० विश्वकप क्रिकेट खेल्ने पक्का छ नै । एकदिवसीय विश्वकपको आधारको रुपमा रहेको आईसीसी टी२० विश्वकप लिग टु अन्तर्गतका बाँकी चार सिरिजहरू पनि खेल्नेछ । त्यसमा दुई त्रिकोणात्मक सिरिज नेपालले आफैं आयोजना गर्ने तालिका छ भने दुई सिरिज नेपालले बाहिर गएर खेल्नुपर्नेछ ।

सन् २०२४-२६ को लिग टु साइकलमा नेपालसहित एसोसिएट राष्ट्रका ८ टोली सहभागी छन् । लिग टु आधाभन्दा बढी सिरिज भइसक्दा नेपालको प्रदर्शन कमजोर देखिएको छ ।

अमेरिका २४ खेलबाट ३६ अंक जोडेर शीर्ष स्थानमा रहँदा समान खेलबाट स्कटल्याण्ड ३० अंकसहित दोस्रो र नेदरल्याण्ड्स २८ अंकका साथ तेस्रो स्थानमा छ ।

२० खेल खेलेको नेपाल भने जम्मा ५ खेल मात्र जित्दै १२ अंकसहित सातौं स्थानमा छ ।

लिग टु मा शीर्ष चारमा रहने टोली सिधै एकदिवसीय विश्वकपको लागि क्वालिफायरमा पुग्नेछ भने बटमको चार टिमले क्वालिफायर प्लेअफ खेल्नेछ ।

विश्वकपमा छनोट हुने आधारसँगै वानडे स्ट्याटस कायम राख्न समेत लिग टुका खेलहरू महत्वपूर्ण रहेकोले नेपालले बाँकी रहेका सिरिजहरूमा प्रदर्शनमा सुधार गर्नुपर्ने चुनौती छ ।

फुटबल

यस्तै फुटबलतर्फ भने नेपालको अवस्था क्रिकेट भन्दा ठिक उल्टो छ । घरेलु लिग हुनै मुस्किल भइरहेको अवस्था नेपाल एसियन कप छनोटको होडबाट बाहिरिसकेको छ । यस्तै नेपालको लागि दक्षिण एसियाका टिमहरूबीच प्रतिस्पर्धा हुने साफ च्याम्पियनसिप जित्नु नै ठूलो चुनौती बनिसकेको छ । नेपालले अहिलेसम्म साफ जित्न सकेको छैन ।

पुरुष र महिला दुवैको साफ च्याम्पियनसिप यही वर्ष २०२६ मा आयोजना हुने तय छ । साफ महिला च्याम्पियनसिप जुन-जुलाईतिर भारतमा आयोजना हुने तयारी छ ।

यस्तै साफ च्याम्पियनसिप भने कुन मोडलमा कुन देशमा आयोजना हुने अहिलेसम्म टुङ्गो छैन । यसअघि श्रीलंकामा साफ च्याम्पियनसिप आयोजना गर्ने तयारी भएपनि हुन सकेन ।

यस्तै त्यसपछि होम अर अवेको अवधारणमा पुरुक्षको साफ च्याम्पियनसिप गर्ने साफले घोषणा गरेको थियो । तर त्यो फर्म्याटमा पनि हुने सम्भावना कमजोर बनेपछि अब साफ च्याम्पियनसिप २०२६ सेप्टेम्बर-अक्टोबरतिर गर्ने तयारी छ । अब ‘सेन्ट्रलाइज्ड भेन्यू’मा हुनेछ भने सम्भवत बंगलादेशले पुरुष साफ आयोजना गर्नेछ । यद्यपी यसको आधिकारिक रुपमा घोषणा हुन भने बाँकी नै छ ।

यस बाहेक उमेर समूहका महिला र पुरुषको साफ च्याम्पियनसिपका केही प्रतियोगिता पनि यस वर्ष हुनेछ ।

२०२६ को फेब्रुअरीमा साफ यू-१९ महिला च्याम्पियनसिप पोखरामा गर्ने तयारी भइरहेको छ ।

काभा क्लब भलिबल माल्दिभ्समा

भलिबलमा वर्षको सुरुमा नेपालको पुलिस क्लबले काभा महिला क्लब च्याम्पियनसिप खेल्दैछ । काभा महिला च्याम्पियन्स लिग फेब्रुअरीमा माल्दिभ्सको मालेमा हुनेछ ।

यसअघि यो च्याम्पियनसिप डिसेम्बरमा काठमाडौंमै आयोजना हुने तालिका थियो। तर जेन्जी आन्दोलनका कारण नेपालमा हुने अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरू प्रभावित बन्यो ।

जसको फलस्वरुप काभा महिला च्याम्पियनसिप र काभा महिला च्याम्पियन्स लिग भलिबल नेपालमा हुन सकेन ।

महिला टी-२० विश्वकप

आईसीसी महिला टी२० विश्वकप पनि यही वर्ष इंग्ल्याण्डमा आयोजना हुँदैछ । जुन१२ देखि जुलाई ५ सम्म आयोजना हुने महिला टी२० विश्वकपमा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

जहाँ ८ टोली यसअघि नै सिधै छनोट भइसकेका छन् भने बाँकी चार टोलीको टुङ्गो नेपालमा हुने ग्लोबल क्वालिफायरबाट लाग्नेछ । यदी नेपाल ग्लोबल क्वालिफायरको शीर्ष चारमा पुग्न सकेमा पहिलो पटक महिला विश्वकपमा पुग्नेछ ।

आयोजक इंग्ल्याण्डसँगै अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इन्डिज सन् २०२४ मा भएको विश्वकपका आधारमा स्वत छनोट हुँदा पाकिस्तान र श्रीलंका उच्च वरियतामा आधारमा छनोट भएका हुन् ।

फिफा विश्वकप फुटबल

वर्ष २०२६ को सबैभन्दा ठूलो खेलमेला भनेकै फिफा विश्वकप हो । विश्व खेलकुदको राजा मानिने फुटबलको विश्वकप हरेक चार-चार वर्षमा आयोजना हुने गर्छ ।

यस पटक अहिलेसम्मकै धेरै राष्ट्र सहभागी र अहिलेसम्मकै ठूलो फिफा विश्वकप हुँदैछ । उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने २३औं संस्करणको यस विश्वकपमा विश्वभरका ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो पटक तीन राष्ट्रले फिफा विश्वकप आयोजना गर्न लागेका हुन् । यस्तै विश्वकपमा अहिलेसम्मकै सबैभन्दा धेरै ४८ राष्ट्रले सहभागिता जनाउन लागेका हुन् ।

जुन ११ देखि जुलाई १९ सम्म तीन राष्ट्रका विभिन्न १६ भेन्युमा विश्वकपका खेलहरू आयोजना हुनेछन् । जोर्डन, केप भर्डे र कुराकाओ पहिलो पटक विश्वकपमा छनोट भएका छन् ।

कमनवेल्थ गेम्स

मल्टी स्पोर्ट्स इभेन्ट कमनवेल्थ गेम्स पनि यही वर्ष आयोजना हुँदैछ । कुनै समयमा बेलायतको उपनिवेशमा रहेका राष्ट्रहरू सहभागि हुने खेलकुद मेला हो कमनवेल्थ गेम्स ।

यस पटक कमनवेल्थ गेम्स स्कटल्याण्डको ग्लास्गोमा जुलाई २३ देखि अगष्ट २ सम्म आयोजना हुनेछ ।

जसमा कमनवेल्थ गेम्स एसोसिएसन अन्तर्गत रहेका ७४ राष्ट्रले भाग लिनेछन् । यसमा १० खेलको २१५ इभेन्स समावेश हुनेछ भने करिब ३ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

***

क्रिकेट र फुटबल बाहेक पनि वर्ष २०२६ मा अन्य विभिन्न खेलका ठूला प्रतियोगिताहरू आयोजना हुनेछन् । हरेक खेलको वार्षिक क्यालेन्डर अनुसारको विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता यस वर्ष पनि आयोजना हुनेछ ।

विश्वकप बाहेक चर्चित फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल), टेनिसका चर्चित चार ग्राण्डस्लाम जस्ता ग्ल्यामरस खेल प्रतियोगिताहरू पनि यस वर्ष हुनेछन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More