― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsजेनजी प्रदर्शनदेखि दलाई लामा उत्तराधिकारीसम्म – KhabarHost

जेनजी प्रदर्शनदेखि दलाई लामा उत्तराधिकारीसम्म – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालमा चीन र अमेरिका बीचको प्रतिस्पर्धा नेकपा नेतृत्वको सरकारको समयमा एमसीसी र बीआरआई परियोजनामा उत्कर्षमा पुगेको थियो।
  • दलाई लामाको उत्तराधिकारी चयनमा नेपालले संवेदनशील भूमिका खेल्ने भएकाले चीन र अमेरिकाबीच भू–राजनीतिक दबाब बढेको छ।
  • बीआरआई परियोजना कार्यान्वयनमा प्रगति कम भए पनि नेपाल–चीन सम्बन्ध सुदृढ पार्न विभिन्न पूर्वाधार परियोजनामा सहमति भएका छन्।

नेपालमा चीन र अमेरिका बीचको प्रतिस्पर्धा नेकपा (नेपाल कम्युनिस्ट पार्टी) ले सरकारको नेतृत्व गरेको समयमा उत्कर्षमा पुगेको थियो । तत्कालीन सभामुख कृष्णबहादुर महराले संसदबाट एमसीसी पास हुन नदिएको आरोप तत्कालीन प्रधानमन्त्री केपी ओलीले लगाएका थिए । याद गरौं त्यसबेला उनीहरू एउटै पार्टीभित्र थिए ।

बलात्कार अभियोग खेपेसँगै सभामुख महराले राजीनामा दिएका थिए । पछि उनी गिरफ्तार समेत भए । त्यसै बेलामा एमसीसीको चरम विवादले नेकपा ध्रुवीकरण हुँदै विभाजनको सँघारमा पुगेको थियो ।

नेकपाभित्र बीआरआईको समर्थन र एमसीसीको आलोचना एकैपल्ट जस्तो भएको थियो । यद्यपि नेकपा विभाजनमा अरू फ्याक्टरहरू पनि छन् । र, यता चीनसँग असाध्यै निकट मानिएका महरा पटक–पटक भ्रष्टाचारको मुद्दामा छानबिनमा परिरहेका छन् । महराका आफ्नै गतिविधि, अनि त्यसमा हुने स्वाभाविक अनुसन्धान आफ्ना ठाउँमा छन्, तर सँगसँगै गणतान्त्रिक नेपालमा चीन र अमेरिका बीच एमसीसी प्रकरणमा देखिएको यो प्रतिस्पर्धालाई पहिलो अध्याय मान्न सकिन्छ ।

यस अवधिमा संसदबाट एमसीसी पास हुनुअघि चीन र अमेरिका बीच जुहारी नै चल्यो । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पास नभए चीनको दबाबमा रोकिएको ठान्ने जनाउ दिंदै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी प्रचण्डलाई दबाब दिएको सार्वजनिक हुनासाथ चीनको प्रतिक्रिया झन् कडा रूपमा आएको थियो । चीनले त्यसलाई अमेरिकाको बलजफ्ती कूटनीति भन्दै एमसीसी सम्झौतालाई ‘प्यान्डोराको बाकस’को उपमा दियो । एमसीसीको सन्दर्भमा चीनले गत २०२२ को फेब्रुअरीको १० दिनभित्र चारपटक प्रतिक्रिया दिएको थियो ।

२०८१ साल मंसिर १९ गते बेइजिङमा चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयनका लागि ‘फ्रेमवर्क फर बेल्ट एण्ड रोड को–अपरेसन’मा हस्ताक्षर भएदेखि चीन र अमेरिका बीच नेपालमा दोस्रो प्रतिस्पर्धाको अध्याय शुरु भएको मान्न सकिन्छ । योसँगै चीनको स्वशासित क्षेत्र तिब्बतबाट सन् १९५९ मा विद्रोह गरी भारतको हिमाचल प्रदेशको धर्मशालाबाट निर्वासित सरकार चलाइरहेका दलाई लामाको उत्तराधिकारी छनोटको बहस पनि यही अध्यायमा आएर जोडिएको छ ।

गत जुलाई ६ मा ९० वर्ष पुगेको अवसरमा दलाई लामाले आफ्नो उत्तराधिकारी चीन बाहिर हुने उद्घोष गरिसकेका छन् । लामाको उत्तराधिकारी छनोटमा अप्रत्यक्ष रूपमा नेपालको भूमिका महत्वपूर्ण हुने ठानिएको छ ।

जेनजी प्रदर्शनमा तिब्बती युवाहरूले तिब्बतियन ओरिजनल ब्लड (टीओबी)को व्यानरमा भाग लिएका थिए । अहिले त्यसको नेता तेन्जिङ दावा लामा नक्कली नागरिकता प्रकरणमा प्रहरीको छानबिनमा छन् ।

 

बीआरआई चीनको प्रभाव विस्तार गर्ने माध्यम हो भने दलाई लामा फ्याक्टर चीनको स्वशासित क्षेत्र तिब्बतको सुरक्षा र सार्वभौमसत्तासँग जोडिएको प्रश्न हो । चीन र अमेरिका बीच देखिएको प्रतिस्पर्धाले एमसीसी संसदबाट पास हुने समयमा जस्तै बीआरआई परियोजना कार्यान्वयनमा अवरोध मात्र ल्याएको छैन, नजानिंदो गरी नेपाली राजनीतिमा खम्पा विद्रोहपछि पुन: दलाई लामा र निर्वासित तिब्बतीहरूको विषय केन्द्र भागमा प्रवेश गर्न थालेको छ ।

इतिहासदेखि हेर्दा तिब्बतमा प्रभाव पार्ने ठाउँहरूमा बेइजिङ र काठमाडौं हुन् । भीम मल्लदेखि सन् १९०३ को चन्द्रशमशेरको पालासम्म नेपालको तिब्बतमाथि एकप्रकारले प्रभाव र दबाब दुवै थियो । आधुनिक नेपालको इतिहासमा तिब्बतसँग भएका मुख्य तीन युद्धहरूमा दोस्रो पटक वि.सं. १८४९ मा त नेपालले चिनियाँ सेनासँग युद्ध गर्नुपरेको थियो ।

यसरी हेर्दा इतिहासदेखि तिब्बतमाथि प्रभाव पार्ने ठाउँ काठमाडौं पटक–पटक ‘स्वतन्त्र तिब्बत’का गतिविधि बढाउने केन्द्रका रूपमा स्थापित भएको पाइन्छ ।

‘स्वतन्त्र तिब्बत’ गतिविधिको केन्द्रमा नेपाल

करिब एक लाख तिब्बती शरणार्थी अहिले भारतमा निर्वासित जीवन बिताइरहेका छन् । गृह मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा भने १२ हजार ५०० तिब्बतीहरूसँग शरणार्थी परिचयपत्र छ । नेपाली नागरिकता लिएका र नलिएका गरी करिब २० हजार तिब्बतीहरू नेपालमा बसोबास गरिरहेको सरकारी आँकडा छ । विभिन्न अमेरिकी नीतिगत कागजातहरू हेर्दा दलाई लामाको भारतमा निर्वासनपछि हिमालय क्षेत्रका बर्मादेखि भुटान, नेपाल, भारतहुँदै अफगानिस्तानसम्म—चीनको प्रभाव विस्तार हुन नदिई दलाई लामाको सांस्कृतिक र राजनीतिक प्रभाव मार्फत चीनलाई सन्तुलित राख्ने प्रयास भारत र अमेरिकाले संयुक्त रूपमा अघि सारेको पाइन्छ ।

दलाई लामाले भारतमा आश्रय लिएपछि नेपाल समय–समयमा ‘स्वतन्त्र तिब्बत’ अभियानको केन्द्रविन्दु हुँदै आएको छ । १९७० को दशकमा मुस्ताङलाई आधार बनाएर अमेरिकी र भारतीय सहयोगमा तिब्बती ‘खम्पा’ समूहले सशस्त्र युद्ध सञ्चालन गरेको इतिहास छ । तर सन् १९७१ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको बेइजिङ भ्रमणपछि अमेरिका–चीन सम्बन्ध सुधार भएसँगै अमेरिकाले खम्पा विद्रोहीहरूलाई दिइरहेको तालिम, हतियार र खाद्यान्न सहयोग रोकियो । खासगरी सोभियत संघलाई एक्ल्याउन अमेरिकाले त्यसरी चीनसँग सहकार्य शुरु गरेको थियो । त्यसपछि राजा वीरेन्द्रको चीन भ्रमणका क्रममा माओ जेदोंग र चाउ एन–लाईसँगको सहमति अनुसार खम्पा विद्रोह नियन्त्रण गर्न नेपाली सेना परिचालन गरेका थिए । अमेरिका–चीन सहकार्य नभएको भए शायद नेपालले त्यो खम्पा विद्रोह त्यति सहज रूपमा नियन्त्रण गर्न सम्भव हुने थिएन ।

चन्द्रलाल गिरी, लेखक ।

खम्पा विद्रोह नियन्त्रणपछि पनि प्रत्येक वर्ष हजारौं तिब्बतीहरू नेपाल हुँदै भारत प्रवेश गर्ने क्रम जारी रह्यो । यही पृष्ठभूमिमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) बीच सन् १९८९ मा ‘भद्र सहमति’ भयो । सो अनुसार नेपालले नयाँ आगन्तुक तिब्बतीहरूलाई शरणार्थीको आधिकारिक मान्यता नदिई उनीहरूलाई भारत जान सहजीकरण गर्ने नीति अपनायो । तर १९९२ पछि नेपालमै जन्मिएका करिब पाँच हजार तिब्बती युवाहरू अझै पनि शरणार्थी परिचयपत्रविहीन छन्, जसका कारण उनीहरूले अध्ययन, व्यवसाय र अन्तर्राष्ट्रिय यात्रा गर्न कठिनाइ भोगिरहेका छन् ।

तिब्बती शरणार्थीहरूले स्वतन्त्र तिब्बतको नारा सहितको दोस्रो ठूलो प्रदर्शन २००८ देखि २०१३ सम्म काठमाडौंमा गरे । सन् २००८ को बेइजिङमा हुन लागेको ओलम्पिक गेमको विरोध स्वरूप शुरु भएको प्रदर्शन लगभग चार–पाँच वर्षसम्म चल्यो । सो अवधिमा बौद्ध क्षेत्रमा मात्र तीन तिब्बतीले आत्मदाह समेत गरे ।

यही अवधिमा मधेशबाट प्रतिनिधित्व गर्ने संविधानसभाका ६ जना सासंदहरू सहितको एक टोलीले सन् २००९ को जून २४ मा धर्मशालामै पुगेर दलाई लामासँग भेटघाट गरेको थियो । त्यसको एक वर्षभित्रमा नै सन् २०१० जूनको पहिलो हप्ता ३ जना संविधानसभा सदस्यहरू र केही पत्रकार सहित ९ जनाको टोलीले धर्मशाला पुगेर लामासँग भेटवार्ता गरेको थियो । पोखराबाट पनि सोही समयमा मानवअधिकारवादी र पत्रकार सहितको टोलीले लामालाई धर्मशालामा भेटघाट गर्‍यो ।

त्यसो त १३ मे, २०१९ मा लातभियाको रिगामा भएको निर्वासित सरकारका मुख्यमन्त्री (अहिले सिक्योङ भनिने राष्ट्रपति सरह) लोब्साङ साङ्गे सहभागी कार्यक्रममा नेपालका सांसदहरू प्रदीप यादव र इकवाल मियाँ सहभागी भएका थिए ।

तर पछिल्लो समयमा तिब्बतबाट भागेर आउनेहरूको संख्या नगन्य हुन थालेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१९ अक्टोबरमा नेपालको भ्रमण समयमा ‘सीमा संघर्ष’ समितिको नाममा केही मधेशी युवाहरूले प्रदर्शन गरेका थिए । पछिल्लो समयमा चीन र भारत बीच सन् २०२० मा गलवानमा झडप भएपछि त काठमाडौंमा विनय यादवले नेतृत्व गरेको ‘राष्ट्रिय एकता अभियान’ले मात्र चीन विरुद्ध प्रदर्शनको नेतृत्व गर्दै आएको छ । तिब्बती शरणार्थीहरूको गतिविधि प्राय: ठप्प नै थियो तर जेनजी प्रदर्शनसँगै यो नयाँ ढंगले प्रस्फुटन भएको देखिन्छ ।

२०८० साल फागुन २८–२९ मा लुम्बिनी प्रदेश सरकारले ‘बालबालिका, विकास र शान्तिका लागि नोबेल पुरस्कार विजेताहरूको शिखर सम्मेलन’ आयोजना गर्दा दलाई लामालाई निमन्त्रणा गर्ने तयारी भएको समाचारले विवाद निम्त्यायो र कार्यक्रम अन्तत: रद्द भयो ।

जेनजी प्रदर्शनका दौरान ‘तिब्बतियन ओरिजिनल ब्लड’(टीओबी) राइडर्स समूहको सक्रियता सार्वजनिक रूपमा देखियो । यो शैली भारतमा तिब्बतियन युथ कांग्रेस (टीवाइसी) र ‘स्टुडेन्ट्स फर फ्री टिबेट’ (एसएफटी)ले अघि सार्दै आएको अभियानको प्रतिरूप जस्तै थियो । त्यति मात्र होइन, सुदन गुरुङको ‘हामी नेपाल’ नामक एनजिओसँग एसएफटीले आर्थिक सहकार्य गरेको संस्थाको वेबसाइटमा उल्लेख गरिएको छ ।

यसरी हेर्दा, नेपाल तिब्बत मुद्दामा केवल भौगोलिक मार्ग नभई सांस्कृतिक–राजनीतिक प्रभाव र अन्तर्राष्ट्रिय कूटनीतिक प्रतिस्पर्धाको मैदानको रूपमा पुन: स्थापित हुँदै गएको स्पष्ट देखिन्छ ।

दलाई लामाको उत्तराधिकारी चयन : भू–राजनीतिक दबाबको नयाँ चरण

अमेरिकामा चीनको तिब्बत नीतिसँग सम्बन्धित चारवटा कानूनहरू हाल सक्रिय छन् । तीमध्ये ‘टिबेट पोलिसी एण्ड सपोर्ट एक्ट–२०२०’ नेपालसँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण कानून हो । सन् २०२० मा एच.आर.४३३१ नामक यो विधेयक अमेरिकी प्रतिनिधि सदनबाट पारित भई तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरपछि कानूनी स्वरूपमा परिणत भइसकेको छ ।

यस कानूनमा नेपालसँग सम्बन्धित दुई प्रमुख विषय उल्लिखित छन् । पहिलो— दलाई लामाको उत्तराधिकारी चयन प्रक्रियामा चिनियाँ हस्तक्षेप अस्वीकार्य हुने र दोस्रो— नेपालमा रहेका युवा तिब्बती शरणार्थीहरूलाई पहिचानपत्र वितरण गर्नुपर्ने । भारतपछि तिब्बती शरणार्थीहरूको सबैभन्दा ठूलो बसोबास नेपालमा भएकाले, उत्तराधिकारी चयनमा नेपालको भूमिका स्वाभाविक रूपमा संवेदनशील विषय बन्न पुगेको छ ।

गौतम बुद्ध जन्मिएको मुलुक नेपालमा दलाई लामाको उत्तराधिकारी चयन प्रक्रियामा सहजीकरण भएमा भारतलाई पनि अनुकूल हुने विश्लेषणहरू भइरहेका छन् । यसका विपरीत चीनले आफ्नो पक्षबाट छानिएको उत्तराधिकारीलाई मान्यता दिन आवश्यक ठान्ने र नेपालले पश्चिमा तथा भारतले मान्यता दिने उत्तराधिकारीको पक्ष लिनुपर्ने दबाब पर्न सक्छ । यही कारण, दलाई लामाको उत्तराधिकारी प्रश्न नेपालका लागि केवल धार्मिक वा शरणार्थी विषय नभई, व्यापक भू–राजनीतिक विषय हो ।

१४औं दलाई लामाका उत्तराधिकारी भारतको अरुणाचल प्रदेश, लद्दाख वा दक्षिण भारतबाट चयन हुनसक्ने अनुमान भइरहेका बेला भारतको कूटनीतिक सतर्कता बढेको देखिन्छ । अरुणाञ्चललाई ‘दक्षिण तिब्बत’को भाग भएको चीनको दाबी र लद्दाख क्षेत्रमा २०२० मा भएको चीन–भारत सैन्य तनावले यसलाई थप संवेदनशील बनाएको छ । यी स्थानहरूमा उत्तराधिकारी घोषणा वा पहिचानको प्रक्रिया भारत–चीन सम्बन्धमा नयाँ जटिलता उत्पन्न गर्न सक्ने सम्भावना भारतीय सुरक्षा विश्लेषकहरूले उठाइरहेका छन् ।

यही पृष्ठभूमिमा नेपालमा पनि शक्ति राष्ट्रहरू सूक्ष्म रूपमा कूटनीतिक प्रभाव जमाउन सक्रिय हुनसक्ने संकेतहरू देखिन थालेका छन् । हालसालैको जेनजी आन्दोलनमा टीओबी र एसएफटी जस्ता तिब्बती समूहहरूको अप्रत्यक्ष सहभागिता त्यसको एउटा उदाहरणका रूपमा लिन सकिन्छ ।

बीआरआईको अनिश्चित यात्रा

सन् २०१७ को मे १२ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा चीनसँग बीआरआई परियोजनाको एमओयु (समझदारी)मा नेपालले हस्ताक्षर गरेको थियो ।

समझदारी भएको सात वर्षसम्म बीआरआई परियोजना कार्यान्वयन हुनसकेन । गत मंसिर १९ गते पूर्व प्रधानमन्त्री केपी ओलीको बेइजिङ भ्रमणमा ‘फ्रेमवर्क फर बेल्ट एण्ड रोड को–अपरेसन’मा हस्ताक्षर भएयता पनि बीआरआई कार्यान्वयनमा खासै प्रगति भने भएको थिएन ।

सो बीआरआईको फ्रेमवर्कभित्र टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक, किमाथांका पुल र एकीकृत चेक प्वाइन्ट, केरुङ–काठमाडौं सीमापार रेलमार्ग, अमरगढी सिटी हल परियोजना, केरुङ–रसुवागढी–चिलिमे २२० केभी सीमापार पावर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड म्युजियम, चीन–नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स गरी १० वटा परियोजनालाई समावेश गरिएका छन् ।

यसबीचमा काठमाडौं–केरुङ रेलमार्गको एरिएल, ड्रोन र भौगोलिक सर्भे सम्पन्न भइसकेको छ तर चिनियाँ प्राविधिक टोलीले हेलिकोप्टर सर्भेको लागि इच्छा व्यक्त गरेपछि रेल विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्र पठाए पनि त्यसको जवाफ अझै आइनसकेको रेल विभागले जनाएको छ ।

उसो त गत जुलाई २०–२२ मा चाइना इन्टरनेशनल डेभलपमेन्ट को–अपरेसन एजेन्सी (सीआईडीसीए)का अध्यक्ष चेन सियाओदोङ नेपाल आएको समयमा रातमाटे–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारण लाइनको सर्भे गर्ने सहमति भएको छ ।

प्रम ओलीको गत अगस्टमा साङ्घाई को–अपरेसनको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा बीआरआई चाँडै लागू गर्ने विषयमा कुराकानी भएको थियो । आफ्नै क्षेत्र झापाको दमकमा नेपाल–चीन मैत्री औद्योगिक पार्कमा चिनियाँ लगानीको लागि प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट (पीडीए)को अन्तिम तयारीमा हस्ताक्षर गर्ने सहमति भएको थियो । नेपाल–चीन सम्बन्धको ७० वर्षको उपलक्ष्यमा चिनियाँ उच्च नेताको भ्रमणको अवसर पारेर कुनै बीआरआई परियोजना उद्घाटन गर्ने योजना जेनजी प्रदर्शनपछि सरकार परिवर्तन भएकोले अनिश्चित बनेको छ ।

न त अब तत्कालै नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा अमरगढी सिटी हल बन्नेछ न ओलीको क्षेत्रमा पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स नै ! अहिले त चीन र नेपाल बीचमा दलाई लामाको विषय केन्द्र भागमा बहसको विषय बन्दै गएको देखिन्छ ।

नेपालमाथि पुन: भूराजनीतिक दबाब

खम्पा विद्रोहका अनुभवदेखि आजसम्मको घटनाक्रमले नेपालमा दलाई लामाको उत्तराधिकारी चयन प्रक्रियासँग जोडिएको मुद्दासम्म आउँदा भू–राजनीतिक रूपमा पुन: नेपालमाथि दबाब बढ्दै गएको देखिन्छ । शक्ति राष्ट्रहरू बीचको प्रतिस्पर्धा र तिब्बत सम्बन्धी नीतिहरूले नेपाललाई केवल मानवीय र शरणार्थी अध्ययनको विषय नभई, रणनीतिक स्थानको दृष्टिले संवेदनशील केन्द्रको रूपमा प्रस्तुत गरेका छन् । यस्ता संकेतहरूले नेपालको विकास नीतिमा प्रभाव पार्न सक्ने तथा दीर्घकालीन रूपमा राजनीतिक अस्थिरता बढ्ने सम्भावना पनि नदेखिने होइन ।

गत भदौमा तियानमेन स्क्वायरमा चीनले मनाएको विजय परेडमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ।

नेपालका प्रमुख राजनीतिक दलहरू— नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र— ‘एक चीन’ नीतिप्रति स्पष्ट रूपमा प्रतिबद्ध छन् । र, उनीहरू बीआरआई परियोजना कार्यान्वयनका लागि सकारात्मक देखिन्छन् । तर नयाँ पुस्ताको राजनीतिक अभिव्यक्ति र नेतृत्व उदय भएका सन्दर्भमा, उनीहरूले यी विषयमा कस्तो नीति लिन्छन् भन्ने स्पष्ट भइसकेको छैन । यद्यपि जेनजी प्रदर्शनसँग जोडिएका पहिचान, अवसर र राजनीतिक समावेशिताका प्रश्नलाई कसरी सम्बोधन गर्ने भन्ने चुनौती पनि छँदैछ ।

पूर्वाधार विकासको क्षेत्रमा भारत र चीन नेपालका मुख्य रणनीतिक विकासका साझेदार हुन् । उनीहरूबाट आउने सहयोगलाई बेवास्ता गर्नु व्यावहारिक छैन । तर, छिमेकीहरू बीच सन्तुलन कायम गर्दै राष्ट्रिय स्वाधीनता र दीर्घकालीन हित सुरक्षित राख्न, नेपालले अमेरिका र युरोपेली साझेदारहरूसँगको सम्बन्ध पनि सन्तुलित रूपले विस्तार गर्नुपर्ने आवश्यकता यथावत् छ । वर्तमान अवस्थामा तीन वटै शक्ति–केन्द्र आ–आफ्नो भू–राजनीतिक उद्देश्यका साथ सक्रिय रहेका कारण नेपालले नीति–निर्माणमा सूक्ष्म सावधानी, कूटनीतिक संवेदनशीलता र दीर्घ–दृष्टि अपनाउनैपर्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More