― Advertisement ―

माइक्रोसफ्टको चकित खाता प्रतिबन्धले Windscribe, WireGuard VPN, VeraCrypt को लागि सुरक्षा प्याचहरू ब्लक गर्दछ

माईक्रोसफ्टको खाता थियो, WireCp, WindGpt अवरुद्धलकआउटले सफ्टवेयर अपडेट वा सुरक्षा प्याचहरू जारी गर्न रोक्छMicrosoft ले सक्रिय रूपमा खाताहरू पुनर्स्थापना गर्न काम गरिरहेको बताएको छधेरै...
HomeLatest newsजेनजी अगुवाको समर्थनमा खुल्दैछ नयाँ दल, यी हुन् सम्भावित अनुहार

जेनजी अगुवाको समर्थनमा खुल्दैछ नयाँ दल, यी हुन् सम्भावित अनुहार


राष्ट्रिय

समाचार.

  • आउँदो चुनावका लागि नयाँ दल दर्ता गर्न १३ दिन बाँकी रहँदा सुदन गुरुङ समूहले पार्टी गठनमा आन्तरिक तयारी गरिरहेको छ।
  • गुरुङ समूहले कुलमान घिसिङ र सुमना श्रेष्ठसँग निरन्तर छलफल गरी नयाँ दल छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
  • पार्टी नेतृत्वमा टुंगो नलागे पनि कुलमानले सरकार छोडेर नेतृत्व गर्ने सम्भावना उच्च छ र सुमना उपाध्यक्ष बन्ने देखिन्छ।

१६ कात्तिक, काठमाडौं । आउँदो चुनावका लागि नयाँ दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नुपर्ने समय १३ दिन बाँकी रहँदा जेनजीसहितका केही नेताहरू निरन्तर छलफलमा छन् ।

एकातिर, रक्षा बम, युजन राजभण्डारी लगायतका युवाले ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा गरेका छन् । अर्कोतिर, जेनजी मुभमेन्ट अलायन्स भन्दै अमित खनाल ‘उर्जा’ लगायतले चुनाव केन्द्रित अभियान चलाइरहेका छन् ।

यद्यपि, यी समूह आफैँ दलको रूपमा चुनावमा जानेभन्दा पनि चुनावलक्षित बहस चलाउने र जनचेतनामा काम गर्ने बताइरहेका छन् ।

जेनजी आन्दोलनमा संयोगबस अगुवाको रूपमा उदाएका सुदन गुरुङ समूह भने दलको लागि आन्तरिक गृहकार्यमा देखिन्छ । कोही लोकप्रिय व्यक्तिलाई अघि सारेर नयाँ दल बनाउने योजनाबारे यो समूहभित्र छलफल चलिरहेको छ ।

यो समूहले प्रदेश संयोजक बनाएर केही समय अघिदेखि नै आन्तरिक संगठन मजबुत बनाउन काम गरिरहेको थियो, जसले केही दिनभित्र हरेक जिल्ला तहमा पनि संयोजक तोकेर अगाडि बढ्ने तयारी गरिरहेको छ ।

‘हामी आन्तरिक रूपमा मजबुत हुन संगठन बनाइरहेका छौँ । केही दिनमै तपाईंहरूलाई ७७ वटै जिल्लाका संयोजकका नाम–सूची उपलब्ध गराउँछौँ,’ एक प्रदेश संयोजकले अनलाइनखबरसँग भने ।

उनका अनुसार प्रदेश संयोजकहरू आन्तरिक संगठन बलियो बनाउन लाग्दै गर्दा शीर्ष नेतृत्व (सुदन गुरुङ र उनीनिकट समूह) भने दल खोल्ने विषयमा विभिन्न व्यक्ति वा समूहसँग निरन्तर छलफलमा छन् ।

‘दल खोल्ने विषयमा छलफल भइरहेको सत्य हो । तर कसरी कस्तो दल आउँछ भन्ने टुंगो भने लागिसकेको छैन,’ ती प्रदेश संयोजकले भने ।

गुरुङनिकट स्रोत पनि दल खोल्ने विषयमा मोटामोटी ६० प्रतिशत सहमति भइसकेको बताउँछ । यद्यपि, यो समूहभित्रै सहमति भने जुटिसकेको छैन ।

समूहभित्र तत्काल दल खोल्न वा कोहीसँग जोडिन हतार गरिहाल्ने कि जेनजी आन्दोलनको रक्षा गरेर छुट्टै तरिकाले जाने भन्ने विषयमा मतभेद देखिन्छ । कतिपयले दल खोलेर जानुपर्ने बताइरहँदा कतिपयले भने तत्काल आन्दोलनको मर्म जोगाउन सडकमै रहनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

यद्यपि, समूहभित्र विभिन्न बहस र विषय आए पनि यो समूह दल खोल्ने र त्यसको लागि आन्तरिक तयारीमा लागिरहेको देखिन्छ । ‘जे भने पनि आन्दोलन जोगाउन नै जेनजीसहितको समर्थनमा नयाँ दल चाहिन्छ । त्यो दलबारे छिट्टै सबै कुरा सार्वजनिक हुन्छ,’ गुरुङनिकट स्रोतले अनलाइनखबरसँग भन्यो ।

यसरी भित्रभित्रै पार्टी गठनको कुरा पक्कापक्की भइसके पनि सुदन गुरुङ समूहका प्रदेश कमिटीहरू अधिकांश कुरामा बेखबर जस्तै देखिन्छन् ।

स्रोत भन्छ, ‘उहाँहरू हाम्रो लागि ब्याक–फोर्सजस्तै हो । पछि परिआए संगठनदेखि अन्य अभियानको लागि यी समूह महत्वपूर्ण छन् । तर यो उच्चस्तरको भेटघाट र पार्टी गठननजिक पुगेको कुरामा भने उहाँहरू त्यति जानकार हुनुहुन्न ।

गुरुङसहितका व्यक्ति जोडिएर बन्ने यो दल कस्तो हुन्छ त ? स्रोतका अनुसार यो समूहले चर्चित अनुहार खोजिरहेको छ । आफूहरू मात्र हुँदा विश्वसनीयता कम हुनसक्ने जोखिम देखेकाले कुनै लोकप्रिय व्यक्तिलाई अघि सारेर जाने ध्याउन्नमा यो समूह छ ।

यसको लागि विशेषगरी ऊर्जामन्त्री कुलमान घिसिङ र पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ लगायतसँग निरन्तर छलफलमा छ, जसले चाँडै नै मूर्त रूप लिएर पार्टीको रूपमा सार्वजनिक हुने गुरुङनिकट स्रोत बताउँछ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ‘बालेन्द्र’ सँग छलफल गर्ने भनिए पनि प्रत्यक्ष संवाद नभएको स्रोतको दाबी छ । तर बालेन सचिवालयका विभिन्न व्यक्तिहरू भने यो समूहसँग निरन्तर छलफलमा छन् ।

त्यसैले कुलमान घिसिङ वा सुमना श्रेष्ठलाई नेतृत्व स्वीकारेर सुदन गुरुङ, सागर ढकाल लगायतका व्यक्ति जोडिएर नयाँ पार्टी घोषणा हुने तयारी चलेको छ । यो पार्टीमा तत्काल बालेन आफैँ नजोडिए पनि उनका सचिवालय वा उनी निकटका केही व्यक्ति भने जोडिने विश्वस्त स्रोतले बतायो ।

गुरुङ समूहले पार्टीमा आफू जोडिनको लागि केही सर्तहरू पनि अघि सारिरहेको छ । पार्टीमा ‘एक पद, एक व्यक्ति’ हुनुपर्ने, क्षमताका आधारमा ल्याटरल इन्ट्री गर्ने सुविधा हुनुपर्ने र संविधानवादलाई मान्नुपर्ने जस्ता प्रस्ताव यो समूहले सारेको छ । यो प्रस्तावमा सहमत हुनेहरूबीच नयाँ दलको लागि संवाद भइरहेको स्रोतले बतायो ।

पार्टी नेतृत्वमा को रहने भन्ने चाहिँ अहिलेसम्म टुंगो लागिसकेको छैन । कुलमान घिसिङले पार्टीको नेतृत्व गर्ने भए तत्काल सरकार छोड्नुपर्ने कतिपयको माग छ । घिसिङले सरकार छोडेर आए पार्टीको नेतृत्व गर्ने सम्भावना उच्च देखिन्छ ।

त्यसो हुँदा सुमना श्रेष्ठ उपाध्यक्ष हुँदै सुदन गुरुङ, सागर ढकालले पनि महत्वपूर्ण पद लिने देखिन्छ । यो पार्टीको केन्द्रीय कमिटीमा जेनजीसहितका सदस्य रहने स्रोतले बतायो ।

‘नामको हकमा पनि विभिन्न नामहरूबारे सुझाव आइरहेका छन् । चुनाव चिह्न चाहिँ बिजुलीको बल्ब (चिम) राख्न करिबकरिब सहमति देखिन्छ । सम्भवत: दुई दिनभित्र पार्टीका सबै विस्तृत विवरण तपाईंहरूले थाहा पाउनुहुन्छ,’ पार्टी गठनको लागि आन्तरिक रूपमा सक्रिय एक सदस्यले अनलाइनखबरसँग भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More