― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsजाँचबुझ आयोगमा लेखक- ‘मसँग बल प्रयोगको अधिकारै थिएन, सिडिओले जान्ने कुरा हो’

जाँचबुझ आयोगमा लेखक- ‘मसँग बल प्रयोगको अधिकारै थिएन, सिडिओले जान्ने कुरा हो’



१४ पुस, काठमाडौँ । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले २३ भदौको जेनजी आन्दोलनमा आफूले बल प्रयोग गर्न निर्देशन नदिएको जिकिर गर्दै बल प्रयोगको घटनामा सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी (सिडिओ) जिम्मेवार हुनुपर्ने बयान दिएका छन् ।

जेनजी आन्दोलनमा २३ गते भएको दमन र २४ गतेको विध्वंशबारे जाँचबुझ गर्न गठन भएको आयोगमा आफ्नो लिखित भनाइ राख्दै लेखकले अघिल्लो दिन बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समेत आफूले बल प्रयोग नगर्न सचेत गराएको दाबी गरे ।

‘भदौ २३ अघिको अघिल्लो दिन केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो र त्यो दिन आवश्यकभन्दा बढी बल प्रयोग गर्ने कुनै योजना र निर्णय भएको थिएन’ आयोगमा पेश गरेको लिखित जवाफमा उनले भनेका छन्, ‘त्यसो गर्ने न कानुनी व्यवस्था छ, नत अभ्यास नै छ ।’

उनले भदौ २२ गते साँझको केन्द्रीय सुरक्षा समितिको बैठक स्मरण गर्दै त्यो दिन आफूले गृहमन्त्रीको हैसियतले स्पष्ट रुपमा तीनवटा निर्देशन दिएको दाबी गरे । उनले जवाफमा बल प्रयोगको मामिलामा प्रचलित कानुनअनुसार सुरक्षा निकाय र प्रमुख जिल्ला अधिकारी जवाफदेही हुनुपर्ने बताएका छन् ।

पूर्वगृहमन्त्री लेखकका अनुसार, पहिलो कुनै हताहती नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् भनेर सुरक्षा अधिकारीहरुलाई सचेत र सावधान गराइएको थियो । दोस्रो, समन्वयात्मक रुपमा शान्ति सुरक्षाको प्रबन्ध मिलाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दियो ।

जेनजी प्रदर्शन कुनै राजनीतिक समूहको आन्दोलन नभएकाले नेतृत्वविहीन हुनसक्ने भन्दै लेखकले प्रदर्शनमा घुसपैठ हुनसक्ने भएकाले सतर्कता अपनाउन तेस्रो निर्देशन पनि दिइएको बताए ।

उनले जवाफमा भनेका छन्, ‘त्यसपछि मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको र त्यहाँ समेत सुरक्षाको व्यवस्था मिलाउन आग्रह गर्दै कुनै हताहती नहोस् भनेर सजग गराएको थिएँ ।’

‘कहाँबाट निर्देशन दिनु ?’

पूर्वगृहमन्त्री रमेश लेखकले कुनैपनि प्रदर्शन वा आन्दोलन व्यवस्थापन गर्न र त्यसमा बल प्रयोग गर्न समेत गृहमन्त्रीको भूमिका र अधिकार नहुने दाबी गरेका छन् ।

गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धी निर्देशन दिने अधिकार नहुने भन्दै उनले आफूले कुनै आदेश पनि नदिएको जिकिर गरे ।

उनले जाँचबुझ आयोगमा पेस गरेको लिखित जवाफमा भनेका छन्, ‘सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने/नगर्ने वा कति गर्ने भन्ने विषयको न त कानुनी जिम्मेवारी छ, न त यसबारे ज्ञान । न त व्यवहारतः त्यस्तो आदेश दिने कुरा हुन्छ ।’

तत्कालीन प्रधानमन्त्रीको समेत बचाउ गर्दै उनले जवाफमा ‘प्रधानमन्त्री र मन्त्रीले कसैलाई यति बल प्रयोग गरे, यसरी गर, शान्तिसुरक्षा कायम गर्दा कहाँनिर के अवस्था र आवश्यकता पर्छ ?’ भनेर निर्देशन नदिने जिकिर गरे ।

उनले जवाफमा भनेका छन्, ‘प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयो गर्ने भन्ने कुरा सुरक्षा निकायले परिस्थिति र वस्तुगत आधारमा विश्लेषण गर्ने हो ।’ प्रदर्शन वा आन्दोलनलाई व्यवस्थित गर्ने र आवश्यक परे बल प्रयोग गर्ने अधिकार सुरक्षा निकाय र सम्बन्धित प्रमुख जिल्ला अधिकारीको हुने उनको जिकिर छ ।

उनले जवाफमा भनेका छन्, ‘त्यस अवस्थाको निर्क्यौंल गरी निर्णय लिने जिम्मेवारी स्थानीय प्रशासन सम्वन्धी ऐन तथा अन्य कानुनले नै प्रष्ट रुपमा सुरक्षा निकाय र स्थानीय स्तरमा तोकिएका पदाधिकारीलाई दिएको छ ।’

तर अर्कै मुद्दाको सिलसिलामा सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा भने लेखकले विषम परिस्थितिका कारण गोली चलेको दाबी गरेका थिए । उनले प्रदर्शनकारीहरुको हताहती हुनुमा आफ्नो कुनै भूमिका नभएको जिकिर गरेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले प्रदर्शनकारीहरू संसद् भवनभित्र प्रवेश गर्न खोजेपछि बल प्रयोगको आदेश भएको र त्यसक्रममा आफूले घुँडामुनि गोली हान्न आदेश दिएको स्वीकारेका छन् ।

त्यसक्रममा उच्च पदस्थ पदाधिकारीहरूसँग समेत समन्वयमा बल प्रयोग भएको उनको जिकिर थियो ।

तत्कालीन गृहमन्त्री लेखक आफैंले सार्वजनिक गरेको छ पेज लामो जवाफमा भने तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले दिएको ‘स्टेटमेन्ट’बारे कुनै टिप्पणी छैन । उच्चपदस्थ पदाधिकारीहरूसँगको समन्वयमा बल प्रयोग भएको भन्दै सीडिओ रिजालको जिकिरमा पूर्वमन्त्री लेखक समर्थन वा प्रतिवाद नगरी मौन रहेका छन् ।

‘घुसपैठ पो भएछ’

गृहमन्त्री लेखकले आफ्नो जवाफमा जेनजीको प्रदर्शनलाई लोकतन्त्रविरोधी तत्वहरूले हाइज्याक गरेको आरोप लगाएका छन् । उनले ‘धमिलो पानीमा माछा मार्न चाहने तत्व’ हाबी भएको भन्दै उनीहरुले नै जेनजीको भावनामाथि खेलेर शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएको आरोप लगाएका हुन् ।

बानेश्वरमा प्रदर्शन उग्र र हिंसात्मक हुन थालेको र त्यसपछि आफूले प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापतिलाई जानकारी गराएको भन्दै उनले त्यसलगत्तै हताहतीको घटनाले आफ्नो मन छियाछिया भएको बताएका छन् ।

त्यही दिन साँझ दिएको राजीनामापत्रको व्यहोरा उदृत गर्दै उनले भनेका छन्, ‘आज भएको दुःखद् घटनाबाट पीडा भएर नैतिकताको आधारमा म गृहमन्त्री पदबाट राजीनामा गर्छु ।’ उनले जिम्मेवारी पुरा गर्दागर्दै विषम परिस्थितिका कारण हिंसात्मक गतिविधि भएको भन्दै त्यसमा आफ्नो भूमिका नभएको जिकिर गरेका हुन् ।

उनले जेनजी आन्दोलनमा भएको दमनको भोलिपल्टको विध्वंशात्मक घटनालाई नियोजित षडयन्त्र भनेका छन् । उनले जवाफमा भनेका छन्, ‘पिता पुर्खाको सम्पत्ति खरानी बनाइदिँदाको पीडा ‘खुकरीको मार अचानोलाई मात्र थाहा हुन्छ’ भने जस्तै भएको छ ।’

मुलुक र लोकतन्त्रमाथिको नियोजित आक्रमणका क्रममा भदौ २४ को घटना भएको भन्दै उनले त्यसक्रममा पैत्रिक सम्पत्तिबाट जोडेको महेन्द्रनगर र काठमाडौंको आफ्नो घर आगजनीबाट नष्ट गरिएको गुनासो गरेका छन् ।





Read More