― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
HomeLatest newsजस्टिन बिबर, जो बनेका थिए बाल्यकालमै संसारकै ठूलो पपस्टार

जस्टिन बिबर, जो बनेका थिए बाल्यकालमै संसारकै ठूलो पपस्टार


राष्ट्रिय

समाचार.

  • जस्टिन बिबरले २०२३ जनवरीमा आफ्ना २९१ गीत लगभग २०० मिलियन डलरमा हिपग्नोसिस सङ्ग्स क्यापिटललाई बेचे जसले उनको पब्लिसिङ अधिकार समाप्त गर्यो।
  • २०२२ मा जस्टिनलाई अनुहारको पक्षघात र ‘रामसे हन्ट सिन्ड्रोम’ रोगले प्रभावित गर्यो जसले उनको स्वास्थ्यमा गम्भीर असर पुर्‍यायो।
  • जस्टिनले २०१५ मा ‘पर्पस’ एल्बमबाट कमब्याक गरे र २०२३ मा नयाँ एल्बम ‘स्वाग’ निकाले जसमा उनले आफ्नो जीवन संघर्ष व्यक्त गरेका छन्।

एक समय थियो, जब एउटा सानो केटोले आफ्नो घरको बैठक कोठामा कभर गीतहरू रेकर्ड गर्थ्यो । उनकी आमाले एउटा सस्तो क्यामेराले उसको भिडियो खिच्थिन् । र, त्यसलाई युट्युबमा अपलोड गर्थिन् ।

ती केटा हुन्, जस्टिन बिबर । जसको नाम पप संगीतको इतिहासमा एउटा अध्याय लेख्न काफी छ । एक त उनी किशोरावस्थामै विश्वव्यापी स्टार बने, अर्कोतिर- स्ट्राटफोर्ड ओन्टारियोको सडकबाट युट्युबसम्म र युट्युबबाट सीधा विश्व मञ्चसम्म उनको अविश्वासनीय यात्रा भयो ।

तर, आज एउटा पुस्ता, जो जस्टिनको गीत सुन्दै हुर्कियो, उसको गीतमा झुम्दै हुर्कियो, ती कतै न कतै निराश छन् । एउटा फ्यान हुनुका नाताले उनीहरूमा सर्जकको हालतको चिन्ता छ । तर, त्यस्तरी सुन्दर रूप नै कुरूप बनाउने गरी, आम प्रशंसकलाई चिन्तित बनाउने गरी जस्टिन बिबर कसरी आजको अवस्थामा पु गे? कसरी दयाको पात्र बने ?
हेर्दा उनको जीवन कुनै काल्पनिक आख्यानभन्दा फरक छैन ।

000

जस्टिनको वास्तविक नाम जस्टिन ड्रु बिबर हो । उनी १ मार्च १९९४ मा क्यानडाको ओन्टारियो प्रान्तको स्ट्राटफोर्डमा जन्मेका थिए । उनी जन्मँदा आमा प्याट्री म्यालेट र बुबा जेरेमी बिबर दुवै किशोरावस्थामै थिए । आमा प्याट्री त जम्मा १७ वर्षकी मात्र थिइन् । बिबर जन्मेको केही समयपछि प्याट्री र जेरेमी अलग्गिए ।

हुन त उनीहरूले कहिल्यै पनि औपचारिक रूपमा बिहे गरेका थिएनन् । तर पनि सम्बन्ध भयो, बच्चा जन्मिसकेको थियो । परिवार र समाजले प्याट्रीलाई गर्भपतनको पनि दबाब दिएका थिए । भलै उनले त्यसो गरिनन् ।

बिबरलाई जन्म दिइन् । र एकल आमाको रूपमा हुर्काइन् ।

उनले बिबरलाई हुर्काउन आर्थिक कठिनाइ भोग्नु परेको थियो । जसले प्याट्रीले ‘नाउव्हेयर बट अप: द स्टोरी अफ जस्टिन बीबरस् मम’ मा सविस्तार लेखेकी छिन् । राम्रो पक्ष, जस्टिनले सानैदेखि संगीत सिक्न पाइरहेका थिए । चार वर्षको उमेरमै उनले ड्रम, गितार र पियानो बजाउन सिकेका थिए ।

१२ वर्ष पुग्दासम्म अर्थात् सन् २००७ देखि उनकी आमाले उनको भिडियो युट्युबमा अपलोड गर्न थालेकी थिइन् । आज पनि उनको सबैभन्दा पुराना भिडियोहरूमा आमा प्याट्रीले लेखेका ‘डिस्क्रिप्सन’ पढ्न पाइन्छ ।

युट्युबमा जस्टिनको पहिलो भिडियो ‘सो सीक’ छ । सन् २००७ जनवरी २० मा अपलोड गरिएको उक्त भिडियोमा आमा प्याट्रीले जस्टिनले ‘सो सीक’ र ‘बास्केटबल’ गीत गाएर स्थानीय गायन प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको लेखेकी छिन् ।

त्यस्तै उनका भिडियोहरू अँध्यारो भए पनि जस्टिनलाई सुन्न सकिने र रमाइलो गर्न सकिने लेखेकी छिन् ।

त्यसयता नियमित रूपमा उनको भिडियो अपलोड हुन थालेको छ । जस्टिनका ती भिडियोहरूमा रअ र विशुद्ध प्रतिभा हुन्थे । सोहीकारण भिडियोमा हजारौं भ्युज आउँछ । उनलाई भर्चुअल रूपमा भए पनि धेरैले चिन्छन् ।

त्यस्तैमा उनको भिडियो स्कूटर ब्राउनसम्म पुग्छ । उनी एक संगीत प्रबन्धक (म्यानेजर) थिए । र, अर्को ठूलो प्रतिभा खोजिरहेका थिए । संयोगवश उनी त्यसबेला अमेरिकी गायक तथा आरएन्डी र पप संगीतका प्रतिभा अशरका पनि प्रबन्धक थिए ।

त्यही समयमा स्कूटरले जस्टिन र उनकी आमालाई क्यानडाबाट एटलान्टा लिएर आएका थिए, जस्टिनको भविष्यबारे राम्रो सोचेर । अशर पनि जस्टिनको प्रतिभाबाट प्रभावित थिए । अनि दुवैले त्यो समयमा एउटा रेकर्ड लेबलसँग हस्ताक्षर गर्न जस्टिनलाई लगाए । पछि जस्टिन र अशरले पनि सहकार्य गरे । त्यसपछि नै जस्टिनको सर्वाधिक हिट ‘बेबी’ बनेको थियो ।

यो एउटा यस्तो गीत बन्यो, कि एक्कसी एउटा बालक जो सडक र आफ्नो कोठामा गाउँथ्यो, उसलाई धेरैले चिन्यो । उनले थोरै मान्छेअघि गाएको भए पनि अब विशाल भीडअघि गाउनुपर्‍यो । अनि उनका फ्यानहरू यस्ता बने कि, उनलाई सुन्न पागल नै भए ।

त्यसबेला जस्टिन भर्खर १३ वर्षका थिए । तर उनको ओज यस ग्रहकै सबैभन्दा ठूलो पपस्टारको थियो ।

000

तत्कालीन समयमा जस्टिन जति माथि उक्लिँदै थिए, त्यति नै खतरनाक समय पनि आइरहेको थियो । उनी जान अनजानमा त्यस्तो ठाउँमा धकेलिरहेका थिए, जहाँ पूरै उद्योगले उनको फाइदा उठाउनेवाला थियो ।

सोझो भाषामा भन्दा उनी ‘भाइरल’ केटो बनेका थिए । नेपाली डिजिटल स्पेसमा बेलाबेला देखिने त्यस्ता भाइरल गायक जस्तै जस्टिनको हालत थियो । एक त उनी त्यस्ता समयमा लोकप्रिय भएका थिए, जुन समयमा उनको आवाज परिवर्तन हुँदै थियो । कतिपय टक शोहरूमा त्यसलाई लिएर मजाक पनि गरिए ।

खासमा उनले जे गर्थे, त्यो मिडिया कन्टेन्ट नै हुन्थ्यो । जस्तो, उनले त्यसबेलाका अर्की ठूली गायिका सेलिना गोमेजलाई पहिलो पटक चुम्बन गरेका थिए । यसलाई मिडियाहरूले व्यापक खुराक बनाएका थिए ।

जस्टिनलाई जोडेर अफवाह बनाइएका अथवा जस्टिनको प्रयोग गरी फाइदा लुटिएका यस्ता उदाहरण त अनेकन् भेटिन्छन् । अर्को उल्लेख गर्नैपर्ने भनेको डीडीको संलग्नता हो । कतिपयले जस्टिनको जीवनमा डीडीको संलग्नतालाई सबैभन्दा खराब मान्छन् । अर्थात्, डीडीका कारण जस्टिन बिग्रे ।

सिन जोन कोब्स भनेर चिनिने डीडी र्‍यापर र रेकर्ड प्रोड्युसर हुन् । उनीसँग समय बिताएकोबारे त जस्टिनको भिडियो नै सार्वजनिक छ । जहाँ १५ वर्षको बच्चालाई डीडीले खुलेआम ल्याम्बोर्गिनी(गाडी) दिने कुरा गर्छन् ।

त्यस्ता लोभ लाग्दा कुराको पासोमा उनले जस्टिनलाई फसाइरहेका थिए । कतिपयले त के पनि भन्छन् भने- डीडीले युवा जस्टिनलाई आफ्नो पार्टीहरूमा बोलाउँथे । जहाँ युवा जस्टिनले लागूऔषध प्रयोग गर्थे ।

जस्टिनलाई डीडीको हातमा भने अशरले नै सुम्पेका थिए । त्यसअघि जस्टिनको मेन्टर अशर थिए ।

000

यी सबै घटानाक्रमले जस्टिन बिबरको सार्वजनिक छवि पतन हुँदै गइरहेको थियो । त्यससमयमा नै उनी रक्सी र लागूऔषधको उपभोग गर्न थालेका थिए । उनको लापरवाह व्यवहार, सडक नियम उल्लङ्घन, झगडा आदिमन समाचार बनिरहेका हुन्थे । एक अर्थमा मिडियाले जस्टिनको हरेक सानो-ठूलो गल्तीलाई तमाशा बनाउँथ्यो।

त्यसै समयतिर उनले संगीतबाट ब्रेक लिने निर्णय गरे । र, उनले आफ्ना विगतका हर्कतका लागि सार्वजनिक माफी पनि मागे । त्यसले खासै फरक परेन । उल्टै उनको निजी जीवनको पतन झन् तल झर्न थाल्यो ।

उनले आफ्ना वृत्तचित्रमा बताए अनुसार त्यो समयमा उनलाई ‘एन्जाइटी’ व्यापक हुन्थ्यो । एक समयमा त उनी जीवित छन् कि छैनन् भनेर सुनिश्चित गर्न सुरक्षा गार्डहरूले उनको नाडी जाँच गर्थे।

यस्तै समयबीच सन् २०१५ मा उनी ‘पर्पस’ एल्बमबाट कमब्याक भए । ‘सरी’, ‘लभ योरसेल्फ’, ‘ह्वाट डु यू मिन’ जस्ता हिट ट्र्याकहरू यसै एल्बमका थिए । यी राम्ररी चल्दा उनको सार्वजनिक छवि फेरि स्थापित हुन गयो ।

तर सम्बन्ध र विवादले उनलाई छाडेन ।

एक्कासी उनले सन् २०१८ मा हेली बाल्डविनसँग विवाह गरे । जुन उनका फ्यानहरूका लागि ‘प्लट ट्विस्ट’ बराबर थियो । किनकि त्यसको केही महिना अघिसम्म मात्र जस्टिन बिबर र सेलेना गोमेजको सम्बन्धबारे हेडलाइनहरू चलिरहेको थियो ।

फ्यानहरू अनुमान गर्छन् कि, उनीहरू प्रेम सम्बन्ध थिए । र, सेलेना आफैंले सम्बन्धबारे गीतहरूमार्फत बोलेकी थिइन् । ‘लूज यु टु लभ मी’, ‘लुक एट हर नाउ’ । केही गीतहरू हुन् । जहाँ उनीहरूको सम्बन्ध निकै ‘टक्सिक’ थियो । तर पनि उनी आफैं जस्टिनसँगै रहन चाहेको जस्ता कुरा छन् । यता जस्टिनको २०१५ को ‘सरी’लाई फ्यानहरूले सेलेनाका लागि सार्वजनिक रूपमा माफी मागेको ट्र्याक मानेका छन् ।

खासमा विवाहअघि भावनात्मक रूपमा निकै नै अस्थिर रहेको र हेलीसित विवाह गरेपछि शान्ति पाउन सकेको जस्टिनले अन्तर्वार्ताहरूमा बताएका थिए । सेलेनासँगको सम्बन्धबारे खासै टिप्पणी गरेका छैनन् ।

तर जस्टिनका फ्यान यो कुरा मान्न तयार देखिएनन् । धेरैले उनीहरूको सम्बन्धलाई ट्रोल गरे । कतिपयले त जस्टिन मानसिक रूपमा आघात हुनुको कारण विवाह नै भएको मान्छन् ।

000

नेपाली समाजले जस्टिन जस्तै बाल्यकालमै भाइरल भएका धेरै पात्र देखेको छ । उनीहरूको दु:खान्त र सुखान्त समयको साक्षी बनेको छ । अझैं पनि नेपाली समाज त्यस्ता पात्रहरूको उत्खनन गर्न लागेकै छ ।

तर एउटा बालक, जो आफ्नै लयमा हिँडिरहेको हुन्छ, एक्कासी भाइरल हुँदा कस्तो हुन्छ ? के सोच्छ ?

सन् २०१९ मा जस्टिनले आफ्नो इन्स्टाग्राम पोस्टमा त्यसै भावनाबारे लेखे । उनले बाल कलाकार बनेर हुर्कनु कति कठिन हुन्छ भनेर खुलेरै लेखे । बाल कलाकारहरूमा धेरै दबाब हुने, दिमाग पूर्णरूपमा विकसित नहुँदा धेरै गलत निर्णयहरू लिइने बारे लेखे ।

आखिरमा हो पनि, १८ वर्षको उमेरसम्म पुग्दा जस्टिनसँग सबैथोक थियो । तर वास्तविक जीवनका सीपहरू पटक्कै थिएनन् । त्यसमाथि उनी उद्योगको नराम्ररी फन्दामा परे । प्रसिद्धिसँगै पैसा आउँछ । तर पैसाले एउटा यस्तो अदृश्य पिँजडा ल्याउँछ जसमा प्राय: कलाकार फस्छन् । जुन भनेको ‘एडभान्स’को प्रणाली हो ।

कागजात हेर्दा लाग्छ, सबै कलाकारहरूले निःशुल्क पैसा पाएका छन् । हुन पनि रेकर्ड लेबलहरूले राम्रै पैसा दिएका छन् । तर वास्तविकतामा त्यो ऋण हुन्छ । त्यसको ब्याज हुँदैन । तर उनीहरूले रोयल्टीबाट त्यो पैसा फिर्ता लगिरहेका हुन्छन् । कलाकारले त रोयल्टीमा अत्यन्त कम मात्र शेयर पाउँछन् ।

उदाहरणका लागि, यदि कोही कलाकारले १०० रुपैयाँ रोयल्टी जुटाए भने उसको भागमा १० देखि २० रुपैयाँमात्र पर्छ ।

त्यससँगै ‘क्रस कोल्याटरलाइजेसन’ भन्ने कुरा पनि आउँछ । उदाहरणबाट यो कुरालाई बुझ्दा, एउटा कलाकारको एल्बम असफल हुन्छ भने त्यो एल्बमको ऋण उसले अर्को एल्बमको नाफाबाट तिर्नुपर्छ । यो कुरा जस्टिनको सांगीतिक जीवनमा मिल्न जान्छ ।

जस्टिनले आफ्नो जीवनकालमा एक अर्ब डलरभन्दा बढी संगीतबाटै कमाएका थिए । त्यसमा टुर, एल्बम, मर्च, विज्ञापन आदि सबै स्रोत थिए । तर सन् २०२२ मा उनीसँग नगद थिएन । केही रिपोर्ट अनुसार उनले गल्फ खेल्न पनि साथीको क्रेडिट कार्ड प्रयोग गरेका थिए ।

यसको कारण भने उनको ‘जस्टिस वर्ल्ड टुर’ रद्द हुनु हो । त्यसको क्षति स्वरुप जस्टिनले प्रोमोटर्सहरूलाई दुई करोड डलर बढी तिर्नु परेको थियो । तर यो टुर उनले जानीजानीभन्दा पनि स्वास्थ्यमा आएको समस्याका कारण रद्द गर्नुपरेको थियो ।

सायद बुझ्ने टोली हुन्थ्यो भने जस्टिनले त्यसो गर्नुपर्दैनथ्यो । तर रिपोर्टहरू अनुसार उनलाई कि कार्यक्रम गर्नु पर्ने दबाब थियो कि क्षति व्यहोर्नु पर्ने । यस्तोमा उनले स्वास्थ्य रोजेका थिए । टुर रद्द हुँदा हरेक दिन उनको ऋण बढ्न थाल्यो ।

कुनै समय स्कुटर ब्राउनमाथि २६ मिलियनभन्दा बढीको कमिसन लिएको आरोप लागेको थियो । तर लेखा परीक्षण पश्चात उल्टै जस्टिनले नै स्कुटरलाई साढे ८ मिलियन तिर्नु पर्यो ।

यसरी जस्टिनले जति कमाएप नि आफ्नो लागि भन्दा पनि आफ्नो ऋण तिर्नुपर्यो । २०२२ को अन्त्यतिर जस्टिनसामु तीन मुख्य समस्या थिए । पहिलो, उनको स्वास्थ्य निकै खराब थियो ।दोस्रो, उनको आर्थिक अवस्था कमजोर थियो । तेस्रो, सार्वजनिक रूपमा उनले दबाब खपिरहेका थिए ।

कुरा गरौं, उनको स्वास्थ्यको । २०२२ मा जस्टिनलाई अनुहारको पक्षघात भयो । सामाजिक सञ्जालमा उनले त्यसको भिडियो पनि राखेका थिए । त्यसमा उनी आँखा झिम्क्याउन र हाँस्न सकिरहेका थिएनन् । तर ठिक त्यसअघि उनलाई ‘रामसे हन्ट सिन्ड्रोम’ पनि भएको थियो । यो भनेको एउटा दुर्लभ स्नायु सम्बन्धी रोग हो । यसले अनुहारको स्नायुलाई नराम्ररी क्षति पुर्‍याउने गर्छ ।

आर्थिक रूपमा कुरा गर्दा त्यही समयमा उनले एउटा यस्तो निर्णय लिए, सायद त्यसले उनलाई पूरै जीवनमा सताउनेछ । जस्टिनले २०२३ जनवरीमा हिपग्नोसिस सङ्ग्स क्यापिटललाई आफ्ना २९१ गीत लगभग २०० मिलियन डलरमा बेचे । अब ती गीतमा उनको कुनै पनि पब्लिसिङ अधिकार हुने छैन । यसरी केवल २८ वर्षको उमेरमा उनले आफ्नो पूरै विरासत बेचिदिएका थिए ।

सार्वजनिक छविको कुरामा उनी अनेकन् रूपमा देखिए । गोरो र सफा लुक्सका उनी डरलाग्दो देखिन थाले । उनले धेरै ट्याटुहरू हाने । कपाल पनि झुस्स पाले । उनको त्यो रूपलाई देखेर धेरै प्रशंसकले चिन्ता व्यक्त गरेका थिए ।

000

अहिले जस्टिन बिबर एक सन्तानका बाबु हुन् । सामाजिक सञ्जालका पोस्टहरू हेर्दा उनी ठिकठाक देखिन्छन् । तर उनीबारेको कन्सपिरेसी बेलाबेला फैलिरहन्छ । यो निश्चित हो कि, उनी मानसिक समस्यासँग जुधिरहेका छन् । आर्थिक रूपमा पनि संघर्ष गरिरहेका छन् । तर उनकी श्रीमती आर्थिकरूपमा सबल छिन् । त्यसमाथि गत असारमा उनले नयाँ एल्बम ‘स्वाग’ निकालेका छन् ।

खासै प्रचार नगरेका उनले यस एल्बमभित्र २१ वटा ट्र्याक राखेका छन् । जुन सुन्दा उनको व्यक्तिगत डायरी जस्तो लाग्छ । जसमध्ये ट्र्याक १४ ‘थेरापी सेसन’ मा उनले भनेका छन्, ‘मैले आफ्नो जीवनको सङ्घर्ष सबैका सामुन्ने बिताउनु पर्‍यो… र यो कुरा बिस्तारै ममाथि भारी पर्न थाल्छ’

यो आलेख तयार गर्दाको बखत उनले दाह्री काटेका छन् । सायद उनी फेरि लयमा फर्कनेछन् । पहिले जसरी जगत जगाउने, हल्लाउने गीत निकाल्ने छन् । र, उनी भन्ने छन्– लभ योर सेल्फ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More