― Advertisement ―

ब्ल्याक सेल्सले यस हप्ता नेटफ्लिक्स छोड्दै छ – तर तपाईले सबै समयको सबैभन्दा ठूलो पाइरेट टिभी शो नि:शुल्क स्ट्रिम गर्न सक्नुहुन्छ।

मलाई डर छ कि म नराम्रो खबर लिएर आउछु — टोबी स्टीफन्स अभिनीत हिट पाइरेट टिभी शृंखला ब्ल्याक सेल्स, छोड्दै छ अप्रिलमा 17.सबै चार...
HomeLatest newsचुनावको मुखमा देखिन थालेको नक्कली नोट कारोबारको जोखिम

चुनावको मुखमा देखिन थालेको नक्कली नोट कारोबारको जोखिम



२७ पुस, काठमाडौं । बौद्धस्थित ‘लेलिन ब्रान्ड’ को फेन्सी स्टोरमा एक व्यक्ति जुत्ता किन्न गए । १४ हजार ५०० मूल्यका ब्रान्डेड जुत्ता किनेका ती व्यक्तिले हजार दरका १५ थान नोट तिरे । अनि, ५०० को एउटा नोट फिर्ता लिएर त्यहाँबाट बाहिरिए ।

१२ पुसको यो घटना भएको करिब एक घण्टापछि मात्रै पसल सञ्चालकले शंका गरे- जुत्ता किन्ने व्यक्तिले दिएको नोट नक्कली त होइन ?

उनले प्रहरीलाई खबर गरेपछि पुष्टि भयो जुत्ता किन्नेले दिएको नोट नक्कली नै रहेछ ।

ती ग्राहकले नक्कली नोटमै साढे १४ हजारको जुत्ता त किने नै, उल्टो ५०० रुपैयाँ सक्कली नोटसमेत त्यहाँबाट फिर्ता लगे ।

नक्कली नोट पुष्टि भएपछि प्रहरीले अनुसन्धान अघि बढायो । नक्कली नोटमा जुत्ता किन्ने दावा नोर्बु शेर्पा रहेको प्रहरी अनुसन्धानबाट खुल्यो । उनी पक्राउ परे ।

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-२ घर भई काठमाडौं साँखु बस्ने ३२ वर्षीय शेर्पा समातिएपछि उनीमार्फत नै प्रहरीले थप ५ जनालाई पक्राउ गर्‍यो ।

बाह्रबिसे-२ घर भएका ४४ वर्षीय पासाङ शेर्पा, मेलम्ची नगरपालिका-३ घर भएका ३२ वर्षीय प्रकाश गुरुङ, सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-१० घर भएकी ४२ वर्षीया रेणुका भारती, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-२ घर भएका ६५ वर्षीय गोकर्ण थापा र काठमाडौं शंखरापुर नगरपालिका-३ का सुकबहादुर स्याङ्बो पनि समातिए ।

उनीहरूबाट प्रहरीले ९३ थान नक्कली हजार दरका नोट पनि बरामद भयो । एकले अर्कोलाई दोष लगाए पनि नक्कली नोटका मुख्य व्यक्ति भने समातिएकै थिएनन् । भारतमा नक्कली नोट छापेर नेपाल सप्लाई गर्ने गरेको विषय थप अनुसन्धान गर्दा खुल्यो ।

अनि समातिए भारतबाट यसका मुख्य नाइेक र उनका सहयोगी । बाराको कलैया उपमहानरपालिका-२ कबलपुरका २८ वर्षीय गौरीशंकर यादव समातिए ।

त्यसपछि भारतमा बसेर नक्कली नोट छाप्दै नेपाली बजारमा पठाउने बाराकै फेटा गाउँपालिका-३ घर भएका २८ वर्षीय रविकुमार श्रीवास्तव समातिए । भारतीय प्रहरीको सहयोगमा बिहार मोतिहारी लाला टोल पनौनामा अपरेसन चलाएर श्रीवास्तलाई पक्राउ गरेर काठमाडौं ल्याइयो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पछिल्लो समय नेपाली बजारमा नक्कली नोट पठाउने श्रीवास्तव नै मुख्य व्यक्ति हुन् ।

‘अहिले नेपाली बजारमा देखिएका नक्कली नोटका मुख्य योजनाकार नै श्रीवास्तव देखिन्छन् । यता (नेपाल)मा पक्राउ पर्ने डरले सीमावर्ती भारतमा बसेर नोट छाप्ने र यता (नेपाल) पठाउने गरेको देखिन्छ,’ एसपी भट्टराईले अनलाइनखबरसँग भने ।

यो नक्कली नोटका मुख्य नाइके श्रीवास्तव भोजपुरी गायक समेत हुन् । बिहारस्थित उनको कारखानाबाट प्रहरीले ५ वटा गड्डीमा भारु ५०० दरका ३१७ थान नक्कली नोट, छाप्न ठिक्क पारिएका हजार दरका नेपाली नोट, छाप्ने मेसिनसमेत बरामद गर्‍यो ।

पछिल्लो तीन महिनादेखि उनले नक्कली नोट छापेर नेपाली बजारमा सप्लाई गरेको परिसरका एसएसपी रमेश थापा बताउँछन् । ‘यो समूह पक्राउ नपरेको भए नेपाली बजारमा नक्कली नोट छ्यापछ्याप्ती हुने सम्भावना थियो,’ एसएसपी थापाले भने ।

श्रीवास्तले भने ९ लाख रुपैयाँ नेपाली बजारमा पठाइसकेको प्रहरीसमक्ष स्वीकारेका छन् । आरोपीले नै ९ लाख हजार दरका नोट नेपाली बजारमा पठाएको बताएकाले अझै नक्कली नोट फेला पर्ने सम्भावना बाँकी नै छ । त्यसमाथि उनले भनेभन्दा पनि बढी नोट छापेर कारोबार गरिसेकको हुनसक्ने जोखिम रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

‘९ लाख नक्कली नोट सप्लाई गरेको त आरोपीले स्वीकारेको कुरा भयो । तर तीन महिनादेखि छापेको भनेपछि यो भन्दा बढी नक्कली नोट नेपाली बजारमा पुगेको हुनसक्छ,’ एक अनुसन्धान अधिकृत भन्छन् ।

बजारमा फेला पर्ने नक्कली नोटलाई निर्वाचनसँग जोडेर पनि विश्लेषण गर्नुपर्ने केही सुरक्षाकर्मीको धारणा छ । निर्वाचन निजिकिँदा पैसाको फ्लो बजारमा बढ्ने हुँदा त्यही मौकामा नक्कली नोट घुसाएर कारोबार गर्ने पुरानै शैली रहेको नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राई बताउँछन् ।

‘आपराधिक मनोवृत्ति भएका व्यक्ति जहिले पनि मौकाको खोजीमा हुन्छन् । उपयुक्त समय देखेपछि अपराध घटाइहाल्ने उनीहरूको विगत अध्ययन गर्दा देखिन्छ,’ राई भन्छन्, ‘चुनाव देशको आवश्यकता हुन्छ । तर केहीले त्यसलाई अपराध गर्ने उपयुक्त समय ठान्छन्, अनि बजारमा नक्कली नोटको सप्लाइ हुन्छ ।’

अहिले जुन परिमाणमा नक्कली नोट बरामद बरामद भएको छ, यसमा सानो अपराधी ग्रुपले पैसा कमाउने उद्देश्य राखेको उनको बुझाइ छ । चुनावमा गाउँगाउँमा पैसा पुग्छ, गाउँमा पढेलेखेका मान्छे पनि कम हुन्छन् । त्यस्ता ठाउँमा यस्तो रकम प्रयोग हुने जोखिम पनि उत्तिकै छ ।

अहिले फाट्टफुट्ट रूपमा नक्कली नोट देखिए पनि ठूलो संख्या नक्कली नोट देखा पर्न थालेमा त्यसले राष्ट्रिय सुरक्षामै ठूलो चुनौती सिर्जना गर्नसक्ने जोखिम हुने बुझाइ पूर्वएआईजी राईको छ ।

‘पहिला स्टेटकै स्पोन्सरको रूपमा नेपालको मार्ग हुँदै तेस्रो मुलुकमा रकम गएको देखिन्थ्यो । त्यसमा कुनै देशको स्वार्थ जोडिन्थ्यो । अहिले त्यो देखिएको छैन । सानो संख्यामा भारतबाट जुन किसिमले रकम आएको छ, त्यसमा आर्थिक उद्देश्य बाहेक अर्को ठूलो कारण देखिँदैन,’ पूर्वएआईजी राई भन्छन् ।

‘स्पोन्सर फेक करेन्सी’ नर्मल आँखाले छुट्याउन नसक्ने उनी बताउँछन् । एउटा देशले अर्को देशको को अर्थतन्त्रमा सोझै प्रभाव पार्ने उद्देश्यले फेक करेन्सीको कारोबार त्यतिबेला नेपालबाट हुँदै गएको उनी बताउँछन् ।

राईले संकेत गरेको युनुस अन्सारी प्रकरण हो । पछिल्लो पटक १० जेठ २०७६ मा युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरूबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो । यो नोट पाकिस्तानबाट नेपाल आइपुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । यसको गन्तव्य भने भारत थियो । तर त्यहाँ नपुग्दै नोटसहित पाकिस्तानी नागरिक र नेपाली नागरिक युनुस समातिएका थिए ।

भारु नक्कली नोटमा जोडिएपछि युनुसलाई जेल भित्रै गोली हानी हत्या गर्ने प्रयाससमेत भएको थियो । २६ फागुन, २०६७ मा सुन्धारास्थित केन्द्रीय कारागारका कैदी चार्ल्स शोभराजलाई भेट्न गएका भारतीय नागरिक जसजित सिंहले अन्सारीमाथि गोली प्रहार गरेका थिए ।

अन्सारीमाथि जसजितले हानेको ४ राउन्ड गोली पड्किएन । पाँचौं गोली भने अन्सारीको कुममा लागेर उछिट्टएिको थियो । जेलबाट छुटेपछि फेरि उनी नक्कली भारुमा जोडिएका थिए ।

४ लाख नक्कली नोट भेटिए

नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म करिब चार लाख नेपाली रुपैयाँ बराबरका नक्कली नोट बरामद भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार यो अवधिमा ३ लाख ८३ हजार ५०० नक्कली नेपाली रुपैयाँ बरामद भएका छन् ।

जसअनुसार कोशी प्रदेशमा यो ६ महिनाको अवधिमा नक्कली नोटसम्बन्धी २ वटा मुद्दा दायर भएका छन् । जसमा ४ जना पक्राउ पर्नुका साथै ३८ हजार नेपाली नक्कली रुपैयाँ र ३६ हजार ५०० नक्कली भारु बरामद भएका छन् ।

मधेश प्रदेशमा पनि २ वटा मुद्दा दायर भएको छ । जसमा ४ पुरुष र १ महिना गरी ५ जना पक्राउ परेका छन् । उनीहरूबाट २ लाख १३ हजार नेपाली नक्कली रुपैयाँ बरामद भएको थियो । बागमती प्रदेशमा भने ३ वटा मुद्दा दायर भएका छन् । ४ जना पक्राउ परेकामा उनीहरूबाट १ लाख १२ हजार नेपाली नक्कली रुपैयाँ बरामद भएको थियो ।

गण्डकी प्रदेशमा १ जनालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीको तथ्यांक छ । उनीबाट १५ सय नक्कली रुपैयाँ बरामद भएको थियो । लुम्बिनी र कर्णालीमा भने नक्कली नोट बरामद भएको छैन ।

सुदूरपश्मिम प्रदेशमा २ वटा मुद्दा दायर भएकोमा ८ जना पक्राउ परेका थिए । उनीहरूबाट १९ हजार नक्कली रुपैयाँ बरामद भएको थियो भने भारु ७३ हजार ५०० बरामद भएको थियो ।

अहिले काठमाडौंको बौद्ध प्रकरणमा ८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको छ । उनीहरूको पनि संख्या जोड्दा पक्राउ पर्ने र मुद्दाको संख्या थप बढ्ने निश्चित छ ।

भारतमा छपाइ नेपालमा सप्लाइ

पछिल्लो समय नक्कली नोटमा कारोबार हुनेहरूको नेक्सस दक्षिण छिमेकी भारतीय सीमावर्ती ठाउँहरूमा सोझै जोडिएको देखिन्छ ।

अहिले बौद्धमा भेटिएको नक्कली नोट छापिएको ठाउँ होस् वा हालै बरामद भएका अन्य नक्कली नोटको उत्पत्ति पनि भारतीय बजारमा भएको देखिएको एक अनुसन्धान अधिकृत बताउँछन् ।

‘पहिला पहिला नेपालमै मेसिन राखेर नक्कली नोट तयार पारेर बजारमा पठाउने गरिन्थ्यो । अहिले भने पक्राउ पर्ने डरले समावर्ती भारतमा गएर नोट छापेर नेपाल सप्लाइ गर्ने गरेको देखिन्छ,’ ती अनुसन्धान अधिकृत भन्छन् ।

नेपाल प्रहरीले चालु आथिर्क वर्षमा नक्कली नोटसहित पक्राउ गरेका २९ जनाबाट बरामद भएको अधिकांश नक्कली नोटको भारतमा छापिएको भेटिएको ती अधिकारी बताउँछन् । यसको मुख्य उद्देश्य नै पक्राउ पर्नबाट जोखिन रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

ओपन बोर्डर (खुला सीमा)को फाइदा उठाएर अपराधीले सीमा पार अपराध गर्ने पूर्वएआईजी राई बताउँछन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More