― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsगठबन्धन फेर्दै बन्छन् पटकपटक मुख्यमन्त्री – KhabarHost

गठबन्धन फेर्दै बन्छन् पटकपटक मुख्यमन्त्री – KhabarHost



४ मंसिर, काठमाडौं । भारतको बिहारमा नितिशकुमार बिहीबार मुख्यमन्त्री नियुक्त भए । पटनाको ऐतिहासिक गान्धी मैदानमा जनता दल युनाइटेड (जेडीयू)का अध्यक्ष नितिशले किर्तिमान कायम गर्दै १०औं पटक मुख्यमन्त्री पदको शपथ लिए ।

प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, विभिन्न प्रदेशका मुख्यमन्त्रीसहित उच्चपदस्थले शपथ समारोहमा उपस्थिति जनाउँदै नितिशलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री मोदीले शपथपछि सामाजिक सञ्जालमा पोस्ट गरेर नितिशलाई बिहारको कुशल प्रशासक भन्दै शुभकामना दिएका छन् ।

विपक्षीले ‘पल्टुराम’ उपमा दिएपनि जनस्तरमा निर्विवादित छवि बनाएका नितिशलाई बिहारका महिला, दलित र पिछडिएका वर्गले यसपटक पनि बलियो समर्थन दिएको देखिन्छ ।

७४ वर्षीय नितिश यसपटक दुई तिहाइ बहुमतसहितको मुख्यमन्त्री बनेका छन् । एनडीए गठबन्धनले २४३ मध्ये २०२ सिट जित्दै बिहारमा यसपटक किर्तिमानी जित दर्ज गरेको छ ।

पटनाको ईलेक्ट्रिकल ईन्जिनियरिङ छात्र नितिशको राजनीति यात्रा रोचक छ । आफू र आफ्नो पार्टीलाई सत्तामा टिकाइरहन गठबन्धन बदलिरहने नितिश अर्थात् पल्टुरामले राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने चरितार्थ गरेका छन् ।

नेपालको सीमावर्ती क्षेत्र बिहारमा फेरि मुख्यमन्त्री नियुक्त भएका नितिशकुमारलाई डिकोड गरौं ।

नितिशको पृष्ठभूमि

सन् १९५१ मार्च १ मा पटनाको बख्तियारपुरमा जन्मिएका हुन् नितिश । ४ भाई–बहिनीमध्ये नितिश सबभन्दा कान्छा हुन् । उनको पुख्र्यौली गाउँ नालन्दा जिल्लाको कल्याण बिघा हो ।

नितिशकुमारको जीवनीमा आधारित पुस्तक– ‘नितिश कुमार : अन्तरंग दोस्ती की नजर से’ अनुसार उनका पिता राम लखन सिंहले आफ्नो क्षेत्रमा वैद्यका रूपमा ख्याती कमाएका थिए ।

नितिशका पिता स्वतन्त्र सेनानी र कंग्रेस आईका कर्मठ नेता समेत थिए । नितिशका पिता राम लखन सिंहले पनि सन् १९५२ अघिको आम चुनाव लडेको बताइन्छ ।

कतिपय सन्दर्भ सामग्रीमा भने कंग्रेस आईबाट टिकट नपाएपछि नितिशका पिता लखनलाई चुनावी राजनीतिबाट मोहभंग भएको उल्लेख छ । नितिशकी आमा परमेश्वरी देवी भने गृहणी र खेतीको काम गर्थिन् ।

पढाइमा अब्बल नितिशकुमारलाई परिवारले इलेक्ट्रिकल ईञ्जिनियर अध्ययनका लागि बिहारकै पटनास्थित ईञ्जिनियरिङ कलेजमा भर्ना गराए ।

कलेजबाटै उनी विद्यार्थी राजनीतिकमा सक्रिय भएका थिए । तत्कालीन कंग्रेस आईले सरकारविरुद्ध गरेको आन्दोलनमा नितिश पनि सहभागी भए ।

राजनीतिमा नितिशको बढ्दो सक्रियतासँगै १९७२ मा बिहार ईञ्जिनियरिङ कलेज स्टुडेन्ट्स यूनियनको अध्यक्ष चुनिए ।

नितिश कुमारले राँचीमा प्रशिक्षार्थी ईञ्जिनियरको जागिर पाए । त्यतिबेला जयप्रकाश नारायण (जेपी) को नेतृत्वमा आन्दोलन सुरु भएको थियो ।

बेलायती उपनिवेशवादको विरुद्धमा भएको आन्दोलनमा विद्युत विभागको जागिर छाडेर नितिश पनि होमिए ।

जेपी नेतृत्वको सबै क्रान्ति आन्दोलनमा नितिशले कलेज बहिस्कार गरेर विद्यार्थीहरूलाई सहभागी गराए । आपतकाल घोषणापछि जेपीसहितका थुप्रै नेता गिरफ्तार भएपछि नितिश भूमिगत भए ।

जुन १९७६ मा नितिशलाई प्रहरी गिरफ्तार गर्‍यो । करिब ९ महिना उनी जेल बसे । बिहारका राम मनोहर लोहिया, सत्येन्द्र नाथ सिन्हा, कर्पूरी ठाकुर र वीपी सिंह जस्ता तत्कालीन समाजवादी युवा नेताहरूसँग जोडिए उनी ।

लालु यादव र नितिशकुमारको युवा जोडीले प्रशंसा पाएको बेला थियो त्यो । बिहार विधानसभामा लालू यादवलाई विपक्षीको बलियो नेता बनाउनसम्म नितिशकै अहंम भूमिका थियो ।

नितिशको चुनाव यात्रा

सन् १९७७ मा भएको बिहार विधानसभा चुनावमा जनता दलबाट उम्मेदवार बने । जेपी आन्दोलनसँग जोडिएका नेताहरू यही दलको छातामुनी थिए । कंग्रेस विरोधी माहोलकाबीच नालन्दाको हरनौत विधानसभा सिटमा उम्मेदवार बनेका नितिश कंग्रेस प्रत्यासी भोला प्रसादसँग पराजित भए ।

सन् १९८० मा पुनः हरनौत विधानसभाबाट चुनाव लडेका नितिश ५ हजार भोटले हारे । सन् १९८५ मा सोही विधानसभाबाट ‘गर वा मर’ को स्थितिमा चुनाव लडेका नितिश २२ हजार भोटसहित विजयी भए ।

सन् १९८९ मा बाढ र नालन्दा गरी दुई क्षेत्रबाट लोकसभा चुनाव लडेका उनी बाढमा भने पराजित भए ।

त्यसयता नितिशले प्रत्यक्ष विधानसभा चुनावमा उम्मेदवारी दिएका छैनन् । उनी विधान परिषद्को सदस्य हुँदै सत्ताको केन्द्रमा रहिरहे । बिहारमा राज्यपाल (प्रदेश प्रमुख) वा विधानसभा सदस्यहरूले मनोनित गर्ने कोटाबाट विधान परिषद् सदस्य बन्दै आएका छन् ।

१९९० मा जनता दलबाटै लालु यादव मुख्यमन्त्री बने भने नितिश त्यतिबेला छाया मुख्यमन्त्रीको भूमिकामा थिए । सन् १९९० देखि २००५ सम्मको लालु यादवको शासनकाललाई जंगलराज भनेर टिप्पणी गरिन्छ ।

कमजोर शासन, सामाजिक अव्यवस्था, हत्या, अपहरण, चोरी डकैतीका शृङ्खला बिहारमा चरम सीमामा थियो । लालुको कमजोर शासनको परिणाम नेपालका सीमावर्ती क्षेत्रमा समेत देखिन्थ्यो ।

सीमापार अपहरण, हत्या जस्ता नियती नेपालीले पनि भोग्नुपर्‍यो । कछुवा गतिको विकास र कूशासनले बिहारमा लालु सरकारप्रति असन्तुष्टि बढाउँदै गएको थियो ।

यतिबेलासम्म लालु र नितिशबीच वैचारिक मतभिन्नता सुरु हुन थालिसकेको थियो । त्यसताका जनता दलमा फुट सुरु भयो । भाजपाका जर्ज फर्नान्डिजले सन् १९९४ मा समता पार्टी गठन गरे । नितिश पनि समता पार्टीमै सामेल भए ।

जनता दल फुटाएर लालु यादवले भने सन् १९९७ मा राष्ट्रिय जनता दल (आरजेडी) गठन गरे ।

अटल बिहारी वाजपेयी नेतृत्वको सन् १९९८–१९९९ सरकारमा नितिश रेल मन्त्री बने । रेलमन्त्री हुँदा नितिशले रेल काउन्टर संख्यामा वृद्धि गरे तत्कालै स्कीम समेत सुरु गरेका थिए ।

सडक विस्तारदेखि मदिरा प्रतिबन्धसम्म

सन् २००५ अघिसम्म बिहारमा सडक विस्तार वा स्तरोन्नति, विद्युतीकरण, खानेपानीको वितरण असमान र ठप्पप्रायः थियो ।

भारतकै सबभन्दा गरिब राज्यका मुख्यमन्त्री बनेका नितिशले यिनै कुरामा सुधार ल्याए । नितिशले ग्रामिण सडकको विस्तारमा जोड दिए ।

फलतः २००५ अघिसम्म १४ हजार किलोमिटर हाराहारी सडक रहेको बिहारमा नितिशको शासनकालमा झण्डै दोब्बर २६ हजार किलोमिटर सडक विस्तार भयो । विशेषतः सन् २००५ पछि ६४ हजार किलोमिटर ग्रामिण सडक विस्तार भएको छ ।

यसबीच बिहारका धेरै गाउँमा विद्युतीकरण भयो । भौतिक पूर्वाधारमा तीव्रताका साथ भएको विकासले नितिशप्रति जनसमर्थन बढ्दै गयो । सन् २०१६ को अप्रिलमा बिहारमा मदिरा उत्पादन, ओसारपसार र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइयो ।

२ अक्टोबर २०१६ मा ‘बिहार निषेध तथा मदिरा कर ऐन, २०१६’ जारी गर्दै मदिरामाथिको प्रतिबन्ध थप कडा पारियो । नितिशले चुनाव प्रचारकै दौरान महिलाहरूसँग मदिरामाथि प्रतिबन्ध लगाउने बाचा गरेका थिए ।

प्रतिबन्ध नै घोषणा गरेपछि महिला र युवा उमेर समूहमा नितिशको प्रशंसा झन् बढ्न थाल्यो । यद्यपि प्रतिबन्धले बिहारमा झन् मदिरा तस्करी बढेको छ भने विषाक्त मदिराका कारण मानिसहरूले ज्यान गुमाइरहेका छन् ।

गरिब राज्य बिहारमा अधिकांश घरेलु हिंसा, आपराधिक घटनामा मदिरा मुख्य जड थियो । मदिरामाथिको प्रतिबन्धले नितिशको निकै प्रशंसा भयो ।

दीर्घकालीन योजनाबिनै मदिरा प्रतिबन्ध गरेको भन्दै उनको आलोचना पनि हुने गरेको छ । अवैध मदिराको बिक्री वितरणले प्रहरी र कर्मचारी भ्रष्ट हुँदै गएका छन् ।

नितिशले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रमा पनि जनमत रिझाउने काम गरे । विद्यार्थीहरूलाई छात्रवृत्ति, साइकल योजना, पोशाक वितरण जस्ता कार्यक्रम सुरु गरेर विद्यालय छाड्ने विद्यार्थीको संख्या घटाए । तथापि बिहारका सरकारी विद्यालय, विश्वविद्यालयहरूको शैक्षिक गुणस्तर खासै सुधारिएको छैन ।

बालिका शिक्षा प्रोत्साहन कार्यक्रम, पिछडिएका र दलित वर्गलालाई आरक्षण तथा विभिन्न कल्याणकारी योजनाहरूमा समेटेर नितिशले जनमतको आधार बलियो बनाएको देखिन्छ । सामुदायिक स्वास्थ्य केन्द्रहरूको संख्या बढाउँदै लगे पनि ग्रामिण क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रहरूको अवस्था दयनीय छ ।

राज्यमा रोजगारी सिर्जनामा नितिशले पनि उल्लेख्य प्रगति गर्न सकेनन् । बिहारका युवाहरू अझै पनि अन्य राज्य र वैदेशिक रोजगारीमा जान बाध्य छन् । औद्योगिकरणको नीति अवलम्बन नगर्दा बेरोजगारीको समस्या उस्तै छ । बिहार उत्तरी क्षेत्र वर्षेनी बाढीको चपेटमा पर्दै आएको छ । बाढी नियन्त्रणमा अर्बौं खर्च गर्दा पनि दिगो समाधान खोज्न नसकेको भन्दै नितिशको आलोचना हुने गर्छ ।

गठबन्धन फेरबदल गरिरहने कारण राजनीतिक वृत्तमा पल्टुरामको उपमा दिइएपनि जनमत रिझाउन भने नितिश अझै सफल देखिए ।

नितिशलाई किन भनिन्छ ‘पल्टुराम’ ?

सन् २००० मा नितिशकुमार पहिलो पटक बिहारको मुख्यमन्त्री बने । तर, बहुमत नपुग्दा ६ दिनमै राजीनामा दिनुपर्‍यो ।

समता पार्टीमा बिग्रहका बीच शरद यादवको जनता दलसँग एकीकरण गरी नितिशले २००३ मा जनता दल यूनाइटेड (जेडीयू) गठन गरे । सन् २००१ देखि २००४ सम्म नितिश कृषिमन्त्री बने ।

२००४ मा उनले नालन्दा लोकसभा सिटमा चुनाव जिते तर, अटल बिहारी वाजपेयीको सरकार ढल्यो ।

२४ नोभेम्बर २००५ मा नितिशले दोस्रो पटक मुख्यमन्त्री पदको शपथ लिए । बिहारमा पहिलो पटक भाजपा र जेडीयू गठबन्धनले पूर्ण बहुमतसहित सरकार बनायो । भारतीय जनता पार्टी (भाजपा) र जनता दल यूनाइटेड (जेडीयू)को गठबन्धनले लालु यादव १५ वर्षे शासन अन्त्य गर्‍यो ।

पहिलो पटक मुख्यमन्त्री बनेका नितिशले बिहारमा खस्कँदो कानुनी शासन (जंगलराज), हत्या, अपहरण, चोरी डकैती नियन्त्रणका लागि आम्र्स एक्ट लागू गरे । नरसंहार जस्ता मामिला जाँचका लागि फास्ट ट्र्याक कोर्ट गठन गरे ।

नक्सलीविरुद्ध लड्न विशेष सैन्य दल बनाए । अति पिछडिएका वर्गलाई समेट्न पञ्चायत चुनावमा ५० प्रतिशत महिला सहभागीता अनिवार्य गरिनुलाई नितिशको ‘मास्टरस्ट्रोक’ मानिन्छ ।

जितनराम माँझीको ९ महिने कार्यकालबाहेक हेर्ने हो भने नितिश झण्डै २० वर्षदेखि लगातार मुख्यमन्त्री पदमा छन् ।

बिहारमा बिहीबार पुनः मुख्यमन्त्रीको पदको शपथ लिएका नितिशलाई कहिले दुई फरक विचाधारा भएका भाजपा र लालु यादवको राष्ट्रिय जनता दल (आरजेडी)सँग गठबन्धन गरी सत्तामा टिकिरहेको भन्दै आलोचकले पल्टुराम भन्ने गर्छन्, जसको पृष्ठभूमि रोचक छ ।

सन् २०१० को बिहार विधानसभा निर्वाचनमा भाजपा र जेडीयूले पुनः बहुमत हासिल गर्‍यो, नितिश तेस्रो पटक मुख्यमन्त्री बने । सन् २०१३ मा नितिशले भाजपासँगको १७ वर्षे गठबन्धन तोडे । तर, सन् २०१४ मा लोकसभा चुनावमा जेडीयूको खराब प्रदर्शन रह्यो ।

पार्टीको अस्वाभाविक हारलाई कारण देखाउँदै मुख्यमन्त्री पदबाट राजीनामा दिए । त्यो साल जितन राम माँझी मुख्यमन्त्रीमा नियुक्त भए ।

सन् २०१५ मा भाजपासँग जितन राम माझी नजिक भएका कारण जेडीयूमा नितिशकुमारलाई पुनः मुख्यमन्त्री बनाउने दबाब बढ्यो ।

त्यसबेला लालु यादवको राष्ट्रिय जनता दल (आरजेडी) को समर्थनमा २२ फेब्रुअरी २०१५ मा पुनः नितिश चौंथो पटक मुख्यमन्त्री बने ।

तर, त्यसको दुई वर्षपछि सन् २०१७ मा नितिशकुमारले लालु यादवको आरजेडीसँगको गठबन्धन तोडे र भाजपा, जितन राम माझी लगायतका साना दलसमेत रहेका राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) मै फर्किए र छैंठौ पटक मुख्यमन्त्री चयन भए ।

नितिशले कहिले आरजेडी र कहिले एनडीए गठबन्धनमा हेरफेर गरिरहे । सन् २०२० मा नितिश एनडीए गठबन्धनबाट सातौं पटक मुख्यमन्त्री बने ।

तर, सन् २०२२ मा आरजेडीसँग मिलेर नितिश ८औं पटक मुख्यमन्त्री बने भने २०२४ मा आरजेडीसँग गठबन्धन तोडेर भाजपा र जेडीयू गठबन्धनबाट ९औं पटक मुख्यमन्त्री बने ।

बिहीबार पटनाको गान्धी मैदानमा १०औं पटक मुख्यमन्त्रीको शपथ लिएसँगै नितिशकुमार किर्तिमान कायम गरेका छन् ।

यो पाँच वर्षे कार्यकाल बिना अवरोध पूरा भए भारतको इतिहासमै नितिश सर्वाधिक लामो समय मुख्यमन्त्री बन्ने सूचीको अग्रस्थानमा आउनेछन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More