― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsकाठमाडौं-३ मा पुरानालाई नयाँको चुनौती – KhabarHost

काठमाडौं-३ मा पुरानालाई नयाँको चुनौती – KhabarHost



६ माघ, काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-३ का उम्मेदवारहरूले मंगलबार तामझामका साथ मनोनयन दर्ता गरे । निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार क्षेत्र नम्बर ३ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । बाजागाजा नारा जुलुससहित उम्मेदवारहरू मनोनयन दर्ताका लागि पुगेका थिए ।

यो क्षेत्रमा यसअघि कहिले कांग्रेस त कहिले एमालेले जित्दै आएको छ । तर यस पटक नयाँ दलका उम्मेदवारहरूले चुनौती दिएका छन् ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मुख्यतः एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, रास्वपा र उज्यालो नेपाल पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ ।

एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ र रास्वपाका राजुनाथ पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहेका फुँयाल संविधानसभा सदस्य हुन् । २०६४ को संविधानसभा चुनावमा पराजित भएका उनी २०७० को संविधानसभामा विजयी भएका थिए । २०७४ को चुनावमा फुँयाल बागमती प्रदेशसमा सदस्यमा निर्वाचित भएका थिए ।

उनी बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्रीसमेत भए । फुँयालले तत्कालीन आलापोट गाविसको दुई पटक अध्यक्ष र जिविसको उपसभापतिसमेत भएर काम गरेका छन् । यसपटक उनी फेरि प्रतिनिधिसभाको उम्मेदवार भएका हुन् ।

‘राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउन उम्मेदवारी दिएको हुँ । जनताको जनजीविका सुशान कायम र भ्रष्टाचार निर्मूल पार्नुपर्ने छ,’ उम्मेदवारी दिएपछि फुँयालले भने, ‘संविधान संशोधनमार्फत नवयुवाको चाहना पूरा गर्न मेरो उम्मेदवारी हो ।’

घिसिङ निवर्तमान ऊर्जा मन्त्री तथा उज्यालो पार्टीका अध्यक्ष हुन् । चुनावमा सहभागी हुन उनले मन्त्रीबाट राजीनामा दिएका थिए । उनी विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत हुन् ।

प्राधिकरणमा ३० वर्ष बढी काम गरेका घिसिङ दुई कार्यकाल निर्देशक भए । २०७३ सालमा लोडसेडिङ अन्त्य गरेकाले उनी चार्चामा आएका थिए । घिसिङ देशलाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिएको बताउँछन् ।

‘मेरो उम्मेदवारी सुशासन र सामाजिक न्यायको लागि हो । देशलाई समृद्ध बनाउन हो । क्षेत्र नम्बर ३ लाई बुझेको छु । यहाँको विकास गर्न मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट उम्मेदवारी दिएका पाण्डे काठमाडौं महानगरका निवर्तमान प्रहरी प्रमुख हुन् । चुनावमा उठ्नका लागि उनले महानगर प्रहरी प्रमुखबाट राजीनामा दिएका थिए । उनी पनि सुशासनलाई प्राथमिकतामा राखेर उम्मेदवारी दिएको बताउँछन् ।

‘सुशासन पहिलो प्राथमिकता हो । न्यायोचित प्रणाली स्थापित गर्नुपर्ने छ । पहुँचको आधारमा होइन, प्राथमिकताको आधारमा बजेट विनियोजन हुनुपर्छ । त्यसपछि मात्र विकास सम्भव छ,’ उनले भने, ‘रास्वपाको घोषणापत्रबमोजिम काम गर्न मेरो उम्मेदवारी हो ।’

नेपाली कम्युनिस्ट पार्टीका निरज लामाले पनि उम्मेदवारी दिएका छन् । उनी नेकपाका काठमाडौं महानगर संयोजक हुन् ।

उनी २०६२/०६३ देखि निरन्तर माओवादी आन्दोलनमा सक्रिय हुँदै आएका स्थानीय नेता हन् । गणतन्त्रको उपलब्धिलाई जोगाउन आफूले उम्मेदवारी दिएको उनको दाबी छ ।

‘३ नम्बर क्षेत्रमा पटकपटक व्यक्तिले जितेर गए । तर क्षेत्रले जित्न सकेन । विश्व सम्पदा सूचीमा रहेको क्षेत्र हो तर विकासको काम हुन सकेन । क्षेत्रका जनताको विकासको लागि उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

कांग्रेसबाट रमेश अर्यालले उम्मेदवारी दिएका छन् । उनी २०७४ सालका गोकर्णेश्वर नगरपालिकाका वडाध्यक्षसमेत हुन् । कांग्रेस महासमिति सदस्य रहेका अर्यालले विगतको भन्दा फरक ढंगले काम गर्न आफूले उम्मेदवारी दिएको बताए ।

‘जेनजी आन्दोलनपछिको अवस्थामा फरक ढंगले काम गर्नुपर्ने छ । विगतको भन्दा नयाँ ढंगले देश र जनातको विकास गर्न मैले उम्मेदवारी दिएको हुँ,’ उनले भने ।

यसअघि २०७९ को चुनावमा काठमाडौं-३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए ।

त्यसैगरी एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । यसपटक राप्रपाका सुन्दरसिंह बोहराले उम्मेदवारी दिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More