― Advertisement ―

अमेजनले डाटा सेन्टरहरूको लागि फाइबर अप्टिक केबलहरूको अर्को पुस्ता निर्माण गर्न बहुबिलियन डलर कोर्निङ सम्झौतामा हस्ताक्षर गर्दछ

Amazoning प्रोटोकिङ नेटवर्कको साथमा साइन इन गर्ने योग्य सम्झौता कम्पोनेन्टहरूयो कदमले उत्तरी क्यारोलिनाको कर्निङका सुविधाहरूमा सिर्जना गर्ने 1000 बाहेक सयौं निर्माण कार्यहरू सिर्जना गर्ने...
HomeLatest newsकांग्रेस सदस्यलाई अपहेलना गरेको देख्दा मन रोयो – KhabarHost

कांग्रेस सदस्यलाई अपहेलना गरेको देख्दा मन रोयो – KhabarHost



पार्टीमा कार्यकर्ता हुँदैन, सदस्य हुन्छ । कसैको पछि लागेर झोला बोकेर हिँड्छ भने त्यो कार्यकर्ता हुनसक्छ । सदस्यको रूपमा सभापति र एउटा कार्यकर्ताको भूमिका बराबरीकै हैसियतमा हुन्छ ।

समानताको सिद्धान्तको आधारमा दलको अपनत्व उसको सदस्यबाट आउँछ । संगठित भएपछि कसैले अह्राए/पराएको काम छँदैछ । संगठनमा नेतृत्व हुन्छ । नेतृत्वको तह हुन्छ । तर जब पार्टीको कार्यक्रम आउँछ नीति, सिद्धान्त, व्यवहार, एक अर्कालाई हेर्ने दृष्टिकोण आउँछ, त्यसबेला सबै बराबर हुन्छन् ।

नेपाली कांग्रेसको बृहत्तर प्रजातान्त्रिक छहारी भित्र मेरो परिवार थियो । मेरो परिवारले सुख पायो, दु:ख पायो, नाम पायो, ठाउँ पायो । मैले सानै उमेरमा नेता गिरिजाप्रसाद कोइरालासँग काम गर्ने मौका पाएँ । २४ वर्षको उमेरमा उहाँको सचिव भएको थिएँ । डा. रामवरण यादवको सल्लाहकार भएर काम गरें ।

तर, म कांग्रेसको सदस्य होइन । म कांग्रेसको सदस्य नहुनुको कारण के हो भने, त्यो कालखण्डमा पार्टी सदस्यको आवश्यकता नै थिएन । कांग्रेस हुन पार्टीको सदस्य हुनुपर्दैनथ्यो । लोकतन्त्रको आवाज बोल्नको निम्ति पार्टीको सदस्य हुनु आवश्यक थिएन ।

पार्टी जनताको अधिकार सुरक्षित गर्नको निम्ति चाहिन्छ । जनताका बीचमा विभिन्न विचार र मत मतान्तर हुन्छन् । ती मत मतान्तरलाई आवाज प्रदान गर्न, प्रतिनिधित्व दिन पार्टीको आवश्यकता परेको हो । निर्वाचनका निम्ति आवश्यक परेको हो । पार्टी निर्वाचन लोकतन्त्रको अपरिहार्य तत्व हो । सामाजिक रुपान्तरणको निम्ति पनि पार्टी आवश्यक परेको हो ।

अहिले कांग्रेसको अवस्था हेर्दा, सदस्यहरूलाई केन्द्रीय समितिले बिरालोले मुसा खेलाएको जस्तो खेलाएको छ । कांग्रेस सदस्यहरूलाई अपहेलना गरेको देखेर नागरिकको हैसियतले मेरो मन रोयो । कांग्रेसका सदस्यले विधानले व्यवस्था गरेबमोजिम विशेष महाधिवेशन माग गरेका छन् । तर पार्टी भित्र जुन किसिमको तिरस्कारका कुराहरू सुनिरहेको छु, त्यसले लोकतन्त्र बलियो होला जस्तो मलाई लागेन । मेरा छोरीहरू छन् । उनीहरूको भविष्य के हुन्छ ? हाम्रो दिन त लड्दालड्दै गयो ।

अहिले म आफ्नो काम गरेर बसेको छु । पढाउँछु । देश विदेश जान्छु । आफ्नो कर्म गर्छु । तर लोकतन्त्रमाथि कुनै किसिमको कालो बादल आयो भने मेरो नागरिक चेत खलबलिन्छ । मैले माया गर्ने, मैले भोट हालेको पार्टीमा जुन किसिमको व्यवहार देख्छु, यो के गरिरहेको होला भन्ने लाग्छ ।

हिजोको परिवेशमा र कुनै कालखण्डमा परिस्थिति यस्तो थियो कि, नेताको विवेकमा, विश्वासमा जिम्मा लगाउने गर्थ्यौं । कांग्रेसका सदस्यले बडो मिहिनेत गरेर आफ्नो अधिकार हातमा लिएका छन् । अब मिलेमतोले चल्दैन ।

षड्यन्त्र र लोकतन्त्र कहीँ पनि सँगसँगै जान सक्दैन । त्यसकारण, कांग्रेसमा षड्यन्त्रको भाषा होइन, खुला कुराकानीसहित विमति र सहमतिको भाषाको कुराकानी हुनुपर्छ ।

कांग्रेसको भोलिको नेतृत्वका बारेमा कुराहरू सुन्दै आएको छु । नेता विधिमा टेकेर निर्भयताकापूर्वक छान्न म आग्रह गर्दछु । कुनै साधन-स्रोतको परिवेश बिना नेता छान्नुस् । एकपटक नेतृत्वमा पुगेपछि सधैँभरि त्यहीं बसिरहने हो भने समाज परिवर्तन हुँदैन ।

आज हामी कुन परिवेशमा उभिएका छौं, यसको विश्लेषण गर्न जरुरी छ । तर त्यो विश्लेषण गर्ने ठाउँमा अल्मलिने समय छैन । किनभने, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत ढलेको यथार्थ हो । हाम्रा आँखा अगाडि भएका घटना हुन् यी । षड्यन्त्रको तानाबानामा बस्नुभयो भने अगाडि जाने बाटो हुँदैन । अगाडि जाने बाटोमा कांग्रेसका लागि चुनौतीसहित बसेको पुस्ता छ, जो हामीले गरेको कामले खुसी थिएनन् ।

ठूलो स्वतन्त्रताको वकालत गर्‍यौं । तर आजको स्वतन्त्रताको युगमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरियो । प्रविधिको प्रयोग गर्ने पुस्तालाई बन्देज लगाउने काम भए । त्यसप्रति आक्रोश जन्मियो ।

वाकसहित अभिव्यक्ति र रोजगारीको स्वतन्त्रता पनि हुनुपर्छ । तर एउटा नेतृत्वको मुढता र घमण्डले गर्दा राज्यका विभिन्न निकाय ढले । कांग्रेस पार्टी कहाँ थियो, अहिले किन यो अवस्था बन्यो, जेनजी आन्दोलनमा ती परिदृश्य किन देखिए, कांग्रेसले समीक्षा गर्नु जरुरी छ । तर विडम्बनाका साथ भन्नुपर्छ, कांग्रेसमा गगनले बाहेक हामीले गल्ति गर्‍यौं भनेर स्वीकार अरूले गरेको देखेको छैन । नेतृत्वले गल्ती स्वीकार गर्नु ठूलो कुरा हो ।

भदौ २४ गतेको जस्तो अराजकताको स्थिति मैले दरबार हत्याकाण्ड हुँदा पनि देखेको थिइनँ । किनभने, त्यतिबेला हामीसँग गिरिजाप्रसाद जस्तो एउटा दृढ नेतृत्व हुनुहुन्थ्यो । राष्ट्रपतिका कारण यो व्यवस्था जोगिएको हो । त्यो दिनको घटना राष्ट्रपति कार्यालय नपुगी मिलिट्री हेडक्वार्टरमै अड्केको भए तपाईं/हामी आज यहाँ हुँदैनथ्यौं । रक्षा बम लगायतका जेनजीले सैनिक पोशाक लगाएर अशोक सिक्देललाई ‘तपाईंले कु गर्न खोजेको हो ?’ भनेर गरेको प्रश्नले लोकतन्त्र जोगिएको हो ।

प्रश्नले लोकतन्त्र जोगिन्छ, समर्पणले जोगिँदैन । कांग्रेसमा उठिरहेको प्रश्नले मलाई खुसी लागेको छ । त्यसले लोकतन्त्र जोगाउँछ । ‘तिम्रो दायित्व के हो ? तिमीले कसरी पार्टीलाई सुरक्षित अवतरण गर्छौ ?’ भन्ने प्रश्नले पार्टी बाँच्छ ।

यो मुलुकमा नयाँ परिवर्तन हुन्छ, हाम्रो पनि ठाउँ छ भन्ने आकांक्षा छ । नयाँ पुस्तालाई संगठित बनाउने नाममा विभिन्न भागमा बाँडेका छौं । उनीहरूको भावनालाई कुण्ठित गरिरहेका छौं । कांग्रेसले भावी पुस्ताको भावनालाई जबसम्म समेट्दैन, अगाडि बढ्न सक्दैन ।

कांग्रेसलाई भोट दिने व्यक्ति हुँ म । मान्छेहरू लुतेलांग्रे, डरले थिचिएको र भ्रमित हुनु हुँदैन । ठूलो छाती बनाएर बोल्न सक्ने हुनुपर्छ । गल्ती गर्‍यौं भने सुध्रिन्छौं भन्ने भाव लिएर हिँड्न सक्ने मान्छे हुनुपर्छ ।

कांग्रेस सानातिनो दुःखले उठेको पार्टी होइन । राजाले धपाएको र नेताहरूको सर्वस्वहरण गरिएको पार्टी हो । जुन धरातलमा उभिएर आएको थियो, त्यसप्रति मलाई गर्व छ । लोकतन्त्रको एउटा मूल छहारी कांग्रेस नहुँदा अरूले पनि लोकतन्त्रको अनुभव गर्न पाउँदैनन् ।

पुसको जाडोमा बीपी कोइराला बिरामी भएर कम्बल ओढेर बसे भने नेपाली जनताले लोकतन्त्रको न्यानो पाउने कल्पना त्यो बेला गरिन्थ्यो । बीपी कोइरालाले निर्णय गर्न नसकेको बेला माटो लिएर निर्णय लिन भन्नुभएको थियो ।

अहिले कांग्रेसमा विश्वासको खडेरी छ । किनभने, नेतृत्वले आफ्नै कार्यकर्तालाई पत्याइरहेको छैन । सदस्यहरू बोलिरहँदा पनि केन्द्रीय समितिले सुनेको छैन ।

लोकतन्त्र र षड्यन्त्र सँगसँगै जानै सक्दैन, चाहे त्यो देशी वा विदेशी होस् । कांग्रेसका सदस्यहरूलाई आघात परेको छ । लोकतन्त्र पारदर्शी व्यवस्था हो । बोल्न पाउने व्यवस्था हो । कुरा गर्न पाउने व्यवस्था हो । मत मतान्तरमा लड्न पाउने व्यवस्था हो । षड्यन्त्र र लोकतन्त्र कहीँ पनि सँगसँगै जान सक्दैन । त्यसकारण, कांग्रेसमा षड्यन्त्रको भाषा होइन, खुला कुराकानीसहित विमति र सहमतिको भाषाको कुराकानी हुनुपर्छ ।

कांग्रेस भएर कुनै जमानामा गाउँठाउँमा डुल्दै हिँड्दै गर्दा पैसाको आवश्यकता थिएन । साथीको घरको न्यानो बास थियो । पुलिसले खोज्दै हिँड्दा अर्को कुनै साथीले बचाएर राख्ने गरेका थिए । त्यो बेला विश्वास थियो । अहिले कांग्रेसमा विश्वासको खडेरी छ । किनभने, नेतृत्वले आफ्नै कार्यकर्तालाई पत्याइरहेको छैन । सदस्यहरू बोलिरहँदा पनि केन्द्रीय समितिले सुनेको छैन । सहमतिको सुगा रटाइबाट पार्टीलाई सदस्यहरूले अब मुक्त गराउनुपर्छ । त्यसका लागि सदस्यहरूलाई विधानको अधिकार छ । त्यो अधिकार प्रयोग गर्नुपर्छ ।

जसले जुत्ता लगाएको हुन्छ, त्यसलाई नै जुत्ताले कहाँ घोच्छ भनेर थाहा हुन्छ । त्यसरी नै पार्टीभित्र हुनेहरूलाई नेतृत्वको हैकमबारे थाहा हुन्छ । त्यहाँ भित्रका विषयहरू मैले मिडियामा पढेर मात्रै बुझ्ने हो । कांग्रेसको सदस्य नभए पनि त्यहाँ भित्रको दुःख मैले बुझ्न सक्छु । किनभने, लोकतन्त्रमै मेरो भविष्य छ । कांग्रेसका सदस्यलाई विवेक प्रयोग गर्न आग्रह गर्दछु ।

नयाँ नेतृत्व चयन गरी नयाँ नीति र कार्यक्रमका साथ देखिएको अवस्थामा नयाँ पुस्ताले कांग्रेसमा आफ्नो प्रतिनिधित्वको ऐना देख्न सक्छन् । पार्टीलाई टलक्क टल्किने बनाउनुभयो भने पुस्ताले कांग्रेसमा आफ्नो अनुहार देख्न सक्छ ।

(राजनीतिक विश्लेषक शर्माले कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले बुधबार राखेको विशेष सभामा राखेको विचारमा आधारित)





Read More