― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsकरार कर्मचारीको भरमा मधेशको स्वास्थ्य क्षेत्र, ओएनएम नै गर्दैन सरकार

करार कर्मचारीको भरमा मधेशको स्वास्थ्य क्षेत्र, ओएनएम नै गर्दैन सरकार


राष्ट्रिय

समाचार.

  • मधेश प्रदेश लोकसेवा आयोगले तीन वर्षदेखि स्वास्थ्य सेवाका पदहरूको विज्ञापन नखुलेको छ र माग आकृति फारम स्वास्थ्य मन्त्रालयबाट प्राप्त नभएको छ।
  • प्रदेशका प्रादेशिक अस्पतालहरूमा स्थायी दरबन्दी कम हुँदा करार, ज्यालादारी र डोर हाजिरी कर्मचारीले सेवा दिइरहेका छन्।
  • स्वास्थ्य मन्त्रालयले ओएनएम बनाउन र कर्मचारी व्यवस्थापन गर्न बजेट विनियोजन गरेको भए पनि कार्यान्वयन हुन सकेको छैन।

११ पुस, जनकपुरधाम । गत २८ मंसिरमा स्वास्थ्य सेवासम्बन्धी पदहरूको विज्ञापन नखुलेको विरोधमा करिब ३० जना विद्यार्थी मधेश प्रदेश लोकसेवा आयोगविरुद्ध सडकमा उत्रिए ।

उनीहरूले जनकपुरधामस्थित प्रदेश लोकसेवा आयोगको कार्यालय पुगेर अध्यक्ष शिवराम यादवसमक्ष तीन वर्षदेखि स्वास्थ्य सेवाका विभिन्न तह र पदमा विज्ञापन नखुलेको गुनासो गरे । त्यसपछि विद्यार्थीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई भेटेर ज्ञापनपत्र बुझाए ।

यी घटनापछि मधेश प्रदेश सरकारबाट स्वास्थ्य सेवातर्फका कर्मचारी माग नै लोकसेवा आयोगसम्म नपुगेको तथ्य बाहिरिएको छ । आयोगका अनुसार २ साउनमा आयोगले रिक्त दरबन्दी भए माग आकृति फारम पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो ।

पत्रमा मन्त्रालय तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण अद्यावधिक गरी रिक्त दरबन्दी विवरण शीघ्र पठाउन अनुरोध गरिएको थियो । तर मन्त्रालयबाट हालसम्म कुनै प्रतिक्रिया नै नआएको आयोगले स्पष्ट पारेको छ ।

लोकसेवा आयोगका अध्यक्ष शिवराम यादवका अनुसार पछिल्ला तीन वर्षयता मधेश प्रदेश सरकारबाट स्वास्थ्य सेवाको पदपूर्तिका लागि माग आकृति फाराम नै प्राप्त भएको छैन ।

१० साउन २०८१ मा आयोगको अध्यक्ष सिफारिस भएका यादवले आफूले कार्यभार सम्हालेको १५ महिनाको अवधिमा स्वास्थ्य मन्त्रालयबाट कुनै पनि माग नआएको बताए ।

‘प्रदेश लोकसेवा आयोगले तीन वर्षदेखि स्वास्थ्य सेवा क्षेत्रका विज्ञापन नगरेको विद्यार्थीको गुनासो जायज हो । यसमा को जिम्मेवार छ । म आएको १५ महिनामा जनस्वास्थ्य मन्त्रालयबाट कुनै पनि मागको आकृति फारम आएन । त्यसैले हामी कहाँबाट विज्ञापन गर्ने ?,’ उनको प्रश्न छ ।

यादवका अनुसार माग आकृति फारम प्राप्त भएपछि मात्र आयोगले विज्ञापन र पदपूर्ति गर्ने प्रावधान छ । यसको अर्थ मधेश प्रदेशमा जनशक्ति पूर्ण छ भन्ने होइन । मधेश प्रदेश सरकार मातहत रहेको प्रादेशिक अस्पताल, अन्य अस्पताल र जनस्वास्थ्य प्रयोगशालाहरूमा स्वास्थ्य क्षेत्रका जनशक्तिको चरम संकट छ । जसको कारण सरकार मातहतका अस्पतालहरू रेफर सेन्टर बनेका छन् । प्रभावकारी सेवासमेत दिन सकेका छैनन् ।

उदाहरणका लागि ३०० बेडको जनकपुर प्रादेशिक अस्पतालमा ४०० जनशक्ति छन् । जसमा ३०० बेडको अस्पतालमा संघीय सरकारको ओएनएम अनुसार ७३५ जनशक्ति चाहिन्छ । भएकै ४०० जनशक्तिमा स्थायी दरबन्दीका मात्र ८० जना जति छन् । बाँकी सबै करार, ज्यलादारी र डोर हाजिरीका कर्मचारी रहेको निर्देशक डा. सिंह बताउँछन् ।

‘कम जनशक्तिमा प्रभावकारी सेवा दिन निकै कठिन र चुनौती छ । तर पनि हामीले धानिरहेका छौं,’ उनले भने ।

प्रादेशिक अस्पतालले ओनएम गरेर प्रत्येक वर्ष जनशक्ति पदपूर्ति गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दा सुनुवाइ हुने गरेको छैन ।

‘हामी ओएनएम गरेर प्रत्येक वर्ष रिक्त दरबन्दी परिपूर्ति गरिदिन पत्राचार गर्छौं । कति पटक म आफैं धाएको छु । तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन,’ उनको गुनासो छ । करार, डोर हाजिरी र ज्यालादारी कर्मचारीको भरमा प्रादेशिक अस्पताल जेनतेन सेवा प्रवाह गरिरहेका छन् ।

यस्तै अवस्था मधेश सरकारका अन्य निकायमा छ । मधेशको स्वास्थ्य निर्देशनालयले दुई वर्षअघि करार विज्ञापन गरेर अस्थायी दरबन्दीमा चिकित्सकसहित स्वास्थ्यकर्मीको विभिन्न पदमा ४३२ जना जनशक्ति छनोट गरेको थियो ।

तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रकुमार सिंहको पालामा छनोट भएका जनशक्तिलाई डेढ वर्षपछि गत जेठ १ गते नियुक्त गरी विभिन्न निकायमा खटाएको थियो ।

मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कोरोनाकालमा विज्ञापन गरी करारमा ३४२ कर्मचारी भर्ना गरेको थियो ।

मधेशमा जनकपुरबाहेक ६ वटा प्रादेशिक अस्पताल छन् । जलेश्वर, सिरहा, लहान, मलंगवा, गौर, कलैया प्रादेशिक अस्पताल छन् । यी अस्पतालहरू १५ बेडका थिए । दुई वर्षअघि तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहको बेलामा स्तरोन्नति गरी सिरहालाई १५० र अन्यलाई १०० बेडको स्वीकृति दिइएको थियो । तर स्थायी दरबन्दी जनशक्ति भने १५ बेडका मात्रै छन् । अरू सबै करार, ज्यालादारी र डोर हाजिरीका कर्मचारीबाट चलिरहेका छन् ।

यसका अलावा प्रदेश मातहत रहेको धनुषाको डुमरिया, सर्लाहीको धनकौल र पर्साको पोखरिया अस्पतालमा पनि ५० बेडको स्वीकृति छ । तर अस्पतालहरू करारका कर्मचारीको भरमा चलेका छन् । अस्थायी कार्मचारीको भरमा ती अस्तताल चलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकार मातहत रहेकै पालिकाहरूमा स्थापना भएको प्रयोगशाला पनि करारकै कर्मचारीको भरमा चलेको छ ।

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म आफ्नो ओएनएम बनाएर कर्मचारी व्यवस्थापन गर्न चाहेको छैन । न त आफ्ना निकायबाट आएका ओएनएमअनुसार जनशक्ति पदपूर्ति गरिदिन लोकसेवा आयोगमा पत्रचार नै गर्ने गरेको छ ।

मधेश सरकार करार कर्मचारीको भरमा आफ्ना स्वास्थ्य क्षेत्र चलाइरहेको छ । यसले मधेश सरकारको स्वास्थ्य क्षेत्र गम्भीर जनशक्ति संकटको सामना गरिरहेका छन् । जनताले प्रभावकारी स्वास्थ्य सेवा पाउनबाट बञ्चित छन् । करारमा पहुँचवालाले आफ्ना नातागोता, कार्यकर्ता भर्ना गरिरहेको आरोप लाग्ने गरेको छ । त्यसमा पनि रकमको चलखेल हुने गरेको आम गुनासो छ ।

यस पटक माग आकृति फारम किन आयोगलाई बुझाइएन भन्ने जिज्ञासामा मधेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रशासन शाखा अधिकृत सुस्मिता शर्माले विभिन्न समस्या रहेको औंल्याइन् ।

उनको भनाइमा विगतमै लोकसेवा आयोगबाट आएका तीनजना कर्मचारी फाजिल रहेका छन् । केही विवादित रहेकाले मुद्दा चलिरहेको र मागेका निकायबाट माग फारम नआएकाले यस पटक लोकसेवा आयोगमा नपठाएको उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थापनाकालदेखि अहिलेसम्म आफ्नो मन्त्रालय बाहेकका निकायको ओएनएम गरेको छैन । ओएनएम जस्तो महत्वपूर्ण कार्य मन्त्रालयको प्रथामिकतामै देखिँदैन । ओएनएमको लागि मन्त्रालयले बजेट समेत छुट्याउने गरेको छ । तर कार्यान्वयन हुन सकिरहेको छैन ।

गत आर्थिक वर्ष २०८१/०८२ मा ओएनएम गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर पनि कर्मचारीको उदासिनताले बन्न सकेन । यस आर्थिक वर्षमा पनि १० लाख बजेट विनियोजन गरिएको छ । मन्त्रालयमा सचिवको जिम्मेवारीको अस्थिरताले ओएनएममा समस्या भएको मन्त्रालयका उपसचिव राजेशकुमार मिश्र बताउँछन् ।

मन्त्रालयका सचिव डा. प्रमोद यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्वीकृति दिए मात्र ओएनएम गर्ने बताए । ‘ओएनएमको बजेट मुख्यमन्त्री कार्यालयमा छ । मुख्यमन्त्री कार्यालयले सहमति दिएपछि मधेश प्रदेशकै ओएनएम हामी गर्छौं,’ उनले भने ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More