― Advertisement ―

शुक्रबार, अप्रिल १० (खेल #७६८) को लागि NYT Strands संकेत र जवाफहरू

भिन्न दिन खोज्दै हुनुहुन्छ?एक नयाँ NYT जोन भनेको दिनको मध्यमा देखा पर्ने समय हो जुन रातको puzzs को लागी देखिन्छ। कोही मान्छे सधैं 'आजको...
HomeLatest newsओलीले उपत्यका छोड्न नमिल्दा काठमाडौं सारियो महाधिवेशन

ओलीले उपत्यका छोड्न नमिल्दा काठमाडौं सारियो महाधिवेशन



१५ कात्तिक, पोखरा । असोज अन्तिम साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय बमोजिम नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशन पोखरामा गर्ने तयारी थालिसकेको थियो ।

जेनजी आन्दोलनपछि पहिलोपटक शनिबार मोटरसाइकल र्‍याली गर्दै एमालेले पोखरामा भव्यताका साथ महाधिवेशन हुने सन्देश नै दिइँदै थियो । यद्यपि मोटरसाइकल र्‍यालीको सन्देश अरु पनि थिए । जेनजी आन्दोलनपछि पार्टी र अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा रहेकाले शक्ति प्रदर्शनमार्फत् प्रतिवाद गर्ने योजना एमालेले जनाएको छ ।

र्‍यालीको नेतृत्व गर्न पुगेका थिए, ओलीका विश्वास पात्र महेश बस्नेत । र शक्ति प्रदर्शनमार्फत् प्रष्ट तीन सन्देश दिइएको थियो- एमाले चुप लागेर बस्दैन, पोखरामा महाधिवेशन हुन्छ र ओली नै अध्यक्ष बन्छन् ।

तर शनिबार ओलीको अस्थायी निवास गुन्डुमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशनस्थल नै परिवर्तन गर्ने निर्णय गर्‍यो ।

‘पार्टीको एघारौं महाधिवेशन हामीले दशौं केन्द्रीय कमिटीको बैठकबाट मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय गरेका थियौं,’ उपमहासचिव ज्ञवालीले भने, ‘अब पोखराको सट्टामा काठमाडौंमा गर्ने भएको छ ।’

जबकि २ दिन अगाडि मात्र उनै प्रदीप ज्ञवाली, अर्का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लगायत नेताहरूले महाधिवेशन र रणनीतिबारे छुट्टाछुट्टै गण्डकीका नेताहरूसँग छलफल गरेका थिए । पोखरामा महाधिवेशन हुने निर्णयले यहाँका नेताहरू उत्साहित थिए ।

‘यही गर्ने भनेको काठमाडौंमै पो सर्‍यो नि !,’ स्थायी कमिटी सदस्य खगराज अधिकारीले भने । अधिकारीले मोटरसाइकल र्‍यालीपछि सम्बोधन गर्दै पहिलो पटक एमालेको महाधिवेशन पोखरामा हुन लागेको भन्दै संयमतापूवर्क सम्पन्न गर्न आह्वान गरेका थिए ।

पोखराबाट काठमाडौं महाधिवेशन सार्नुको तीन कारण रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउँछन् । ‘काठमाडौंमा महाधिवेशन गर्दा प्रतिनिधिहरूले आफैं बस्ने व्यवस्थापन गर्छन्, त्यसैले आर्थिक बोझ कम हुन्छ,’ अनलाइखबरसँग गौतम भन्छन्, ‘दोस्रो कारण जनपरिचालन सजिलो हुन्छ । ब्यापक मानिस जुटाउन सकिन्छ । पोखरामा गरेको भए कास्कीको मात्र मान्छे भेला हुन्थे ।’

तेस्रो कारण एमाले जागेको राष्ट्रिय सन्देश दिनलाई पनि काठमाडौंमा महाधिवेशन गर्नु परेको उनी बताउँछन् । बैठक स्रोतका अनुसार अध्यक्ष ओलीले पनि राष्ट्रिय सन्देश दिनकै निम्ति काठमाडौंमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

‘पोखरामा भन्दा काठमाडौंबाट राम्रो सन्देश दिन सकिन्छ । अरु कारणले पनि यही सजिलो हुन्छ,’ ओलीले महाधिवेशनस्थल परिवर्तनको प्रस्ताव राखेका थिए ।

तर, अघिल्लो सचिवालय बैठकमा यस्तै तर्क गर्दा ओलीले असहमति जनाएका थिए । ‘सुरेन्द्र पाण्डेले अघिल्लो बैठकमै काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव ल्याउनु भएको थियो,’ स्रोत भन्छ, ‘काठमाडौंमा महाधिवेशन गर्दा देशभरका कार्यकर्तामा उत्साह ल्याउन सकिन्छ भन्ने प्रस्ताव बैठकमा राख्नुभएको थियो ।’

त्यसबेला भने पाण्डेको प्रस्ताव ओलीले अस्वीकार गरे । तर अहिले उनै ओलीले पोखरामा तय भएको महाधिवेशनस्थल सार्ने निर्णय गराएका छन् ।

नेताहरूका अनुसार अहिले एमाले महाधिवेशनस्थल परिवर्तन हुनुको मुख्य कारण ओलीबारे सरकारले गरेको निर्णय हो । ‘उपत्यका बाहिर जान केपी ओलीलाई रोक लगाइएको छ । सरकारको निर्णय अवज्ञा गरेर जाने मूड यसअघि बनाउनुभएको थियो,’ एक नेता भन्छन्, ‘तर अहिले त्यसो नगरौं भन्नेमा पुग्नुभए जस्तो लाग्यो ।’

ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई उपत्यका बाहिर जान नपाउनेगरी सरकारले गरेको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको इजलासले हिजो मात्र अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

अर्थात् सरकारको निर्णय र अब अदालतको समेत विषय बनेपछि ओली सरकारको निर्णय मान्न तयार भएको देखिन्छ । जसकारण पोखरामा महाधिवेशन गर्ने तयारीमा नेताहरु जुटिसक्दा समेत स्थान परिवर्तनको निर्णय भएको छ ।

स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले प्रतिनिधिसभा पुनर्स्थापनाको मागमा जनप्रदर्शन समेत गर्ने निर्णय भएकाले महाधिवेशनस्थल समेत परिवर्तनको निर्णय भएको तर्क गर्छन् ।

‘एमाले अब आन्दोलनमा जाने भएको, जनसभा त्यसैका सुरुवात हो । काठमाडौंकेन्द्रित आन्दोलन गर्ने निर्णय गरेको नेताहरुले बताउनुभएको छ,’ गुरुङ भन्छन्, ‘यस्तो बेला बाहिर महाधिवेशन गर्ने होइन, काठमाडौं केन्द्रित आन्दोलन र महाधिवेशनको तयारी सँगै गर्ने निर्णय भएको हो ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More