― Advertisement ―

ह्याकरहरूले अब वर्डप्रेस साइटहरू तुरुन्तै एक साधारण प्लगइन त्रुटि प्रयोग गरेर कब्जा गर्न सक्छन् जसले लगइन प्रमाणहरूको आवश्यकता बिना व्यवस्थापक पहुँचलाई उजागर गर्दछ।

प्रयोगकर्तालाई अनुमति दिनुहोस्। लगइन गर्नुहोस्अनधिकृत ब्याकइन्ड अनुरोधहरू र विशेषाधिकार वृद्धिलाई एक्सपोज्ड नन्स मानहरूले सक्षम पार्छप्रशासकीय विशेषाधिकारहरू प्राप्त भएपछि संवेदनशील प्रयोगकर्ता डेटा खुला हुन्छएक महत्वपूर्ण...
HomeLatest newsआयोगको पत्रपछि जंगी अड्डाले पठायो जवाफ, सैनिक अधिकारीको विवरण नपठाउने

आयोगको पत्रपछि जंगी अड्डाले पठायो जवाफ, सैनिक अधिकारीको विवरण नपठाउने



९ मंसिर, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डाले उच्चस्तरीय जाँचबुझ आयोगलाई जेनजी आन्दोलनका घटना विवरणहरू पठाएको छ ।

२३ र २४ भदौको घटना छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सैनिक मुख्यालयलाई पत्र काट्दै विवरणहरू माग गरेपछि सैनिक मुख्यालयले केही विवरणहरू पठाएको हो ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले त्यसबेलाका घटना विवरणहरू आयोगलाई पठाइएको बताए । ‘हामीले घटना विवरणहरू आयोगमा पठाइसकेका छौं,’ प्रवक्ता बस्नेतले अनलाइनखबरसँग भने ।

कस्तो विवरण पठाइएको हो भन्नेबारे सैनिक मुख्यालयले केही बोलेको छैन । स्रोतका अनुसार जंगी अड्डाले २३ र २४ भदौमा के कस्ता घटनाहरू भए, कसरी भए भन्ने किसिमको विवरणसहितको जवाफ आयोगलाई पठाएको छ ।

यता जाँचबुझ आयोगले भने माग गरेअनुसारको विवरण नआएको बताएको छ । आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘केही विवरणहरू सेनाबाट आएका छन् । तर हामीले माग गरेअनुसारका विवरणहरू भने अझै प्राप्त भएका छैनन् ।’

स्रोतका अनुसार आयोगले त्यतिबेला खटिएका सैनिक कमाण्डरहरूसहितको विवरण माग गरेको थियो । उक्त विवरणहरू भने प्राप्त नभएको आयोग स्रोत बताउँछ ।

२३ भदौको दिउँसो १२:३० बजे कर्फ्यू घोषणा भएपछि नेपाली सेना परिचालन भएको थियो । त्यतिबेला संसद भवनको सुरक्षामा सेना खटिएको थियो । २३ भदौमै ५:१० बजे सुनसरीको इटहरीमा कर्फ्यू घोषणा भएपछि सेना परिचालन भएको थियो ।

२४ भदौको राति ९:३० बजे प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गरेपछि राति १० बजेबाट देशभर सेना परिचालन भएको थियो । भदौ २५ गतेदेखि २८ गते बिहानसम्म देशभर सेना तैनाथ थियो । यो समयमा काठमाडौं उपत्यकामात्रै ६ हजार र उपत्यका बाहिर देशभर गरेर १८ हजार सेना परिचालन भएका थिए ।

सिंहदरबार लगायत महत्त्वपूर्ण संरचनाहरू जल्नुमा सेनाले भूमिकालाई लिएर प्रश्न उठ्दै आएको छ । यसलाई अहिलेको कम्फर्टेबल वर्तमान अवस्थामा बसेर भन्दा पनि तत्कालीन अवस्थामा रहेर यो घटनाको विश्लेषण गनुपर्ने पर्ने बुझाइ सेनाको छ ।

त्यतिबेला भएका प्रदर्शन, तोडफोड र आगजनी भएको अवस्थामा अराजकतालाई कम गर्न र नियन्त्रण गर्न न्युनतम शक्ति प्रयोग गर्दा पनि अराजक भिड पछाडि नहट्दा यो अवस्था भएको सेनाको बुझाइ छ ।

सिंहदरबार जोगाउन त्यतिबेला अत्यन्तै संयमता अपनाएको सेनाले प्रष्टीकरण यसअघि नै दिएको छ । त्यतिबेला सेनाले लेस देन लिथ (घातकभन्दा कम) उपाय अपनाएको बताएको छ । सैनिक अधिकारीका अनुसार त्यतिबेला सिंहदरबार जोगाउनका लागि ४६ राउन्ड हवाइ फायर गरिएको थियो ।

कारबाहीको चेतनावनी दिँदै प्रहरीलाई पत्र काटेर विवरण लिएको आयोगले यही शैलीमा सैनिक मुख्यालयलाई पनि पत्र काटेको थियो । तर जंगी अड्डाले भने आफ्ना सैनिकको विवरण नदिने प्रष्ट संकेत गरेको छ ।

यति गर्दा पनि उत्तेजित र अराजक भिड सिंहदरबार प्रवेश गर्न खोजिरह्यो । हवाइ फायर गर्दा पनि नरोकिएर भित्र छिरेको भिडलाई दुई पटकसम्म भौतिक रूपमा धकेलेर बाहिर निकालिएको प्रष्टीकरण सेनाले दिएको छ ।

यति गर्दा पनि आक्रोशित भिड रोकिएन । सिंहदरबारको चारैतर्फबाट भिडभित्र प्रवेश गर्न खोज्यो । चारै दिशाबाट अत्यन्त आक्रोशित जत्था भित्र छिरेपछि ठूलो मानवीय क्षतिको अवस्थामा मात्र सिंहदरबारलाई जोगाउन सकिने निष्कर्ष सेनाले निकालेको थियो ।

यही परिवेशमा मानवीय सुरक्षा भौतिक सुरक्षाभन्दा महत्वपूर्ण हुने निष्कर्षसहित आवश्यकताको सिद्धान्त अनुसार काम भएको सेनाको युद्ध कार्य विभागका उपरथी अनुपजंग थापाले ३१ असोजमा पत्रकार सम्मेनमार्फत बताएका थिए ।

जंगी अड्डा असन्तुष्ट

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलकै शैलीमा सेनालाई पनि पत्र काट्दै आयोगले विवरण माग गरेको थियो । आन्दोलनका बेला खटिएका सैनिक अधिकारीहरूको विवरण पठाउन भन्दै पत्र काटेपछि लामो समयसम्म जंगी अड्डाले त्यो पत्रलाई कुनै महत्व नै दिएन ।

लामो समयसम्म कुनै जवाफ र पत्र नआएपछि आयोगले जंगी अड्डाले असहयोग गरेको महसुस गर्न थाल्यो । यता जंगी अड्डाले भने सैनिक ऐनले नचिन्ने आयोगले अनावश्यक पत्र काटेर सेनालाई विवादमा ल्याउन खोजेको रुपमा बुझ्यो ।

कतिसम्म भने प्रहरीलाई त आयोगले विवरण नपठाए जरिवाना गर्नेसम्मको चेतावनी नै दिएको थियो । आन्दोलनका बेला खटिएका प्रहरीको विवरण माग गर्दै आयोगले प्रहरी मुख्यालयलाई पत्र काटेको थियो । लामो समयसम्म प्रहरी मुख्यालयले विवरण दिएन ।

आयोगले ताकेता गरेपछि तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङको निर्देशनपछि सबै प्रहरी कर्मचारीहरू फिल्डमै रहेको र सबै जना खटिएको भन्ने जवाफ प्रहरी हेडक्वार्टरले आयोगलाई दिएको थियो ।

प्रहरीबाट आवश्यक जवाफभन्दा पनि ठाडो प्रतिवाद भएको भन्दै रुष्ट बनेको आयोगले कारबाहीको चेतावनी दिँदै आईजीपी खापुङलाई ५ सय रुपैयाँ जरिवाना किन नगर्ने भन्ने प्रस्ताव गरेको थियो ।

कारबाहीको चेतनावनी दिँदै प्रहरीलाई पत्र काटेर विवरण लिएको आयोगले यही शैलीमा सैनिक मुख्यालयलाई पनि पत्र काटेको थियो । तर जंगी अड्डाले भने आफ्ना सैनिकको विवरण नदिने प्रष्ट संकेत गरेको छ ।

सोही अनुसार सेनाले घटना विवरणहरू मात्रै आयोगलाई पठाएको छ । यसअघि पत्रकार सम्मेलन गरेर सेनाले सार्वजनिक गरेको घटना विवरणहरूलाई मिलाएर जवाफ पठाएको स्रोतले बताएको छ ।

सेना भिड नियन्त्रणका लागि खटिने फोर्स नभएको, सेनाबारे संविधानमा प्रष्ट उल्लेख भएकाले कसैले माग गर्दैमा सेनाको विवरण नपठाउने जंगी अड्डाको अडान छ ।

प्रहरीजस्तो गृमन्त्रालयमातहत सेना नरहेको, भिड नियन्त्रणको जिम्मेवारी सेनालाई नभएकोले सैनिक अधिकारीहरूको विवरण आयोगलाई किन आवश्यक ? भन्ने प्रश्न सैनिक अधिकारीहरूको छ ।

जसकारण आयोगले कुरै नबुझि पत्र काटेको तर्क उनीहरूको छ । सैनिक अधिकारीहरूबाट कुनै गल्ती कमजोरी भएको भए पनि सैनिक ऐनअनुसार सेनाले नै कारबाही गर्ने व्यवस्था भएकाले आयोगमा गएर जवाफ तथा बयान दिने अवस्थामा सेना छैन ।

आयोगको पत्र र सेनाको अडानले आयोग–सेनाबीच टकराव भएको बुझ्न सकिन्छ । यता सैनिक प्रवक्ता बस्नेत भने आयोगसँग समन्य भइरहेको दाबी गर्छन् ।

‘हामीले त्यसबेलाको घटना विवरण पठाइसकेका छौं,’ प्रवक्ता बस्नेतले अनलाइनखबरसँग भने, ‘समन्वय भएरै काम भइरहेको छ ।’

जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगका अधिकारीहरूको कार्यशैली र कतिपय अभिव्यक्तिलाई लिएर सुरक्षा क्षेत्र, कतिपय दलका नेता तथा नागरिकहरूको समूहरूले संशयपूर्ण टिप्पणी गर्दै आएको छ । निष्पक्ष जाँच र सुनुवाइ हुनेमा उनीहरूले आशंकासमेत व्यक्त गरेका छन् ।





Read More