― Advertisement ―

‘पूरा 40-घण्टा हप्ता अब 60 मिनेट लाग्छ’: Ahrefs’ नयाँ एआई एजेन्टहरूले ‘सधैं-अन’ मार्केटिङ समर्थनको वाचा गर्छन्

Ahrefs ले एउटा नयाँ उपकरण बजारमा ल्याएको छ। Letaido सँग Ahrefs डेटामा स्थानीय पहुँच हुनेछयसले हरेक हप्ता प्रयोगकर्ताहरूको घण्टा बचत गर्न मद्दत गर्ने प्रतिज्ञा...
HomeLatest newsअन्तिमसम्म देउवा पर्खिरहेको भृकुटीमण्डप सभा – KhabarHost

अन्तिमसम्म देउवा पर्खिरहेको भृकुटीमण्डप सभा – KhabarHost



२७ पुस, काठमाडौं । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनमा बिहानैदेखि चासो थियो– सभापति शेरबहादुर देउवा के गर्लान् ? प्रतिनिधि र नेताहरू धेरैजसो देउवा र संस्थापन पक्षीय नेताहरूको लेखाजोखामै व्यस्त देखिन्थे ।

दिउँसो करिब ११ बजेतिर मञ्चमा बस्ने ठाउँको व्यवस्थापन भयो । नेताहरूलाई बस्नका लागि कुर्सी होइन, कुसन थियो ।

देउवामात्रै होइन, कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई समेत कुसनको व्यवस्था गरिएको थियो । तर, न देउवा पुगे, न त खड्का नै झुल्किए ।

भृकुटीमण्डपमा दिनभर संस्थापनको खोजी भइरहँदा देउवा भने महाराजगञ्जस्थित निवासमा आफू निकट नेताहरूसँगै छलफलमा रहे ।

यता कुसन र प्रतिनिधि दिनभर देउवालाई पर्खिरहे । तर उनी आएनन् । मञ्चबाट नै केन्द्रीय सदस्य मधु आचार्यले भनिरहेका थिए, ‘यो विशेष महाधिवेशनमा सभापति र कार्यवाहक सभापतिको सिट पनि खाली छ ।’

नियमित हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ५४ प्रतिशत हस्ताक्षरको बलमा महाधिवेशन आह्वान गरेका थिए । त्यही भएरै पनि देउवा लगायतका संस्थापनहरू त्यहाँ नपुग्ने निश्चितै थियो ।

किनभने हिजोमात्रै निम्तो लिएर गएकालाई देउवाको सचिवालयले नै फर्काइदिएको थियो ।

विशेष महाधिवेशन गगन–विश्वले नै गरे । सभापतित्व कांग्रेस काठमाडौँका सभापति सबुजकृष्ण बानियाँले गरे ।

तर, आफूहरू उद्घाटनमा सक्रिय हुन पर्दा दु:ख लागेको गगनको गुनासो छ ।

‘…तल ओर्लिएर नेताहरूको तस्वीरमा माल्यार्पण गर्‍यौं, दियो बाल्यौं र गमलामा पानी हाले उद्घाटन गर्‍यौं । हामीलाई खुसी लागेको होइन,’ उद्घाटन सत्रमा बोल्दै गगनले भनेका छन्, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं ।’

छोटो समयमा महाधिवेशनको आयोजना गरिएकाले बिहान ११ बजेसम्म पनि मञ्च बनाउने काम भइरहेको थियो । कांग्रेस नेताहरू बिपी कोइराला, सुवर्णशम्शेर जबरा, मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका तस्वीर मञ्चमा राखिएको थियो ।

झाँकी बाजागाजासहित उद्घाटन

चोक-चोकबाट झाँकी बाजागाजासहित प्रतनिधिहरू भृकुटीमण्डपमा भेला भए । यतिसम्म कि, उद्घाटन सत्र सुरु हुनुअघि स्टेजबाट घन्किएका गीतमा पनि गगन–विश्व गुञ्जिए । सबैभन्दा धेरै गुञ्जिएको गीत थियो– बिग कांग्रेस, बिग नेपाल…वि वि वि वि…विश्व–गगन… ।  नवयुवालाई मनपर्ने आधुनिक शैलीमा गुञ्जिएको यो गीत नै आयोजकको प्रमुख छनोटमा परेको थियो ।

यो दृश्यलाई लिएर कतिपयले भनिरहेका थिए, ‘गीत पनि जेनजी स्टाइलकै बजाउन थालेछन् ।’

विशेष महाधिवेशनस्थलमा टाँगिएका पोस्टरमा तस्वीर खिचाउनेहरू पनि कम थिएनन् । तर, रोचक कुरा के भने– उक्त पोस्टरमा सबै पार्टी सभापति हुँदा वर्तमान सभापति शेरबहादुर देउवाको पोस्टर कतै देखिएन । नत्र भर्खरै सकिएको एमाले महाधिवेशन सम्झौँ, त्यहाँ पुराना नेताको भन्दा अध्यक्ष केपी ओलीका तस्वीर यत्रतत्र भेटिएका थिए ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच युवादेखि ज्येष्ठ नागरिकहरू जिल्ला-जिल्लाबाट आएका थिए ।

पार्टीहरूको महाधिवेशनमा अन्य दललाई पनि बोलाउने चलन थियो । तर यसपकट अरु पार्टीका कोही पनि नेता देखिएनन् । कांग्रेसमा शुभेच्छुकहरू मात्र देखिए ।

विशेष महाधिवेशन केन्द्रीय कमिटीले आयोजना गर्नुपर्ने हो । नियमति महाधिवेशन नभएपछि विशेष महाधिवेशनको आयोजक स्वयं प्रतनिधिहरू थिए ।

मञ्चमा कुसन र दर्शकदीर्घामा कुर्सी

अधिकांश औपचारिक कार्यक्रम र महाधिवेशनभन्दा फरक दृश्य स्टेजबाटै देखियो । प्रमुख नेता बस्ने स्टेजमा सामान्य कुशन राखिएको थियो, तल महाधिवेशन प्रतिनिधि बस्नलाई कुर्सीको व्यवस्था थियो । प्रमुख नेताहरू कुशनमा बस्दा आमकार्यकर्ता कुर्सीमा थिए ।

कांग्रेसको यो व्यवस्थालाई सबैले ‘युनिक’ भनिरहेका थिए । महाधिवेशन प्रतिनिधि र कार्यकर्तालाई कुर्सीमा राखेर उद्घाटन गरियो ।

अन्तिमसम्म पर्खिरहे कार्यकर्ता

बोल्ने सदस्यको संख्या धेरै थियो । तर अन्तिमसम्म गगन–विश्वको भाषण सुन्न कार्यकर्ताहरू पर्खिरहे ।

सम्भवत: राजनीतिक कार्यक्रममा अन्तिम समयसम्म कार्यकर्ताले कार्यक्रमस्थल नछोडेको दृश्य आइतबार भृकुटीमण्डपमा देखियो । अझ जब भाषण गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा आए, छेउछाउका चिया पसलबाट सहभागीहरू बाहिर निस्किए । उभिएरै चिया चुस्की लाउँदै गगन–विश्वको भाषण सुनिरहे ।

यतिसम्म कि, बसेका कुर्सीमा टेकेर सहभागी उभिन थाले । जसरी हुन्छ, मान्छेलाई स्टेजमा गगन–विश्व हेर्दै भाषण सुन्नु थियो । केही त रुखका बुट्यानमा चढेरसमेत हेरिरहेको दृश्य देखियो । विश्वप्रकाशले मोबाइलको फ्ल्यास लाइट बाल्न आह्वान गर्दा होस् या गगनले ‘जय नेपाल’ भनेर ‘मास अपिलिङ’ गर्दा, प्रतिनिधिले उनीहरूको कुरा अनुमोदन गरिदिए ।

तर, उनीहरूको यो उल्लास सामान्य थिएन । कार्यकर्ता अन्यौलमा रहेर पनि नेतृत्वलाई अघि बढ्न ढाडस दिइरहेको देखियो । विशेष महाधिवेशनलाई विशेष महत्त्व दिएर कार्यकर्ताहरू धैर्यताका साथ रातिको ७ बजेसम्म चिसोमा बसिरहे ।

विश्वप्रकाशले बोल्ने समयमा माहोल यस्तो बन्यो कि, कुनै कन्सर्टभन्दा कम थिएन । सम्बोधनको क्रममा विश्वप्रकाशले मोबाइलको बत्ति बालेर उज्याले बनाउन कार्याकर्तालाई मञ्चबाट आग्रह गरे । यसबेलाको माहोल पूरै उत्साहित देखिन्थ्यो । गगन–विश्वको पक्षमा भृकुटीमण्डप गुञ्जायस बनेको थियो । ‘गगन–विश्व अघि बढ, हामी साथमा छौँ,’ प्रतिनिधिहरू भनिरहेका थिए ।

प्रतिनिधिको हिसाबकिताब

के युवा, के ज्येठ नागरिक सबै खुलेरै नीति र नेतृत्व परिवर्तनको पक्षमा देखिए । बीपीको समयको जस्तो कांग्रेस प्रतिनिधिहरूले खोजिरहेका थिए ।

बिहानबाटै भृकुटीमण्डपमा देखिएका कार्यकर्तालाई यो विशेष महाधिवेशनको समर्थनमा कति हस्ताक्षर पुग्छ थाहा थिएन । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको आह्वानमा भएपनि पुन: महाधिवेशनस्थलमा संकलन गरिएको हस्ताक्षरमा कति प्रतिशत पुग्ने हो टुंगो थिएन ।

बहुमत हस्ताक्षर संकलन भएपनि यसले नीति मात्र बदल्छ या नेतृत्व नै परिवर्तन हुन्छ भन्ने अनिश्चित थियो, जुन अनिश्चिता अहिले ५६ प्रतिशतबाट हस्ताक्षर नाघ्दा पनि कायम नै छ ।

यही अन्यौलाताकाबीच गाउँघरका कामधाम छाडेर आएका कार्यकर्ता भनिरहेका थिए, ‘अब गगन–विश्व पछाडि हट्न पाउने छैनन् । हामी यहाँ टाइमपास गर्न आएका हैनौँ, जे भनेर हस्ताक्षर संकलन गरियो, त्यही नगर्ने हो भने यत्रो नाटक के को लागि ?’

यसरी महाधिवशेन प्रतिनिधि र सहभागी आमकार्यकर्ताले गगन–विश्वलाई दबाब दिँदै थिए । कार्यकर्ताको यही मनोभाव बुझेका गगननिकट नेता भनिरहेका थिए, ‘अब गगन दाइले अलमल गर्नुभयो भने महाधिवेशन हलले उहाँहरूलाई नछाड्ने देखियो । अपेक्षा गरेभन्दा साँच्चै राम्रो माहोल बनेको छ ।’

कतिपय अन्य धारका महाधिवेशन प्रतिनिधिहरू पनि हेर्नका लागि भन्दै भृकुटीमण्डपमा देखिएका थिए । विशेषगरी शेखर पक्षका महाधिवेशन प्रतिनिधिहरू हस्ताक्षर गर्ने वा नगर्ने भन्नेमा अन्यौल थिए । उनीहरू माहोल बुझेर निर्णय लिने मनस्थितीमा देखिन्थे । ‘आज हस्ताक्षर गरौँला, भोलि नेतृत्व छान्नेतिर नजाला । त्यसो भयो भने चेपुवामा परिन्छ । त्यसैले बन्दसत्रमा के हुन्छ भन्ने टुंगो लागेपनि हस्ताक्षर गर्ने योजना छ,’ शेखरनिकट एक महाधिवेशन प्रतिनिधिले भनिन् ।

कतिपय त सिधै गगन थापा र विश्वप्रकाशकै फोन आए मात्र हस्ताक्षर गर्न जाने योजनामा थिए । सुरुवाती रुझान धुमधाम देखेका ‘मध्यधार’मा उभिएका कार्यकर्ता पनि विशेष महाधिवेशन पक्षधरले गर्ने हस्ताक्षरको संख्या गन्दै थिए । खासमा उनीहरू जोखिम मोल्न भन्दा पनि ‘कालान्तरमा नफस्नेगरी’ अवसर पर्खिरहेका थिए ।

महामन्त्रीद्वय गगन–विश्व विशेष महाधिवेशनको नेताका रुपमा देखा पर्दा शेखर कोइराला पक्ष स्पष्ट खुलेका थिएनन् । तर, जब आइतबार दिउँसोतिर शेखरको अभिव्यक्ति समाजिक सञ्जालमा आयो, भृकुटीमण्डपमा प्रतिनिधिका अनुहार झन उज्यालो देखिए । अझ शेखर निकट मानिएका कोशी प्रदेशका पूर्वमुख्यमन्त्री विशेष महाधिवेशनस्थलमा देखिएपछि अधिकांशको प्रतिक्रिया थियो, ‘अब यताको महोल देखेपछि मध्यधारमा देखिएका सबै यतै आउन थाल्छन् । अनि झन माहोल बन्छ ।’

कांग्रेस फुट्ने–नफुट्ने चिन्ता भन्दा पनि यो विशेष महाधिवेशनले निर्णायक पहल लिएर नेतृत्व बदल्छ बदल्दैन भन्ने जिज्ञासा अधिकांशमा थियो । यद्यपि, उनीहरू निराश हुने अवस्थामा थिएनन् । जसरी पनि दबाब दिएर नेतृत्व बदलिछाड्ने मनस्थितीमा छन् ।

त्यसैले त भृकुटीमण्डपबाट कार्यक्रम सकेर निस्कँदै गर्दा गेटमा भेटिएका कार्यकर्ता भन्दै थिए, ‘५६ प्रतिशतले हस्ताक्षर गर्दा पनि नेतृत्व बदल्ने कुरामा साहस लिएनन् भने, कि त गगन–विश्वले राजनीतिबाट सन्यास लिनुपर्छ । या हामीले उनीहरूको साथ छोड्नुपर्छ ।’

तर, नेतृत्वको फैसला सोमबार महाधिवेशनको हलले नै गर्ने छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More