राष्ट्रिय
समाचार.
- अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणका लागि तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर भएको छ।
- सम्झौताअनुसार दुवै पक्षले पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानमा संयुक्त कार्यक्रम सञ्चालन गर्नेछन्।
- चीनको गुइझोउ प्रान्तमा सम्पन्न सम्मेलनमा ३० देशका ३५० भन्दा बढी सहभागी रहेको र दिगो पर्वतीय पर्यटन प्रवर्द्धनतर्फ महत्वपूर्ण कदम चालिएको छ।
२६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ (आईएमटीए) र एभरेस्ट एलायन्स नेपाल (इएएन)बीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक आदानप्रदान सुदृढका लागि पचारिक सहकार्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
चीनको गुइझोउ प्रान्तमा आगामी तीन वर्षका लागि उक्त दुई पक्षबीच यस सम्झौता हस्ताक्षर भएको एभरेष्ट एलायन्स नेपालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सम्झौताअनुसार दुवै संस्थाले पर्वतीय पर्यटनलाई वातावरणमैत्री र समुदायमुखी बनाउन एकसाथ काम गर्ने भएका छन् ।
यस सम्झौतालाई पर्वतीय क्षेत्रहरूको संरक्षण र दिगो विकासका लागि विश्वव्यापी सहकार्यमा एउटा महत्वपूर्ण माइलस्टोन भएको र सहकार्यको ढोका खोलेको छ ।
पर्वतीय पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिँदै आएको अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ विश्वकै पहिलो अन्तर्राष्ट्रिय संस्था हो । यस्तै एभरेस्ट एलायन्स नेपाल (इएन) नेपालमा आधारित संस्था हो, जसले हिमाली क्षेत्रमा दिगो पर्वतारोहण, वातावरण संरक्षण र स्थानीय समुदाय सशक्तीकरणमा काम गर्दै आएको छ ।
दुई संस्था—बीचको सहकार्यले विस्तृत रूपरेखा तयार गर्छ । यसले सीप विकास र कार्यशालाहरू मार्फत पर्वतीय समुदायहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
सम्झौता अनुसार दुवै पक्षमा विशेषगरी चार क्षेत्रमा काम गर्नेछन् । पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरण संरक्षण र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा दुबै संस्थाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन् ।
यस सहकार्यको उद्देश्य वातावरणीय संरक्षणलाई सुदृढ पार्दै जिम्मेवार पर्वतारोहण, साहसिक खेलकुद, उद्धार तालिम, वातावरणीय संरक्षण र सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्नु हो । दुवै संस्थाले पर्वतीय पारिस्थितिकी प्रणालीको संरक्षण र पर्वतीय समुदायको सशक्तीकरणमा ध्यान केन्द्रित गरेका छन् ।
विश्वव्यापी रूपमा पर्वतीय स्रोतहरूको संरक्षण, सभ्यताको प्रवर्द्धन र दिगो पर्वतीय अर्थतन्त्र निर्माणमा अग्रसर रहेको आईएमटीए ले वातावरणमैत्री पर्यटन प्रवर्द्धन गर्न आफ्नो प्रतिबद्धता जनाएको छ ।
यसैगरी एभरेष्ट अलायन्स नेपालले हिमालय तथा अन्य पर्वतीय क्षेत्रहरूको संरक्षण र दिगो व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरूलाई एकीकृत गर्ने आफ्नो संकल्प पुनः व्यक्त गरेको छ ।
सम्झौता अन्तर्गत दुवै पक्षले पर्वतारोही, प्रशिक्षक, र प्रविधिक विशेषज्ञहरूको आदान–प्रदान, दिगो पर्वतारोहण र सुरक्षा व्यवस्थापन सम्बन्धी तालिम, संयुक्त उद्धार प्रदर्शन, नेतृत्व कार्यशाला, र वातावरणमैत्री अभ्यासमा आधारित बाह्य गतिविधि तालिमहरू गरी चार मुख्य क्षेत्रमा सहकार्य गर्ने सहमति गरेका छन् ।
त्यस्तै दुई संस्थाले रूपमा अन्तर्राष्ट्रिय पर्वतारोहण अभियान, सांस्कृतिक महोत्सव, साहसिक प्रतियोगिता, र दिगोपन तथा सांस्कृतिक समझदारी प्रवर्द्धन गर्ने सम्मेलनहरूमा पनि भाग लिनेछन् । यी कार्यक्रममा वातावरणमैत्री पर्वतारोहण प्रतियोगिता, दिगो साहसिक दौड, र परम्परागत पारिस्थितिक ज्ञानमा आधारित प्रदर्शनीहरू समावेश हुनेछन् ।
दुवै संस्थाले बाह्य साहसिक व्यवस्थापन, वातावरणीय जोखिम न्यूनीकरण, र दिगो पर्यटनका क्षेत्रमा अनुभव र सर्वोत्तम अभ्यास साटासाट गर्नेछन् । पर्वतारोही गाइड र क्लाइम्बिङ प्रशिक्षकहरूका लागि तालिम कार्यक्रमहरू सञ्चालन गरिनेछ जसले वातावरणीय सचेतना र दिगो नेतृत्व प्रवर्द्धनमा योगदान पुर्याउनेछ ।
यस सम्झौता हस्ताक्षरले अन्तर्राष्ट्रिय सहकार्य र स्थानीय सहभागिताबीच पुलको रूपमा गतिशील साझेदारीको सुरुवात गरेको छ । इएएनको हिमालय क्षेत्रमा अनुभव र आईएमटीएको अन्तर्राष्ट्रिय प्रभावका साथ, यो सहकार्यले विश्वभरका पर्वतीय क्षेत्रहरूमा जिम्मेवार साहसिक पर्यटन र वातावरणीय संरक्षणको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
चीनको गुइझोउ प्रान्तस्थित गुइयाङ सहरमा सम्पन्न ‘इन्टरनेशनल कन्फरेन्स अफ माउन्टेन टुरिज्म एण्ड आउटडोर स्पोर्ट्स’को अवसरमा उक्त सम्झौता हस्ताक्षर गरिएको थियो । सम्मेलनको विषयवस्तु ‘संस्कृति, पर्यटन र खेलको एकीकरणले उत्कृष्ट जीवनशैली प्रदान गर्दछ’ रहेको थियो, जुन नोभेम्बर ११ मा सम्पन्न भएको हो ।
सो सम्मेलनमा ३० देश र क्षेत्रबाट ३५० भन्दा बढी सहभागिता भएका थिए । जसले दिगो पर्वतीय पर्यटन प्रवर्द्धनतर्फ एक महत्वपूर्ण कदमको रूपमा काम गरेको छ ।
सम्मेलनका क्रममा आईएमटीएले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायतका संस्थासँग पनि सम्झौतामा हस्ताक्षर गरेको थियो ।
त्यसैगरी, सम्मेलनमा आठवटा ‘विश्वप्रसिद्ध पर्यटन पर्वतहरू’ र छ वटा ‘अन्तर्राष्ट्रिय पर्वतीय पदयात्रा प्रदर्शन मार्गहरू’ पनि प्रस्तुत गरिएका थिए ।

